• देबेन्द्र बस्याल
सन् १८७१ को पेरिस कम्युन विश्व सर्वहारा क्रान्तिको इतिहासमा एउटा कोशेढुङ्गा हो । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सका शिक्षाहरूलाई आत्मसात गर्दै भ्लादिमिर लेनिनले पेरिस कम्युनको गहिरो अध्ययन र विश्लेषण गरेका छन् । यो पुस्तक मूलतः मजदुर वर्गले सत्ता कब्जा गर्दा कस्ता चुनौतीहरू आउँछन्, राज्यसत्ताको स्वरूप कस्तो हुनुपर्छ र क्रान्तिलाई कसरी जोगाउनुपर्छ भन्ने विषयमा केन्द्रित वैचारिक मार्गदर्शक हो ।
सन् १८७० मा फ्रान्सका शासक नेपोलियन तृतीय र प्रुसिया (जर्मनी) का शासक बिस्मार्कबीच युद्ध भयो । यस युद्धमा फ्रान्सको नराम्रो पराजय भयो र पेरिसलाई जर्मन सेनाले घेरा हाल्यो । फ्रान्सको तत्कालीन बुर्जुवा (पूँजीवादी) सरकारले जनताको रक्षा गर्नुको सट्टा शत्रुसामु आत्मसमर्पण गर्यो र मजदुरहरूलाई निशस्त्र पार्ने प्रयास गर्यो। पेरिसका देशभक्त र शोषित मजदुरहरूले सरकारको यो गद्दारीलाई स्वीकार गरेनन् । १८ मार्च १८७१ मा पेरिसका श्रमजीवी जनताले सशस्त्र विद्रोह गरे । पूँजीवादी शासकहरू पेरिस छोडेर भर्सायल (Versailles) भन्ने ठाउँमा भागे । यसरी पेरिसको सत्ता पूर्ण रूपमा मजदुर र सर्वहारा वर्गको हातमा आयो, जसलाई “पेरिस कम्युन” नाम दिइयो । कम्युनका ऐतिहासिक तथा क्रान्तिकारी कदमहरू क्रान्तिकारी, रोचक र जनपृय छन ।
७२ दिनको छोटो अवधिमा पनि पेरिस कम्युनले इतिहासमै पहिलो पटक “मजदुरहरूको राज्य कस्तो हुन्छ” भन्ने कुरा व्यवहारमा देखाएर प्रमाणित गरिदियो । कम्युनले पुरानो राज्ययन्त्रको ध्वंस गऱ्यो र यसले पूँजीपति वर्गलाई संरक्षण दिने पुरानो नोकरशाही (कर्मचारीतन्त्र) र स्थायी सेनालाई पूर्ण रूपमा खारेज गरिदियो । सेनाको ठाउँमा जनताकै सशस्त्र दस्ता (National Guard) स्थापना गरियो । सच्चा लोकतन्त्र र उत्तरदायित्व सहित कम्युनका सबै प्रतिनिधि र पदाधिकारीहरू जनताद्वारा प्रत्यक्ष निर्वाचित हुन्थे । यदि उनीहरूले जनहितमा काम गरेनन् भने जनताले जुनसुकै बेला फिर्ता बोलाउन (Recall) सक्ने अधिकार पाएका थिए । आर्थिक समानता (समान ज्याला)मा राज्यका उच्च अधिकारी वा मन्त्रीहरूको तलब साधारण मजदुरको भन्दा बढी नहुने व्यवस्था गरियो । यसले कर्मचारीतन्त्रको विशेषाधिकार अन्त्य गरिदियो । चर्च र राज्यको पूर्ण पृथकीकरणमा जोडदिंदै धार्मिक संस्थाहरू (चर्च) को हातमा रहेको शिक्षा र सम्पत्तिको अधिकार खोसियो । शिक्षालाई वैज्ञानिक, निःशुल्क र धर्मनिरपेक्ष बनाइयो । मजदुरमुखी आर्थिक सुधारका कामहरू गरियो जस्तै कि मालिकहरूले छोडेर भागेका कारखाहरू मजदुरहरू आफैंले सहकारीका रूपमा सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरियो । रातको समयमा बेकरीमा काम गर्ने मजदुरहरूको कठिन श्रमलाई प्रतिबन्ध लगाइयो । पेरिसमा मजदुरहरूको शासन सुरु भएपछि फ्रान्सका पूँजीपतिहरू र शोषक वर्ग आत्तिएका थिए । भर्सायलमा लुकेको फ्रान्सेली बुर्जुवा सरकारले हिजोसम्मको आफ्नो कट्टर शत्रु प्रुसिया (जर्मन सेना) सँग संझौता गर्यो। जर्मन शासकहरूले पेरिसका मजदुरहरूलाई कुल्चनका लागि फ्रान्सेली युद्धबन्दीहरूलाई मुक्त गरिदिए र हतियार दिए ।
२१ मे देखि २८ मे १८७१ सम्म पेरिसको गल्ली–गल्लीमा भयानक युद्ध भयो, जसलाई इतिहासमा ‘रक्तपातपूर्ण हप्ता’ भनिन्छ । आधुनिक हतियारले सुसज्जित सरकारी सेनाले निशस्त्र र वीरतापूर्वक लडिरहेका ३० हजारभन्दा बढी मजदुर, महिला र बालबालिकाहरूको निर्मम सामूहिक हत्या गर्यो। हजारौँलाई जेल चलान र देशनिकाला गरियो । यसरी संसारको पहिलो मजदुर सरकारको दुःखद अन्त्य भयो । लेनिनले यस पुस्तकमा पेरिस कम्युन किन पराजित भयो भन्ने कुराको वस्तुवादी र आलोचनात्मक विश्लेषण गरेका छन् । उनका अनुसार कम्युनका मुख्य दुईवटा ऐतिहासिक गल्तीहरू थिए: एक, अत्यधिक उदारता र शत्रुप्रतिको नरमपन, क्रान्ति सफल भएपछि मजदुरहरूले भर्सायलतर्फ बढेर बुर्जुवा सरकारको बाँकी सैन्य संयन्त्रलाई तुरुन्तै ध्वस्त पार्नुपर्थ्यो, तर उनीहरूले त्यसो गरेनन् । उनीहरूले शत्रुलाई संभ्रिने र सेना जम्मा गर्ने समय दिए । दुई, केन्द्रीय बैङ्क कब्जा नगर्नु: कम्युनले ‘बैंक अफ फ्रान्स’ (राष्ट्रिय बैंक) लाई कब्जामा लिनुको सट्टा त्यसको सुरक्षा गर्यो। यदि बैंक कब्जा गरिएको भए पूँजीपतिहरूको आर्थिक मेरुदण्ड भाँचिने थियो र उनीहरू आत्मसमर्पण गर्न बाध्य हुने थिए । कम्युनले प्रतिक्रान्तिकारीहरूको दमनमा कमजोरी देखायो । पेरिसभित्रै रहेका जासुस र प्रतिक्रान्तिकारीहरूलाई कम्युनले कडा कारबाही गर्न सकेन । लेनिन भन्छन्, “क्रान्तिमा अत्यधिक दयालु हुनु भनेको आफ्नै चिहान खन्नु हो ।” कम्युनमा अनुभवी राजनीतिक पार्टीको अभाव कारण मजदुरहरूलाई सही दिशा निर्देश गर्ने, सैन्य रणनीति बनाउने र वैचारिक रूपमा एकताबद्ध गराउने एउटा अनुशासित र एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टीको अभाव थियो । पेरिस कम्युनबाट प्राप्त शिक्षाहरू र विश्वव्यापी महत्व के कुरामा निहित छ भने मार्क्स र लेनिन दुवैले पेरिस कम्युनलाई एउटा महान् प्रयोगशालाको रूपमा हेरेका छन् । यस पुस्तकमा लेनिनले कम्युनबाट प्राप्त मुख्य शिक्षाहरूलाई यसरी प्रस्तुत गरेका छन्: पूँजीवादी राज्ययन्त्रलाई सुधार्न सकिँदैन, ध्वस्त पार्नुपर्छ: मजदुर वर्गले पुरानो पूँजीवादी राज्यसत्ता (अदालत, सेना, प्रहरी) लाई जस्ताको तस्तै प्रयोग गरेर समाजवाद ल्याउन सक्दैन । त्यसलाई पुरै भत्काएर नयाँ सर्वहारा राज्यसत्ता निर्माण गर्नुपर्छ ।
सर्वहारा वर्गको अधिनायकत्व (Dictatorship of the Proletariat) क्रान्तिलाई जोगाउन र शोषक वर्गको प्रतिक्रान्तिलाई दबाउन मजदुर वर्गको दृढ र निरंकुश सत्ता (अधिनायकत्व) आवश्यक हुन्छ भन्ने कुरा पेरिस कम्युनको रगतले सिकाएको छ । अन्तर्राष्ट्रियतावादको भावना: पेरिस कम्युन केवल फ्रान्सको मात्र थिएन । यसले संसारभरिका श्रमजीवीहरूलाई एउटै वर्गको रूपमा जोड्यो । कम्युनको रातो झण्डा “विश्व सर्वहारा गणतन्त्रको झण्डा” बन्यो । भ्लादिमिर लेनिनले पेरिस कम्युनको यही अनुभव, यसका सबल पक्ष र गल्तीहरूलाई गहिरोसँग अध्ययन गरेर आफ्नो प्रख्यात पुस्तक “राज्य र क्रान्ति” (State and Revolution) मा व्याख्या गरेका छन् । कम्युनकै शिक्षाहरूको जगमा उभिएर लेनिनले एउटा अनुशासित ‘बोल्सेविक पार्टी’ गठन गरे र सैन्य रणनीतिको तयारी गरे । अन्ततः, पेरिस कम्युनको गल्तीलाई नदोहोर्याएका कारण नै सन् १९१७ मा रूसमा अक्टोबर क्रान्ति सफल भयो र संसारको पहिलो दिगो समाजवादी राज्य स्थापना हुन सक्यो । यो पुस्तकले शासक वर्ग जतिसुकै क्रूर भए पनि जनताको क्रान्तिकारी आँधीलाई इतिहासमा सधैँका लागि दबाउन सकिँदैन भन्ने प्रेरणा दिन्छ।

