बैशाख १२ : गोरखा भूकम्पको आठ वर्ष

गोरखा । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो ।

बारपाक सुलीकोटमा सार्वजनिक बिदा

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो । गोरखा भूकम्पको केन्द्रविन्दु भएको गाउँपालिका भएकाले पालिकाले सोही दिनको सम्झना तथा भूकम्पमा परेर ज्यान गुमाएकाहरूको स्मृतिमा पालिकाभित्र सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

बिदाको दिन पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित