काठमाडौँ । आइ.टी. बि.पी. (इन्डो – टिबेट बोर्डर पुलिस ) का डिजी (डाइरेक्टर जेनरल) तिब्बतको ओम पर्वत जाँदा अनधिकृत रूपमा हेलिकप्टरबाट नेपाली आकाश प्रयोग गरेका छन्। भिडियो सहितको समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि हाँक साप्ताहिकले दार्चुला स्थित जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामी र दार्चुला स्थित सशस्त्र प्रहरी गुलम छाङ्रुका प्रवक्ता इन्स्पेक्टर शैलेन्द्र सिंह शईलाई सम्पर्क गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामी र इन्सपेक्टर शैलेन्द्र सिंह सई दुवै जनाले हेलिकप्टरबाट भारतीय आइटीडीपी का डिजी शत्रुजित सिंह कपुरले हेलिकप्टरबाट ओम पर्वत दर्शन गर्न गएको कुरा स्वीकार गरे।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी समेत रहेका धामीले हाँकसित भने, “ नेपाल तर्फको दार्चुलाको आकाशमा हेलिकप्टर बेलाबखतमा उड्ने गर्दछ र भारत तर्फको धार्चुलाको आकाशमा प्रत्येक दिन दुई वा तीनपटक दिनहु नै हेलिकप्टरहरू उड्ने गर्दछन् । भौगोलिक कठिनाइका कारणले पनि नेपालतर्फको आकाशमा आएको हुनसक्छ । जेष्ठ २७ गते १० बजेर ५ मिनेट जाँदा नेपालको आकाशमा उक्त हेलिकप्टर उडेको भन्ने जानकारीमा आएको छ । त्यो दिन मौसम त सफा नै थियो । किन यस्तो हुन गयो? के कति कारणले गर्दा यस्तो भयो ?तपाईहरुको बुझाई के छ ? भनेर हामीलेवाटस् एप मार्फत जानकारी दिन मेसेज पठाएका छौं । जानकारी माग गरेका छौं ।अहिलेसम्म भारतको तर्फबाट कुनै जानकारी आएको छैन । ”
दार्चुलाको छाङ्रु स्थित सशस्त्र प्रहरी गुल्मका इन्सपेक्टर शैलेन्द्र सिंह शईले प्रचारमा आएको भिडियोलाई जाँचबुझ गरिरहेको बताए ।

