काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनद्वारा लिखित पुस्तक
‘दर्शनशास्त्रको इतिहास’पुस्तक २०८३ असार ३ गते परिचर्चा कार्यक्रम संवाद डबलीमा सम्पन्न भएको छ ।
उक्त पुस्तकमाथि चर्चा गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सिपी गजुरेलले ‘गौरव’ले दर्शनशास्त्रको इतिहास भन्ने पुस्तक प्रकाशित हुनु पार्टी स्कुलिङका लागि महत्वपूर्ण सामग्री थपिएको बताउनु भयो । नेपालमा तितरबितर रहेका सबै कम्युनिस्ट एक हुनुपर्नेमा जोड दिँदै गुजुरेलले भन्नुभयो ‘हाम्रो ठूलो त्यागबाट भएको परिवर्तनको रक्षा र विकासका लागि सबै एक हुन आह्वान गर्दछु ।’ वहाँले अहिले राजनीतिमा विचार र दर्शनको कुनै आवश्यकता छैन भन्ने चिन्तनको विकास भइरहेको अवस्था देशमा सिर्जना भएको भन्दै परिवर्तकोलागि जनतालई विचार दर्शन सिकाउनु पर्ने कुरामा जोड दिनु भयो र भन्नु भयो – विचार र दर्शन जनतालई सिकाउने र जनताबाट सिक्ने कुरा हो । वहाँले अहिले विचारलाई ध्वस्त गर्ने , इतिहासलाई ध्वस्त गर्ने ,राजनीतिलाई ध्वस्त गर्ने र जनतालाई संघर्ष गर्न किन आउनु प¥यो? भनेर भन्ने जस्तो दर्शनको विकास गर्न खोजिएको भन्दै यो क्रान्ति विरोधी दर्शन भएको बताउनु भयो ।
नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले लेखकको पुस्तकमाथि टिप्पणी गर्दै दर्शनशास्त्र अध्ययन गर्ने बानी कम भएको बेला ‘दर्शनशास्त्रको इतिहास’ले कम्युनिस्टका लागि महत्वपूर्ण पुस्तक भएको जिकिर गरे । ज्ञवालीले नेपाली कम्युनिस्ट आफ्नो आदर्शबाट विमुख हुँदा विचार तथा सिद्धान्त विहिन सत्ता र शक्तिमा पुगेको भनाई राख्दै अहिलेको अवस्थामा वामपन्थी ,प्रगतिशील तथा देशभक्तहरु असहमतिका झिनामसिना विषयहरुलाई थाती राखेर एकताबद्ध भइ अगाडि बढ्नु पर्ने विचार राख्नु भयो ।
नेकपा(बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले दर्शनशास्त्रलाई आफ्नै तरिकाले बुझ्ने र व्याख्या गर्ने प्रचलन बढ्दै गएको सन्दर्भमा शुदर्शनको पुस्तकले सहजिकरण गरेको बताए । उनले मार्कसवाद पुरानो भयो भन्ने बहस चलिरहेको सन्दर्भमा कहिल्यै पनि पुरानो नहुने धारणा राख्नु भयो।
प्रगतिशील लोकतान्त्री पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपाली कम्युनिस्टले विचार र आदर्शलाई त्याग्दै जाँदा ७० प्रतिशतबाट २० प्रतिशतमा झरेको बताउनु भयो । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ले माक्र्सवाद कहिल्यै पनि पुरानो नहुने बरु नेपाली परिवेश अनुसार यसको मौलिक प्रयोग गरिनुपर्ने धारणा राख्नुभयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता परि थापाले दर्शनशास्त्र पढेकाले मूल्य मान्यता त्याग्ने र विचार सिद्धान्त नभएकाहरु सत्तामा पुग्ने अवस्थाले देश कुहिरोभित्रको काग जस्तै भएको जिकिर गर्नु भयो । थापाले दर्शनशास्त्रलाई व्यवहारमा लागु गर्न थप प्रयत्न गर्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा मशालका नेता समिर सिंहले पुस्तकमा आलोचनात्मक सोच प्रयाप्त रहेको बताउँदै, दर्शनशास्त्रको इतिहास लेख्ने विषय निकै चुनौतिपूर्ण रहेका र उक्त पुस्तकमा पनि धेरै विषय थपघट गर्नुपर्ने सुझाव राख्नुभयो ।
दर्शनशास्त्री गोपीरमण उपाध्यायले दर्शनशास्त्रको इतिहासबारे खोजि गरिरहेका व्यक्तिका लागि उपयुक्त पुस्तक प्रकाशन गरिएको बताउँदै दर्शनशास्त्रलाई पुस्तकमा मात्रै नभएर व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिनु भयो । नेपालमा विरोधी पक्षको दर्शन सँधै उपेक्षामा पर्ने गरेको समेत उहाँको गुनासो रहेको थियो ।
समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजंग’ले अहिलेका लोकप्रियतावादी सामाजिक परिवेशमा दर्शनशास्त्रलाई व्यवहारमा लागु गर्ने विषय चुनौतिपूर्ण रहेको बताउनुभयो ।पुस्तकका लेखक सुदर्शनले आफूले लामो प्रयासपछि दोस्रो संस्करण प्रकाशन गरेको र टिप्पणीकारले दिएका सुझावलाई आगामी संस्करणमा समेट्ने बताउनु भयो ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले पछिल्लो समयमा नवयुवाहरु सामाजिक सञ्जालको प्रभावका कारण अपुरो ज्ञानले भ्रमित भइरहेको बताउँदै “दर्शनशास्त्रको इतिहास पुस्तकले माक्र्सवादी दृष्टिकोण निर्माण्मा महत्वपूर्ण भूमिका खेल्ने हुँदा त्यसको अध्ययन गर्न आह्वान”गर्नु भयोसंगठनका महासचिव नविन खड्काले बदलिदो परिवेशमा नेपाली कम्युनिस्टहरु परिवर्तन हुँन नसक्दा कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जागेको दाबी गर्नुभयो ।
क्रान्तिकारी युवा संघका संयोज दोर्जे शेर्पाले समयअनुसार माक्र्सवादलार्ई परिमार्जित गर्दै लग्दा नयाँ युवाहरु कम्युनिस्ट धारतिर आकर्षित हुने बताउनुभयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी नेतृ अम्बिका चन्दले निकै लामो प्रयास पछि सुदर्शनको पुस्तक प्रकाशित भएको र सोले क्रान्तिकारीहरुलाई नयाँ मार्गदर्शन गर्ने विश्वास रहेको बताउनु भयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका पूर्व महासचिव मोहनवैद्य किरणको पुस्तक प्रकाशन तथा परिचर्चाको शुभकामना वाचन गरिएको थियो ।


