रामबहादुर बुढा •• नेकपा (मसाल) को बैठक वा प्रशिक्षणहरूमा कहिलेकाही भूमिगत वा गोप्यताको कुरा गर्दा मोहनबिक्रम सिंहले श्याम प्रशाद शर्माको “अति गोप्य समूह” को कुरा गर्नु हुन्थ्यो । कसैलाई सङ्गठनबारे सुनाउन नहुने, भेट्न नहुने भनेर श्याम प्रशाद शर्माको “अति गोप्य समूह” बारे हाँसो ठट्टा समेत हुन्थ्यो । गत वैशाख महिनामा “अति गोप्य समूह” का दुई जना व्यक्ति शेषमणि आचार्य र रामबहादुर अधिकारी सित तनहुँको दुलेगौँडामा भेट भयो ।
“अति गोप्य समूह” कसरी अस्तित्त्वमा आयो भन्ने बारे त्यो समूहमा आबद्ध शेषमणि आचार्यको भनाई यस्तो छ, “२०२४ तिर नेपाल कम्युनिस्ट पार्टीको चल्तापुर्जा प्रान्तीय कमिटीहरूमा बागमती र कोशी प्रान्तीय कमिटी थिए । कोशी प्रान्तीय कमिटीको सेक्रेटरी भरतमोहन अधिकारी हुनुहुन्थ्यो । निर्मल लामा बागमती प्रान्तीय कमिटीको सेक्रेटरी हुनुहुन्थ्यो । बागमती प्रान्तीय कमिटीको कार्यालय सचिव श्याम प्रशाद शर्मा हुनुहुन्थ्यो । निर्मल लामाजी गिरˆतार हुनु भयो । भारतमा भारतीय कम्युनिस्ट पार्टीका नेता डाँगे र नेपालमा नेकपाका नेता केशरजङ्ग रायमाझीको हालिमुहाली थियो । त्यो अबस्थामा पार्टी नेता स्वदेशमै बस्नु पर्दछ भन्ने साथीहरूको भनाई थियो । सामुहिक नेतृत्व हुनु पर्ने ठाउँमा स्वदेशका साथीहरूसित सल्लाह नै नगरी पुष्पलालजीले भारतबाट पार्टी चलाउनु भयो ।
काठमाडौँका कैयौँ नेताहरू दरवारमा गएर विक्री भैसकेका थिए । चिनेजानेका साथीहरू दरबारका सिआइडी भएका थिए । निकै जोगिएर अत्यन्त भूमिगत तरिकाले काम गर्नु पर्ने समय थियो । यस्तो अबस्थामा श्याम प्रशाद शर्माको नेतृत्वमा “नेपालका कम्युनिस्टहरूको सङ्गठन माओवादी” नामक गोप्य सङ्गठन बनाइएको थियो । गोप्य सर्कुलर जारी हुन्थ्यो । ती सर्कुलरहरूमा कम्युनिस्टले गर्न हुने नहुने र कैयौँ ब्यबहारिक कुराहरू पनि लेखिएका हुन्थे । जसलाई श्याम प्रशाद शर्माले आˆना विभिन्न लेखहरू मार्फत प्रकाशित गर्ने काम पनि गर्नु भएको छ । स्वनाम साथी पनि त्यस समूहमा हुनुहुन्थ्यो । “अति गोप्य समूह” भनेर प्रचार गरेको स्वनाम साथीले हो । उहाँ छिटै त्यो समूहबाट निस्कनु भयो । पार्टीबाट बाहिरिए पछि त्यस समूहलाई अति गोप्य समूह भन्नू भयो र त्यो समूह त्यही रुपमा प्रचारमा आयो ।”
गोप्य समूहमा को को थिए भन्ने प्रश्नमा त्यो समूहमा आवद्ध दुई जना शेषमणि आचार्य र रामबहादुर अधिकारी दुवै जनाले धेरै बताउन सक्नु भएन । भन्नु भयो,“मकवानपुर, काठमाडौ ,विरगन्ज विभिन्न ठाउँका साथीहरू अवश्य पनि गोप्य समूहमा लागेका थिए । गोप्य समूह भएकाले कसैलाई भन्न मिल्दैन थियो। त्यसकारण पनि को को लागे भन्न सकिँदैन ।“
सम्झिदै शेषमणिले भन्नू भयो, “त्यो समूहमा श्याम प्रसाद बाहेक गोविन्द भट्ट, शान्तदास, जनकप्रसाद हुमागाई लगायत थिए । म २०२५ तिर त्यो सङ्गठनमा जोडिएको थिएँ ।” कुरै कुरामा मैले काठमाडौँका अपत्य शर्मा पनि श्याम प्रशाद शर्माको गोप्य समूहमा लाग्नु भएको थियो रे नि भने पछि शेषमणिजीलाई सम्झना भयो । भन्नू भयो, “हो हो । उहाँ पनि हो । मजदुर, किसानलाई सचेत बनाउनु पर्दछ भन्ने हाम्रो समूहको नीति थियो । मजदुरहरूको बीचमा काम गर्नु पर्दछ भनेर तनहुँ खैरेनीटारको इट्टा भट्टामा आएर करिब एक हप्ता बस्नु भएको थियो । तर उहाँलाई त्यहाँ पखाला आदिको समस्या भएर काठमाडौ फर्कनु भयो ।”
मैले अपत्य शर्मा सित शेषमणिजीको भनाई ट्याली गरे । हो रहेछ । उहाँ श्याम प्रशादले नेतृत्व गरेको गोप्य समूहमा आवद्ध भएको हो रहेछ । उहाँ तनहुँ खैरेनीटार पुगेर इँटा भट्टामा काम गरेको कुरालाई पनि उहाँले सकार्नु भयो । तर उहाँलाई गोबिन्द भट्ट गोप्य समूहमा रहेको जानकारी रहेनछ । अपत्य शर्माले भन्नू भयो, “मलाई गोविन्द भट्ट रहेको थाहा छैन । उहाँ चिनियाँ रेडियोमा काम गरेको थाहा छ । केही विदेशी अध्ययन सामग्री भट्टले उल्था गरेको थाहा छ । शान्त दास पनि हो त्यो समितिमा । गोप्य समूहले खासै काम गरेन । शान्तदासले चिनियाँ साहित्यको उल्था गरेका हुन । लुसुनका रचनाहरूको उल्था गरेका हुन् । बाल साहित्यमा योगदान पुर्याएका हुन् ।” अपत्य शर्माले श्याम प्रशाद शर्माको गोप्य समूहलाई व्यर्थको गोप्यता भनेर विरोध गर्नु भयो । भन्नू भयो, “श्याम प्रशाद शर्माको गोप्यता के का लागि ? कुनै क्रान्तिकारी कार्यका लागि वा कुनै भूमिगत साङ्गठनिक कार्यका लागि भए ठीकै हो भन्न हुन्थ्यो। उनले पन्चायतका विरुद्ध कुनै आन्दोलन गरेनन ,नत साङ्गठनिक गतिविधि गरे ।”
अपत्य शर्माले कति सम्म भन्नु भयो भने श्याम प्रशादको भूमिगत र गोप्य कार्यशैलीको कुनै अर्थ देखिन । उनी कुनै क्रान्तिकारी व्यक्ति हैनन । यदि उनी क्रान्तिकारी ब्यक्ति हुन्थे भने २०४६ मा बहुदल आए पछि उनका मान्छे सबै एमालेमा जाँदैन थिए । उनले एमालेमा जाउ भन्ने थिएनन । अपत्य शर्माले एक पटक उनको आलोचना गर्दै लेख समेत लेख्नु भएको थियो। ब्यक्तिको आलोचना नगरौँ भनेर साथीहरूले त्यो लेख नछापेको समेत उहाँले बताउनु भयो ।
शेषमणि र रामबहादुरले पनि पन्चायताकालमा आफुहरूले खासै साँगठनिक गतिविधि र पन्चायत बिरोधी सङ्घर्ष नगरेको बरु अध्ययन लेखनमा धेरै लागेको, आफ्नो गोप्य समितिका बैठक बस्ने र सर्कुलर पढाउने काम गरेको स्वीकार्नु भयो ।
चितवनका नेकपा चौथो महाधिवेशन धारका खम्बा सिंह कुँवर २०३१ देखि २०३४ सम्म तनहुँ आˆनो घरमा आएको कुरा रामबहादुर अधिकारीको स्मरणमा छ । लेखकसितको भेटमा शेषमणिले एउटा रोचक प्रसङ्ग सुनाउनु भयो । भन्नुभयो, “काठमाडौँमा हामी विद्यार्थीहरू कहिलेकाहीं चिनियाँ राजदुतले बोलाएको भोजमा जाने गथ्र्यौँ । हामी मध्येको एक जना साथी भोजका बेला राजदुतको छेउमा बसेका थिए । राजदुत खुशी हुन्छन् भनेर होला । उनले राजदुतसित भने वी आर माओइस्ट (हामी माओवादी हौँ ) । तर त्यसको प्रतिक्रियामा राजदूतले भने,“हामी माओवादी होइनौँ । हामीले हाम्रो सिद्धान्त माओवाद भन्दैनौ । माओविचारधारा भन्छौ । माक्र्सवाद, लेनिनवाद, माओ विचारधारा हाम्रो सिद्धान्त हो । शत्रुहरूले हामीलाई बदनाम गर्न माओवादी भनेका हुन् । पछि मैले श्यामप्रशाद जीलाई नै आएर त्यो कुरा सुनाए । माथि केन्द्रमा छलफल भयो होला शायद ।
हाम्रो पार्टी वा समूहको नाम बदलेर २०३० तिर “नेपालका कम्युनिस्टहरूको सËठन मालेमावादी” बनाइयो । भारतमा चलिरहेको नक्सलवादी आन्दोलनको प्रभाव नेपालसम्म पनि आइसकेको थियो । नेपालका कम्युनिस्टहरूको सङ्गठन (माओवादी) र पछि मालेमावादीमा आबद्ध विद्यार्थीहरू पनि नक्सलवादी आन्दोलनको प्रभावमा परेका थिए ।” तनहुँका शेषमणि आचार्य, रामबहादुर अधिकारी, छविचन्द्र ढकाल, रामचन्द्र बस्नेत, म्याग्दीका शशि शेरचन (स्वनाम साथी), धादिङका हेमराज कंडेल र बुद्धिसागर कंडेल, नुवाकोटका गणेश पण्डित लगायतले अध्ययन छाड्नु भयो र गाउँतिर लाग्नु भयो । पछि कास्कीका पुष्पकल सुवेदी र रामराज सुवेदीले पनि पढाई छाडेर हिंड्नु भएको थियो । पढाई नछाडे पनि त्यो समूहमा आबद्ध हुने तनहुँ सोती बेसीका रामप्रसाद पनि हुनुहुन्थ्यो । (रामबहादुर अधिकारीले दिएको जानकारी) शेषमणि भन्नुहुन्छ, “झापा आन्दोलनलाई जनयुद्धको पहिलो पाठशाला भनियो । म २०४३ तिर त्यस सङ्गठनको केन्द्रमा आएँ ।”
उनीहरूले २०४६ सालतिर नेपालका कम्युनिस्टहरूको सËठन मालेमावादीको खुला मोर्चाको रुपमा किसान मजदुर सभा गठन गरेकाथिए । तनहुँ जिल्लामा किसान मजदुर सभाका अध्यक्ष छबिचन्द्र (ढकाल भानु– ४) हुनु भएको थियो।विद्यानाथ ढकाल (भानु ४),शिवशङ्कर पौडेल (व्यास ), लक्ष्मण अधिकारी (म्याग्दे– ३),रामबहादुर अधिकारी (भानु ३ ) लगायत त्यो सभामा आबद्ध हुनुभएको थियो ।तनहुँको पूर्वी भेगमा किसान मजदुर सभाले अँधिया वाली आन्दोलन चलाएको थियो । जनआन्दोलन पछि विद्यार्थी मोर्चा बनाउन खोजे पनि बनाउन सकेनन ।
किसान मजदुर सभामा आबद्ध गण्डकी अञ्चलका सबै ब्यक्तिहरू एमालेमा प्रवेश गरेका थिए । त्यस सम्बन्धमा रामबहादुर अधिकारी भन्नुहुन्छ,“ २०४९ मा एमालेको पाँचौ महाधिवेशनका बेला किसान मजदुर सभाका १५२ जना एमालेमा प्रवेश गरेका थियौँ ।२० जना पछि प्रबेश गरेका थियौँ। शेष्मणी आचार्यलाई एमालेको राष्ट्रिय परिषद सदस्य बनाए । हामीलाई यो पद चाहिन्छ त्यो पद चाहिन्छ भनेर कुनै बार्गेनिङ गरेनौ । मलाई एमाले चित्त ब्य्झेन म अहिले स्वतन्त्र वामपन्थी हो। शेषमणी जी एमालेमै हुनुहुन्छ । छबिचन्द्र जी तनहुँमा हामीले सम्झिरहने नेता हो । उहाँले पनि एमाले छाड्नु भएकोथियो । उहाँ बितिसक्नु भयो ।”
“नेपालका कम्युनिस्टहरूको सËठन माओवादी”को मूल्याÍन गर्नु पर्दा त्यसलाई एउटा पार्टीकोरुपमा लिन सकिन्छ कि सकिँदैन भन्ने एउटा प्रश्न उठ्न सक्दछ ।त्यस संस्थाको नाममै पार्टी नभएर सँगठन भन्ने पदावली रहेको हुँदा र त्यसमा आवद्ध ब्यक्तिहरूले आˆनो पार्टी बनाउने भन्दा पनि कम्युनिस्ट शक्तिहरूको एकता गराउने उद्देश्य राखेको हुँदा यसलाई पार्टी नभनेर एउटा संस्थाको रुपमा मात्र बुझ्ने हो कि भनेर पनि तर्क गर्न सकिन्छ । त्यससँग सम्बन्धित व्यक्तिहरूले त्यो समूहलाई पार्टी नै भन्नु पर्दछ भन्ने मत राखेका छन् । नेपालको मात्र हैन बिश्वकै पहिलो माओवादी पार्टी भन्ने श्याम प्रशाद शर्माको समूहमा आबद्ध ब्यक्तिहरूको दाबी छ । पार्टीको आकार नै नलिएको हुँदा त्यसलाई माओवादी पार्टी भन्न मिल्छ र ? यो पनि प्रश्न गर्न सकिन्छ ।
पार्टीको रुप धारण गरिन नसकेको अवस्थामा त्यसलाई विश्वको पहिलो माओवादी पार्टी भन्न मिल्ला वा नमिल्ला ? आचार्यका अनुसार अष्ट्रेलियाको कम्युनिस्ट पार्टी (माले) का अध्यक्ष ई. एफ. हिलले सर्वहारा सांस्कृतिक क्रान्तिका बेला सबैभन्दा पहिले मालेमा शब्द प्रयोगमा ल्याएका थिए । आचार्य (२०७३), लोक भावना । चिनियाँ कम्युनिस्ट पार्टीभित्र पनि पथप्रदर्शक सिद्धान्तमा “माओवादी” जोड्नु पर्दछ भन्ने कुरा उठेको थियो । तर त्यो निर्णय हुन सकेन । पथप्रदर्शक सिद्धान्तमा “माओविचारधारा” पदावली नै प्रयोग गरियो । “दर्शन बारे माओको पाँच कृति”, “माओका उद्धृत उक्तिहरू” दु:ख गरेर उल्था गरेर नेपालमा प्रचारमा ल्याउने काम सुरुमा यही समूहले गरेको थियो ।
यो समूहले आन्दोलन र सङ्गठनको उल्लेखनीय काम गर्न नसके पनि तनहुँमा एक पटक माओ दिवस मनाउने काम गरेको थियो । माओ दिवस मनाउँदा वा अरु गतिविधि गर्दा उनीहरूले आफ्नो समूहको नाम गोप्य नै राख्ने गर्दथे । सानातिना सङ्घर्षका काम गर्दै नगरेको भन्ने हैन । तर उल्लेखनीय काम गर्न सकेनन् । त्यो समूहले प्रकाशनको क्षेत्रमा गरेको योगदान उल्लेखनीय छ । त्यो समूहले क्रान्तिकारी विचारहरू प्रवाह नगरे पनि प्रगतिशील साहित्य, प्रगतिशील चिन्तनको प्रचारमा पुर्याएको योगदानलाई आत्मसात गर्नुपर्दछ । गोपनीयता, भूमिगतका मामलामा अत्यन्त कठोर जस्तो र नाम पनि निकै क्रान्तिकारी “माओवादी” जस्तो देखिए पनि सारमा उहाँहरूको वैचारिक पक्ष र व्यवहार पनि क्रान्तिकारी हुन सकेन । यदि उहाँहरूको टे«न्ड क्रान्तिकारी हुन्थ्यो भने एमाले जस्तो कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी धारमा विलय नभएर क्रान्तिकारी आन्दोलनलाई सङ्गठित गर्न लाग्नु हुन्थ्यो होला । हामीले उहाँहरूले प्रकाशन, लेखन अध्ययन, प्रचारप्रसारको क्षेत्रबाट समाज परिवर्तनमा पुर्याउनु भएको योगदानलाई आत्मसात गर्नु पर्दछ ।
सन्दर्भ :
आचार्य, शेषमणि, (२०७३), श्यामप्रशादको नेतृत्वमा कम्युनिस्ट पार्टी, लोक भावना वैचारिक तथा साहित्यिक त्रैमासिक वर्ष १० ? पूणाङ्क ३६
अन्तर्वार्ता :
अधिकारी, रामबहादुर
आचार्य, शेषमणि
शर्मा अपत्य

