निरर्थक पंच भेला

पंचायती संविधानको तेस्रो संशोधन पछि अघि पछि चुपो लागेर बस्ने गरेका महापंचहरु पनि प्रत्येक वर्षको १ पटक जेष्ठ आषाढ तिर शुरु हुने राष्ट्रिय पंचायतको अधिवेशनको केही महिना अगाडिदेखि नै मन्त्री पद प्राप्त गर्ने र भएको पद ज ोगाउने दाउमा तँछाडमछाड गर्ने परम्परा शुरु हुने गरेको छ । यस्तै क्रमको सन्दर्भमा वर्तमान चन्द सरकारले गत साल जनकपुरदेखि काठमाडौंसम्म थापा सरकारलाई विविध आरोप प्रत्यारोप गर्दै आफू सत्तामा आएमा जनताहरुको अनेकन आवश्यकता पूरा गर्ने र अन्याय अत्याचार एवं शोषण अन्त्य गर्ने भन्दै पंच रैली गर्दै आएको थियो । त्यसको फलस्वरुप थापालाई महाभियोग लगाई आफू सत्तामा पुग्ने चन्दको दाउ सफल बन्न पुग्यो ।
चन्द सरकारले जनतालाई जे जस्ता आश्वासन दिए पनि त्यसको अनुरुप केही गर्न त कता हो यसै सरकारको पालामा छिटो छिटो, अनेक अमानवीय घटनाहरु घट्न गए । अन्य विचारधारा राख्ने शक्तिको अलावा आफूसँग सहमत नहुने पंचहरुलाई निर्ममतापूर्वक दवाउने प्रयत्न गर्दा लाहान र झलारी काण्ड घट्न गएको छ । उता थापा समूहले पनि केही महिना यता चन्द सरकारको विरुद्धमा ठाउँठाउँमा पंच रैली गर्दै आएको छ र गत वैशाखमा काठमाडौंमा गर्ने भनेको रैली चन्द सरकारको एक पछि अर्को षडयन्त्रबाट यही जेष्ठ ३१ गते मात्र गर्ने भएको छ ।
थापा समूहले काठमाडौंमा पंच रैली गर्ने कुरा उठेपछि थापाको विरोध र आफ्नो पक्ष मजबुत पार्ने विशाल धनराशीको खर्च सरकारी, संस्थान र कारखानाका गाडीहरुको दुरुपयोग गरी हतारमा देशका ७५ जिल्लामा जेष्ठ ९ गते देखि २५ गतेसम्म विभिन्न मितिमा पंचभेला गर्दैछ र आजसम्म भएका पंच भेलाहरुमा भेला बहिष्कारको कार्यक्रमले निकै सफलता पाएको छ । सत्ता र शक्तिको आडमा भेला समापन भएको ढ्वाङ फुके पनि पूर्ण रुपले सफल भयो भनेका ठाउँमा पनि धेरै थोरै भए पनि विरोधको सामना गर्नुप¥यो ।
यो विरोध थापा समूहको शक्तिबाट भएको नभै वर्तमान व्यवस्था दिनप्रतिदिन बढ्दै गएको जनआक्रोशको कारणबाटै सत्ताको विरोधमा बोल्नेहरुसम्मलाई पनि सरकारको विरोध गर्ने आँट पुग्न गएको हो । पंच भेलाहरु गराई जनतामा अझ मार थप्नुबाट उनीहरुमा प्रतिफल असर पर्दै गएको छ । यस्ता पंच भेला र रैलीले जनताका आधारभूत आवश्यकता पूरै गर्ने उपाय खोज्ने ठाउँ नै हुँदैन । यसको लागि जनताले संघर्ष नै गर्नुपर्ने हुन्छ र उल्लेखित भेला र रैलीले मन्त्री परिषद् विघटन र गठनको हथकण्डाका माध्यम मध्ये एउटा माध्यम हुन सकेपनि त्यसबाट जनसंघर्ष र त्यसपछि हुने परिवर्तनलाई कदापी रोक्न सकिंदैन ।
(नोट ः प्रस्तुत सामाग्री हाँक साप्ताहिक, वर्ष १, अंक ३३, २०४१ जेष्ठ २४ गते, मा प्रकाशित सम्पादकीय हो )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित