भर्याङ (कविता )

–सिर्जना अस्तित्व

गरिबका मुद्दा सकिनु हुँदैन,
अन्याय–अत्याचार रोकिनु हुँदैन।
शोषणको रूप बदलिनु हुँदैन,
दमनको भार कत्ति घट्नु हुँदैन।
चल्नुपर्छ जातीय विभेदहरू,
छरिनुपर्छ लैङ्गिक भेदहरू।
बढ्नुपर्छ असमानताका छेदहरू,
भरिनुपर्छ धार्मिक मुठभेडहरू।
चर्चाको आधार यिनै हुन्,
सत्ताको भर्याङ यिनै हुन्।
शासकको आयु यिनै हुन्,
केही अभियन्ताको मुटु यिनै हुन्।
जातीय द्वन्द्व जीवित रहे
जातीय राजनीति रहन्छ।
लैङ्गिक विभेद सल्बाइरहे
अवसरवादी मौलाइरहन्छ।
धार्मिक वैमनस्यता बढिरहे
धर्मको आडमा आन्द्रा भरिन्छ।
जात, धर्म, लिङ्ग, रङ्ग, क्षेत्र—
अन्तरविरोधको कुरुक्षेत्र।
भोग गर्छ शासक सत्ताको,
पीडित सबै पारेर अलपत्र।
गरिबी र भोकमरीको भर्याङ,
महँगीका जिउँदा लासहरूको भर्याङ,
जात चिनेर मारिएकाहरूको भर्याङ।
भर्याङ नै भर्याङ।
भर्याङ बिना सत्ता चुमेको
आजसम्म छ र खै को ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित