बागलुङ जिल्लाका मगरहरुको इतिहास र वर्तमान

– गुन्जमान बुढाथोकी मगर

यो सानो लेखमा धौलागिरी अञ्चको सदरमुकाम रहेको जिल्ला बागलुङका मगर जनजातिबारे संक्षिप्त प्रकाश पार्ने प्रयास गरिएको छ।
मगर जनजातिहरुको घना आवाद रहेको बागलुङका मगरहरुको पेशा कृषि तथा पशु पालन हो । बागलुङ शब्द स्वयं मगर भाषाबाट नै राखिएको नाम हो । जुन ठाउँ ऐतिहासिक कालदेखि नै यसै नामले प्रसिद्ध छ । यसको प्रारम्भिक रुप बागलुङ नभएर वाङलुङ थियो । मगर भाषामा ‘वाङ ’ भनेको टार वा गरा (खेत) बुझिन्छ । लुङ  भनेको ठूलो चट्टान वा ढुंगा भन्ने बुझिन्छ । बागलुङको भौगोलिक अवस्थित यस्तै ठूलो चट्टान तथा ढुंगे पहराको ढिस्कोमा अवस्थित ठूलो टार वा खेतको रुपमा छ । यसैको कारणले गर्दा यस ठाउँलाई बागलुङ भनियो । पछि बोलचालमा अघिल्लो ‘ङ’ अक्षर अप्रभंस भएर बागलुङ रहन गएको हो भन्ने जानकारहरुको तर्क छ । तर विडम्वनाको कुरा जसले भूमिपुत्रको रुपमा जमिन आवाद गरेर भूमिको न्वारन ९नामाकरण० गरे । तिनै जनजातिहरु त्यो ठाउँबाट विस्थापित भइ नगन्य मात्रामा बसोबास गर्दछन् । व्यापारिक, प्रशासनिक , शैक्षिक तथा कृषि हरेक दृष्टिकोणले महत्वपूर्ण मानिने उक्त बागलुङमा अन्य जातिहरुको र विशेष खड्का क्षेत्रीहरुको आधिपत्य छ । यसको मूल कारण उक्त मैदानी टारलाई शासक वर्गले ब्राम्हण क्षेत्रीहरुलाई विर्ता तथा गुठीको रुपमा प्रदान गरेकोले बागलुङ नाम राख्ने मगरहरु उब्जाउ भूमिबाट विस्थापित हुन पुगेको हो । यसको ज्वलन्त रुप अझ पनि बागलुङको मुख्य क्षेत्रको जग्गालाई ‘गुठी’ भनेर भनिन्छ । आज पनि मगर जनजातिहरु बागलुङ बजार नजिकैका गाउँहरुमा भने अत्यधिक रुपमा बसोबास गर्दै आएका छन् । जस्तो तित्याङ, भकुण्डे, बुकेनी, रतनेचौर, धिमी खरेना, सिगाना, चनौटे, कदिम, लेखानी, रहो, तंग्राम, चौराहा, फापरखेत, भुस्काट आदि गाउँमा मगर जातिहरुको अत्यधिक बसोबास छ।

मगर भाषाको वाङ शब्द अगाडि कुनै न कुनै अर्थको बोक्ने शब्द जोडिएर नाम रहेका त्यस्ता धेरै भूमिहरु बागलुङ जिल्लाभित्र प्रशस्त छन् । त्यसरी वाङ जोडिएका ठाउँ भाषिक अर्थमा झै खेत, गरा वा सम्म परेको सानो इलाका नै पाइन्छ । त्यस्ता ठाउँहरुका नामहरु यहाँ केही दिइएको छ–खरबाङ, बुर्तिवाङ नवाङ, चिरवाङ, बोबाङ, लिवाङ, मधुवाङ, खोलेसवाङ, मल्कावाङ आदि ।

यसरी बागलुङ भूमिको न्वरान (नामाकरण) गर्ने देखि लिएर खानी खन्ने काम र त्यसपछि कृषि तथा पशुपालनमा तान्दै आएका मगरहरुको पृष्ठभूमि र कर्मभूमि बागलुङ जिल्ला रहँदै आएको छ। बागलुङमा मगरहरुको भाषिक र सांस्कृतिक, धार्मिक स्वरुपलाई दुई भागमा राखेर अध्ययन गर्नुपर्छ । प्रथम हिन्दु करण भएको पूर्वी इलाका र दोस्रो हिन्दुकरण भइनसकेको पश्चिमी क्षेत्र । पश्चिम बुर्तिवाङ गा.वि.स. सम्मको प्रायः सबै मगर जनजातिहरु हिन्दुधर्म संस्कृति परम्पराबाट प्रभावित छन् । जसको कारण यस क्षेत्रका मगरहरु आफ्नो भाषा बोल्न जान्दैनन्। आफ्नो मौलिक परम्परागत संस्कृति विशेष केही छैन । सबै हिन्दु परम्परा र संस्कृतिद्वारा निर्देशित छन् ।

बुर्तिवाङ गाविस देखि उत्तर पश्चिमी क्षेत्र विशेषगरी निसी र भूजी भेगका मगरहरु भने भाषिक, सांस्कृतिक क्षेत्रमा धनी छन् । त्यहाँ खाम मगर भाषा बोलिन्छ ।आफ्नै प्रकारको चाल चलन संस्कृति छ। परम्परागत शिल्प कला र घरेलु उद्योगको विकास भएको छ । यसै क्षेत्रको तमान र घोसाखानी जस्ता ठाउँमा नेपालका अल्पसंख्यक रुपमा रहेका छन्त्याल जनजातिहरु पनि बसोबास गर्दै आएका छन् ।

सांस्कृतिक तथा भाषिक विकासबारे अध्ययन गर्दा दुई भागमा विभाजित गरेर अध्ययन गरे पनि आर्थिक क्षेत्र र सामाजिक स्वरुप हेर्ने हो भने समस्त बागलुङ जिल्लाका मगरहरुको स्थिति एकै किसिमको छ । राणाकालीन समयमा खानी खन्ने काम गर्ने मगरहरुलाई करको रुपमा तामा र फलाम तिर्न बाध्य बनाइएको थियो । साथै त्यसरी तामा र फलाम खनेर कर तिर्न नसक्नेहरुलाई राणाहरुले खेतीपाती गरेको उर्वर भूमिबाट निकाल्ने गर्दथे भनी बुढापाकाहरु अझै भन्ने गर्दछन् । सन् १८१६ ईस मा नेपाल सरकारले इष्ट इण्डिया कम्पनी सरकारसँग सुगौली सन्धि गरेपछि पशुपालन, कृषि र खानी खन्ने काम गर्दै आएका मगर युवाहरुलाई भाडाका सिपाही बनाएर अंग्रेजको सामु नेपाल सरकारले “भेटी” चढाउन थाल्यो । त्यसपछि खानी व्यवसाय र कृषि व्यवसायबाट होइन कि अंग्रेज साम्राज्यवादले दिएको जुठोपुरोमा अर्धदासको रुपमा बाँच्नपर्ने बाध्यात्मक स्थितिमा मगरहरुलाई पु¥याईदियो । आफ्ना पूर्खादेखि वर्तमान पुस्तासम्मलाई भाँडाको सिपाही, कुल्ली दरवानी बनाएर राख्ने यो देशको निरंकुश सामन्तवाद तथा विदेशी विस्तारवाद र साम्राज्यवादीको विरुद्ध ज्वारभाटा बनेर जानुपर्छ भन्ने मान्यताका साथ संगठित लहरमा पनि देखिन थालेका छन् ।

संगठित अग्रगामी जनशक्तिको लहरमा सिद्धान्तनिष्ट तरिकाले लगेर लडे भने निश्चयनै मुक्तिको बाटो त्यति टाढा छैन । समाज परिवर्तनको जिम्मेवारीपूर्ण दायित्व पनि तिनै सचेत तथा अग्रगामी युवाहरुको काँधमा निर्भर छ ।

(नोट : यो लेख नयाँ हाँक साप्ताहिक, वर्ष ३ अंक ३७ , २०५१ असोज १७ गतेबाट लिइएको हो ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित