कविता ः क्षण क्षणमा मरिरहेछ जीवन

मनु वि.क.
व्यवस्था ठग छ
व्यवस्था लुटमा रमेको छ
व्यवस्था झुठमा फुलेको छ
व्यवस्था गरिबको रगतमा खुलेको छ ।
व्यवस्थाले गरिब जन्मायो
व्यवस्थाले गरिबी हुर्कायो
व्यवस्थाले रगत चुसेर मोटायो र भविष्य दौडायो ।
व्यवस्थाले सपना उडायो
व्यवस्थाले चेतना सडायो
धनी र गरिब बनायो
लुट्ने र लुटिने बनायो
क्षण क्षणमा मर्ने गरायो ।

व्यवस्थाको डन्डा बोकेर
व्यवस्थाको झण्डा ओढेर
चोक चोकमा घर,घरमा
ठगहरुको राज छ
लुटाहाहरुको जमात छ
फटाहाहरुको समाज छ
नियम लुटाहा, कानुन फटाहा
लुटाहा र फटाहाले लिएको छ
गरिबहरुको ज्यान
दुःखीहरुको जीवन ।
दुःखीहरुको जीवन,
जीवन नै होइन
गरिबहरुको मन,
मन नै होइन
गरिब दुःखीहरुको पसिना,
पसिना नै होइन भन्ने जमातले
सत्ता र शक्तिको उन्मादले
लगाएको जरिवानाले
सही नसक्नु बनाए पछि
पटक पटक सजाय दिलाएपछि
क्षण क्षणमा मरिरहेछन् गरिब ।
सत्तामा बसेर हाँसिरहेछ शासक
सत्तामा बसेर ध्वाँस झारिरहेछ“सुशासन”
जहाँ गरिबहरु मर्छन्
जहाँ जनता प्रत्येक क्षणमा मर्न बाध्य बन्छन्
यो शासन कुशासन हो ।
यो कुशासनको विरोधमा
यो अत्याचारको अन्त्यकालागि केही त बोल
केही आवाज त निकाल ।

सँधै क्षण क्षणमा मर्न बाध्य गरिबहरु जब बोल्न थाल्नेछन्
जब आगो ओकल्न थाल्नेछन्
जब जीवनको महत्व बुझ्न थाल्नेछन्
तब मरण होइन जीवन रोज्नेछन्
फटाहा र चुसाहालाई घोक्रेठ्याक लगाएर
जरिवाना,कर, शुल्क र अनेक नाफालाई निमिट्यान्न पारेर
जीवन जीउन पाउने छन् ।
दास युगमा दासहरुले
दास मालिकको विरोधमा
शामन्ती युगमा किसानहरुले सामन्तहरुको विरोधमा
विद्रोह नछेडेको भए
दास मालिक र सामन्तहरुको सिक्री नतोडेको भए
मानव स्वतन्त्र हुने थिएन ।

आजको आधुनिक युगमा
आधुनिक विश्व,जगतमा
चुसाहा र परजीविहरुको राज छ
यो राजले गरिबहरुलाई क्षण क्षणमा मारिरहेछ
जरिवाना र करमा पारिरहेछ
गरिखाने वर्गको जीवन सक्याइरहेछ ।
जीवन कति अमूल्य छ
जीवन अति अतुल्य छ
यो जीवनलाई चुसेर
यो जीवनको रगत लुटेर
शासक गाडी चढिरहेछ
शासक घडेरी जोडिरहेछ
शासक निस्फिक्री दौडिरहेछ ।

ओ यो देशका मान्छेहरु
अब त अति नै भो
अति नै असैह्य
थेग्न नसक्ने भएपछि
शरिरमा आगो झोंस्छ मान्छे
हाम फाल्नुमा शान्ति देख्छ मान्छे
यो व्यवस्थाको दोष हो
यो शोषण र उत्पीडन विरुद्ध विद्रोह हो ।
तर लाज नभाका शासकहरु
गरिबको रगतमा फुलिएका किर्नाहरु
ढसमस्स परेर सत्तामा बस्छ
र भन्छ सरकारले सेवा प्रदान गरिरहेछ,सुशासन देशभर छरिरहेछ
तर मुर्दाघरमा लासले व्यवस्थालाई धिक्कारीरहेछ ।
मितिः २०८३ असार २६ गते
असार २५ गते मुगुका गणेश नेपालीले देशका शासकहरुको अत्याचार सहन नसकेर आत्मदाह र उपचारको क्रममा मृत्यु हुन पुगेपछि

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित