काठमाडौं । कार्ल माक्र्स र एङगेल्सले कम्युनिष्ट घोषणा पत्रमा लेखेका थिए , “ युरोप एउटा भूतद्वारा आतंकित भइरहेको छ – त्यो हो कम्युनिज्मको भूत ।” १७८ वर्ष पहिले माक्र्स र एङगेल्सले लेखे झै आज पनि युरोप कम्युनिज्मको भूतबाट आतंकित भइरहेको छ ।अहिले युरोप भरी आन्दोलनको ज्वार उठिरहेको छ । त्यहाँका शासकहरुलाई कम्युनिज्मको त्रासले सताइरहेको छ । युरोपका फ्रान्स, स्पेन, इटाली, जर्मनीलगायत ३० भन्दा बढी देशहरूमा सेप्टेम्बर २०२६ देखि सुरु भएको आन्दोलन मूलतः विद्यार्थी, युवापुस्ता (जेनजी), श्रमिक र ट्रेड युनियनहरूको अगुवाइमा महँगी, आवास संकट र शिक्षामा बजेट कटौतीविरुद्ध भइरहेको छ, जसमा कम्युनिस्ट तथा वामपन्थी समूहहरूको भूमिकाबारे शासक र शासक दलहरुले प्रश्न उठाइरहेका छन् ।
प्रदर्शनकारीहरुले कम्युनिष्टहरुको ” अन्तरराष्ट्रिय ” गुञ्जाएका छन् । कम्युनिष्ट पार्टीको झण्डा फहराएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों नेतृत्वको सरकार र दक्षिणपन्थी दल नेसनल र्यालीले यी प्रदर्शनहरूलाई अतिवामपन्थी तथा कम्युनिस्ट समूहहरूद्वारा प्रायोजित राजनीतिक चालका रूपमा चित्रण गरेका छन्। त्यसैगरी, द वासिङ्टन टाइम्स लगायतका केही पश्चिमा सञ्चारमाध्यमले मार्क्सवादी तथा कम्युनिस्ट सञ्जाल र वामपन्थी ट्रेड युनियनहरूले युरोपभरका हडताललाई समन्वय र परिचालन गरिरहेको दाबी गरेका छन्। सोभियत संघ विघटन भए पछि पुँजीवादीहरुले कम्युनिज्म समाप्त भएको घोषणा गरेका थिए । अहिले पनि पुजिवादीहरुका लागि सबैभन्दा खतरा कम्युनिज्मबाट नै छ। ।
पिपुल्स वर्ल्ड र टेम्पेस्ट म्यागजिन का रिपोर्टअनुसार फ्रान्सको युवा कम्युनिस्ट आन्दोलन र इटालीको कम्युनिस्ट वर्कर्स पार्टी जस्ता संगठनहरू विद्यार्थी र श्रमिकको पक्षमा सडक संघर्षको अग्रपंक्तिमा सक्रिय रूपमा सहभागी छन्। साथै, स्विस कम्युनिस्ट पार्टीका महासचिव मासिमिलियानो आयले सीजीटीएन सँगको अन्तर्वार्तामा यी आन्दोलनहरूलाई युरोपको युद्धअर्थतन्त्र र आर्थिक संकटविरुद्धको स्वाभाविक सामाजिक विद्रोहका रूपमा समर्थन गरेका छन्
आन्दोलनको सुरुवात कुनै एक राजनीतिक दल वा कम्युनिस्ट समूहबाट नभई हाई स्कुलका विद्यार्थीहरूको शैक्षिक सुधारको मागबाट भएको हो। पछि जीवनयापनको बढ्दो लागत, महँगो घरभाडा, बेरोजगारी र सैन्य खर्च वृद्धिको विरोधमा सामान्य नागरिक,येलो भेस्ट समूह र स्पेन तथा फ्रान्सका प्रमुख ट्रेड युनियनहरू जोडिँदै जाँदा यसले देशव्यापी आमहडतालको रूप लिएको हो ।
समग्रमा, यो आन्दोलनको जग आम युवा तथा श्रमिक वर्गको आर्थिक असन्तुष्टि भए तापनि कम्युनिस्ट तथा वामपन्थी संगठनहरूले यसलाई पुँजीवादी नीति र विरुद्धको वर्गसंघर्षका रूपमा अगाडि बढाउन सक्रिय भूमिका खेलिरहेका छन्।
अहिले युरोप अशान्त छ । लाखौं मानिस सडकमा छन्। हजारौं सुरक्षाकर्मी परिचालित छन् । प्रदर्शन क्रमिक रुपमा हिंसात्मक बन्दै छ । आगजनी तोडफोड र लुटपाट बढेको छ । युरोपका शक्ति राष्ट्रहरु नै क्रमिक रुपमा संकटमा धकेलिँदैछन् । विशेषगरी फ्रान्स, बेल्जियम, इटाली र पोर्चुगलमा ठूला आन्दोलन भइरहेका छन् । तीमध्ये फ्रान्स र इटालीमा दैनिकजसो प्रदर्शन चर्किँदो छ । फ्रान्समा पुरातात्त्विक भवनमा आगजनी गरियो, व्यापारिक भवनमा तोडफोड र लुटपाट भयो । सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण पेरिसका महत्वपूर्ण संरचना क्षणभरमै आगोको चपेटामा परे ।
फ्रान्समा आन्दोलनको पृष्ठभूमि – गएको सेप्टेम्बरको तेस्रो हप्तातिर पेरिसबाट दक्षिणपूर्वमा पर्ने सानो सहर क्रेतेइलमा एक विद्यालयका विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभाव, कक्षाकोठाको बिजोग जस्ता मुद्दा उठाएर सानो प्रदर्शन गरेका थिए । तर सामाजिक सञ्जालको प्रभावले त्यो विरोधको भिडियो देशव्यापी रुपमा फैलियो । १० दिनभित्रमै यो मुद्दा राष्ट्रिय मुद्दा बन्यो । त्यसपछि अक्टोबर ६ मा विशाल सडक आन्दोलन भएको थियो । जहाँ २ सय १५ युवा, ८५ शिक्षक कर्मचारी र ७ सयभन्दा बढी प्रहरी घाइते भए । आन्दोलनले निरन्तरता पाउँदै गर्दा माग पनि थपिँदै गयो । विद्यालयको भौतिक पूर्वाधार अभावबाट सुरु भएको आन्दोलनलाई विद्यार्थीहरुले महँगी र इन्धन मूल्यवृद्धि विरुद्ध पनि केन्द्रित गरे ।
विद्यार्थी आन्दोलनमा पहेँलो टिसटधारी समूह अर्थात यल्लो भेस्ट समूहले पनि ऐक्यबद्धता जनायो । जसका कारण आन्दोलन हिंसात्मक बन्न पुग्यो । यल्लो भेस्ट समूह यातायात मजदुरहरुको समूह हो, जसको उदय सन् २०१८ मा भएको थियो । राष्ट्रपति इमानुएल म्याक्रोँले इन्धनमा कर वृद्धि गर्ने योजना अघि सारेपछि यातायात मजदुर तथा चालकहरुले २०१८ को नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन गरे । उनीहरुले पहेँलो टिसट लगाएर प्रदर्शन गरेकाले उनीहरुको समूहको नाम यल्लो टिसट रहेको हो । त्यतिबेला यल्लो टिसट समूहको आन्दोलनका कारण म्याक्रोँ सरकार आफ्नो योजनाबाट पछि हटेको थियो । अहिले पनि विद्यार्थीको आन्दोलनमा त्यही समूह मिसिएको छ । फ्रान्समा इन्धन र ऊर्जाको मूल्य वृद्धि हुँदा आम नागरिकलाई जीवनयापन खर्च बढिरहेको छ । महँगी वृद्धिकै कारण सरकारप्रति युवा विद्यार्थी मात्रै नभई आम नागरिक असन्तुष्ट छन् । त्यही असन्तुष्टिले आन्दोलनलाई बल पुयाइरहेको छ ।
फ्रान्समा जस्तै बेल्जियम, इटाली र पोर्चुगलमा पनि बेग्ला बेग्लै प्रदर्शन भए ।
इटालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । प्रदर्शन मूलतः संसारभर जारी युद्ध र बढ्दो जीवनयापन खर्चको विरुद्धमा थियो । स्पेनमा त संसद नै विघटन भएको छ र मध्यावधि चुनावको घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी २९ नोभेम्बरमा मध्यावधि चुनावको घोषणा गरेका छन् ।
देशमा आकासिँदो घरभाडा र आवास संकटलाई लिएर जनआक्रोश बढेपछि सरकार मध्यावधि चुनावमा होमिएको हो । गत महिना मात्रै ८७ वर्षीया एक वृद्धाको घरभाडा ह्वात्तै बढाइएपछि त्यसको विरोधमा देशभर प्रदर्शन सुरु भएको थियो।
ती वृद्धाको मासिक घरभाडा ५०० युरोबाट बढाएर २,६५० युरो पु¥याइएको थियो। व्यापक विरोधपछि भाडा घटाएर १,६५० युरो कायम गरिए तापनि त्यो उनको हैसियतभन्दा बाहिर थियो । यस घटनाले देशव्यापी रूपमा आवास संकटको मुद्दालाई सतहमा ल्याएपछि प्रधानमन्त्री सान्चेजको सरकारले संसद्मा आपत्कालीन आवास विधेयक र राहत प्रस्तावहरू पेस गरेको थियो।तर, संसद्मा बहुमत नपुग्दा उक्त प्रस्तावहरू अस्वीकृत भए। संसदीय गतिरोध र जनप्रदर्शन तीव्र बनेपछि प्रधानमन्त्री सान्चेजले नयाँ जनादेशका लागि मध्यावधि चुनावमा जाने निर्णय गरेका हुन्।
रुस –युक्रेन युद्ध, इरान–अमेरिका युद्ध, इजरायल–प्यालेस्टाइन युद्ध, इजरायल–इरान युद्ध लगायतले एकातिर शक्ति राष्ट्रहरुको रक्षा खर्च बढिरहेको छ भने अर्कोतिर संसारभर इन्धन खर्च बढिरहेको छ । इन्धनमा खर्च वृद्धि हुँदा आम नागरिकको जीवनयापत खर्च बढेको छ । जसका कारण संसारभरका मानिस प्रभावित बनेका छन् ।
प्रदर्शनमा सहभागी विद्यार्थी र मजदुर युनियनहरूले शिक्षा, स्वास्थ्य र आवासमा राज्यको पूर्ण दायित्व हुनुपर्ने माग राख्दै वर्तमान नवउदारवादी पुँजीवादी नीति असफल भएको आरोप लगाएका छन्।केही पश्चिमा मिडियाका अनुसार फ्रान्सको वामपन्थी दल ‘ला फ्रान्स इन्सुमिस’ (La France Insoumise) लगायत युरोपका विभिन्न कम्युनिस्ट तथा समाजवादी युवा सङ्गठनहरूले यो आन्दोलनलाई सङ्गठित रूप दिइरहेका छन्।
स्विस कम्युनिस्ट पार्टीका महासचिव मासिमिलियानो ए जस्ता वामपन्थी नेताहरूले यो प्रदर्शनलाई युरोपको युद्धपछिको सामाजिक-आर्थिक व्यवस्थामा आएको गहिरो संकटको उपज बताएका छन्। सन् १९६८ पछि युरोपमा देखिएको यो सबैभन्दा ठूलो ‘वर्ग संघर्ष’ भएको दाबी कतिपय मार्क्सवादी समूहहरूले गरेका छन्।
संस्थापन पक्षले यसमा बाह्य र कम्युनिस्ट शक्तिको चलखेल देखे पनि कतिपय स्वतन्त्र विश्लेषकहरूका अनुसार युवाहरूमा देखिएको यो आक्रोश कुनै निश्चित विचारधारा (कम्युनिज्म) लाद्नभन्दा पनि बाँच्न र भविष्य सुरक्षित गर्नका लागि उठेको स्वतःस्फूर्त विद्रोह हो।

