कमलप्रसाद कोइराला, वामपन्थी नेता ••
कमल प्रसाद कोइराला नेपालको लोकतान्त्रिक आन्दोलन र वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका व्यक्तित्व हुनुहुन्छ । पत्रकार, वकिल, राजदुत र सांसदको भूमिका समेत पूरा गरिसक्नु भएका कोइराला बुबा मातृका प्रसाद कोइराला र आमा मञ्जु पोख्रेल (कोइराला) को कोखबाट वि.सं. १९९५ (सन् १९३८ अगष्ट १५) मा जन्मनु भएको थियो । उहाँहरू बाबु आमाका ५ छोरा र २ छोरीहरू हो । त्यसका अलावा एक धर्मपुत्र र एक धर्मपुत्री पनि हुनुहुन्छ । कोइरालाले सन् १९७० मा धन भट्टराईसित विवाह गर्नु भएको थियो । उहाँका एक छोरा डा. कञ्चन कोइराला र छोरी रिचा कोइराला हुनुहुन्छ ।
विराटनगरको एक स्कूलबाट अध्ययन शुरु गरेका कोइरालाले कानुनमा स्नातक र मानविकी सङ्कायबाट एम.ए.सम्मको अध्ययन पूरा गर्नु भएको छ । २४ देखि २६ सालसम्म जेल जीवन बिताउनु भएका कोइराला २०११ सालमा आफ्नै बुबा प्रधानमन्त्री भएका बेला पनि पक्राउ परी प्रहरी कस्टडीमा रहनु भएको थियो । मनमोहन, साहना, पुष्पलाल जस्ता पुराना कम्युनिस्ट नेताहरूको सङ्गतमा रहनु भएका कमल कोइराला जीवनभर नै नेपाली कम्युनिस्ट आन्दोलनको मूलत: नरम धारमा रहनुभयो । यसपटक हाँक साप्ताहिकले उहाँसित विविध विषयमा कुराकानी गरेको छ । यहाँ कमलप्रसाद कोइरालासित गरिएका कुराकानीको केही अंश दिइएको छ ।
तपाईको बुबा मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला गिरफ्तार हुनुभयो । कस्टडीमा जानुभयो । बेस्सरी प्रचार भयो नि है त्यो घटना ?
हो , त्यो घटनाको धेरै नै प्रचार भयो । अमेरिकाको पत्रिका न्यूयोर्क टाइम्सले त्यो समाचार छापेकाले विश्वव्यापी नै हल्ला भयो । प्रधानमन्त्रीको छोरो पक्राउ पर्यो भनेर छापिदियो । जनअधिकार सुरक्षा समितिले २०११ साल माघमा एउटा जुलुश निकालेको थियो । जन अधिकार सुरक्षा समितिको अध्यक्ष यादव प्रसाद पन्त हुनुहुन्थ्यो । त्यतिबेला पन्तले वामपन्थी सोचाइ राख्नुहुन्थ्यो । पछि उहाँ पंचायत पसेर मन्त्री हुनुभयो । जनअधिकार सुरक्षा समितिले काठमाडौँको इन्द्रचोकभन्दा उत्तरपट्टि किलागल भन्ने ठाउँबाट असनसम्म जुलुश प्रदर्शन गरेको थियो । असनमा सभा गर्दागर्दै हामी ३२ जनालाई प्रहरीले पक्रियो । त्यतिबेला कोशी सम्झौताको विरुद्ध आन्दोलन पनि भइरहेको थियो । ३२ जना मध्ये केही नाबालक भनेर उही दिन छाडिदियो । म त्रिचन्द्र कलेजमा आइ. एस्सी पढ्दै थिएँ । म, मदन रेग्मी (गृहमन्त्री डिल्ली रमण रेग्मीको छोरा) मकवुल साह, याकुव साह, राजेन्द्र प्र. श्रेष्ठ लगायतलाई एक रात हनुमानढोका प्रहरी कष्टडीमा राखेर अर्को दिन ट्रकमा कोचेर नख्खु जेल राख्यो । ६÷७ दिनपछि छाडी दियो । सबै आफ्ना घर गए । म र मदन रेग्मी प्यूखास्थित ईश्वर मानन्धरको घर गएर बस्यौँ –मेरो फादर (बुबा) ले त बोलाउनु भएन । तर आमाले मान्छे लिन पठाउनु भएछ र हामी घर गयौँ । त्यतिबेला कुपण्डोलमा प्रधानमन्त्री निवास भाडामा थियो ।
विद्यार्थी सङ्गठनमा काम गरेको अनुभव छ कि ?
मेरो पढाई नेपालमा त्यस्तै भयो । मैले भारतको इलाहावादबाट आइए, बनारस हिन्दु विश्वविद्यालयबाट वि.ए र इलाहावादबाट एमए अध्ययन गरेको थिएँ । अखिल भारत नेपाली विद्यार्थी फेडेरेशनको दोस्रो अधिवेशन बम्बैमा भएको थियो । २०१७ सालमा राजाको शासन आउनु भन्दा पहिले तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला त्यो अधिवेशन उद्घाटन गर्न पुग्नु भएको थियो । त्यस अधिवेशनबाट सभापति मोहम्मद मोहसिन हुनुभयो । मोहसिनपछि पंचायतको गाउँ फर्क अभियानमा लाग्नु भयो । ठाकुर प्रसाद मैनाली विद्यार्थी फेडेरेशनको उपाध्यक्ष हुनुभयो । उहाँ नेपालको नामी स्कल्प्चर हो । म त्यो अधिवेशनबाट महासचिव चुनिएँ ।
नेकपाको दोस्रो महाधिवेशनको सम्झना छ ?
छ, नेकपाको वनारस युनिटबाट म, भरतमोहन अधिकारी, ताना शर्मा र बल्लभमणि दाहालले २०१४ को दोस्रो महाधिवेशनमा प्रतिनिधित्व गरेका थियौँ ।
०१७ को राजाको सैनिक हस्तक्षेप पछि सम्पन्न नेकपाको दरभङ्गा प्लेनम बारे के जानकारी छ ?
म दरभङ्गा प्लेनममा गएको थिएँ । भारतमा पढ्ने विद्यार्थीहरूकोतर्फबाट प्रतिनिधित्व गर्दै दरभङ्गा प्लेनममा गएको थिएँ ।
दरभङ्गा प्लेनम महिना दिन जति नै चलेको थियो । ०१७ साल पौष १ को राजाको कदमलाई कसरी हेर्ने र अबको कार्यनीति के हुने भन्ने बारेमा विवाद थियो ।
राजा महेन्द्रको ०१७ पौष १ को घटनाका बेला (सन् १९६० मा) सोभियत सङ्घको राजधानी मस्कोमा ८१ देशका कम्युनिस्टहरूको उपस्थितिमा अन्तर्राष्ट्रिय सम्मेलन चल्दै थियो । त्यसमा नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट केशरजङ्ग रायमाझी, कमर शाह र हिक्मत सिंह भण्डारीले भाग लिन गएका थिए ।
राजाको कदमका पछाडि अमेरिका, ब्रिटिश र भारतको हात छ । त्यसमा पनि बढी अमेरिकाको हात छ किनभने खुला समाजमा हरेक घटनाको छलफल हुने भएकाले निरङ्कुश शासनको फाइदा उठाएर अमेरिकाले नेपाली भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि गर्न चाहन्थ्यो । पछि खम्पा विद्रोह पनि भयो । राजा महेन्द्रको पनि आफ्ना स्वार्थ थिए, क्रियाशील, कार्यकारी शक्तिशाली शासक बन्ने उनको चाहना थियो । जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइराला चीन गएर नेपाल–चीन सीमा नक्साङ्कन गर्ने प्रोटोकलमा हस्ताक्षर गरेका थिए । त्यो कुरा भारतलाई मन परेको थिएन । त्यसैले भारतले वि.पि.को सरकार हटाउन चाहान्थ्यो । तर सबै कुरा निरङ्कुश शासक वा साम्राज्यवादी शासकले सोंचे जस्तो नहुने रहेछ ।
अमेरिकाले उचालेको खम्पा विद्रोह पनि असफल भयो । आखिर नेपाल चीन सीमा नक्साङ्कन पनि सम्पन्न भएरै छाड्यो । वि.पी.ले प्रोटोकलमा हस्ताक्षर गरेपछि दुई देशको संयुक्त प्राविधिक टोलीले तयार पारेको सीमा नक्सामा पछि नेपालकाराजा महेन्द्र र चीनका राष्ट्रपति ल्यू शाओ चीले हस्ताक्षर गरेका थिए । लिओ रोज र भुवनलालले लेखेको “स्ट्राटिजी फर सर्भाइभल” भन्ने पुस्तकमा लेखिएको छ, “नेपाल–चीन जोड्ने कोदारी राजमार्ग सम्बन्धी सम्झौता हुन्न भने सीमा सम्झौता पनि हुन्न भनेर चीनले भनेको थियो । कोदारी राजमार्ग बन्ने भएपछि भारतमाथिको निर्भरता कम हुने भयो भनेर नेपालमा राजा महेन्द्र र पंचायतको पक्षमा ठूलो हल्ला चलेको थियो । जोन गाल व्रेथ भारतका लागि अमेरिकी राजदुत थिए । उनले नै नेपाल पनि हेर्थे । उनले भनेका थिए नेपालमा भूमि सुधार गर्न हामीले दिएको सल्लाह हो । ठूलो–ठूलो जमिन्दारको जग्गा अधिग्रहण गरेमा साना जमिन्दार पनि बोल्ने ठाउँ रहन्न भनेर हामीले सल्लाह दिएका थियौँ भनेर ब्रेथले भनेका थिए । पंचायतले निकै राम्रो काम गर्यो भनेर ठूलो हल्ला थियो । कम्युनिस्टले गर्ने काम पंचायतले गर्दैछ भन्ने भ्रम थियो । पंचायतमा प्रवेश गर्नका लागि कतिपय कम्युनिस्ट नेताहरूलाई पंचायतले बहाना जुराइदिएको थियो ।
दरभङ्गा प्लेनममा निकै असन्तोष र विवाद थियो । धनकुटाका भरतराज जोशी र जनकपुरका कुलदिप प्रसाद कुुमुदले मलाई भनेका थिए । तपाई देशका लागि भनेर आफ्नो पढाई छाडेर आउनु भएको छ । दामोदर शमशेर दरबारबाट खटिएर यही दरभङ्गामा सर्किट हाउसमा आएर बसेका छन् । हाम्रा नेता मध्ये कैयौँ मन्त्री र राजदुत बन्ने चक्करमा परेका छन् । छलफल हुँदाहुँदा अन्त्यमा भोटिङ भयो । मोहनविक्रम सिंहको संविधानसभाको एजेण्डामा बहुमत भयो । पुष्पलालको ०१७ मा राजाले विघटन गरेको संसद पुनस्र्थापना गर्नुपर्छ भन्ने एजेण्डा थियो र केशरजङ्गको संसदीय व्यवस्थाको पुनस्र्थापना गर्नुपर्दछ भन्ने एजेण्डा थियो ।
तेस्रो महाधिवेशनको बारेमा के भन्नुहुन्छ ?
२०१९ को बनारसमा सम्पन्न तेस्रो महाधिवेशनमा म सहभागी भएको थिएँ । महाधिवेशनले केशरजङ्ग, पिवि मल्ल, शम्भुराम, डिपि अधिकारी, कमर शाहलाई कार्वाही गरेको थियो । “राष्ट्रिय प्रजातन्त्र” को लाइन पारित भएको थियो । जेलमा रहेका मोहन विक्रम, निर्मल लामा, कमलराज रेग्मी, कृष्णराज वर्मा लगायतलाई पनि समितिमा राखिएको थियो । तेस्रो महाधिवेशन पछि वनारस पार्टी हेर्डक्वाटरमा बसी प्रचारप्रसार विभागमा रही कम्युनिस्ट बुलेटिन नामक पत्रिका प्रकाशन गर्ने कार्यमा लागेको थिएँ ।
जेल जीवनको अनुभव के छ ?
मैले अगाडि नै भने २०११ साल माघमा पक्राउ परेको थिएँ । त्यतिखेर सुरक्षा कानुनको धारा ८ क अनुसार पक्राउ गरिएको थियो । भूमिगत सङ्गठनको काम गर्दा २०२४ साल माघ २५ गते मोरङको मङ्गलबारेबाट पक्राउ गरेर मलाई केही दिन विराटनगरमै राखिएको थियो र काठमाठौँ चलान गरिएको थियो । मलाई २ वर्ष भद्रगोल जेलमा राखियो । २०२६ सालमा रिहाई भएँ ।
तपाई त न्यूक्लिसमा पनि बस्नुभयो । त्यसबारे के भन्नुहुन्छ ?
काठमाडौँमा २०२८ सालतिर हिक्मतसिंह भण्डारी बस्ने कोठा थियो । उहाँको गुजराती श्रीमती थिइन् । बाथरुम भएको ठूलो कोठा थियो । ८-९ जना भेला भएर हामीले न्यूक्लियस गठन गरेका थियौँ । मनमोहन जी काठमाडौँतिरै हुनुहुथ्यो । भरतमोहन र म विराटनगरबाट आएका थियौँ । मनमोहनजी र डिपि अधिकारी पटना गएर विपि कोइरालालाई भेट्नुभयो । विपिलाई भेट्यो भनेर मनमोहन र डिपि दुवैलाई प्रहरीले पक्राउ गर्यो । विराटनगरकै नगेन्द्र रिजाल प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरू दुवै जना रिहा हुनुभयो । डि.पि. अधिकारी पंचायतको गाउँ फर्क अभियानको सचिव नै बन्नुभयो । मनमोहन जी काठमाडांैमा हुनुहुन्थ्यो । डिपि अधिकारीको प्रभावमा पनि हुनुहुन्थ्यो । विपिलाई भेटेर आएपछि उहाँ अलमल हुनुहुन्थ्यो । काठमाडौँमा शम्भुराम बैठकमा नआउने, मनमोहनजी अलमल भएपछि हामी सिराहामा जय गोविन्द साहको घरमा धेरै पटक न्यूक्लियसको बैठक बसेका थियौँ । जयगोविन्द, निर्मल लामा, मोहनविक्रम, कमल कोइराला, भरतमोहन धेरैपटक सिराहामा बैठक बसेका थियौँ । मोहनजीले ल्याएको प्रस्तावमा २००७ को परिवर्तनलाई केही पनि हैन भन्नुभयो ।
२०२९ सालतिरको कुरा हो । बैठक सकेर सिराहाबाट बाटोमा फर्कदै गर्दा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइरहेका कार्यक्रम देखिन्थे । भरतमोहन र मैले बाटोमा कुरा गर्दै गयौँ । मोहनविक्रमले २००७ सालको परिवर्तन केही पनि हैन भन्नुहुन्छ । यो पनि केही आंशिक परिवर्तन त हो नि भन्दै कुरा गर्दै विराटनगर फर्कियौँ । यस्ता केही असन्तुष्टिहरू पनि बढ्दै थियो । उहाँले चौथो महाधिवेशन गर्ने कुरा ल्याउनु भएको थियो । २०२९ सालमा झापा विद्रोहको घटनाले पूर्वी नेपालमा सरकारले अत्यन्त निगरानी बढाएर लगेको थियो । पूर्वी नेपालमा अत्यन्त स्थिति खराब छ हामी चौथो महाधिवेशनमा आउन सक्दैनौँ भनेर जय गोविन्द साहलाई खबर पठाएका थियौँ । मनमोहनले चौथो महाधिवेशन सम्बन्धी समय र स्थानको गोपनीयता भङ्ग गरेकोबारे मलाई थाहा छैन । सिराहामा गर्ने भनिएको कार्यक्रम स्थगित भएको खबर हामीले पाएका थियौँ ।
एकपटक न्यूक्ल्यिसको बैठकमा सिराहाबाट जयगोविन्द साह र म ट्रकको बोरामाथि बसेर काठमाडौँ आएको सम्झना छ । धुले बाटो, झ्याँकिदै, ट्रकमा पछाडि पट्टी राती बोरामाथि नै सुत्यौँ ।
झापा विद्रोह र नक्सलाइट आन्दोलनबारे के भन्नु हुन्छ ?
२०१७ साल पौष १ गते मनमोहन अधिकारी विराटनगरबाट गिरफ्तार हुनुभयो । २०२५ सालमा उहाँ रिहाई हुनुभयो । मनमोहनलाई केन्द्र मानेर भरतमोहन अधिकारीको नेतृत्वमा हामीले पूर्व कोशी कोअर्डिनेशन केन्द्र बनायौँ । पूर्व कोशीको अर्डिनेशनकोतर्फबाट हामीले मोहनचन्द्र अधिकारीलाई झापाको इन्चार्ज बनाएर पठाएका थियौँ । उहाँ त नक्सलाइटहरूको प्रभावमा परेर झापा विद्रोहमा लाग्नु भयो ।
२०२४ जेठ ९ गते मङ्गलबारका दिन जोगवनीबाट रेल चढेर म, भरतमोहन अधिकारी, भरतराज जोशी (धनकुटा), रामप्रसाद खनाल (धरान) चार जना दार्जिङका कम्युनिस्ट नेता रत्नलाल ब्राहमणको घर जाँदै थियौँ । त्यहाँ भाकपाका महासचिव पि. सुन्दरैया र पश्चिम बङ्गालका सचिव प्रमोद दास गुप्तालाई भेट्ने कार्यक्रम थियो । नक्सलवारी रेल स्टेशन पुग्दा रेल धेरै बेर रोकियो । प्रहरीले रेलमा मानिसहरूलाई रोकेर एक एक जाँच लिइरहेको थियो । रेलबाट हामी सिलगुढीमा उत्रियौँ ।
दार्जिलिङ पुग्दा राति भयो । होटेल भेटिएन । जीपमा सुतियो । अर्कोदिन रत्नलाल ब्राहमणको घरमा पुग्दा हिजो रेल रोकेर प्रहरीले खानतलासी लिनुको अर्थ विस्तृतरुपमा बल्ल थाहा पाइयो । नक्सलवारी एउटा सानो बजार हो । त्यसको नजिकै झारु गाउँछ । झारुगाउँमा किसानहरूले जमिन्दारका जग्गाका अनाज काटेर लिएर गएछन् । प्रहरी टोली त्यहाँ पुग्यो । त्यहाँ सतारहरूको वस्ती छ । सतारहरू धनुवाण चलाउन सिपालु हुन्छन् । सतारहरूले चलाएको वाणले छाती छेडेर प्रहरी इन्स्पेक्टर स्वनाम बाङदी लामा ठहरै मरे । अर्कोदिन प्रहरीहरू हुल बाँधेर गाउँमा आए । पुरुषहरू गाउँ छाडेर भागिसकेका थिए । महिलाहरूले प्रहरीको प्रतिवाद गरे । २५ मई, १९६७ का दिन बच्चा र ९ जना महिलाहरूको हत्या भयो । त्यसरी नक्सलाइट विद्रोह शुरु भएको थियो । रेडियो पेकिङले नक्सलाइट आन्दोलनको विश्वव्यापी प्रचार गरिदियो । नक्ससलाइटहरूको “लिवरेशन” भन्ने पत्रिका थियो । त्यसलाई उद्धरण गर्दै रेडियो पेकिङले प्रचार गर्दथ्यो । मैले बनारसदेखि नै रेडियो पेकिङ सुन्ने गर्दथे ।
यहाँले न्यूक्लियस कालपछि वकालत पनि गर्नु भयो नि है ?
हो, मैले हरिषचन्द्र पोष्ट ग्रेजुयट कलेजमा सन्ध्याकालीन (५ देखि ८ बजे बेलुकी ) क्लासमा एलएलवि अध्ययन गरेको थिएँ । सन् १९६५ मा एलएलवि पास गरेको थिएँ । २०३३ मा अधिवक्ताको लाइसेन्स लिएँ र २०४६ सम्म नै मैले वकालत गरें ।
पत्रकारिता पनि गर्नुभयो नि, हैन र ?
दृष्टि साप्ताहिकमा ३० महिना प्रधान सम्पादक भएर काम गरें र रोडम्यापमा पनि ३० महिना काम गरें ।
भगवानमा विश्वास गर्नु हुन्न प्रगतिशील संस्कृति अपनाउनु भएको छ । कसरी त्यसप्रकारको दृष्टिकोण बन्यो ?
म सानो छँदा सामान्यतया भगवान प्रति विश्वास गर्दथे । विश्वनाथ पोख्रेल सरले विराटनगरमा पढ्ने बेला इण्डियामा डिवेटीङ क्लव हुन्छ। त्यो डिवेटिङ क्लवमा पक्ष र विपक्ष गराई बहस गराउँथे । यहाँ पनि त्यसै गरौँ भन्ने कुरा ल्याउनु भयो । त्यो डिवेटिङ क्लवमा आमोद प्रशाद उपाध्याय, रमेशजङ्ग थापा र उपेन्द्रलाल दासले भगवान छ भन्ने पक्षमा थिए ।
म कमल प्रसाद कोइराला, विमल कोइराला र भरतमोहन अधिकारी भगवान छैन भन्ने पक्षबाट बोल्यौँ । भगवान छैन भन्ने तर्क खोज्दै जाँदा भगवान छैन भन्ने दृष्टिकोण बन्यो । थप स्पष्ट हुन मैले क्लासमा विज्ञान शिक्षक मोहनचन्द्र अधिकारीका काका जनक मोहन अधिकारीलाई सोधे । उहाँले वैज्ञानिकहरू पनि भगवानमा विश्वास गर्ने र नगर्ने दुई खालकै हुन्छन् भन्नुभयो । विपि कोइराला कम्युनिस्ट नभए पनि आफूलार्ई समाजवादी भन्नुहुन्थ्यो । उहाँ हाम्रो घरमा आइरहनु हुन्थ्यो र भगवानप्रति वास्ता गर्नु हुन्थेन । विपिले आफ्नो बुबाको काजक्रिया गर्नु भएन र आफू मरे पछि पनि काजक्रिया नगर्नु भन्नु भयो । म ब्राहमणको छोरो । ब्रतबन्ध नगरिकन विवाह गर्न हुन्न भन्ने हिन्दुहरूको नियम हो । २०२६ मा जेलबाट निस्किएपछि २०३२ सालमा ब्रतबन्ध विना नै विवाह गरे । म सांसद भएकै बेला मेरा फादर (बुबा) मातृका प्रसाद कोइरालाको २०५४ सालमा मृत्यु भयो । मैले टाउको खौरिएर परम्परागत काजक्रिया गरेन । दाजुभाइले टाउको खौरिए तर मैले खौरिएन । कोइराला परिवार भएकाले मलाई त्यति समस्या भएन । विपिले नै काजक्रिया नगरेको सबैलाई थाहा थियो । देशान्तर पत्रिकाले कम्युनिस्ट धर्म, संस्कृति विरोधी, काजक्रिया गर्दैनन् भनेर लेखेको थियो । यस्ता विरोधले मलाई केही फरक पर्दैन ।
राजदुतको अनुभव सुनाउनुस न ?
मेरो बुबा अमेरिकाको लागि राजदुत हुनुभाथ्यो म दक्षिण कोरियाका लागि केही वर्ष राजदुत भएँ ।
दुई पल्ट प्रधानमन्त्री भएको व्यक्ति पनि राजदुत ?
यो गर्न हुन्छ र त्यो गर्न हुन्न । एक पल्ट ठूलो मान्छे भएको व्यक्ति सानो पदको काम गर्न हुन्न भन्ने कुरा त सामन्ती सोंचाई हो । अष्टे«लियाको प्रधानमन्त्री भएका केमिन रुड अहिले अमेरिकाका लागि राजदुत भएर गएका छन् । काम गर्ने कुरा ठूलो हो ।
दक्षिण कोरियाका लागि राजदुत हुँदाको सुनाउनु पर्ने कुरा के छ ?
दक्षिण कोरियाको पाठ्यपुस्तकहरूमा भारतको कपिलवस्तुमा गौतम बुद्ध जन्मिएको लेखेको रहेछ । म त्यहाँ गएपछि मलाई दक्षिण कोरियामा मजदुरी गर्न गएका नेपालीहरूले सुनाउनु भयो । मैले त्यहाँको राष्ट्रपतिलाई पत्र लेखे । नेपाल–भारत सिमाना भन्दा उत्तरतर्फ २० कि.मि. टाढा नेपाली भूमि लुम्बिनीमा बुद्ध जन्मिएका थिए भनेर मैले पत्र लेखें । राष्ट्रपतिले शिक्षामन्त्री र संस्कृति मन्त्रीलाई बुझेर यथार्थ रिपोर्ट लिन भनेर रिपोर्ट प्राप्त भएपछि पाठ्यपुस्तकलाई सच्चाउने कार्य त्यहाँको सरकारले गर्यो ।
अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
यो संविधानले नेपाललाई हरिकङ्गाल बनाउँछ । यो संविधानले लुटेराहरूलाई लुट्ने ठाउँ दिएको छ । ०६३ सालमा नै संसदीय र वेष्ट मिनिस्टर मोडेल समाप्त भएको थियो । संसदमा विश्वासको मत दिने बेला राज्यलक्ष्मी गोल्छा उपस्थित भइनन् । महत्त्वपूर्ण मतदानका बेलामा उपस्थित नहुने संसदको पद खारेज गर्नुपर्दछ भन्ने आवाज पनि उठ्यो । राज्यलक्ष्मी गोल्छाले खुलेआम रुपमा भनिन्–“मेरो ७ करोड रुपैयाँ फिर्ता गर तिम्रो सांसद पद लिएर जाउ” । केदारनन्दन चौधरी भारतको गाजियावादमा उम्मेदवार उठेको व्यक्ति नेपालको संविधान सभामा निर्वाचित भए ।
भारत जलपायीगुडीकी सरस्वती महरा संविधानसभाको सदस्य भइन । भ्रष्टाचारले यो देश वर्वाद भएको छ । गिरिजाले लाउडा र धमिजाकाण्ड, प्रचण्डले क्यान्टनमेन घोटाला, केपीले पशुपतिमा सुनको जलहरी काण्ड यी सबै भ्रष्टाचारका काण्ड भएका छन् । म त भन्छु यो वर्णशङ्कर चोरतन्त्र हो । माओवादी जनयुद्ध भारत कै संरक्षणमा चलाइएको युद्ध हो भन्ने मेरो बुझाई छ । नेपालका भारतीय राजदुत एसडीमुनिले आफ्नो पुस्तक “नेपाल इन ट्रान्जिशन” मा धेरै कुरा स्पष्ट गरेका छन् । थाराकान “रअ” का पूर्व चीफ हुन् । त्यो पुस्तकमा रअका चीफ हर्मुज थाराकान सित बाबुराम भट्टराईको घनिष्ठ सम्बन्ध थियो भनिएको छ । अहिले पनि माओवादीले भारतकै स्वार्थमा काम गर्छ । यो सबै स्थिति हेर्दा देशको स्थिति अत्यन्त खराब हुँदै गएको छ ।
यो बेथितिबाट बच्न के गर्नुपर्दछ भन्ने ठान्नु हुन्छ ?
संसद जनताप्रति उत्तरदायी हुनुपर्दछ । न्यायालयमा न्यायधीशहरू प्रधानमन्त्रीले नियुक्त गर्नु हुँदैन । कलेजियम सिस्टम हुनुपर्दछ । अर्थात् न्यायधीशद्वारा न्यायधीश नियुक्तिको विधि बनाइनु पर्दछ । लोकसेवा आयोग खारेज गरिनुपर्दछ र भारत र ब्रिटिशको जस्तो सिस्टम हुनुपर्दछ । कर्मचारी सरुवा बढुवा उजुरीको उचित विधि तय गर्नुपर्दछ । राजनीतिक पार्टीमा प्राइमेरी सिस्टम हुनुपर्दछ । यी कुरा हुने हो भने केही सुधार हुन सक्छ ।

