कामरेड कुलानन्द बन्जाडेको १७ औँ स्मृति दिवस

नरेन्द्रबहादुर थापा •• श्रद्धेय अग्रज कामरेड कुलानन्द बन्जाडेको १७ औँ स्मृति दिवसको सन्दर्भमा सर्वप्रथम म उहाँ प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँको जीवनकालका मलाई याद भएका र मैले थाहा पाएका केही कुराहरू स्मरण गर्न चाहन्छु । उहाँको जन्म वि. स. १९९९ सालमा मंसिर १९ गते अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा नं.२ अमलाचौरमा पिता देवी राम बन्जाडे र माता खिमादेवी बन्जाडेको कोखबाट दोश्रो पुत्रको रुपमा भएको हो । उहाँले २०१६ सालमा आफु जन्मेको गाउँबाट नै प्राथमिक शिक्षा हासिल गर्नुभएको थियोे । २०१९ सालमा श्री बाल शिक्षा माध्यमिक विद्यालय (तत्कालीन बाल शिक्षा हाई स्कुल) ओखरकोट, प्युठानबाट निम्नमाध्यमिक शिक्षा हासिल गर्नु भयो । २०२१ मा श्री महेन्द्र हाईस्कुल (हाल महेन्द्र मा.वि.) गुल्मी, तम्घासमा माध्यमिक तहको शिक्षाको लागि भर्ना हुनुभयो र २०२३ मा सोही विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गर्नुभयो ।

२०२३ साल पछि भारतको वाराणसीको श्री आदर्श सेवा इन्टरमिडिएट कलेज, उत्तर प्रदेशमा अध्ययन गरी २०२५ सालमा आइ.एस.सी. उत्तीर्ण गर्नुभएको थियो र शिक्षा शास्त्र अध्ययन संस्थान कीर्तिपुर क्याम्पसबाट स्नातक स्तरको परीक्षा उत्तीर्ण गर्नुभएको थियोे । उहाँ तीक्ष्ण बुद्धि, गम्भीर, सरल र मिजासिलो स्वभाव, हँसिलो मुद्रा, तार्किक क्षमता, उच्च विचार र मिलनसार व्यवहार भएको निकै सहयोगी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ एक कुशल अध्यापक, राजनीतिज्ञ र समाज सेवी पनि हुनुहुन्थ्यो । उहाँले विद्यार्थीकालदेखि नै समाजमा रहेका रुढीवादी , कुसंस्कार र अन्याय, अत्याचारका विरुद्ध सङ्घर्ष गर्दै आउनु भएको थियोे । विद्यार्थी जीवनमा पहिले देखि सङ्गठित भएपनि २०२४ सालमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियोे । उहाँको विवाह गुमा देवी खनालसँग भएको थियो । उहाँ पनि अहिले हामी बीच हुनुहुन्न । उहाँका ३ छोरा र २ छोरीहरू छन् ।

आई.एस.सी. पुरा गरेपछि २०२५ सालदेखि श्री जनज्योति मा. वि. (तत्कालीन जनज्योति हाई स्कूल) चुत्रावेसी, अर्घाखाँचीमा विज्ञान शिक्षकको रूपमा अस्थायी नियुक्ति लिएर शिक्षण सेवामा प्रवेश गर्नु भएका कामरेड कुलानन्द बन्जाडे २०२९ सालदेखि २०३२ साल सम्म श्री बाल शिक्षा मा.वि. ओखरकोट, प्युठानमा विज्ञान शिक्षकको रूपमा स्थायी नियुक्ति लिएर अध्यापन कार्य गर्नु भएको थियो । २०३२ साल सम्मको अध्यापन पछि २०३२ साल चैत्रमा प्युठान खलङ्गाको महेन्द्र माध्यमिक विद्यालय (हालको महेन्द्र नमूना माध्यमिक विद्यालय) मा सरुवा हुनुभयो । करिव एक महिनाको अन्तरालमा श्री जनप्रिय मा.वि. खिल्जी, असुरकोट (तत्कालीन नि.मा.वि.) मा २०३३ साल वैशाख २० गते प्रधानाध्यापकको रूपमा काज सरुवा भएर सेवा गर्नु भयो ।

२०३३ साल ज्येष्ठ १ गते प्र.अ.काज सरुवाबाट उक्त विद्यालयमा पदस्थापना भयो । तत्काल असुरकोट गाउँ पंचायत प्युठान जिल्लामा पर्दथ्यो । पछि प्युठानबाट अलग भएर अर्घाखाँचीमा गाभिन आएको थियो । मलाई भर्खर झैँ लाग्दछ कि २०३४ साल आषाढ ७ गते नेपाल कम्युनिस्ट पार्टीले राजतन्त्रको विरुद्धमा पर्चा वितरण कार्य गरेको थियोे । त्यो निर्दलीय तानाशाही पंचायती कालमा राजनैतिक दलहरू प्रतिबन्धित थिए । कुनै पनि दलले कुनै राजनैतिक गतिविधि गर्नु पंचायती व्यवस्थाबाट राज्य विरुद्धको अपराधको हुन्थ्यो र राज्य विरुद्धको मैले पढाउने विद्यालय श्री विश्व मा.वि.मा टाँसिएको त्यो पर्चा तत्कालीन पंचेले लगेर जिल्ला प्रशासन कार्यालयमा उजुरीका साथ पेश गरेकाले कामरेड कुलानन्द बन्जाडेलाई वर्षौंसम्म राज्य विरुद्धको अपराध गरेको कसुरमा मुद्दा खेप्नुपरेको थियोे । मैले पनि उहाँसङ्गै त्यो मुद्दा बेहोर्नु परेको थियो ।

२०३५ सालमा कामरेड कुलानन्द बन्जाडेलाई जिल्ला शिक्षा कार्यालय प्युठानले सेवा कालीन २ वर्षको तालिममा त्रिभुवन विश्व विद्यालय कीर्तिपुर क्याम्पसमा पठायो । अव २ वर्षको लागि उहाँको बसाइ कीर्तिपुरमा हुने भयो । यद्यपि २०३५ देखि २०३७ सम्म कामरेड बन्जाडे तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको अर्घाखाँची जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो र त्यसपछि विभिन्न तहको पार्टी कमिटी सेक्रेटरी हुँदै २०४२ सालदेखि आˆनो जीवनभर निरन्तर नेपाल कम्युनिस्ट पार्टी मसाल अर्घाखाँचीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियोे ।

२०३५ सालमा प्युठानको तत्कालीन असुरकोट गाउँ पंचायत प्युठानबाट अलग भएर अर्घाखाँचीमा गाभिन पुग्यो र उहाँ हामीसँगै अर्घाखाँची जिल्लाको विद्यालयको प्रधानाध्यापक हुनुभयो । म पनि २०३१ साल देखि नै विश्व मा.वि. (तत्कालीन नि.मा.वि.) को प्र.अ. थिएँ । उहाँको घर र मेरो विद्यालय धेरै टाढा पर्दैनथ्यो । अब हाम्रो सम्पर्क बढ्दै जाने भयो । उहाँको घरबाट मेरो डेरा पनि नजिकै पर्दथ्यो । उहाँ अग्रज नेता र अभिभावक हुनुहुन्थ्यो । मेरो घनिष्ठ साथी हुनुहुन्थ्यो तापनि उहाँलाई मैले मेरो अभिभावक वा गुरु नै मान्दथें । किनकि उहाँको कार्यशैली र कार्य क्षमता, बुद्धि र विवेक, चालचलन र रहनसहन मेरो लागि मात्र न भएर सबैको लागि अनुकरणीय थिए । विद्यालय वारी र पारी अलग–अलग भएपनि हाम्रो भेट बिहान बेलुका हुन सक्दथ्यो । विद्यालय संचालनको बारेमा छलफल हुन पाउने भयो । उहाँको विद्यालय अर्घाखाँचीमा आएकोले मलाई अत्यन्त खुशी लागेको थियो । उहाँको विद्यालय श्री जनप्रिय नि.मा.वि., मा.वि.मा स्तरोन्नतिको प्रक्रियामा पनि थियोे ।

२०३६ सालमा पंचायती व्यवस्थाका विरुद्धमा आन्दोलन सुरु भएको थियोे । त्यो आन्दोलन वास्तवमा पाकिस्तानको जुल्फिकर अलि भुट्टोको हत्याको विरुद्धमा सुरु भएको थियोे तापनि पछि आन्दोलन पंचायती व्यवस्थाको विरुद्ध उत्रिन पुग्यो । श्रद्धेय बन्जाडे एक कुशल राजनीतिज्ञ पनि भएको हुनाले त्यस आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नु भएको थियोे । २०३६ सालको राजनैनिक आन्दोलनको साथै शिक्षक आन्दोलन पनि उत्कर्षमा पुगेको थियोे । त्यसको पनि उहाँले नै नेतृत्व गर्नु भएको थियोे । किनकि उहाँ २ वर्षको लागि विद्यार्थी बन्न जानु भएको शिक्षक हुनुहुन्थ्यो ।

२०३६ देखिको लगातार चलिरहेको आन्दोलनको कारणले गर्दा २ वर्षको तालिम पुरा गर्न ३ वर्ष लागेको थियोे । तालिम सकेर फर्की आउँदा विद्यालय मा.वि.मा स्तरोन्नति भइसकेको थियोे । २०३८ साल ज्येष्ठ २० गते देखि उहाँ पुन: त्यस माध्यमिक विद्यालयको पनि प्र.अ. भएर कुशलतापूर्वक कार्य सन्चालन गर्नुभएको थियोे ।

२०३८ सालमा भएको पंचायतको चुनावलाई तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले बहिष्कारको आहृवान गरेको थियोे । अर्घाखाँचीको तत्कालीन ढाकावाË गाउँ पंचायतमा यही चुनाव बहिष्कारको क्रममा कामरेड कुलानन्द बन्जाडे कै नेतृत्वमा सिËल मत पनि नखसेर शून्य मतले बहिष्कार पूर्ण रूपमा सफल भएको थियो । यो बहिष्कारले गर्दा तत्कालीन पंचायती सरकारको ध्यानाकर्षण भई युगौँदेखि खानेपानीको सङ्कटमा परेका साविक ढाकावाङ्ग गाउँ पंचायतका जनताहरूले यो खानेपानीको सुविधा प्राप्त गर्न सफल भएका हुन । यही पंचायती कालमै भूमिगत अवस्थामा रहेको नेपाल कम्युनिस्ट पार्टीको जिल्लाको नेतृत्व कुनै बेलाको विशेष अवस्थामा र २ वर्षसम्म (२०३५ देखि २०३७ सम्म) उहाँले नै गर्नु भएको थियोे ।

२०३६ साल देखि लगातार चलेको राजनैनिक आन्दोलनसङ्गै चलेको शिक्षक आन्दोलनले २०३९ सालमा शिक्षकहरूको सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको वैधानिकता प्राप्त गर्न सफल भएको थियो । जुन कार्यमा कामरेड बन्जाडेको अग्रणी भूमिका रहेको थियोे । तत्पश्चात आदरणीय कामरेड कुलानन्द बन्जाडेले अर्घाखाँचीको शिक्षकहरूको नेतृत्व गर्दै दुई कार्यकालसम्म केन्द्रीय उपाध्यक्षको पदभार ग्रहण गरी कार्यभार सम्हाल्नु भएको थियोे ।

२०४०-४१ को शैक्षिक सत्रमा उहाँले मा.वि .स्तरको शिक्षक पदमा स्थायी हुनुभएको थियोे । मा.वि. स्थायी भएपछि पनि उही विद्यालयमा निरन्तर प्रधानाध्यापक नै भएर कार्य गर्नु भयो । त्यो भन्दा पहिले देखि नै उहाँ स्थानीय बुद्धिजीवीको हैसियतले मेरो विद्यालयको तत्कालीन संचालक समितिको सदस्य पनि हुनुहुन्थ्यो । विद्यालयमा केही जटिल समस्याका कारण बैठक बस्नु पर्ने भएमा उहाँको अनिवार्य उपस्थितिको आवश्यकता महशुस हुने गर्दथ्यो । विद्यालयको कुनै पनि समस्या समाधानको उपाय निकाल्न उहाँसँगको परामर्शमा अत्यन्त सहज लाग्दथ्यो ।

२०४१ सालदेखि मेरो विद्यालय तत्कालीन श्री विश्व निम्नमाध्यमिक विद्यालयलाई माध्यामिक विद्यालयमा स्तर उन्नति गर्ने कार्यक्रम निश्चित भएको र तयारी पनि भैइसकेको थियोे । त्यसैले मलाई कामरेड बन्जाडेकै पहलमा २ वर्षको अध्ययन विदामा विद्यालय संचालक समितिको निर्णयबाट त्रिभुवन विश्व विद्यालय किर्तिपुर क्याम्पसमा पठाइएको थियो । २०४२ सालमा म अध्ययन पुरागरी फिर्ता भएपछि मलाई घरमा रहनुपर्ने विशेष परिस्थिति सिर्जना भएकोले मलाई संचालक समितिको निर्णयले मेरो स्थानीय विद्यालय श्री अर्घा मेहलपानी माध्यमिक विद्यालयमा एक वर्षको लागि काज सरुवा पठाउन उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो । २०४३ सालमा मलाई काज फिर्ता गरी पुन:काजमा आˆनो विद्यालय श्री जनप्रिय मा.वि. असुरकोटमा एक वर्षको लागि सरुवा गराउनु भएको थियो । यद्यपि मैले वारि र पारी गरि दुवै विद्यालयमा आवश्यकता पुरा गरेको थिएँ ।

२०४४ मा मेरो काज त्यहाँबाट फिर्ता भयो र म मेरो विद्यालय श्री विश्व मा.वि.मा फिर्ता भएँ । आदरणीय कामरेड कुलानन्द बन्जाडे पनि साथै मेरो विद्यालयमा सरुवा हुनुभयो । यसरी २०४३ सालमा र २०४४ देखि २०४८ सालसम्म हामी सङ्गै रहृयौँ । २०४८ सालमा म मेरो घरपायक मिलाएर श्री सिद्धार्थ मा.वि. हंसपुर रतनमारेमा सरुवा भएँ । अनि मात्र हामी छुटेका थियौँ । तथापि हामी बेला बखत भेट भई नै रहन्थ्यौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिको बैठक, हाम्रो आन्तरिक तत्कालीन भूमिगत सङ्गठन अखिल नेपाल शिक्षक सङ्घको बैठक, शिक्षकका पेशागत तालिमहरू, शिक्षण सिकाई सम्बन्धी विभिन्न तालिमहरू जस्ता कैयौँ कार्यक्रमहरूमा हामी सधैं सँगै हुने गर्दथ्यौँ ।

२०५३ सालमा आदरणीय कामरेड कुलानन्द बन्जाडे हाम्रो २०४३ साल देखि गठित भूमिगत रहेको शिक्षक सङ्गठन अखिल नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्ष हुनुभएको थियो । सङ्घको स्थिति अस्तव्यस्त रहेकोले त्यसलाई व्यवस्थित गर्ने उद्देश्यले आदरणीय कामरेड कुलानन्द बन्जाडेको अध्यक्षतामा केन्द्रीय न्युक्लस गठन भएको हो । २०५६ सालमा शिक्षकको चौथो राष्ट्रिय भेलाले लिला बहादुर के.सी .को अध्यक्षतामा गठन भएको केन्द्रीय समितिमा हामी दुवै सदस्य रहेका थियौँ । कामरेड कुलानन्द बन्जाडेले अभिभावकीय भूमिका खेल्दै २०५७ सालमा भएको अखिल नेपाल शिक्षक सङ्घको पहिलो राष्ट्रिय सम्मेलनबाट मेरो अध्यक्षतामा गठित केन्द्रीय समितिमा उहाँ सदस्य रहनु भएको थियो । त्यसपछिका दिनहरूमा पनि कमरेड कुलानन्द बन्जाडे सर अत्यन्त व्यस्त हुनुहुन्थ्यो । २०५७-५८ साल तिर शिक्षक बढुवाको व्यवस्था भएदेखि उहाँ मा.वि. द्वितीय: श्रेणीमा बढुवा हुनुभएको थियोे । २०५५ साल माघ १४ गतेदेखि श्री विश्व माध्यामिक विद्यालयको प्र.अ. हुनुभएको थियो । प्र.अ.भएर पनि उहाँ गाउँको खानेपानीको, सामुदायिक वनको, सार्वजनिक मोटरबाटाको जस्ता उपभोक्ता समितिको समेत अध्यक्ष भएर कार्य गर्नु भएको थियो । किनकि उहाँको बुद्धि, विवेक, योग्यता र क्षमताको कारण सबै जनताले उहाँको नै विस्वास गर्दथे र भर पर्दथे ।

यसरी उहाँले सामाजिक, राजनैनिक र शैक्षिक क्षेत्रमा सक्रियतापूर्वक काम गर्दागर्दै २०६३ साल ज्येष्ठ १६ गते हृदयघातका कारण उहाँको आकस्मिक रूपमा निधन हुन गएको थियोे । उहाँको निधनले श्री विश्व माध्यमिक विद्यालय मात्र नभएर सिङ्गो अर्घाखाँची जिल्ला लगायत नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति भएको महशुस भएको छ । यद्यपि उहाँले समाजमा देश र जनता, राष्ट्र र राष्ट्रियता प्रति दिनु भएको उल्लेखनीय योगदानको कारणले गर्दा अमरत्व प्राप्त गर्नुभएको छ र उहाँको नामबाट उहाँका परिवारजन तथा इस्टमित्रहरूद्वारा उहाँले सेवा गरेको विद्यालयको सङ्ग सङ्गै कुलानन्द स्मृति प्रतिष्ठान स्थापना गरी सेवारत छ । त्यसले गर्दा पनि कामरेड कुलानन्द बन्जाडे यो समाज रहँदासम्म अमर नै रहनुहुनेछ । यस प्रतिष्ठानका संस्थापक सबैलाई धन्यवाद दिन चहन्छु र साथै उहाँको भौतिक शरीरको स्मरण गर्दै कामरेड कुलानन्द बन्जाडे प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

(लेखक थापा अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित