काठमाडौं । जिल्ला अदालत काठमाडौंले असार २३ मा बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्व मन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भूटानका नेपाली भाषी स्वतन्त्रता आन्दोलनका नेता टेकनाथ रिजाल,सानु भण्डारी,केशव दुलाल,सन्देश शर्मा,गोविन्द चौधरी,सागर राई लगायतलाई दोषी ठहर गरेको छ । टंककुमार गुरुङ,सन्दिप रायमाझी,रामशरण केसी,आशिष बुढाथोकी,लक्ष्मी महर्जन,केशव तुलाधर प्रतिक थापा ७ जनालाई भने अदालतले सफाई दिएको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएकाहरुकोबारेमा फैसला गरेको हो । । गत जेठ २७ गतेदेखि न्यायाधीश खड्काको इजलासमा सुरु भएको सुनुवाइ थियो । ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम असुली गरेको प्रकरण लामो समयदेखि सुनुवाइ नभएर रोकिएको थियो । २०८० जेठ १० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । कागजात तयार पारी सङ्गठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोगपत्रमा छ ।
यस प्रकरणमा मुख्य बिचौलियाद्वय केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहको नेटवर्कमा रहेर काम गर्ने टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, बिचौलिया हरिभक्त महर्जन, उनकी पत्नी लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजालविरुद्ध पनि यही कसुरमा मुद्दा दायर भएको थियो ।

