क्रान्तिले ठूलो कठिनाई भोग्नु परे पनि सर्वहारा क्रान्तिकारीहरूले क्रान्तिको झण्डा त्याग्नु हुँदैन

अनु. युवराज पन्थी •• मानव जातिको इतिहासका बेग्लाबेग्लै अवस्थाहरूमा सबै सामाजिक क्रान्तिहरू ऐतिहासिक दृष्टिबाट अपरिहार्य छन् तथा मानिसको इच्छाभन्दा स्वतन्त्र व्यवहारिक नियम अनुसार चल्दछन् । त्यसबाहेक इतिहासले के बताउँछ भने त्यस्तो कुनैपनि क्रान्ति भएको छैन, जसमा बाङ्गाटिङ्गा बाटाहरू नहोऊन् र ती बलिदान विना प्राप्त गर्न सकिएका होऊन् ।

सर्वहारा वर्गको पार्टीको काम के हो भने उसले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई आधार बनाएर ठोस ऐतिहासिक परिस्थितिको ठोस विश्लेषण गर्नु, सही रणनीति र कार्यनीति प्रस्तुत गर्नु तथा लुकेका चट्टानहरूसित तर्केर चल्नु, अनावश्यक बलिदानबाट बच्नु तथा पाइला पाइलामा लक्ष्यसम्म पुग्नका लागि जनतालार्ई पथप्रदर्शन गर्नुपर्दछ । के बलिदानबाट एकदमै बाँच्नु सम्भव छ ? त्यस्तो दास युगको क्रान्ति, अर्धदास क्रान्ति, पुँजीवादी क्रान्ति वा राष्ट्रियताको क्रान्तिमा भएन न त सर्वहारा क्रान्तिमा नै भएको छ ।

क्रान्तिको मार्गदर्शक नीति सही हुँदाहुँदै पनि कुन कुराको पक्कापक्की ग्यारेन्टी हुनु असम्भव छ भने त्यो क्रान्तिको क्रममा त्यसबाट पछाडि हट्नु हुँदैन र बलिदान हुनुपर्दछ । सही नीतिमा दृढ रहने काम हुन्छ भने अन्तत: क्रान्ति सफल भएरै छाड्नेछ । बलिदानबाट बँच्ने नाममा क्रान्तिलाई तिलाञ्जली दिनु भनेको वास्तवमा जनता सधै दासत्वमा रहिरहुन तथा अनगिन्ती कष्ट सहँदै र बलिदान गर्दै रहुन भन्ने माग गर्नु हो ।

माक्र्सवाद–लेनिनवादको प्रारम्भिक ज्ञानले हामीलाई के बताउँछ भने पुरानो समाजको पुरानो यातनाको अपेक्षा क्रान्तिबाट पैदा हुने कष्ट ज्यादै कम हुन्छ । “घटनाक्रम ज्यादै शान्तिपूर्ण हुँदाखेरी पनि मौजुदा पुँजीवादी व्यवस्थाले सधै र अविचलरुपबाट मजदुर वर्गको अनगिन्ती बलिदान गराउँछ” भनेर लेनिनले एकदमै ठीक भन्नु भएको थियो ।

जतिबेला सबै कुरा सहज हुन्छन्, जतिबेला पहिलेदेखि नै बलिदान र असफलता नहुने ग्यारेन्टी हुन्छ, त्यतिबेला मात्र क्रान्ति सम्पन्न हुन सक्दछ भनेर कसैले ठान्दछ भने त्यो अवश्यमेव क्रान्तिकारी हुँदैन ।

क्रान्तिले ठूलो कठिनाई भोग्नु किन नपरोस्, ठूलठूला बलिदान गर्नु किन नपरोस् वा ठूलठूला हार सहनु किन नपरोस्, सर्वहारा क्रान्तिकारीहरूले जनतामा क्रान्तिको भावना जगाउनु र क्रान्तिको झण्डा उच्च राख्नुपर्दछ, त्यसलाई त्याग्नु हुँदैन ।

यदि वस्तुगत परिस्थिति परिपक्व हुनुभन्दा पहिले नै सर्वहारावर्गको पार्टीले उद्दण्डताका साथ क्रान्ति शुरु गरिदिन्छ भने त्यो उग्र“वामपन्थी” दुस्साहसवाद हुनेछ । तर जतिबेला वस्तुगत परिस्थिति परिपक्व हुन्छ, त्यतिबेला यदि सर्वहारावर्गको पार्टीले क्रान्तिको नेतृत्व गर्ने र राज्यसत्ता कब्जा गर्ने साहस गर्दैन भने त्यो दक्षिणपन्थी अवसरवाद हुनेछ । साधारण समयमा पनि सर्वहारा वर्गको पार्टीले दैनिक सङ्घर्षमा जनसमुदायको नेतृत्व गरिरहेको छ भने क्रान्तिको परिस्थिति परिपक्व भएको बेला प्रतिक्रियावादी शासन सत्तालाई उल्ट्याउन र नयाँ राज्यसत्ता स्थापित गर्ने मौका नचुकोस् भनेर उसले आफ्नो पंक्ति र जनसमुदायलाई क्रान्तिको लागिसैद्धान्तिक, राजनैतिक र सङ्गठनात्मक दृष्टिकोणबाट तयार गर्नुपर्दछ, अन्यथा वास्तविक परिस्थिति परिपक्व हुनेबेला सर्वहारावर्गको पार्टीले विजय हासिल गर्ने मौका गुमाउनेछ ।

सर्वहारा वर्गको पार्टी सैद्धान्तिक रुपले दृढ र व्यवहारिक रुपले लचिलो अवश्य हुनुपर्दछ । उसले आवश्यकतानुसार क्रान्तिका हितहरूका लागि खास अवसरमा सम्झौता गर्नुपर्ने हुन्छ भने लचिलोपन देखाउने र आवश्यकतानुसार सम्झौता गर्ने वहानामा सैद्धान्तिक प्रश्नहरू र क्रान्तिको उद्देश्यलाई कहिल्यै पनि त्यागिदिनु हुँदैन ।

सर्वहारावर्गको पार्टीले शत्रुका विरुद्ध सङ्घर्ष गर्नका लागि अवश्य जनताको नेतृत्व गर्नुपर्दछ र ऊ शत्रु पक्षबीचका अन्तर्विरोधहरूलाई उपयोग गर्ने विषयमा सिपालु हुनैपर्दछ । तर ती अन्तर्विरोधहरूलाई उपयोग गर्नु भनेको जनताका क्रान्तिकारी सङ्घर्षहरूलाई नै खतम गर्ने होइन, ती सङ्घर्षहरूका उद्देश्यहरू हासिल गर्नका लागि सजिलो बनाउने हुनुपर्दछ ।

अनगिन्ती तथ्यहरूले के कुरा सावित गरिदिएका छन् भने जहाँ साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरूको अत्याचारी शासन हुन्छ, त्यहाँका ९० प्रतिशत जनताले ढिलोचाँडो अवश्यमेव क्रान्ति गर्ने छन् ।

यदि कम्युनिस्टहरूले जनताका क्रान्तिकारी मागहरूबाट आफूलाई अलग्याउँछन् भने स्वभावत: उनीहरूमाथि जनताको विश्वास हट्नेछ र क्रान्तिकारी धाराले उनीहरूलाई पछाडि धकेलिदिनेछ ।

यदि कुनै पार्टीको नेतृत्व गुटले गैर माक्र्सवादी बाटो पक्रन्छ र त्यसले पार्टीलाई सुधारवादी पार्टीमा बदलिदिन्छ भने पार्टीभित्र र बाहिरका क्रान्तिकारी माक्र्सवादी–लेनिनवादीहरूले त्यसबाट हटाएर त्यसको ठाउँ लिने छन् र क्रान्ति गर्नका लागि जनसमुदायको नेतृत्व गर्ने छन् । अर्को अवस्थामा क्रान्तिको नेतृत्वमा पुँजीवादी तत्त्वहरू आउनेछन् र सर्वहारावर्गबाट क्रान्तिको नेतृत्व खोस्नेछन् । जतिबेला प्रतिक्रियावादीहरू क्रान्तिप्रति गद्दारी गर्नेछन् र जनतालाई दमन गर्नेछन्, त्यतिबेलाको अवसरवादी नीतिले क्रान्तिकारी कम्युनिस्टहरू र जनताले अनावश्यक दु:ख र कष्ट भोग्नुपर्नेछ ।

यदि कम्युनिस्टहरू अवसरवादको दलदलमा फँस्न पुग्दछन् भने उनीहरू पतित भएर पुँजीवादी राष्ट्रवादी हुन पुग्नेछन् तथा साम्राज्यवाद र प्रतिक्रियावादका पुच्छर बन्न पुग्नेछन् र कतिपय व्यक्तिहरूले के दावा गर्नेछन् भने उनीहरूले क्रान्तिकारी सिद्धान्तलाई लेनिनपछि सबैभन्दा बढी योगदान दिएका छन् र उनीहरू मात्रै सही छन् । तर उनीहरूले विश्व कम्युनिस्ट आन्दोलनका व्यापक हितहरूप्रति वास्तवमै कहिल्यै ध्यान दिएका छैनन्, उनीहरूले सिङ्गो अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनका हितहरू, लक्ष्यहरू र कामहरूप्रति वास्तवमा कहिल्यै विचार पुर्‍याएका छैनन् तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका बारेमा माक्र्सवाद–लेनिनवाद अनुरुप उनीहरूको कुनै आम कार्यदिशा छ भन्ने कुरामा एकदमै शङ्का छ ।

बितेका केही वर्षहरूमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनले थुप्रै अनुभव हासिल गरेका छन् र थुप्रै शिक्षा ग्रहण गरेका छन् । केही प्रशंसनीय अनुभवहरू छन् भने कतिपय दु:खदायी अनुभवहरू पनि छन् । सबै देशका कम्युनिस्टहरूका सवलता र असफलताबाट सही निष्कर्ष निकाल्न र लाभदायी शिक्षा लिनका लागि तिनका अनुभवमाथि विचार गर्नुपर्दछ र गम्भीरतापूर्वक तिनको अध्ययन गर्नुपर्दछ । (महान बहसबाट)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित