नरेन्द्रबहादुर थापा
सिंहदरबारको कुर्सी चढेर, किन माटोमाथि प्रहार गर्यौ ?
जनताको विश्वास बोकेर पनि, किन इतिहासलाई इन्कार गर्यौ?
सीमाको पीडा नबुझेको हो ?नक्साको घाउ नदेखेको हो?
कि कुर्सीको उचाइ बढ्दै जाँदा माटोको आवाज नै नसुनेको हो ?
शब्द त हावामा उड्दैनन्, देशको छातीमा गाडिन्छन्
नेताका एउटा गलत वाक्य पुस्तौँसम्म प्रश्न बनिदिन्छन्।
तिमी प्रधानमन्त्री हौ देशका, देशमाथि शंका गर्ने होइन।
राष्ट्रको आत्मा कमजोर पारेर ताली खोज्ने समय होइन।
कालापानीका चिसा ढुङ्गाले आज पनि कथा सुनाइरहेका छन्,
सीमामा उभिएका नेपालीहरू स्वाभिमानको गीत गाइरहेका छन्।
तर सिंहदरबारभित्रबाटै यदि माटोमाथि आरोप उठ्छ,
त्यो सुन्दा हरेक देशभक्तको मनभित्र आगो बल्छ।
सत्ताको उन्माद क्षणिक हुन्छ, राष्ट्रको सम्मान शाश्वत हुन्छ।
देशलाई कमजोर बोल्ने नेता इतिहासमा सधैँ विवादित हुन्छ।
सच्याऊ आफ्नो अभिव्यक्ति, जनताको भावना बुझ
माटोभन्दा माथि कोही छैन— यो सत्यलाई फेरि सम्झ।
नेपालको शिर झुकाउने शब्द नेपाली मनले स्वीकार्दैन,
देशमाथि उठेको अन्यायपूर्ण दोष देशभक्त आवाजले क्षमा गर्दैन।
सिंह दरबारको कुर्सी ठूलो होला, तर राष्ट्रभन्दा ठूलो हुँदैन
जनताको मतले पाएको अधिकार जनताकै भावना भन्दा माथि हुँदैन।
जब नेतृत्व आफै अल्मलिन्छ ,जब सत्यमाथि प्रश्न उठाउँछ,
त्यो कुर्सीको नैतिक आधार आफ्नै बोलीले कमजोर बनाउँछ।
देशको शिर झुकाउने शब्दको जवाफ इतिहासले खोजिरहन्छ,
राष्ट्रको आत्मसम्मान माथि चोट पुर्याउने नेतृत्वलाई जनताले सोधिरहन्छ।
त्यसैले आज यो माटोको पुकार सत्य स्वीकार, गल्ती स्वीकार
यदि सक्दैनौ राष्ट्रको मान जोगाउन, त्याग देउ यो उच्च अधिकार।
जनताको विश्वास गुमाइसकेपछि कुर्सीमा रहनु उचित हुँदैन,
स्वाभिमानको पक्षमा उभिने हो भने, राजिनामा भन्दा ठूलो उत्तर हुँदैन ।
माटो बोल्छ, इतिहास बोल्छ ,जनताको आवाज बोल्छ ,
‘राष्ट्रको सम्मान भन्दा माथि कोही छैन सम्मान जोगाउन नसक्ने नेतृत्वले मार्ग छोडोस्’
धन्यवाद
मिति ः२०८३ जेठ १८ गते
च्

