काठमाडौं । गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘उपनिषद्हरूको पंक्तिमा भौतिकवादी उपनिषद्हरू’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । इच्छुक साँस्कृतिक प्रतिष्ठानले जेष्ठ ३० गते काठमाडौं घट्टेकुलो स्थित प्रतिष्ठानको हलमा आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले पुस्तक माथि आफ्ना विचारहरु राख्नुभएको थियो ।

गोपीरमण उपाध्याय
लेखक गोपी रमण उपाध्यायले आफूले बनारसमा कलेज पढ्ने बेला पुष्पलाल श्रेष्ठले पूर्वीय धर्म शास्त्रहरूमा भएका भौतिकवादी चिन्तन धाराको उत्खनन गरी विद्यावारिधि गर्न दिएको सुझावलाई आफूले पुरा गर्न प्रयास गरेको र आफूले सो विषयमा विद्यावारिधि पुरा गर्न असमर्थ भएपनि ती विषयहरूलाई अध्ययन गर्दै प्रकाशमा ल्याउने काम गरेको बताउनुभयो । उपाध्यायले पुष्पलाल श्रेष्ठ केवल एउटा राजनीतिक नेता मात्रै नभईकन ठूलो चिन्तक ,अध्ययनकर्ता समेत भएको बताउँदै उहाँको प्रेरणाले नै आफूले पूर्वीय धर्मशास्त्रमा भएका भौतिकवादी चिन्तन परम्परालाई उत्खनन गर्न र त्यसमा आफू लागिरहेको र यस प्रकारका पुस्तकहरू चारवटा लेखिसकेको उहाँले समारोहमा बताउनुभयो ।

हेमन्त प्रकाश ओली ‘सुदर्शन’
लेखक तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले पुस्तकमाथि चर्चा गर्दै आजको दर्शनको विकासका लागि पूर्ववर्ती दर्शनको अध्ययन आवश्यक रहेको बताउनुभयो। पूर्ववर्ती दर्शनको अध्ययनको महत्वबारे उहाँले एङ्गेल्सले ‘ड्युहरिङ मतखण्डन’ पुस्तकमा लेखेको निम्न कुरा स्मरण गर्नु भयो –
्“सैद्धान्तिक चिन्तन स्वभाविक क्षमताकै गुण हो। स्वभाविक क्षमतालाई विकसित र परिष्कृत गरिनुपर्दछ। यसको परिस्कृतिका लागि पूर्वकालीन दर्शन को अध्ययन गर्नु बाहेक अर्को उपाय छैन। ” विषयलाई थप स्पष्ट गर्न उहाँले एङ्गेल्सको निम्न भनाईलाई जोड्नुभयो – “ हरेक युगमा जस्तै हाम्रो युगमा पनि सैद्धान्तिक चिन्तन ऐतिहासिक विकासको उपज हो। जसमा यसले भिन्नभिन्नै चरणमा भिन्नाभिन्नै रूप धारण गर्दछ। सार पनि भिन्न हुन्छ। त्यस्तै हरेक ऐतिहासिक विज्ञान जस्तै दर्शन मानव चिन्तनको विकासको विज्ञान हो। ”
सुदर्शनले पश्चिममा भौतिकवादलाई आधार बनाएर अगाडि बढेको तर पूर्वमा भौतिकवादलाई पाण्डित्यवादले ओझेलमा पारेको बताउनुभयो ।

हिरामणी दुःखी
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीले यतिबेला आफूलाई मार्क्सवादी बताउनेहरू नै ‘हिमवत खण्डमा’ देवी देवताको खोजी गर्दै हिँडिरहेको अवस्थामा साँचो मार्क्सवादी बन्न, साँचो भौतिकवादको खोजी गर्न र साँचो भौतिकवादी बन्न गाह्रो काम छ, यस प्रकारको कार्यक्रम गर्न अप्ठ्यारो काम छ, तथापि हामीले सत्यको पक्षमा उभिनै पर्ने छ । ”
प्रा.डा.जगदिशचन्द्र भण्डारीले लेखक गोपिरमण उपाध्यायको जीवन परिपक्व र दार्शनिक व्यक्तित्व निर्माण भएको बताउँदै आगामी लेखकीय भविष्य सफल होस् भन्ने शुभकामना दिनुभयो । प्रस्तुत पुस्तकमा लेखकले बहुदेव चिन्तनप्रणालीबाट एकेश्वरवादी चिन्तनप्रणालीमा विकास कसरी भयो र त्यसमा सामाजिक –आर्थिक विकासको भूमिका के छ भन्ने कुरालाई स्पष्ट पारेको भण्डारीले औंल्याउनुभयो । मूख्यत चार उपनिषद –पश्र्वपनिषद, स्वयम्सम्बोदपनिषद, शारीरिकपोनिषद र वर्णोपनिषद भौतिकवादी उपनिषद भएको पुस्तकमा उल्लेख गरिएको पनि भण्डारीले बताउनुभयो ।

प्रा.डा.जगदिशचन्द्र भण्डारी

मित्रलाल पंज्ञेनी
कार्यक्रममा मित्रलाल पंज्ञेनीले निनु चापागाईद्वारा सम्पादित ‘गीताको गाँठो ’ भन्ने पुस्तक, जसमा चारवटा भारतीय विद्वानहरूको लेख संकलन गरिएको छ र त्यो पुस्तकमा गीता भनेको उपनिषद भन्दा पछि आएको शास्त्र हो भनेर भनिएको छ । यो के कति सत्य हो यसको उत्खनन र खोजी गर्ने काम गोपी गुरु जस्ता खोजकर्ता ,अनुसन्धानकर्ताहरुले गर्नुपर्यो भन्ने सल्लाह पनि दिनुभएको थियो।

हरी प्रशाद सिलवाल
टिप्पणीकर्ता हरी प्रशाद सिलवालले भन्नुभयो , “वेदान्तीहरूले वेदलाई अध्यात्मिक दृष्टिकोणबाट मात्र हेर्दछन् , बदवेदान्तीहरूले वेदलाई देवत्वकरण गरेर त्यसलाई ठगी खाने भाडो बनाउँछन् र समाजशास्त्रीहरु अर्थात् गोपीगुरु जस्ता समाजशास्त्रीहरुले वेद ,उपनिशद जस्ता धर्मशास्त्रहरुमा भौतिकवादको खोजी गर्दछन्, प्रकृतिको खोजी गर्दछन् र द्वन्द्ववादको खोजी गर्दछन् । ”

विनोद मञ्जन
विनोद मञ्जनले, भन्नुभयो,“दुध उम्लिएपछि पोखिन्छ भनिन्छ तर दुध उम्लिएर पोखिने होइन कि भाँडो सानो भएका कारणले दुध पोखिएको भनेर फरक ढंगले पनि सोच्ने कोसिस हामीले गर्नुपर्दछ। फरक ढंगले पनि सोच्ने चिन्तन गर्न सक्नु नै एउटा दार्शनिक कार्य हो। ”
पुस्तक चर्चा कार्यक्रमको अध्यक्षता इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुःखीले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका कार्यसमिति सदस्य मित्रलाल पंज्ञेनीले गर्नुभएको थियो। भूँडी पूूराण प्रकाशनका प्रोपराइटर केशव पराजुलीले कार्यक्रममा स्वागत गर्नुभएको थियो। कार्यक्रममा शहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो ।

केशव पराजुली
गोपीरमण उपाध्याय नेपाली बौद्धिक जगतका प्रशिद्ध चिन्तक तथा लेखक हुनुहुन्छ। उहाँको पुस्तक ‘उपनिषद्हरूको पंक्तिमा भौतिकवादी उपनिषद्हरू’ ले पूर्वीय दर्शन, विशेषतः उपनिषद् परम्पराको नयाँ कोणबाट समीक्षा गर्ने प्रयास गरेको छ। सामान्यतः उपनिषद्हरूलाई आध्यात्मिक, आदर्शवादी र ब्रह्मवादी ग्रन्थका रूपमा बुझ्ने गरिन्छ। तर उपाध्यायले यस पुस्तकमा उपनिषद् साहित्यभित्र रहेका भौतिकवादी, यथार्थवादी तथा वैज्ञानिक चिन्तनका तत्वहरूलाई खोजी गर्ने प्रयास गर्नु भएको छ ।
पुस्तकको मुख्य विशेषता भनेको यसले वैदिक तथा उपनिषद् परम्परालाई एकाङ्गी रूपमा नहेरी त्यसभित्र विद्यमान विचारहरूको विविधता उजागर गर्नु हो। लेखकले उपनिषद्हरूमा आत्मा, ब्रह्म र मोक्षजस्ता आध्यात्मिक अवधारणासँगै प्रकृति, पदार्थ, श्रम, अनुभव र यथार्थ जीवनसँग सम्बन्धित विचारहरू पनि रहेको तर्क प्रस्तुत गर्नु भएको छ । यसरी पुस्तकले उपनिषद्हरूलाई केवल धार्मिक ग्रन्थको रूपमा नभई तत्कालीन समाज, संस्कृति र ज्ञान–विज्ञानको स्रोतका रूपमा अध्ययन गर्न प्रेरित गर्दछ।
मार्क्सवादी दृष्टिकोणबाट हेर्दा पुस्तकले भारतीय दर्शनमा भौतिकवादी परम्पराको खोजी गर्ने महत्त्वपूर्ण काम गरेको देखिन्छ। विशेषगरी चार्वाक दर्शन, लोकायत परम्परा तथा प्रकृतिवादी चिन्तनका सन्दर्भहरूलाई उपनिषद् साहित्यसँग जोडेर विश्लेषण गरिएको छ। पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष यसको आलोचनात्मक पद्धति हो। लेखकले उपनिषद्हरूलाई अन्धभक्तिपूर्ण ढङ्गले स्वीकार नगरी तिनका अन्तर्विरोध, सीमितता र प्रगतिशील पक्षहरूको विवेचना गर्नु भएको छ । यसले पाठकलाई परम्परागत मान्यतामाथि प्रश्न उठाउने र तर्कपूर्ण निष्कर्ष निकाल्ने अवसर दिन्छ।
‘उपनिषद्हरूको पंक्तिमा भौतिकवादी उपनिषद्हरू’ नेपाली भाषामा दर्शनसम्बन्धी गम्भीर अध्ययनका लागि महत्त्वपूर्ण कृति हो। यसले उपनिषद् साहित्यलाई नयाँ दृष्टिकोणबाट बुझ्न मद्दत गर्नुका साथै पूर्वीय दर्शनभित्र रहेका भौतिकवादी प्रवृत्तिहरूमाथि गहन चिन्तन गर्न प्रेरित गर्दछ। दर्शन, इतिहास, संस्कृति र राजनीतिक विचारमा रुचि राख्ने पाठकका लागि यो पुस्तक उपयोगी तथा विचारोत्तेजक कृति मान्न सकिन्छ।



फोटो : जय दाहाल

