केशव निमेष •• विमल निभा नेपाली कविताको जगतमा करिब साढे पाँच दशकदेखि सक्रिय एक शक्तिशाली नाम हो । उनै बलशाली कवि विमल निभाको पछिल्लो कविता कृति हो डेगेन्द्र राजवंशीको आत्महत्या २०७८ । जुन कृति क्रान्तिकारी कविताहरूको एक महत्त्वपूर्ण दस्तावेज हो ।
पुस्तकको विशिष्टता र गम्भीरता यो छ कि पुस्तकको नाम एक वामपन्थी योद्धा डेगेन्द्र राजवंशीको आत्महत्यासँग जोडिएको छ । २०२८ ताका झापा आन्दोलनमा होमिएका वामपन्थी योद्धा डेगेन्द्र राजवंशी आत्महत्या गर्नुभन्दा केही दिन अगाडि काठमाडौँ छिरेका थिए छोराको रोजगारीको लागि । काठमाडौँ छिरेपछि छोरालाई जागिरको भिख माग्दै एमाले पार्टी कार्यालय वल्खु पुगेर समकालिनसँग हात जोडनु उनको दैनिकी बनेको थियो । तर उनी हरेक दिन निरास मन र निरर्थक हात बनाएर फर्किन्थे ।
झापा आन्दोलन पश्चात् चप्पल लगाएर काठमाडौँ पसेका सहयात्रीहरूले आलिसान महल बनाउँदै, करोडौँका गाडीमा हुईँकिदै बिलासी जीवनशैली बिताइरहेको वर्तमान उनकै आँखा अगाडि थियो । तर उता डेगेन्द्रको पारिवारिक स्थिति प्रतिदिन कठिन बन्दै गैरहेको थियो । त्यही गरिबीको पिँधबाट माथि आउने बाटो पहिल्याउँदै उनी छोरालाई लिएर देशकै केन्द्र काठमाडौँ आइपुग्छन् जहाँ थियो । उनैले गोडमेल गरेको पार्टीको सरकार । तर पुँजीवादले गजधम्म ढाकेको सत्ताले भुँईमान्छेहरूलाई नदेख्छ र नसुन्छ र यही नै कुरुप यथार्थ थियो । कोठा र बल्खु बीचको दुरी नाप्दा नाप्दै थाकेका राजवंशीका पैतालाले सदाको लागि विश्राम लिने सोच्छन र त्यही रात तथाकथित कम्युनिस्ट पार्टीको हेडक्वार्टर बल्खु कार्यालयको अगाडिको आरुवखडाको हाँगामा झुन्डिएर आत्महत्या गर्छन् । तर कम्युनिस्ट आन्दोलनको लागि यो आत्महत्या थिएन हत्या थियो कवि विमल निभा यसै भन्छन ।
यस्तै वर्गीय उत्पीडनको जाँतोमा पिसिएका कैयौँ डेगेन्द्र राजवंशीहरूलाई कविता मार्फत् पुस्तकमा उतारेका छन् कविले ।
कविता सङ्ग्रहमा जम्मा जम्मी ७० वटा कविताहरू छन। हरेक कविताहरूले देशलाई बोकेका छन । राष्ट्रियता र जनजीविकाका पक्षमा आफूलाई खरो रुपमा उतार्न पोख्त कवि विमल निभा यस पुस्तकमा पनि उत्तिकै बुलन्द भएर आएका छन् । राजनीतिक रुपले जुनसुकै व्यवस्था आए पनि आम मानिसहरूको जिन्दगीमा कुनै फेरबदल नआउनुको विडम्बनाको बीचमा आउने पुस्ताले यो देशमा पक्कै आमूल परिवर्तनको झण्डा गाड्नेछन् भन्ने दृढ आत्मविश्वास देखिन्छ निभाका कविताहरूमा
लडाकाहरू अहिले पनि
आमाको पेटमा छन्
तिनीहरू मध्ये थुप्रैको
सहादत निश्चितै छ भन्ने
खवर उडिरहेको छ हावामा
त्यहाँबाट बाहिर आउनासाथ
लडाई थालिनेछ ।
आमाको पेटमा नै पढेका हुन
लडाकाहरूले उन्मुक्तिको
आख्यान ।
यो कविता कविले प्यालेस्टाइन जनतालाई समर्पित गरेता पनि, कतै हराइरहेको नेपाली उन्मुक्तिको आन्दोलनलाई यस कविताले चाँदीको घेरा दिने काम गर्छ । भित्ताहरूमा लेखिएका नारा मेटिन नपाउँदै पुँजीवादसँगै अपहरित क्रान्ति प्रतिको जागरणवोध गराउँछ ।
देश बनाउँछु भनेर देश र जनताप्रति नै गद्दारी गरेर सत्ताकै वरिपरी रहनेहरूलाई तीखो ब्यङग्य गरिएको छ कविता “एघार गद्दार”मा । उसो त व्यङग्यवादी साहित्यकारको रुपमा पनि छुट्टै पहिचान छ कविको । कविता एघार गद्दार यसो भन्छ –
एउटा गद्दार
त्यो गल्ली छेऊको
अग्लो घरको छायाकक्षमा बस्छ ।
दोस्रो गद्दार
साप्ताहिक सयर गर्न
सबडिगार्ड गएको छ
नागार्जुन डाँडा ।
छैटौँ गद्दार
मुख्य अतिथि भै भाग लिन
गएको छ धर्मसभामा ।
एघारौँ गद्दार
नयाँ गद्दार भएकोले अल्मलिएर
चुपचाप टोलाइरहेको छ ।
जनतालाई केवल भोट बैँक मात्र सोच्ने तर जनताप्रति नै अनुत्तरदायी हुने शासकहरू प्रति व्यङ्गयात्मक आलोचना पाइन्छ कवितामा र आफनो सत्ता जोगाउन विदेशी राजदुतका ढोका ढोका पुग्ने प्रवृत्तिको पर्दाफास गरेको छ यो कविताले ।
विमल निभाका कविताले केवल आफ्नो देश र समाजका बारेमा मात्र बोल्दैनन् । उनका कविताहरू विश्वको सिङ्गो प्रणाली विरुद्ध बोल्छन । यसलाई यसो पनि भनौँ उनका कविताहरू विश्व भुमण्डलीकरण, उपनिवेशीकरणका विरुद्ध अझ शक्तिशाली भएर आउँछन । उनले दशकौँदेखि अँगालेको वैचारिक दृढता पनि यही हो कि उनी आफुलाई माक्र्सवादी भन्न रुचाउँछन । त्यसैले उनको दृष्टिकोण अन्तर्राष्ट्रियतावादी छ ।
कविता हृवाईट हाउसको काव्यात्मक अभिव्यक्ति यसो छ
विभिन्न रङले
जगमग जगमग
गरिरहेको हृवाईट हाउस
अन्तत: हृवाईट हाउस नै हो
पुरै हृवाईट हाउस , एउटा खल विचार
अर्थात
रङभेदी चेतको पर्मानेन्ट प्रतिक
हृवाईट हाउस
कविता भोक पढिरहँदा एकातिर सत्ता विरुद्धको उनको विद्रोह अझै मुखरित भएर आउँछ भने “सोनचरैया” कविता भित्र मधेसमा दाइजो नल्याएको निहुँमा हत्या गरिएका कैयौँ छोरीहरू प्रतिको कविको प्रेम र समवेदना महशुस हुन्छ ।
मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि गरिखाने श्रमजीवि वर्गका लागि हिजोको राजतन्त्रातमक व्यवस्था भन्दा कुनै अन्तर छैन यो व्यवस्था । अझ परिवर्तनकारी र मुक्तिवादी शक्तिहरूबाट नै उनीहरूप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहार उही सामन्तकालिन छ । यही विषयको काव्यात्मक अभिव्यक्ति छ कविता “बग्गी घोडामा” ।
म बग्गीमा जोतिएको घोडा
मलाई थाहा छैन को सवार छ बग्गीमा
राजा या गणतान्त्रिक मुलुकको
राष्ट्रपति ।
दुवैको भारमा त्यस्तो अन्तर छैन कुनै ।
……
बग्गीलाई निरन्तर तानिरहने
मेरा पयरहरू भइसकेका छन गलित
र मेरो कमजोर काँधपनि
यस्तो सान सौकतको भारी बग्गी
तान्न भैसकेको छ ।
असमर्थ पुरै
अब कुनै पनि बेला
बग्गीमा बस्नेलाई झट्कारेर
म फाल्न सक्छु तल ।
सानदार व्यंग्यात्मक चेत र उसैगरी विद्रोहको बोध पाइनु निभाका कविताहरूको अर्को विशेषता हुन । कविताहरू पढिरहँदा ती कविताहरू पाठकलाई आफ्ना लाग्न थाल्छन् । कथित व्यवस्था प्रति एउटा कवि कतिसम्म आक्रामक हुन सक्छ । विमल निभाका कविता पढेपछि थाहा हुन्छ ।
बेला पब्लिकेसन्सद्वारा प्रकाशित कविता सङ्ग्रह डेगेन्द्र राजवंशीको आत्महत्या प्रगतिशील कविताहरूको एक सङ्ग्रहनीय कृति हो । कविताहरूको शब्द संयोजन र शब्द छनोटले सङ्ग्रह अझ कलात्मक भएको छ । पाठकलाई शब्दहरूसँगै डोर्याउन सक्नु लेखकको अर्को मजवुत पक्ष हो । हामीले वषौँदेखि भोग्दै आएका शोषण र उत्पीडन विरुद्धको तीव्र आक्रोश, विम्वात्मक ढङ्गले सत्ताको तिखो आलोचना र विषयवस्तुहरूको गम्भीर उठान सङ्ग्रहका मुख्य विशेषता हुन । समकालीन वामपन्थी लेखकहरूमा देखिएको विचलन र पलयानताको बीचमा कवि विमल निभाको लेखनीको उचाई अविराम छ ।

