जानो दलको गठन ः जनरल एर्शादको ज्याउल रहमान मार्का महत्वाकांक्षा

डाक्टर हेनरी किसिन्जरबाट ‘संसारको रित्तो टोकरी’ संज्ञा पाएको छिमेकी देश बङ्गलादेशले सन् १९७१ मा नयाँ राष्ट्रको रूपमा उद्भव भएदेखि परिवर्तन, सातफेर, उथलपुथल बेहोर्दै आएको छ। १५ अगस्ट १९७५ का दिन बङ्गबन्धु शेख मुजिवर रहमानको हत्या, सत्ताको लागि खिचातानी, सेना राजनीतिज्ञकोरुपमा अविरभाव, अनि सेनामा अन्तरनिहित राजनीतिक महत्त्वकांक्षाकै कारणले राष्ट्रपति ज्याउल रहमानको हत्या, जनरल एर्शादद्वारा सत्तामाथि अधिग्रहण जस्ता घटना बङ्गलादेशमा घट्दै आएको छ। जनरल एर्शादले सत्ता हत्याएपछि देशमा चौपट्टै नौलो वातावरण ल्याउने,जनतामा गरिबी निर्मूल पार्ने, भ्रष्टाचार धराशाही पार्ने जस्ता आकर्षक आश्वासन दिएर जनतालाई मोहित पार्ने प्रयास गर्दागर्दै पनि जनताबाट सैनिक शासक विरुद्ध तेजिलो विरोध प्रतिध्वनि हुँदै गयो।
सुरुका दिनहरूमा जनरल एर्शादले देशमा चुनाव गराई जनताको हातमा सत्ता सौंपिने जस्ता कुराहरू गर्दै थिए । तर पछिपछि आफ्नो वचनलाई तोडमोरोड गर्ने, आलताल गर्ने मात्र काम गरेनन् कि सैनिक शासनलाई जति सक्दो लम्ब्याउने काममा व्यस्त रहे । हालैका दिनहरूमा बङ्गलादेशमा जनरल एर्शादको सैनिक शासनको विरुद्ध विपक्षी दलहरू तथा आम जनताले प्रचण्ड विरोध गर्दै गइरहेको बेलामा जनरल एर्शादले आगामी डिसेम्बर महिनामा ग्राम परिषद्को चुनाव गराउने घोषणा गरेका छन् र फेब्रुअरी महिनामा नगरपालिकाको चुनाव तथा आगामी मार्चमा थाना परिषद्को चुनाव गराउने घोषणा गरेका छन्। साथै १९८५ सम्ममा आम निर्वाचन गराउने घोषणा गरेका छन्।
बङ्गलादेशको भर्खरैको समाचार अनुसार विपक्षी २२ वटा दलहरुले प्रजातन्त्र पुनर्वहालीको लागि देशव्यापी आन्दोलन चलाउने निधो गरेका छन् । जनरल एर्शादले ‘जानो दल’ गठन गरेको र आम चुनावभन्दा पहिले राष्ट्रपतिको चुनाव गराउने र राष्ट्रपतिमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन्।विपक्षीहरू राष्ट्रपतिको चुनावभन्दा पहिले आम चुनाव गराउनुपर्ने माग गरेका छन्। तर जनरल एर्शाद यो मान्न तयार छैनन्।यी सबै घटनाहरूबाट के निष्कर्ष निकाल्न सकिन्छ भने जनरल एर्शादले स्वर्गीय राष्ट्रपति ज्याउल रहमानले बङ्गलादेश नेसनलिस्ट पार्टी गठन गरी चुनाव लडेर राष्ट्रपति बने जस्तै गर्न खोजेको स्पष्ट देखिन्छ । अवामि लिग एवं साम्यवादी दलहरूको लोकप्रियतालाई दृष्टिगत गर्दा सैनिक प्रशासक जनरल एर्शादको महत्वाकांक्षा पूरा हुन सक्ला भन्ने धेरै कम आशा गर्न सकिन्छ । चुनावको माग चर्को हुँदै जान सक्ने सम्भावनाले जनरल एर्शादको स्वप्न भङ्ग हुनसक्ने धेरै पर्यवेक्षकहरूले अड्कल काटेका छन्।
( नोट ः यो सामग्री हाँक साप्ताहिक, वर्ष १, अङ्क ८ ,२०४० मङ्सिर १४ गते, मा प्रकाशित भएको थियो )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित