प्रतिकूल मौसमको कारण हवाई उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको छ ।
भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को लगाइरहेका छन् ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाकै कारण शनिबार दिउँसोदेखि राति अबेरसम्म हवाई उडान प्रभावित भएको थियो ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा आज बिहानैदेखि आंशिक बदली रहेको छ । अहिले उपत्यकाका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित