टेकहरि न्यौपाने •• फोहोर भन्ने वित्तिकै दुर्गन्धित वस्तुलाई बुझाउँछ । फोहोर ठोस र तरल दुवै प्रकारको हुनेगर्दछ । फोहोर मैला भनेको काम नलाग्ने भनी फालेका वस्तुहरूलाई बुझाउँछ । जस्तै प्लाष्टिक, कागज, फुटेका सिसा, फलामका टुक्रा, खिया लागेका जस्ता पाताहरू, औषधिका खालीवट्टाहरू, पानीका खालीबोतल, औषधिका खाली पत्त्ताहरू, चकलेट, चुईगम, विस्कुट, चाउचाउ लगायत बेकरी आइटम र जङ्गफुडका खोलहरू भान्सामा तरकारी सफा गरेर निस्केका बोक्राहरू, बिग्रेका फलफुल, तरकारी लगायत सडेगलेको खानाका परिकारहरू, बजारबाट घर सजावटका समान पेकिङ गरेका खोलरहरू लगायत तरकारी, फलफूल, माछा, मासु विभिन्न आफ्नो घरका आधारभूत आवश्यकताका सामानहरू झुण्डाएर लिएका प्लाष्टिकका झोलाहरू, दिशा, पिसाव, थुक खकारहरू सबैलाई दुर्गन्धित वस्तुको रुपमा बुझिन्छ ।
तर पनि यिनीहरूमा कतिपय हामीलाई अझै काम लाग्ने चीज पनि यसै फोहोर भित्र रहेका हुन्छन् । जस्तै: पुराना कपी, किताब फलामका टुक्रा, जस्तापात, रङ्गरोगनका खाली डब्बा, पानीको धारा, भाँचिएका चक्कुहरू, चुहिने भएका फलाम, आल्मोनियमका भाँडाहरू कवाडीमा बेचविखन गरी साटेफेर अथवा नगद पैसा पाउन सकिन्छ । अर्को किचनमा भएको तरकारी, फलफूलका बोक्रा, बचेको खाना, जति पनि किचनबाट निस्कने बच्ने अथवा सड्ने खालको फोहोर त्यसलाई कम्पोष्ट मल बनाएर खेतवारी वा कौशी खेतीमा पुन: प्रयोग गर्न सकिन्छ ।
फोहोरहरू खाली एक घिनलाग्दा वस्तु मात्र नभै हाम्रो घर, आँगन, गोठहरूमा डोको, नाम्लो, हँसिया, कोदाली, घाँसपात, गाग्री, जुत्ता, चप्पल, ताउलाहरूलार्ई पनि राम्रोसँग नराखी यत्रतत्र गरी जता मन लाग्यो त्यतै राख्ने हो भने पनि सरसफाई देखिदैन । समानहरूको रख रखाव र घर भित्र बाहिरको सरसफाईले सुन्दर देखिन्छ र उसको सभ्यता पनि झल्किरहेको हुन्छ । अब यसको उत्पत्ति कहाँबाट र कसरी हुन्छ । फोहोरबाट हानी नोक्सानी र के के फाइदा के के बेफाइदा छन् । फोहोर व्यवस्थापन गर्न सबै सरोकारवाला जानकारी हुन पनि जरुरी हुन्छ । फोहोर व्यवस्थापनमा जो जिम्मेवारी पक्ष हो त्यो पक्ष किन जबाफदेही बन्न सकिरहेको छैन, फोहोर मैला व्यवस्थापन गर्न किन सकिरहेको छैन भन्ने कुराको जानकारी हुन पनि जरुरी छ । फोहोर कति प्रकारको हुन्छ । यसको किसिम कस्तो हुन्छ भन्ने कुराको पनि जानकारी हुन त्यतिकै आवश्यक छ । फोहोर मैला दुई किसिमको हुन्छ । त्यो भनेको ठोस र तरल दुवै हुन्छ ।
माथि भने जस्तै हाम्रो घरमा प्रयोग गरेर बाँकी रहेका काम नलाग्ने वस्तुहरू उद्योगधन्दा कलकारखानाबाट निस्किएका वा खेतवारीबाट उत्पादित भएर फ्याँकिने वस्तुलाई ठोस फोहोरमैला भन्ने गरिन्छ । जो कहिलै काम नलाग्ने भनेर फालिएका वस्तुहरू अर्कोलाई काम लाग्ने पनि हुनसक्छन् । ती वस्तुहरू कच्चा पदार्थका रुपमा प्रयोगमा लिन पनि सकिन्छ । जस्तै जस्तापाता, पुराना कपी किताब, सिसा, फलामका टुक्रा टिनका पाता, रङ्गका बट्टा, प्लाष्टिकका सामान, पेकिङका खोलहरू जसलाई कवाडी भन्ने गरिन्छ । तिनी समान बेचेर हल्का पैसा पनि पाइन्छ । त्यस्तै तरकारी, फलफूल केलाउँदा निस्केका बोक्रा, सडेगलेका फलफुलहरूलाई कम्पोष्ट बनाएर किसानले प्रयोग लिन पनि सकिन्छ । विशेष गरी चर्चा परिचर्चामा ठोस फोहोर नै बढी आउने गर्दछ । जैविक फोहोर र अजैविक फोहोर भनेर दुई प्रकारले छुट्याउन सकिन्छ । जैविक फोहोर भन्नाले शेष नै नरहने गरी कुहिएर जाने फोहोरलाई जनाउँछ ।
खासगरी बोट, विरुवा, झारपात, मरेका जनावर, पशुपंक्षी, अन्नपात, खानेकुरा लगायतका कुहिइने बस्तु र चिजविज पर्छन् । जैविक पदार्थलाई एकै ठाउँमा जम्मा गरेर बेला बेला वोल्टङपोल्टाङ पारी कम्पोष्ट मल बनाउन सकिन्छ । र अर्को अर्थमा भन्दा यी जैविक पदार्थबाट नै माटो बन्दछ । अनि जमिनमा मिल्दछ । त्यसैगरी अजैविक फोहोर भनेको नकुहिने बस्तु र पदार्थलाई पुन: प्रयोगमा ल्याउन सकिन्छ । कुनै कुनै अजैविक वस्तुहरू पुन: प्रयोगमा ल्याउन सकिंदैन जस्तै च्यातिएका प्लाष्टिक, खैनी, सुर्ती, पराग, सिङ्गरेटका खोल, ठेटा, चकलेट, विस्कुट, चाउचाउ लगायत विभिन्न जङ्गफुडका खोलहरू च्यातिएका प्लाष्टिकहरू पनि अजैविक फोहोरहरू हुन् । यिनै फोहोरहरूलाई हामीले बाटो, घाटो, गल्ली, घर वर पर गाउँ छिमेक, खोला, नाला, पार्टी पिकनिक, भोजभतेरहरूमा यत्रतत्र जता मन लाग्छ त्यतै फ्याँक्ने, मिल्काउने गर्दछौँ । त्यसले मानव र पशु चौपायाको स्वाथ्यमा हानीकारक त पार्छ नै यसले संसारमै हानी पुराएको छ ।
फोहोर मैला जताततै फालिनुले गाउँवस्ती, शहरमा कुरुप त हुन्छ नै यसले वातावरण विगार्ने गरी दुर्गन्ध फैलिने, झिङ्गा, मच्छेड लगायत मानव स्वास्थ्यलाई हानी गर्ने शरीरलाई हानी गर्ने विभिन्न प्रकारका किटाणुहरूले मानव स्वास्थमा प्रवेश गरी विरामी पार्ने र मृत्युवरण गराउनेसम्म गर्दछ । प्लाष्टिकजन्यवस्तु प्लाष्टिक बोतललाई हावाद्वारा पानी, नदी, समुन्द्रसम्म पुराई आज विश्व वातावरणलाई त्रसित बनाइरहेको छ । आजभोलि फोहोर मैला प्लाष्टिक जलाउने गर्नाले वायुमण्डमा कार्र्वनको मात्रा अत्यधिक भै वातावरण नै दुषित बनाई जीवित प्राणीलाई हानी नोक्सानी बनाएको वैज्ञानिकहरूको भनाइ छ । फोहोर मैला व्यवस्थित गर्न समाजमा रहेका हरेक सरोकार वाला व्यक्तिले हरेक घरले जैविक र अजैविक फोहोर व्यवस्थापन गर्ने जागरुकता, तदारुकताका साथ देखाउन जरुरी देखिन्छ ।
साथमा हर घरको हर व्यक्तिले जैविक, अजैविक फोहोरको वर्गीकरण गरी फोहोर बाहिर जता पायो त्यतै फाल्नु हुँदैन भन्ने आत्मसाथ गर्यौँ भने गाउँ, गल्ली, बाटाघाटा, जङ्गल, पहाड, शहर, वस्ती, नदी, नाला, सबै सफा र सुन्दर देखिन्छन्, वातावरण देखि लिएर स्वास्थ्य सुन्दरता सबै चिजमा परिवर्तन आउनका साथ आफ्नो पहिचान र सभ्यताको पनि परिचय दिन्छ । हुन त संसारका थुप्रै देशहरूमा फोहोर मैलाहरू सडक, गाउँ, बस्ती कतै पनि फाल्नु पाइँदैन । त्यसलाई हरेक नागरिक स्वयंले व्यवस्थित गर्नु पर्दछ । यत्रतत्र फालेमा कानुनी अपराध मानिन्छ र दण्डित पनि गरिन्छ । तर हाम्रो देश नेपालमा त यस्ता कुरालाई धज्जी उडाइन्छ । फोहोर व्यवस्थापन गर्नु भन्दा त्यसै फोहोर माथि राजनीति गरिन्छ । नेपालमा यस्ता कुराले केही महिमा राख्दैन । फोहोर व्यवस्थापन सम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिएका छैनन् भन्ने यिनीहरूको व्यवहारले पुष्टि गरेको छ । तर जेहोस् फोहोर मैलाको बारेमा सबैभन्दा पहिला सरकारले कडा नियम अख्तियार गर्दै फोहोरलाई व्यवस्थित गर्नु पर्दछ । फोहोर व्यवस्थापनमा सबै गम्भीर बन्नुपर्छ ।

