काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले मार्क्सवादको सान्दर्भिकता अझ बढेको बताउनुभएको छ। उहाँले हालै न्यूज ट्वान्टि फोर टेलिभिजनसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो । उहाँले नेपालका नेकपा एमाले , नेपाली कम्युनिस्ट पार्टी जस्ता पार्टी पछाडि फर्किएर पुँजीवादमा गएका र अझ नेपालको सन्दर्भमा भन्दा दलाल पुँजीवादमा नै गएकाले उनीहरू असान्दर्भिक भएका हुन् तर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जस्तो पार्टीको सान्दर्भिकता अझ बढेको स्पष्ट गर्नु भयो । उहाँले विज्ञानमा आधारित मार्क्सवाद वा मार्क्सवाद लेनिनवाद माओवादको अझ महत्त्व बढेर गएको बताउनुभयो।
एमाले र नेपाली कम्युनिष्ट पार्टीहरुले सरकारमा जानुलाई सबै कुरा ठाने तर समग्र राज्यसत्ता जनताको हातमा नआउँदासम्म कम्युनिष्ट व्यवस्था लागु हुन नसक्ने पनि उहाँले बताउनुभयो। सरकार,सेना, प्रहरी,जेल, अदालतको समष्टिगत रुप राज्यसत्ता भएको हुँदा ती सबै चिज जनताको हातमा नआउँदासम्म जनताको शासन नआउने बताउँदै सुदर्शनले जेनजी विद्रोहले बनिबनाउँ राज्य सत्तालाई प्रयोग गरेर नहुँदो रहेछ जनताको आफ्नै सेना, प्रहरी, अदालत हुनुपर्दो रहेछ भन्ने कुरा स्पष्ट गरेको बताउनुभयो ।
सुदर्शनले बुर्जुवा राजनीति अपनाएका कम्युनिस्ट पार्टी एक भएको राम्रो हो भन्नुभयो। “त्यसबाट बुर्जुवा कथित कम्युनिस्ट र क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई छुट्टाउन जनतालाई सजिलो हुने भएकाले उनीहरूको बीचमा एकता भएको राम्रो हो ” –सुदर्शनको स्पष्टोक्ति थियो ।
रास्वपाले नेतृत्व गरेको वर्तमान सरकारको १०० दिनको मूल्याङ्कन गर्दै प्रवक्ता सुदर्शनले भन्नुभयो, “वर्तमान बालेन सरकारले संसदीय मूल्य मान्यताअनुसार पनि सरकार सञ्चालन गरिरहेको छैन। आफूसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि अध्यादेशबाट सत्ता सञ्चालन गर्न खोजिरहेको छ। यो सरकारले अलोकतान्त्रिक विधिबाट सत्ता सञ्चालन गर्ने कोसिस गरिरहेको छ। यो सरकार राष्ट्रघाति कार्यमा उद्दत भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सांसदहरूको जवाफ दिने क्रममा नेपालले पनि भारतको जग्गाहरू मिचेको रहेछ भनेर अत्यन्तै राष्ट्रघाती अभिव्यक्ति दिने काम गरे । त्यसले उनको राष्ट्रघाती चरित्रलाई उजागर गरेको छ। सरकार जनताका विरुद्ध अपराधिक काम गरिरहेको छ । पहिलो कुरा, बिना विकल्प सुकुम्बासीहरूको बस्ती उठाउनु हुने थिएन । सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरबाट लखेट्दै छ । जनतालाई सेवा सुविधा दिनुपर्ने ठाउँमा जनतालाई उठिबास लगाउँदै छ । ”
वर्तमान सरकार अमेरिकी कठपुतली सरकार हो भन्दै सुदर्शनले अगाडि भन्नुभयो, “ सन् २०१० देखि नै अमेरिकाले भारतमार्फत होइन हामी सिधै आफ्ना नीतिहरू लागू गर्छौं भन्दै आएको थियो। त्यसैको परिणाम आज देशले भोग्दैछ । कांग्रेस, एमाले, माओवादी केन्द्रहरूले एमसीसी पारित गरेर साम्राज्यवादको सेवा गरे । एसपीपी पारित गर्न अटेरी गर्दा कुटाई खाए । संसदवादी पार्टीहरुको नयाँ विकल्पकारुपमा अमेरिकी साम्रज्यवादले रास्वपालाई अगाडि सारेको हो । २०७९ मा ललितपुरको कुमारीपाटीमा दुई जना कोरियन भाषाका विद्यार्थीहरूलाई मार्ने, तत्कालीन मन्त्री प्रकाश ज्वालाको गाडी जलाउने काम गरे ।२०८१ मा दुर्गा प्रसाईहरू मार्फत चलाइएको आन्दोलनमा जडीबुटीमा आगजनी गराए । एउटा पत्रकारलाई जलाए । श्रुृखलाबद्ध षडयन्त्र स्वरूप जेनजी विद्रोह पनि भएको हो। देशै नरहने हो कि भन्ने खतरा देशमा उपस्थित भएको छ । ”
फौजदारी अभियोग सम्बन्धी नेपाल र भारतका बीचमा भएको सम्झौतालाई इंगित गर्दै सुदर्शनले वर्तमान सरकारले राष्ट्रघाती कार्यमा उद्दत भएको प्रमाण प्रस्तुत गर्ने भयो ।
क्रान्तिकारी शक्तिहरूको बीचमा कार्यगत एकता र संयुक्त मोर्चा निर्माण गर्ने,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कम्युनिस्ट पार्टीका बीचमा संयुक्त मोर्चा बनेको र त्यो संयुक्त मोर्चा मार्फत काम भइरहेको । अर्कोतर्फ लोकनारायण सुवेदीले नेतृत्व गरेको नेकपासहित पनि मोर्चागत रुपमा नै अगाडि बढिरहेको, नेपाली कम्युनिस्ट पार्टीभित्र रहेका विभिन्न क्रान्तिकारी विचार राख्ने शक्तिहरूलाई समेत पनि आगामी दिनमा क्रान्तिकारी धारमा ल्याउनका निम्ति प्रयास गर्ने , नेकपा एमाले भित्रका देशभक्तहरूसँग पनि सहकार्य गर्ने अवधारणा सुदर्शनले सुनाउनुभयो ।

