नेपालको सरकार र संसदवादी पार्टीहरू साम्राज्यवादका कारिन्दाहरू हुन्

रामबहादुर बुढा, प्रवक्ता नेपाल कम्युनिस्ट पार्टी (मशाल) ••
रामबहादुर बुढा नेकपा (मशाल) का प्रबक्ता हुन् । उनी २०४६ देखि राजनीतिक गतिविधिमा संलग्न भएका थिए । बुढाले दश वर्ष अखिल (छैटौँ )को केन्द्रीय समितिमा, १४ वर्ष अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय समितिमा र २०६६ देखि २०७७ सम्म करिव १२ वर्ष नेकपा (मसाल) को केन्द्रीय समितिमा रहेर काम गरेका थिए । २०६१ चैत्रमा प्रतिगमनका विरुद्ध सङ्घर्षका क्रममा उनी पाल्पामा जेल जीवन पनि बिताएका थिए । २०७७ कार्तिक २२ गते मसालको केन्द्रीय समिति बैठकबाट उनलाई झुठो आरोप लगाई पार्टी र मोर्चाका सबै जिम्मेवारीबाट हटाइएको थियो । राष्ट्रिय जागरण अभियानले २०७८ भाद्र ५ गते आयोजना गरेको अन्तर्कृया कार्यक्रममा अवधारणा – पत्र पेश गरेको आरोपमा बुढालाई मसाल नेतृत्वले अनिश्चितकालका लागि पार्टीबाट निस्काशित गरेको थियो । २०७९ असोजमा सम्पन्न नेकपा (मशाल) को विशेष महाधिवेशनबाट उनी प्रवक्ता चयन भएका छन् ।

उनले शिक्षाको प्रारम्भ गौमुखी प्रा. वि.ठूलाचौर ,अर्खा प्युठानबाट गरेका थिए । राजनीति शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका बुढाले हाल त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागबाट दर्शानाचार्य (एम. फिल) तेस्रो सेमेस्टर अध्ययन गर्दैछन् । उनले अहिले “झापा विद्रोह र नक्सलाइट आन्दोलनको अन्तर्सम्बन्ध” विषयमा डिजर्टेशन लेखिरहेका छन् ।

जनजाति अधिकार र सङ्घीयताको सवाल, पर्यटकीयस्थल गौमुखी र आसपासका साङ्स्कृतिक पक्ष, नेपालको कम्युनिस्ट आन्दोलनका केही सैद्धान्तिक तथा राजनैतिक विषय, नेपालमा राष्ट्रियताको समस्या, अन्तर्जातीय विवाह, नेकपा (मसाल) मा अन्तर्सङ्घर्ष लगायतका उनले लेखेका पुस्तकहरू प्रकाशित छन् । उनले अनुवाद क्षेत्रमा पनि कलम चलाएका छन् । “महान सर्वहारा साँस्कृतिक क्रान्तिका दस्तावेजहरू” उनले अनुवाद गरेका पुस्तकहरू मध्येको एक महत्त्वपूर्ण पुस्तक हो । उनको जन्म स्थान साबिकको अर्खा गाविस, वडा नं. –१ प्युठान र हाल : गौमुखी गा .पा. २ प्युठान हो ।

नागरिकता अनुसार वि स २०३४ वैशाख २ गते उनको जन्म मिति हो । उनका आमा हुमकली बुढा (विसं २०४५ मा मृत्यु) र बुबा उजर सिंह निसेल बुढा हुन् । जीतगढी पोष्टका लागि पत्रकार राम सुवेदीले प्रबक्ता बुढा सित लिएको अन्तर्वार्ता यहाँ दिइएकोछ ।

० नेपालको कम्युनिस्ट आन्दोलन कस्तो अवस्थामा छ ?

– नेपालको कम्युनिस्ट आन्दोलन अहिले असाध्य सङ्कट र सुन्दर सम्भावनाको दोसाँधमा उभिएकोछ । नेपालको कम्युनिष्ट आन्दोलनभित्र दक्षिणपन्थी अवसरवाद हावी भएकोछ । विगतको झापा विद्रोहबाट हुर्किएको उग्रवामपन्थी अवसरवाद एमाले हुँदै चरम दक्षिणपन्थी अवसरवादमा भासिएकोछ । माओवादी जनयुद्धबाट अगाडि आएको उग्रवामपन्थी अवसरवाद पनि अहिले दक्षिणपन्थी अवसरवादकै दलदलमा भासिएको छ । सङ्गठनात्मक र प्रभावकारिताको हिसाबले क्रान्तिकारी धारा कमजोर छ तर विचारको दृष्टिकोणबाट यो शक्तिशाली छ । क्रान्तिकारी व्यक्ति, समूह र पार्टीहरूका बीचमा सहकार्य, कार्यगत एकता र पार्टी एकताका प्रयास पनि हुँदै छन् तर प्रयासहरूले ठोस रुप लिन सकेका छैनन् । प्रतिक्रियावादी संसदीय व्यवस्था झन पछि झन बदनामित हुँदैछ । नेपालका सबै प्रतिक्रियावादी र दक्षिणपन्थी अवसरवादीहरू यो मक्किदै, थोत्रिदै गैरहेको प्रतिक्रियावादी व्यवस्थालाई बचाउन , संस्थागत गर्न र सुदृढ गर्न लागिरहेका छन् । क्रान्तिकारी शक्तिहरूले वर्तमान वुर्जुवा गणतन्त्र सहितको संसदीय व्यवस्थालाई नै समाप्त पारेर अर्को वैकल्पिक प्रगतिशील सत्ता निर्माणका लागि, नयाँ जनवाद र समाजवाद स्थापनाका लागि उपाय खोज्दैछन् । परम्परागत संसदवादी पार्टीहरू असफल भैसकेका छन् । त्यसैले नयाँ, युवा र स्वतन्त्रको नाममा यही सत्ताभित्र सम्भावना खोज्ने कोसिस भैरहेको छ । तर नयाँ, युवा, स्वतन्त्र भन्नेहरू पनि साम्राज्यवादी सिद्धान्त नवउदारवादका भरियाहरू हुन् । तिनीहरूबाट केही हुने वाला छैन । त्यसैले प्रगतिशील वैज्ञानिक चिन्तनद्वारा निर्देशित नयाँ विकल्प चाहिएकोछ । त्यसका निम्ति विचार, चिन्तन, सङ्घर्ष र सङ्गठनको क्षेत्रमा धेरै मेहनत गर्नु पर्ने आजको आवश्यकता हो । प्रतिक्रियावादी र अवसरवादीहरू सडेगलेको ब्यबस्थामा तुच्छ स्वार्थ सिद्दिका लागि छिनाझपटी गरिरहेकाले क्रान्तिकारी कम्युनिस्ट शक्तिको भविष्य उज्ज्वल छ ।

० कम्युनिष्ट आन्दोलन प्रति यति धेरै उभार भएको नेपालमा कम्युनिष्ट पार्टीहरू टुटफुटको बाटो तिरै रमाउनुको कारण के हो ?

– “उभार” भन्ने शब्द प्रयोग गर्नु भयो । ठीकै हो । संसारका कैयौँ पुँजीवादी र साम्राज्यवादी देशहरूमा कम्युनिस्ट पार्टी खोल्न प्रतिबन्ध छ । बच्चा रोयो भने नानी नरोऊ अहिले कम्युनिस्ट आएर खान्छ भनेर बच्चाहरूलाई हाउगुजी देखाउने ठाउँहरू पनि छन । नेपालमा सरकारमा, संसदमा, सडकमा, शहर, गाउँ, महल ,झुपडी जताततै कम्युनिस्ट भन्ने छन् । २०७४ को संसदीय निर्बाचनमा एमाले र माके सहितको वाम गठबन्धनले झण्डै दुई तिहाई मत आर्जन गरेको थियो । यदि कम्युनिस्ट भन्ने लोगो प्रतिको यो समर्थनको स्थितिलाई हेर्ने हो भने तपाईले भने झैं “उभार” भन्दा पनि फरक पर्दैन । जनताले कम्युनिस्टलाई मन पराए पनि आफुलाई कम्युनिस्ट भन्ने शक्तिहरू एकै प्रकारका छैनन् ।

कम्युनिस्ट आन्दोलनमा विभिन्न कारणले फुट हुने गरेका छन् । सबै भन्दा पहिलो कारण त विचारमा मतभिन्नताका कारण नै पार्टीमा फुट आउने गरेको छ । कम्युनिस्ट आन्दोलनको प्रारम्भिक कालदेखि नै विचारका कारण फुट हुने गरेको छ । जस्तै माक्र्स,  एङ्गेल्सको समयमा कम्युनिस्ट लिग र प्रथम अन्तर्राष्ट्रियको विघटन वैचारिक विवादकै कारण भएको थियो । लेनिन र रोजाहरू सित कार्ल काउत्स्कीको वैचारिक विवादका कारण दोस्रो अन्तर्राष्ट्रिय विघटन भएको घोषणा गर्दै लेनिनहरूले तेस्रो अन्तर्राष्ट्रिय गठन गर्नु परेको थियो। सन् १९५७ र १९६० मा कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय भेलामा ख्रुश्चेभ र माओको वैचारिक विवादका कारण सिङ्गो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन चिनियाँ ध्रुब र शोभियत ध्रुबमा विभक्त भएको थियो ।

दोस्रो कारण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रभावका कारण पनि पार्टीमा बिभाजन आउँदछ । चिनियाँ र रूसी विवादका कारण भरत, नेपाल र संसारभरि विभाजन आयो । अन्तर्राष्ट्रिय प्रभाव भने पनि मूलत: त्यो विचारकैकारणले भएको फुट थियो ।

तेस्रो कारण, कहिलेकाही व्यक्तिगत महत्त्वाकांक्षा , व्यक्तिगत मनमुटावका कारण पनि पार्टीमा विभाजन आउने गर्दछ । यो पक्ष कहिलेकाही फुटको मुख्य कारण हुन सक्दछ तर यो पक्ष प्राय: फुटका लागि सहायक पक्ष नै हुने गर्दछ ।

एउटा कुरा के हो भने जहाँ विचार हुन्छ त्यहाँ छलफल हुन्छ । जहाँ छलफल हुन्छ त्यहाँ विवाद हुन्छ । विवादले बिभाजन हुन्छ । जस्तो धर्म पनि एउटा विचार हो । कृस्चियन धर्ममा किन बिभाजन आयो , क्याथोलिक र प्रोटेस्टेन्ट किन बिभाजित भए ? बौद्ध धर्ममा किन हिनयान, महायान र बज्रयान फरक फरक सम्प्रदायमा बिभाजन भए ? मुस्ल्लिमहरू किन सिया र सुन्नी भए ? आखिर यी सबै बिभाजन विचारकै कारणले त भएका हुन् नि !

कम्युनिस्ट पार्टी मात्र फुटेका छैनन्, नेपालमै हेर्नुस । प्रतिक्रियावादी पार्टीहरू पनि फुट्ने र जुट्ने गरिरहेका हुन्छन् । २०४७ मा गठन भएको पूर्व पन्चहरूको पार्टी कति पटक फुट्यो र कति पटक जुट्यो? नेपाली काË्रेस २०५८ मा संसद बिघटन गर्ने कि नगर्ने भन्ने बिबादले फुटेको थियो । पछि २०६४ मा फेरि एकता भएको थियो । एमाले र माके एक भएर नेकपा (नेकपा) बनाए । दुई ढाई बर्षमै फुटे ।

निश्चय नै टुट फुटमा रमाउने कुरा गलत हो । मूलभूत सिद्धान्तमा समानता भएमा कम्युनिस्टहरूले सानातिना कुराहरूलाई सहमति गरेर पनि एकतामा जानू पर्दछ । एकता हुन नसकेमा सम्बन्ध र सहकार्यलाई बलियो बनाउनु पर्दछ ।

० टुटफुटले कम्युनिस्ट आन्दोलन कमजोर भएन र ?

– टुटफुटले आन्दोलन कमजोर हुन्छ र भएकोछ । टुटफुट कहिलेकाही गलत हुन्छ भने कहिलेकाही सही पनि हुन्छ । फुट्नु सधै गलत हुँदैन । परिस्थितिको सापेक्षतामा ती कहिले काही जरुरी पनि हुन्छ । फुट कहिलेकाही नयाँ सृजनाको आधार पनि हुन्छ । कहिलेकाही विचार रक्षाका लागि फुट्नु अनिबार्य पनि हुन्छ ।

शोभियत सङ्घमा स्तालिनको मृत्यु पछि ख्रुश्चेभको नव संशोधनवादका विरुद्ध सङ्घर्ष भएको भए वा क्रान्तिकारी बिचार रक्षाका लागि बहस बिबाद अगाडि बढेको भए शोभियत सङ्घ बिघटन नहुन पनि सक्दथ्यो । चीनमा क्रान्तिकारी शक्तिले साँस्कृतिक क्रान्तिलाई अगाडि बढाउन सकेन त्यसकारण चिनमा प्रतिक्रान्ति भयो। केशर जङ्ग रायमाझी सित नफुटेको भए उनले त कम्युनिस्ट आन्दोलनलाई राजदरबार पुर्याएर समाप्त गर्ने रहेछन् । फुट्नु अपृय थियो तर फुटेर कमसेकम आन्दोलनको रक्षा त भयो नि ।

हामी मसालबाट फुट्न चाहेका थिएनौँ । फुट्न चाहेको भए २०७२ मै सानो तिनो गु्रप बनाएर हिंडेको भए हुन्थ्यो । ७ वर्ष सम्म त्यही पार्टीमा अल्झिरहनु पर्ने थिएन । पार्टी भित्र एउटा सिस्टममा रहेर फरक मत राख्दै पार्टीलाई बलियो बनाउने हाम्रो सोचाइ थियो । फरक मत राख्नु नै मसाल पार्टीको नेतृत्वका लागि अपराध भयो । हामीलाई अवैधानिक ढËले झुठो आरोप लगाउँदै निस्काशन, निलम्बन, कार्वाही गरियो।फरक मत राख्ने कमिटीहरू विघटन गरियो। हामी फालिएका, अन्यायपूर्ण तरिकाले कार्बाहीमा परेका र क्रान्तिकारी विचार राख्ने साथीहरूले सम्हालिदै, समेटिदै कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउँदै जाने सोचाइका साथ नेकपा (मशाल) पुनर्गठन गरिएकोछ । हामी कसै सित आग्रह पूर्बाग्रह नराखिकन क्रान्तिकारी आन्दोलनलाई केन्द्रमा राखेर आफ्नो गतिविधि अगाडि बढाउने छौँ ।

० माक्र्सवादी दर्शन सबैले मान्ने, लेनिनवादी सङ्गठनात्मक अभ्यास सबैले अवलम्वन गर्ने तर विचारका आधारमा आन्दोलनलाई अगाडि बढाउन नसक्नुमा सबैलाई नेता बन्नु परेको भएर हो भन्ने जनगुनासो छ नि ?

– माक्र्सवादी दर्शन सबैले मानेकाछैनन । मुखले माक्र्सवादी दर्शन मान्छु भने पनि आˆना पार्टी दस्ताबेजहरूमा, माक्र्सवादको ब्याख्या र बिश्लेशणमा वा माक्र्सवादलाई ब्यबहारमा प्रयोग गर्दा कैयौँ आफुलाई कम्युनिस्ट भन्नेहरूले माक्र्सवादलाई मानेका छैनन । बरु संशोधनवादलाई मानेकाछन। संशोधनवादको प्रयोग गरेकाछन ।

विचारका आधारमा छिन्न भिन्न भएको कम्युनिस्ट आन्दोलनलाई विचारकै आधारमा एकताबद्ध बनाउने कोशिश गर्नु पर्दछ । जहाँ सम्म सबैलाई नेता बन्नु परेकाले कम्युनिस्ट आन्दोलनमा विभाजन आएको हो भन्ने तपाइँको आशयछ केही हदसम्म त्यस्ता पदीय महत्त्वाकांक्षाले पनि काम गरेको हुन्छ ।तर त्यो प्रमुख कारण हैन । प्रतिक्रियावादी वा अवसवादीहरूले हाम्रो छिन्नभिन्नतालाई रोकिदिने वा एकीकृत गरिदिने कुरा भएन । उनीहरूले त आˆनै विचार र सङ्गठनलाई बलियो बनाउन खोज्दछन। प्रतिक्रियावादीले आˆनो बिचार र सङ्गठनलाई बलियो बनाउन खोज्दछ । अवसरवादीले पनि आˆनै बिचार र सङ्गठन बलियो बनाउन खोज्दछ । ठीक त्यसै गरी क्रान्तिकारीहरूले पनि आˆनो विचार र सङ्गठन बलियो बनाउन प्रयास गर्नु पर्दछ ।

० कम्युनिष्ट विचार र दर्शनमा समयसापेक्ष नयाँ विश्लेषण नरहेका कारण कम्युनिष्ट आन्दोलनमा भड्काव, टुटफुट र विचलन आएको हो भन्ने तर्क सही छ कि छैन ?

– अवश्य पनि विचार र दर्शन समय सापेक्ष हुनु पर्दछ । नयाँ परिस्थितिमा नयाँ विश्लेषण हुनु पर्दछ । तर माक्र्सवादको मूलभूत मान्यताबाट चिप्लिएर वा अलग रहेर परिस्थितिको विश्लेषण गर्नु सही हुँदैन । लेनिनको पाला सम्म पनि पुँजीवादले बहुराष्ट्रिय कम्पनिको अवधारणा विकास गरेको थिएन । दोस्रो विश्व युद्ध पछि पुँजीवादले बहुराष्ट्रिय कम्पनीको नयाँ अवधारणा ल्यायो । अहिले पुजीवादले ग्कोबलाइजेशन (विश्वब्यापीकरण) को रुप लिएकोछ । नयाँ नयाँ रुपमा पुजीवाद आइरहेको छ । त्यस विरुद्ध सङ्घर्ष गर्न आजको परिस्थितिको अध्ययन र विश्लेषण चाहियो। नेपालमा पहिले किसानहरूले जमिन्दार र जमिन्दारलाई मद्दत गर्ने सरकारको विरुद्ध सङ्घर्ष गर्दथे । अहिले सरकारको किसान नीतिमा साम्राज्यवादी नीति पनि घुसेर आएकोछ । अहिले साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीका बीउ बिजन, किटनाशक औषधिबाट शोषण , कृषिमा व्यावसायिकरणबाट शोषण भइहेकोछ । किसानहरूले अब सामन्तवादको विरुद्ध सङ्घर्ष गरेर मात्र भएन साम्राज्यवाद विरुद्ध पनि सङ्घर्ष गर्नु पर्‍यो । नयाँ परिस्थितिमा वर्ग सँघर्षको विकास कसरी गर्ने भनेर सोच्नु माक्र्सवादी लेनिनवादी तरिकाहुन्छ तर वर्ग सङ्घर्षको दृष्टिकोणबाट अलग भएर सोच्न थालियो भने सही हुँदैन ।

समय सापेक्ष विश्लेशण चाहिन्छ तर समय सापेक्ष बिश्लेशणको नाममा प्रतिक्रियावादी ब्यबस्था भित्र आफै हराउने बिश्लेशणको परिवर्तनकारी आन्दोलनमा कुनै अर्थ छैन ।

० नेपालमा कम्युनिष्ट आचरण र विचार भएका कम्युनिष्टहरू नै छैनन् भन्ने स्वयं कम्युनिष्ट पार्टीका नेताहरूको भाष्यप्रति तपाइको धारणा के छ ?

– नेपालमा कम्युनिस्ट आचरण र विचार भएका कोही पनि कम्युनिस्ट नै नभएको भन्ने त होइन। छन् तर सीमित छन् । त्यसमा पनि कोही बढी र कमी अबश्य छ ।नेपालमा कम्युनिस्ट आचरण र विचार भएका कम्युनिस्टहरूको ठूलो जमात भएको भए नेपाली कम्युनिस्ट आन्दोलनको यो दुर्गति हुने थिएन । बाहिर द्वन्द्वात्मक भौतिकवादको प्रशिक्षण गर्ने,अर्काको आँखा छलेर मन्दिर ढोग्न जाने, मन्चमा गएर विभेद र असमानताको बिरोध गर्ने घरमै श्रीमतीलाई दोस्रो दर्जाको व्यवहार गर्ने, अरुलाई असल हुन पाठ सिकाउने आफै रहस्यमय र अपारदर्शी हुने , लेख लेख्दा भाषण गर्दा शोषण,दमनको विरोध गर्ने तर मौका मिलेमा छरछिमेकी, इष्टमित्रलाई पनि डस्न पछि नपर्ने यस्तो गैर कम्युनिस्ट आचरण भएका कम्युनिस्ट भनाउँदाहरूले कम्युनिस्ट आन्दोलनको बदनाम गरेका छन् । जहाँ सम्म कम्युनिस्ट विचारकोकुरा छ, कम्युनिस्ट विचार अङ्गाल्नु पर्दछ भन्ने र विगतमा कम्युनिस्ट आचरण र विचारलाई ब्यबहारिक जीवनमा लागू गर्न प्रयास गरेका ठूलो समूह अहिले आˆनो आचरण र विचारबाट पतन भएकोछ,पतन हुँदै गएकोछ । यसको अर्थ सबै त्यस्तै हुन् , सबै सकियो भन्ने होइन कम्युनिस्ट आचरण र विचारलाई मर्न नदिन त्यसको जगेर्ना गर्न, त्यसलाई हुर्काउन, बढाउन प्रयास पनि भैरहेकोछ ।

० तपाइको पार्टीमा सर्वहाराकरणका बारेमा के योजना छ ?

– सर्वहाराकरण भनेको सर्वहाराले जस्तै सोच्नु, विचार गर्नु र आˆनो जीवन पद्धति अपनाउनु भनेको हो । सामान्यतया सम्पत्ति माथि स्वामित्व नभएका र आˆनो मिहेनत बेचेर बाँच्ने ब्यक्ति सर्वहारा हो। सम्पत्ती भएको गैर सर्वहारा चिन्तन र सम्पत्ती नभएकोको सर्बहारा चिन्तन हुन्छ भन्ने हुँदैन । शोषणको विरोध गर्ने ,आफुले अर्कालाई शोषण नगर्ने ,आˆनो मिहेनतमा बाँच्न तयार हुनु सर्वहाकरण हुनु हो। सर्वहाराकरण हुने नाममा सम्पत्ति समाप्त गरेर सामुहिकरण गर्ने वा सम्पत्ति पार्टीलाई बुझाउने गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरू पनि छन् । फलाना हाम्रा कामरेड “ठूला नेता“ पार्टीलाई सम्पत्ति बुझाएर सर्बहाराकरण हुनु भयो भन्ने सुनिन्थ्यो अहिले फेरि यति सम्पत्ती छ उति सम्पत्ति छ भनेको उनै “ठूला नेता“ को मुखबाट सुनिन्छ । सम्पत्ति श्रीमतीको नाममा दर्ता गरिदिएर आफू सर्वहाराकरण भएको स्वाङ रच्नेहरू पनि नेपाली कम्युनिस्ट आन्दोलनमा छन् । प्रशस्त सम्पत्ति छ, पार्टी सङ्गठनलाई थोरै पनि लगानी गर्न मान्दैन पाए सम्म पार्टीकै खान पाए हुन्थ्यो भन्छ तर बाहिर मेरो केही पनि छैन ,म सर्वहारा भन्दै टि .भि., रेडियोमा रुँदै हिँडेको पनि देखिन्छ । यस्ता तरह तरहका ढोँगीहरूको नेपाली कम्युनिस्ट आन्दोलनमा कुनै कमी छैन । पहिलो कुरा हामीले सकभर यस्ता ढोङ्गबाट मुक्त हुने कोशिश गर्नु पर्दछ ।दोस्रो कुरा, पार्टी सङ्गठनमा लगातार सर्वहाराकरण बारे प्रशिक्षण चलाउने हाम्रो योजना छ । सर्वहाराकरणको प्रक्रिया के हो ? त्यसका मापदण्ड के हुन सक्दछ ? यी विषयमा लगातार प्रशिक्षण गर्ने योजना छ । तेस्रो कुरा, सर्बहाराकरण बारे लेख लेख्ने, छलफल गर्ने , सर्वहारा दृष्टिकोणको प्रचार गर्ने । चौथो कुरा, आस्था, निष्ठाका लागि त्याग ,समर्पण भएर मात्र पुग्दैन मिहेनत र श्रममा बाँच्नु पर्छ भन्ने भावनाको विकास गर्नु पर्दछ । नेता, कार्यकर्ताहरूलाई श्रम सित जोड्ने हामीले निर्णय गरेकाछौँ। त्यसतर्फ केही प्रारम्भिक कामको थालनी पनि भएका छन । हेरौँ, यसको परिणाम के हुन्छ ?

० संविधानले समाजवाद उन्मुख समाज निर्माण गर्ने भनेकोछ । एमाले, एकीकृत समाजवादी,माओवादी केन्द्र, मसालले यही संविधान भित्रबाट समाजवाद उन्मुख कार्यक्रम लागु गर्ने भनेका छन् । तपाइहरूको विरोध किन ?

– हामीले समाजवाद उन्मुख कार्यक्रमको विरोध गरेको होइन । वर्तमान अर्ध सामन्ती र अर्ध औपनिवेशिक ब्यबस्था अन्तर्गतको संसदीय ब्यबस्थामा समाजवाद उन्मुख कार्यक्रम लागू गर्न सम्भव छैन भनेको हो ।

निजीकरणलाई दुरुत्साहन सामुहिकतालाई प्रोत्साहन समाजवाद उन्मुख कार्यक्रमको मुख्य विशेषता हो । तर अब अहिले शिक्षा, स्वास्थ्य,यातायात,सन्चार जस्ता सार्वजनिक महत्त्वको क्षेत्रमा राज्य नै निजीकरण गर्न कम्मर कसेर लागेको छ । यहाँका काङ्ग्रेस, एमाले, माओवादी केन्द्र जस्ता पार्टीहरू निजीकरणलाई फलाउने फुलाउनेमा लागेकाछन । साम्राज्यवादीहरूले नेपालको सरकार र नेपालका प्रतिक्रियावादी र अवसरवादी पार्टीहरूलाई निजीकरण ,उदारीकरणका लागि दबाब दिइरहेकाछन । यदि उदारीकरणको नीति मान्दैनौ भने हामी तिमीहरूलाई रिण ,अनुदान ,सहयोग दिंदैनौ भनेर साम्राज्यवादीहरूले उनीहरूलाई धम्की दिन्छन् ।नेपालको सरकार र यहाँका संसदवादी पार्टीहरू साम्राज्यवादीहरूले लाए अह्राएका काम गर्ने कारिन्दा हुन् । यसर्थ अहिले समाजवाद उन्मुख कार्यक्रम लागू हुन सक्दैन । नयाँ जनवादी ब्यबस्थाले नै समाजवाद उन्मुख कार्यक्रम लागू गर्ने क्षमता राख्नेछ । संविधान र राजनीतिक दलहरूको दस्ताबेजहरूमा समाजवादउन्मुख कार्यक्रम लेखेर सामाजवादउन्मुख कार्यक्रम लागू हुँदैन । स्थिति के हो त्यसलाई ब्यबहारमा हेर्नू पर्दछ ।

० नेकपा (मशाल) को अवको राजनीतिक कार्यदिशा के हो ?

– पार्टीको न्यूनतम रणनीतिक उद्देश्य र त्यो उद्देश्यमा पुग्न अपनाइने उपाय वा बाटो दुवैलाई समग्रमा राज नीतिक कार्यदिशा भनिन्छ । नेकपा (मशाल) को न्यूनतम रणनीतिक उद्देश्य नयाँ जनवाद हो । नयाँ जनवादमा पुग्न अपनाइने विभिन्न सङ्घर्षका रुपहरू कार्यनीति हो । शान्तिपूर्ण जनसङ्घर्ष अहिलेको मुख्य कार्यनीति हो । शान्तिपूर्ण सङ्घर्षमा वैधानिक र अवैधानिक सङ्घर्षलाई तालमेल मिलाएर लान सकिन्छ । नेपालको भूराजनीतिक परिस्थिति र नेपालको वस्तुगत परिस्थिति सबैलाई विचार गर्दा सशस्त्र शहरीया जनविद्रोहबाट सत्ता कब्जा गर्नु पर्दछ भन्ने हाम्रो निष्कर्ष छ । सशस्त्र सङ्घर्षको बेला पनि जन सङ्घर्षको आबश्यक हुन्छ। छापामार युद्धलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । दीर्घकालीन जनयुद्धका कतिपय कम्पोनेन्टहरू पनि नेपालको क्रान्तिकारी आन्दोलनमा प्रयोगमा ल्याउन सकिन्छ । मूलरुपमा शहरीया सशस्त्र जनविद्रोह नै निर्णायक सङ्घर्षको रुप हुनेछ। राजनीतिक कार्यदिशालाई बल पुग्ने गरी सामरिक कार्यदिशा ,साङ्गठनिक कार्यदिशाको निर्माण हुन्छ । गरिनु पर्दछ ।

० नेपालको कम्युनिष्ट आन्दोलनको नयाँ गन्तव्य के हो ?

– नेपालको कम्युनिस्ट आन्दोलनको अवको नयाँ गन्तव्य जनतालाई जनतन्त्र र देशलाई स्वाधीनता दिने तहको गन्तव्य हुनु पर्दछ । त्यो गन्तव्य भनेको नयाँ जनवादको स्थापना हो । नयाँ जनवाद भनेको समाजवादको पूर्व अबस्था हो ।

अहिले पनि जनतालाई स्वतन्त्रता र समानता छ तर त्यो स्वतन्त्रता र समानता संविधान र कानुनको कागजमा छ । ब्यबहारमा छैन । देश स्वाधीन जस्तो देखिन्छ तर विस्तारवादी र साम्राज्यवादीहरूको उद्धेश्यअनुरुप यहाँका शासकहरूलाई प्रयोग गरेर देश चलेकोछ । देश झन पछि झन पराधीन हुँदै गइहेकोछ । नयाँ जनवादले जनतालाई बिभेदबाट मुक्त गर्ने छ र देशलाई पराधीनताको साङ्लोबाट मुक्त गर्नेछ ।

० अन्य माक्र्सवादी लेनिनवादी पार्टीहरू नेपालमा छन् कि छैनन् ? यदि छन् भने तपाईहरूले पार्टी एकता गर्ने पहल गर्नु भएको छ कि छैन ?

– माक्र्सवादी – लेनिनवादी पार्टी भनेको कम्युनिस्ट पार्टी हो । शोभियत सङ्घमा एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुन्छ भन्ने मान्यता स्थापित भयो। तर त्यसलाई हामीले निरपेक्षरुपमा लिनु हुँदैन । त्यहाँको विशेष परिस्थितिमा एउटा पार्टीले शासन गर्यो ।

हामीले गत २०७९ असोजको विशेष महाधिबेशनबाट पारित राजनीतिक दस्ताबेजमा नेपालका कम्युनिस्ट पार्टी बताउने पार्टीहरूलाई सर्वहारा वर्गको पार्टी, क्रान्तिकारी वामपन्थी, दक्षिणपन्थी गरी विभिन्न समूहमा विभक्त गरेकाछौँ। हाम्रो पार्टी नेकपा (मशाल) लाई हामीले सर्वहारा वर्गको पार्टी भनेका छौँ । क्रान्तिकारी माओवादी र बहुमतलाई हामीले वामपन्थी क्रान्तिकारी भनेका छौँ । विशेष महाधिबेशनले क्रान्तिकारी शक्तिहरूको खोजी गर्ने, छलफल गर्ने, मोर्चा निर्माण गर्ने र सम्भब भएमा पार्टी एकता गर्ने निर्णय गरेकोछ ।

क्रान्तिकारी शक्तिहरूसित छलफल गर्दै जाने क्रममा विचारको प्रष्टता सँगै हामी बाहेकका अन्य शक्तिहरूलाई पनि माक्र्सवादी लेनिनवादी शक्ति घोषणा गर्न सकिन्छ ।

हामीले विशेष महाधिबेशन पछि क्रान्तिकारी माओवादी र बहुमत पक्ष सित वार्ता कमिटी बनाएर घनिभूत छलफल गर्‍यौँ । पार्टी एकता संयोजन समिति बनाएर पनि छलफल गर्यौं । कम्युनिष्ट आन्दोलनका महत्त्वपूर्ण विषयहरू जस्तै नेपाली क्रान्तिको कार्यदिशा, अन्तर्विरोध, सङ्घर्षको स्वरूप लगायतका मूलभूत विषयमा मूलत: वैचारिक एकता कायम भयो । तर जातीयता, सङ्घीयता, जनयुद्धको समीक्षा र अन्तर्विरोध सन्चालनको विधि आदि विषयका कतिपय कुरामा सहमति जुट्न नसकेकाले पार्टी एकताको प्रक्रियामा हामी अगाडि बढ्न सकेनौँ । तर ती विषयमा सहमति जुट्दाका बखत पार्टी एकता हुन सक्दछ ।

अहिले क्रान्तिकारी माओवादी र बहुमतको पार्टी एकता हुँदैछ । ( नोट : २०८० वैशाख १८ गते अनतर्राष्ट्रिय मई दिवसको अवसर पारेर क्रान्तिकारी माओवादी र बहुमतको बीचमा पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल गठन गरिएको छ । हाम्रो पार्टीका महासचिव सन्तबहादुर नेपालीले बक्तब्य निकालेरै उहाँहरूको एकतालाई शुभकामना दिनु भएकोछ । पार्टी एकता हुन नसकेको अबस्थामा पनि क्रान्तिकारी शक्तिहरू सित एक अर्कामा सहयोग, सहकार्य, संयुक्त मोर्चा गरेर जाने हाम्रो नीति छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालमा हाम्रो पार्टी पनि सामेल छ । त्यसलाई पनि सकृय बनाएर लैजाने हामीले निर्णय गरेका छौँ ।

० नेपालमा जनताको नयाँ जनवादी ब्यबस्था कहिले स्थापना गर्न सकिएला ?

– प्रतिक्रियावादी सत्तामा सङ्कट गहिरिदै जाँदा जनताले नयाँ विकल्प खोज्दै जान्छन् ।प्रतिक्रियावादी सत्ता विरुद्ध क्रान्तिकारी शक्तिहरूले आˆनो स्थिति सुदृढ गर्दै जान्छन् । सर्वहारा वर्गको नेतृत्वमा मजदुर किसान एकतामा आधारित सत्ता स्थापना भएका बेला नयाँ जनवादी ब्यबस्था स्थापना हुनेछ ।

० तपाइहरूलाई मोहन विक्रम सिंहले फुटपरस्त र सङ्कीर्णवादी भनेर विरोध गर्नु भएकोछ । तपाईहरू फुटपरस्त र सङ्कीर्णवादी नै हो र ?

– २०२९ साल देखि २०७८ सम्मको न्युक्लियस÷चौम÷मशाल÷मसाल धारको इतिहास माथि समीक्षा गर्नेहरूले मोहनजीलाई फुट शिरोमणि भनेको सुनेको छु।पत्रिकाहरूमा त्यस्तै पढेकोछु। मसालमा रहेका अझै चेत नखुलिसकेका केही साथीहरूले हामीलाई फुटपरस्त भन्दा पत्याउलान। नत्र यो दुनियाँमा मोहनजीले हामीलाई लगाएको आरोप खै कसले पत्याउला र ?

सङ्कीर्णवादी हैन, उहाँले हामीलाई ‘वाम’ सङ्कीर्णवादी भन्नु भएकोछ । सामान्यरुपमा मैले बुझेको वाम सङ्कीर्णवाद भनेको त्यस्तो विचार पद्धति हो जसले आफुलाई वामपन्थी भन्छ तर वामपन्थी सोचाइ राख्दैन र जसको चिन्तनशैली अत्यन्त सङ्कीर्णमानसिकताबाट निर्देशित हुन्छ । हामीलाई आफुहरू वाम सङ्कीर्णवादी भए जस्तो लाग्दैन ।

दक्षिणपन्थी सङ्कीर्णवादी आँखाले हेर्दा हामी त्यस्ता देखिका हौँ कि ? उहाँले हामीलाई के आरोप लगाउनु भयो भन्ने कुरामा हामी धेरै दिमाग खियाउनु जरुरी छैन । अवको कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ ?कसरी आगाडि बढाउनु पर्दछ ? त्यसतर्फ बढ्ता ध्यान दिनु पर्दछ भन्ने लाग्छ ।

यहाँ एङ्गेल्सको एउटा भनाई स्मरण गर्नु अनुपयुक्त हुने छ । उनले के भनेका थिए भने सबैभन्दा बढी सङ्कीर्णवादी, सबैभन्दा झगडालु वा सबैभन्दा धोकेबाजले सवभन्दा बढी एकताको कुरा गरेर चिच्याउँछ ।” (हेर्नुहोस – महान बहस)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित