वर्गीय मुद्दालाई ओझेलमा पार्न धार्मिक द्वन्द्व उछाल्ने काम भएको छ

–गणेशबहादुर खड्गी,वैकल्पिक पोलिटव्यूरो सदस्य, १४ नं. व्यूरो इन्चार्ज एवं सेक्रेटरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

० गत श्रावण १० गते सुनसरीमाभएको हिन्दु मुस्लिम विवाद र त्यहाँ भएको हिंसात्मक घटनाले जनजीवन अझै तनावपूर्ण छ । त्यस घटनालाई कसरी हेर्नु भएको छ ?
–बालेन सरकारले सुकुम्बासीहरु माथि दमन गरेपछि विस्तारै वर्गीय आन्दोलन उठ्दै गएको थियो । जनताहरु विस्तारै वर्गसंघर्षमा केन्द्रित हुन थालेका थिए । जस्तैः वस्तीबाट विस्थापित सुकुम्बासीहरुको आन्दोलन,मिटरव्याज पीडितहरुको आन्दोलन, लघुवित्त पीडितहरुको आन्दोलन उठ्दै गएको अवस्थामा यस्ता वर्गीय मुद्दालाई ओझेलमा पार्न सरकारकै सुनियोजित षडयन्त्र अनुसार धार्मिक द्वन्द्व उछाल्ने काम गरिएको हो भन्ने मेरो बुझाई छ ।

० नेपालमा बेलाबखतमा अहिलेको सुनसरीको घटना जस्ता धार्मिक द्वन्द्व भइरहने गरेका छन् । नेपालगञ्ज,कपिलवस्तु, विरगञ्ज,जनकपुर जस्ता ठाउँमा बेलाबखतमा धार्मिक द्वन्द्वका घटना हुने गरेका छन् । यस्ता धार्मिक एवं साम्प्रदायिक द्वन्द्वको समस्या समाधानको उपाय के हुन सक्छ?
–हामी धर्म निरपेक्ष मुलुकमा छौं । सबैले आ–आफ्ना धर्म मान्ने अधिकारछ । सबैले एकले अर्काको धार्मिक आस्थालाई सम्मान गर्न सकेमा नै समाजमा सामाजिक एवं धार्मिक सहिष्णुता कायम हुन्छ र यस्ता धार्मिक द्वन्द्वका घटना आउँदैनन्, दोहोरिंदैनन् । धार्मिक अहंकार सबैले त्याग्नै पर्दछ । आफ्नो धर्म नै उच्च हो, अरु निकृष्ट हुन् भन्ने भावना कसैले पनि राख्नु हुँदैन । समाजमा सामाजिक सद्भावको प्रचारप्रसार जरुरी छ ।

० भर्खरै ५ वटा प्रदेश सरकारमा नेपाली कांग्रेस र एमालेको गठबन्धन टुटेर एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धन बन्ने भएको छ । प्रदेश सरकारमा यो गठबन्धन किन फेरबदल भएको होला ?
–दलीय स्वार्थहरु नमिलेकाले नेका र एमालेको प्रदेशस्तरको सरकारको गठबन्धन टुटेको हो ।जस्तै – प्रदेश सरकारले बजेट पेश गर्दा नेका र एमालेको बीचमा कुरा मिलेन र एमालेले भनेको वा माग गरेको बजेट राखिएन ।
त्यसले गर्दा गठबन्धन फेरबदल भयो । नेपाली कांग्रेस भित्रको विवादले गर्दा पनि नेका– एमाले गठबन्धन टुट्नमा मद्दत पुगेको होला । सरकारी गठबन्धन टुट्नु र जोडिनुसित नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको लागि खासै महत्व छैन ।

० भारतमा चलेको कक्रोच जनता पार्टीको आन्दोलन अहिले सहमतिमा टुंगियो । त्यसलाई कसरी हेर्नुहुन्छ ?
–कक्रोच जनता पार्टीको भ्रष्टाचारको विरोध, भारतको सबै क्षेत्रमा भएका बेथिति र विसंगतिको विरोध बेरोजगारीको समस्या आदि मुद्दालाई उठाएर जुन आन्दोलन चल्यो त्यो पुँजीवादी संकटकै परिणाम हो । पुँजीवादी व्यवस्थाले भारतमा पनि भ्रष्टाचार, बेरोजगारीका समस्या समाधान गर्न सकेको छैन । पुँजीवादी व्यवस्था नै भ्रष्टाचार र बेथितिको स्रोत भएकाले अहिले तत्काल आन्दोलन रोक्ने सहमति भए पनि समस्या समाधान हुनेवाला छैन ।यस्ता आन्दोलन फेरि उठ्नेवाला छ । भारतमा उठेको कक्रोच आन्दोलन नेपाल, बंगलादेश र श्रीलंकाको जेनजी आन्दोलन भन्दा केही फरक नै देखियो ।

० भारतका गृहमन्त्री अमित शाहले माओवादी आन्दोलन समाप्त भएको घोषणा गरे । के यो आन्दोलन नउठ्ने गरी भारतमा दबाइएको हो ?
–क्षणिक रुपमा माओवादी आन्दोलन कमजोर मात्र भएको हो । माओवादी आन्दोलन शोषण, दमनका विरुद्ध उठेको विद्रोह हो । त्यसैले समाजमा वर्गीय विभेद छँदासम्म आन्दोलन, विद्रोह, क्रान्ति भइरहन्छ । १९४७ पछिको तेलंगना विद्रोहलाई दमन गरेपछि भारतमा अब कम्युनिस्टहरुको विद्रोह उठ्दैन होला भनिएको थियो तर १९६० को दशकमा नक्सलवादी आन्दोलन उठ्यो । नक्सलाइट आन्दोलनलाई दमन गरेपछि अब कम्युनिस्टहरुको क्रान्ति सकियो भन्ने ठानेका थिए प्रतिक्रियावादीहरुले तर पछि माओवादी आन्दोलन सशक्त बन्यो । अहिले माओवादी आन्दोलन समाप्त भएको घोषणा गरे पनि फेरि जनताको संघर्ष उठ्ने छ ।

० गत फागुन २१गतेको चुनाव पछि वाम ध्रुवीकरणको कुरा अलि बढी सुनिन थालेको छ । यसबारेमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले के सोंचाई बनाएको छ ?
–गत फागुन २१ गतेको निर्वाचनमा वामपन्थी भनिने संसदवादी पार्टीहरु पराजय भए र उनीहरु सरकारमा जान नसक्ने भए । पुनः यही प्रतिक्रियावादी सत्ता अन्तर्गतको सरकारमा फर्कनका लागि शक्ति आर्जन गर्न एकथरी आफूलाई वामपन्थी बताउने संसदवादी पार्टीहरु प्रयासरतछन् । र, जोडतोडले वामपन्थी एकताको प्रचार गरेका छन् । यही प्रतिक्रियावादी सत्ता अन्तर्गतको सरकारमा जान वा सेवा सुविधा लिनका लागि वामपन्थी एकता गर्नुको खासै अर्थ छैन । साँच्चिकै क्रान्तिकारी आन्दोलनलाई गति दिनका लागि क्रान्तिकारी शक्तिहरुका बीचमा वामपन्थी ध्रुवीकरण आवश्यक छ । क्रान्तिकारी शक्तिहरुका बीचमा सकभर पार्टी एकता नै गर्नुपर्छ । पार्टी एकता हुन नसके पनि बलियो संयुक्त मोर्चा वा कार्यगत एकता गरेर जानुपर्छ ।

० १४ नं. व्यूरोमा क्रान्तिकारी कम्युनिस्ट नेपालको गतिविधिबारे सुनाउनुहोस् ?
–उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु यी चार जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १४ नं. व्यूरो हो । विगतमा नेपाली कांग्रेस जस्तो पुँजीवादी पार्टीको पनि त्यो क्षेत्र सशक्त नै थियो । जस्तै ओखलढुंग र सोलुखुम्बुमा कांग्रेसको इतिहास राम्रै छ, टिम्बुरबोटे काण्ड चर्चित काण्ड हो ।
जहाँ पञ्चायती व्यवस्थाको विरोधमा २०३१ सालमा नेपाली कांग्रेसले सशत्र विद्रोहको तयारी गर्दा दर्जनौं कार्यकर्ता गुमायो । माओवादी जनयुद्धका समयमा सयौं साथीहरु सहिद हुनुभयो । २०५८ को सोलुखुम्बुको सल्लेरी आक्रमणको घटना माओवादी आन्दोलनको महत्वपूर्ण ऐतिहासिक घटना थियो । त्यो क्षेत्रमा विगतमा माओवादीको राम्रै प्रभाव थियो । माले धारको खोटाङ र उदयपुरमा राम्रै उपस्थिति थियो । मसालको उदयपुरमा विगतमा सुकुम्बासी,किसान र दलित आन्दोलनमा राम्रै भूमिका थियो । वामपन्थी आन्दोलनमा टुटफुट भएकाले अहिले यो क्षेत्रमा सही वामपन्थी आन्दोलन कमजोर जस्तो देखिए पनि विगतको क्रान्तिकारी इतिहासलाई टेक्दै क्रान्तिकारी आन्दोलनलाई संगठित गर्दै अगाडि बढ्न जरुरी छ ।

० १४ नं. व्यूरोमा पार्टीको आगामी कार्यक्रम के छ ?
–किसान संगठनलाई विशेष ध्यान दिने, जनवर्गीय संगठनहरुलाई क्रियाशील बनाउने, पार्टीको जिल्ला सम्मलेनहरु गर्ने,संघर्षको सन्दर्भमा राष्ट्रिय र स्थानीय समस्याहरु मिलाएर संघर्ष गर्ने हाम्रो योजना छ ।

० राजनीतिक आन्दोलनमा सबैभन्दा पहिले कसरी आकर्षित हुनुभयो ।
– रामेछाप न.पा. वडा नं. ९ लेङलेङ भिरपानीमा मेरो जन्म भएको हो । नेवार कम्युनिटीमा म जन्मिएँ । २०५३ मा एमाले निकट अ.ने.रा.स्व.वि.यु. गौरीशंकर माध्यमिक विद्यालयको प्रा.क.सदस्यबाट मेरो राजनीति प्रारम्भ भयो । २०५७ को अन्त्यतिर एमाले छाडें । ०५४ मा आमा मोतिमाया खड्गी  एमालेबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

० एमाले छाडेर माओवादीमा किन लाग्नु भयो ?
–एमाले काम गरिखाने गरिव वर्गको पार्टीको भनेर एमालेमा लागेको थिएँ । तर व्यवहारबाटै एमाले गरिवको पार्टी रहेन भन्ने बुझियो । २०५८ को वैशाखदेखि माओवादीमा लागे । भाद्रदेखि पूर्णकालीन र भूमिगत भएर लागे ।

० माओवादी आन्दोलनमा लाग्न के कुराले प्रेरित ग¥यो ?
–जनादेश र मूल्यांकनको विशेष भूमिका रह्यो । मलाई कुनै व्यक्तिले कन्भिन्स गरेको हैन ।

० जनयुद्धकालमा तपाईको भूमिका ?
–पार्टीमा रामेछापमा इलाका कमिटी , एरिया र जिल्लामा रहेर काम गरे । सांगठिक जिम्मामा रहेन र जनसेनाको भूमिकामा म थिएन ।

० २०६९ मा प्रचण्डको नेतृत्वको एनेकपा (माओवादी) परित्याग गरी मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीतर्फ संगठित हुनुको कारण ?
– एनेकपा (माओवादी) को नेतृत्वले क्रान्तिकारी विचारलाई तिलाञ्जली दिएकाले क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी विचारको रक्षाका लागि मोहन वैद्यको नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नु परेको थियो ।

० क्रान्तिकारी आन्दोलनलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने ठान्नु हुन्छ ?
–मुख्य कुरा विचारकै प्रश्न हो । क्रान्तिकारी संघर्ष निर्माणका लागि अध्ययन, छलफललाई तीव्र पार्नुपर्छ । एउटा सही विचारका आधारमा संघर्ष अगाडि बढाउनु पर्दछ ।

० पार्टी आन्दोलनमा कुनै स्मरणीय घटना ?
–जनयुद्धकालका घटना थुप्रै स्मरणीय छन् । पछिल्लो पटक २०७९ मा नयाँ बानेश्वरमा राष्ट्रघाती एमसीसीविरुद्धको आन्दोलनमा प्रहरीको लाठीबाट टाउकामा चोट लागेर ७ वटा टाँका लाउनु परेको थियो ।

० अन्त्यमा केही छ कि?
–वर्गी उत्पीडन विरुद्धको मुद्दा कसले उठाएको छ । त्यसलाई ध्यान दिएर पार्टीमा आबद्ध हुन आम जनतालाई आग्रह गर्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित