काठमाडौं । गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि दश दिनपछि सुरुङभित्र प्रवेश गरी उनीहरूलाई बाहिर निकाल्ने कार्य सुरु गरिएको छ। बाढीका कारण आयोजनाको सुरुङ तथा पहुँचमार्गमा ठूलो मात्रामा लेदो, पानी र गेग्रान थुप्रिएपछि उद्धार कार्य जटिल बनेको थियो। उद्धार टोलीले सुरुङभित्रको अवरोध हटाउँदै फसेका व्यक्तिहरूसम्म पुग्ने प्रयासलाई निरन्तरता दिएको छ।
रसुवाको बाढीपछि सम्पर्कविहीन भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ३१ वर्षीय सञ्जयकुमार साह त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र सकुशल भेटिए । साह त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् । सुरुङभित्र रहेका साहलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साहलाई विहानमा उद्दार गरिएको थियो र दिउँसोपख सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरिएको छ । दिउसोतिरै एक जनाको शव पनि निकालिएको छ । दश दिनदेखि निरन्तर जारी उद्धार प्रयासपछि सुरुङभित्र फसेकाहरूलाई बाहिर निकाल्ने चरण सुरु भएको हो।

