लोकनारायण सुवेदी
आज पनि हाम्रो देशमा खेतीपाती र पशुपालन नै सबैभन्दा बढी रोजगारी दिने क्षेत्र हो भन्दा अत्युक्ति नहोला । हाम्रो ग्रामीण अर्थव्यवस्था केवल बालीनालीको खेती किसानीबाट मात्र होइन, पशुपालन र स–साना लघु तथा कुटीर उद्योग व्यवसायबाट परिचालित हुँदै आएको हो । त्यसैले हिजो पशुपंक्षीहरु एक किसिमले किसानहरुको लागि बैंकको ‘फिक्स्ड डिपोजिट’ अर्थात ‘मुद्दती खाता’ जस्तै हुने गरेका थिए । जसलाई अत्यन्तै जरुरी अबस्थामा मात्र बेचिने गरिन्थ्यो ।
तर अहिले देशका किसानहरु अभूतपूर्व संकटबाट गुज्रिरहेका छन् । अब त यो किसानको संकटलाई जान्न बुझ्नका लागि कुनै विशेष अध्ययन गर्नुपर्ने आवश्यकता नै छैन । यो संकट रासयनिक खेतीसँग जोडिएको छ । जतिबेला पारम्परिक प्राकृतिक खेतीपातीमा खेत र हल गोरुको घनिष्ठ सम्वन्ध थियो । किसानी र पशुपालनका बीच पनि उत्तिकै गहिरो सम्वन्ध थियो । तर अब ट्र्याक्टर आए पछि यो सम्वन्ध टुट्दै गएको छ । खेतबारी रासायनिकीकरणले उर्बराहीन बन्दै गएका छन् । त्यसैल आज यहाँ परम्परागत खेतीपातीको चर्चा गर्न लागिएको हो । यसबाट हिजो र आजको खेतीपातीको समग्रतालाई बुझ्न र सहीबाटो लाग्न मद्दत पुग्नेछ भन्ने लाग्दछ । खेतीमा लाग्ने अत्याधिक लागत कम गर्न सकिन्छ र खेतीकिसानी तथा किसानहरुको आजीबिका तथा बिग्रदो पर्यावरणको स्थितिलाई बचाउन सहयोग गर्न पनि सकिनेछ ।
यूगौंदेखि हाम्रो देशमा खेती किसानी हुँदै आएको छ । यो देशको हावा–पानी अनुकूल बिकसित हुँदै आएको हो । यसका धेरै नै बिबिधताहरु पनि छन् । यो केवल बालीनाली या फसल उत्पादन मात्र पनि होइन ।यो एउटा दीगो जीवन पद्धति र सभ्यता पनि थियो । मोटामोटीरुपमा स्वावलम्बी र आत्मनिर्भर खेतीपाती हुने गर्दै आएको थियो र यो श्रम आधारित खेतीपाती थियो । किसानहरुसँग स्वयं उत्पादित स्वदेशी बिउ बिजन हुन्थ्यो । पशुपालन हुन्थ्यो र घरगोठको गोबरले मलको काम गर्दथ्यो ।जसले गर्दा माटोको उर्वरता कायम रहन मद्दत गर्दथ्यो ।खेतीपातीसँग सम्बन्धित कयौं प्रकारका रोजगारीहरु पनि प्रचलनमा थिए । जसमा ग्रामीण समुदायको आजीविका चल्ने गर्दथ्यो ।
पुरानो जमानामा गाउमा बढईका काम कृषि यन्त्र बनाउनु थियो ।उसले बयल गाडीका चक्काहरु, हलो जुवा, जोतारो,हल्लुड आदि बनाउदथ्यो । जसको बदलामा उसलाई किसानबाट अनाज मिल्दथ्यो । परम्परागत खेतीमा भिन्नै किसिमले बाहिरी लगानीको आवश्यकता पर्दैनथ्यो । न बालीनालीमा आधुनिक रासायनिक मलखाद हाल्ने आवश्यकता नै थियो न कीटनाशक र रोगनाशक औषधीकै आवश्यकता पर्दथ्यो । पशुहरुको गोठालो गर्न पनि अतिरिक्त खर्च हुने नै गर्दैनथ्यो । बालीनालीको नल पराल, ढोड या डाँठबाट तयार भुस्सा भुस्सी र डाले तथा भुइघासबाट तिनको पेट भरिन्थ्यो । आबश्यक कुँडो र खोले पकाएर दिने चलन पनि थियो । जसका सामाग्री खेतीबालीबाटै प्राप्त हुन्थे । बाहिर खोजी गर्नै पर्दैनथ्यो ।
अर्कोतिर देशमा बालीनालीका डाँठ पराल आदि कुहिएर जैबिक मलखाद बन्दथ्यो र पशुहरुको गोबरबाट अत्यन्तै मलिलो मलखाद प्राप्त हुन्थ्यो । गोबर मलले खेत बारीको उर्बरता बढ्दै जान्थ्यो । बालीनालीका मित्र किरा पतंगले नै कीट नाशकको काम गर्दथे । पक्षीहरुले पनि कीटनाशकको भूमिका राम्रैसँग निभाउदथे । गाई गोरुलाई खुवाउनका निम्ति पहिला खेतमा बिभिन्न किसिमका घाँस या चारो उपलब्ध हुन्थ्यो । खरुकी, बन्सो, रत्नाउलो, सिरु, दुबो, काँस, बथुवा लगायतका झार घास तथा असारे, दुधिलो, खन्यौं, पटपटे, बाँस, काब्रो, निवारो,टाँकी, सिरीस,सउर, बर आदि अनेक डाले घासहरु उपलब्ध हुन्थे ।
नेपाल लगायत कयौं देशहरुमा आज पनि खेतीपाती र पशु पंक्षी पालन नै सबैभन्दा बढी रोजगारी दिने क्षेत्र रहेकै छन् । ग्रामिण अर्थव्यवस्था केवल बालीनालीबाट मात्र होइन,पशुपंक्षी पालन, स–साना कुटीर तथा लघु उद्योग व्यवसाय पनि सञ्चालित हुँदै आएका हुन् । पशुपंक्षीहरु एक किसिमल किसानहरुको लागि बैंकको फिक्स डिपोजिट जस्तै हुन्थे र किसानहरुले अति आवश्यक परेको बेला तिनलाई बेचेर काम चलाउँदथे ।
त्यसमा पनि गाउँघरमा गाई बस्तु र मानिसका बीचमा एकदमै प्यारो र परस्पर स्नेही सम्वन्ध हुन्थ्यो । त्यस बारेमा अनेक रमाईला कथा कुथुँग्रीहरु पनि सुन्न पाइन्थ्यो । बास्तवमा गाई भैसी, गोरु बाख्राहरुलाई बडो लाड–प्यार गरेर पालिन्थ्यो । ग्रामीण मानिसहरु अहिले पनि भन्ने गर्दछन् कि पशुपंक्षीहरुलाई बच्चालाई स्याहार सुसार गरे जस्तै गरेर पालन पोषण गरी हुर्काइन्थ्यो । गाईबस्तुको उमेर गुज्रिएर बुढा भए पनि तिनलाई किलामा बाँधेर घाँसपात, कुडो–खोले दिने गरिन्थ्यो । यी सबै कुराले मानिस पशुपंक्षी तथा बालनालीकाप्रति मानिसहरु अर्थात ग्रामीण किसानहरु यसरी निकै भाबनात्मकरुपमा सम्बेदनशील रहन्थे भन्ने प्रष्ट हुन्छ ।
अहिले पनि गोरु तिहारका बेला गोरुप्रतिको बिशेष सम्मान या प्रेम दर्शाउने गरेको देखिन्छ । त्यतिबेला गोरुलाई माला टिका लगाएर सेल रोटी लगायतका पक्वान्न मिस्टान्न खुवाउने गरेको देखिन्छ ।तराईमा कुनै मेला पर्ब, बिबाह या उत्सबहरुमा जाँदा गोरु गाडमा चढेर जाने गरिन्थ्यो । गाई बस्तुहरु र मानिसका बिचमा यस्तो गाढा सम्वन्ध बनिसकेको या बनिरहेको देखिन्छ कि जंगलमा चर्न छोडेका गाई बस्तुहरु पनि साँझ फर्केर घर आउँदछन्, आउँदथे उनीहरुलाई लिन जानु पर्दैनथ्यो । तिनीहरु कतै टाढै पुगेको भए पनि उनीहरुको गलामा लगाइदिएको घण्टीको आवाज सुनेर खोज्न सजिलो हुन्थ्यो ।
गाउँका किसानहरु चाहे ती महिला हुन् पुरुष गाई गोरु भैसी जे पालेको भए पनि तिनलाई बडो सम्बेदनशील भएर बेला बेलमा नुहाइदिने, भकारो सोरर बस्ने थलो सफा बनाइदिने र घासँ, कुँडो, खोले दिने जस्ता कार्यहरु नियमितरुपमा गर्ने गरिन्थ्यो । साना भर्खर जन्मेका बाच्छा, पाडा, पाठा पठीहरुको बिशेष हेरचाह गरिन्थ्यो । तिनलाई गोठ या ग्वालीमा लगेर बाध्ने या टाट्नामा बाँधेर राख्ने काममा धेरैजसो महिलाहरुले गर्ने गर्दथे । बाखा्र पाठाहरु भेडाहरुको हेरचाहा या चराउने काममा केटा केटीहरुले पनि सहयोग पु¥याउने गर्दथे । यसरी ग्रामीण किसान र पशुपंंक्षीहरुका बीच एउटा आत्मीय सम्बन्ध बन्दथ्यो । सधै अफुलाई हेरचाह गर्ने मानिस छेउमा पुग्दा गाईबस्तुहरुले पनि विशेष किसिले कराएर आफु सुरक्षित र ढुक्क भए जस्तो कुरा अभिब्यक्त गर्ने गर्दथे ।
वास्तवमा खेतीपाती र पशुपालन एक अर्काका परिपुरक र सहयोगी गतिबिधि हुन् । पहिला पहिला भेडी गोठ, गाई भैंसीको थला सार्ने किला सार्ने गरेर खेतबारीमा तिनको मलमुत्र प्रयोग गरिने पनि चलन थियो । तर अब भने पशुपालको त्यो पुरानो महत्वपूर्ण चलन समाप्त भएर गएको छ । रासायनिक मलको चलनले गर्दा खेतबारी रासायनिकीकरण भएर माटोको उर्बरा शक्ति र माटोको बनावटमा पनि आज फरक आइसकेको छ । त्यो कडा किट जस्तो भएर गएको छ र त्यसमा मैत्री–जीव कीरा हुर्कने र खेतीपातीलाई मलिलो र उर्बर राखिराख्ने स्थिति नै लोप भएर गएको छ ।
आज त जंगल पनि मासियो । चरिचरन पनि हरायो । पशुपालनमा पनि सीमित र कृत्रिम भएर गयो । अर्गानिक र प्राकृतिक खेतीपाती र पशुपालनको अभावले गर्दा खेतीपाती, पशुपंक्षी पालन नै आज अप्राकृतिक र रासयनिक बनेर गएको छ । जुन एकदमै अस्वस्थकर र रोगब्याधी निम्त्याउने खालको बनेको छ । जसले गर्दा मानब स्वास्थ्य, माटो स्वास्थ्य समग्रमा प्रकृति सबैको स्वास्थ्य बिग्रिएर गएको छ । यसलाई पुनः पुनरोत्थान गर्नु पर्ने आवश्यकता छ ।
आज यान्त्रिकरणको जमाना आएको छ । त्यसले गर्दा समेत बिश्व गर्मी(ग्लोबल वार्मिङ्ग)को समस्या पैदा भएको छ र यो बिश्वकै ठूलो चिन्ताको बिषय पनि बनेको छ । यी समस्याहरुसँगै आर्थत ऊर्जा संकट, बिद्यूत संकट तथा मानब श्रमको बहुलतालाई ध्यानमा राखेर हाम्रो जस्ता देशहरुले यी सबै कुरालाई मध्यनजर राखेर सही किसिमले खेती किसानीतर्फ बढ्नु पर्ने स्थिति बिकसित भएको छ । यसका लागि पशु ऊर्जाको महत्वपूर्ण भूमिका रहनजान्छ । यसबाट माटो र पानीको संरक्षण त हुन्छनै जैब विविधता र पर्यावरणको पनि रक्षा हुन्छ । किसान र पशुपालनको आजीविका पनि बच्ने र चल्नेछ । खेतीपातीसँग जोडिएको रोजगारी तथा सीप र कौशल पनि बिकसित हुने र कायम रहनेछ । तर प्रश्न के भने हामी प्रकृति–मैत्री, पर्याबरण–मैत्री खेतीपाती र पशुपालनतिर लाग्न तयार हुनु पर्दछ । पर्यावरण र प्रकृतिको सन्दतुलन कायम गर्न सकिएन भने जैविक खेती पनि कायम रहन पाउने छैन भन्ने कुरालाई राम्रोसँग मनन र कार्यान्वयन गर्न तयार हुनु पर्दछ ।
यसमा अतिरिक्त प्रकृतिका अधिशासित नियलाई सन्तुलनमा राख्न नसकेर या नजानेर प्रकृतिमाथ जथाभावी गर्दा बाढी पहिरो, हिम पहरो, बाढी आदिका कारणले नि जनधन र खेतीपातीमा ठूलो क्षति भइरहेको छ । त्यसैले विकास निर्माणहरु प्रकृति–मैत्री र मानब–मैत्र हुनु पर्ने आवश्यकता आज अझ बढ्न गएको छ । अहिले हामी भोटेकोशी–हिम पहिरोको महाविनाशकारी चपेटामा परेर ठूलो जनधनको क्षति भइरहेको स्थितिबाट गुज्रिरहेको अबस्थामा अब भविष्यमा यस्ता घटनाबाट कसरी जोगिने भन्ने राष्ट्रिय र अन्तराष्ट्रिय चिन्ता र चासो बढिरहेको छ । त्यसैले प्रकृति–मैत्री र मानब–मैत्री खेतीपाती र बिकास निर्माणको सही बाटो लाग्न थप चिन्तनशील र संबेदनशी हुनु पर्ने आबश्यकता अझ बढेको छ । प्रकृतिलाई जोगाउँदै र आफु पनि जोगिदै अघि बढ्ने सही र वैज्ञानिक बाटोमा संघनताकासाथ लाग्नु नै आजको सर्बोपरी आवश्यकता बनेको छ ।
Comments

