– मनु वि.क.
अहिले वर्षामास हो । यो समय च्याउको समय हो । च्याउ निकै मिठो तथा पोषिलो मानिन्छ । च्याउ खान नजानेमा, च्याउ नचिनेमा यसले ज्यानै पनि जान सक्छ च्याउ खाएर मुत्यु भएका समाचारहरु सबै सालमा आउने गरेका हुन्छन् । ।च्याउ देख्ने वित्तिकै बाल्यकालको यादले सताउँछ । म सानो हुँदा अति च्याउ खाने गर्दथ्यौं ।च्याउ बारीभरि वनैभरि हुने गर्दथे । वैशाख जेठ महिनाको धुपलाई पार गरेर जब असार साउनको महिना आउँथ्यो वर्षाको मौसम शुरु हुन्थ्यो । वर्षा शुरु भएपछि बादलले आकाशमा गड्याङगुडुङ् गर्न थालेपछि र पानी पर्न थालेपछि च्याउ उम्रिन्छ भन्ने भई हाल्थ्यो । वर्षामा पानी पुर्व बाट पर्ने गर्दछ । पुर्व दिशा रामपुरको माथि माथि देख्ने सम्मको डाडाँहरु पार गर्दै पानी आउने गर्दछ ।अचम्म लाग्दथ्यो हिउँदमा आकासको पानी पश्चिमबाट आउदछ ।वर्षामा पुर्वबाट आउँछ ।जब पुर्वबा पानी आउन थाल्दछ ।अब च्याउको मौसम शुरु भयो भन्ने अनुमान आईहाल्दथ्यो ।
हाम्रो गाउँ पाल्पाको गेझा, गेझाको चम्फे साँच्चिकै राम्रो ठाउँ । अहिले परिस्थितिले मलाई पर पर पुर्याएको छ । जाउँ ,जाउँ भनेर मनले भनेपनि जान नपाउने परिस्थिति बनेर उभिन्छ । जाने कहिले काँही हो जाँदा होस या यहाँ काठमाण्डौ बसेर वर्षायाम पार गर्दा होस जहिले सानो हुँदाको च्याउ को सम्झनाले सताउँछ ।
चम्फेमा म सानो हुँदा अनेक थरी च्याउ उम्रिन्थ्यो । अहिले ती च्याउ हराउँदै गए भनेर बा आमाले मलाई सुनाउने गर्नुहुन्थ्यो ।( बा को चैत्रमा मृत्यु भयो ) पहिले उम्रिने च्याउहरुमा सल्लेउ ,तिल्ल्यऊ, बगाले च्याउ , झरी च्याउ पुड्के च्याउ ,गोबरे च्याउ , चम्रयाऊ जस्ता नाम गरेका च्याउहरु निकै हुने गर्दथ्यो ।
सल्लेउ नाम गरेको च्याउ खास गरी सालको रुख भएको ,सालको पात भएको ठाउँमा उम्रिने गर्दथ्यो ।अहिले पनि यो च्याउ कहिँ कहिँ उम्रिन्छ । रातो रातो गरेको माथि छातामा र अलि अलि रातो अलि अलि पहेलो गरेको हुन्छ ।यो कोपिला बनेर उम्रिन्छ । पहिलो सालमा जहाँ जहाँ उम्रिएका हुन्थे आउने साल पनि त्यहाँ त्यहा उम्रिने हुन्छ । यो निकै मिठो हुन्छ । यो च्याउ संग भात जतिपनि खान सकिने हुन्छ ।यो च्याउ खोज्नको लागि हामी म भाईहरु झरी पानी नभनेर हिड्ने गर्दथ्यौं । चम्फे पारी पिरेडाँडा भन्ने छ त्यहाँ सालको सानो जंगल छ त्यो जंगलमा सल्ल्ोउ निकै उम्रने गर्दथ्यो । खोज्न गयो ,ल्यायो ,पकायो ,खायो रमायो हुन्थ्यो । त्यस्तै गरी यो च्याउ चम्फे पारी ठूलो साल डाँडा छ त्यहाँ पनि निकै उम्रने गर्दथ्यो सायद अहिले पनि उम्रिन्छ होला । हामी खोज्न जाने ल्याउने गरिन्थ्यो । झोलामा ल्याएपनि भयो रुमालमा ल्याएपनि भयो । भेटिन्छ पोका पारेर ल्याए भयो । खुब राम्रो लाग्दथ्यो ।च्याउ भटिएको दिनमा मनमा निकै खुशी लाग्दथ्यो ।हामी सबै च्याउ निकै मिठो मानेर खाने गर्दथ्यौं । बाले पकाएको च्याउ निकै मिठो हुन्थ्यो । बा लाई च्याउ मिठो गरी पकाउन आउँथ्यो । बालाई खाना पकाउन निकै राम्रो संग आउँथ्यो ।अरु खाना पनि बाले निकै मिठो पकाउनु हुन्थ्यो ।मासु र च्याउ निकै मिठो पकाउनु हुन्थ्यो ।
च्याउ खोज्न भनेर मात्रै पनि सालडाँडा वनमा गईन्थ्यो । तर वर्षा याममा साल डाँडा तिर जाने चलन त्यति हुँदैनथ्यो । अरु घाँस दाउराको लागि भनेर नगएपनि म च्याउ खोज्न सालडाँडा तिर गएर च्याउ लिएर आउने गर्दथे । च्याउ खोज्दा सल्लेउ मात्र पाईने होईन अरु तिल्लेउ चम्र्याउ लगायतका अरुपनि च्याउ पाईन्थ्यो । जब पानी पर्दै झरी लाग्दै जान्छ च्याउ पनि उम्रियो होला भन्ने मनमा त्यसै आईहाल्छ । कहाँ कहाँ च्याउ पाईन्छ ? भन्ने अलि अलि गएसाल जहाँ जहाँ थियो आउने साल पनि त्यहाँ त्यहा जान ेहो भने भइसक्थ्यो । तिल्लेउ नि यसरी नै तिनै वनहरुमा पाइनर््थ्यो । तिल्लेउ सेतो प्रकारको हुन्छ । कोपिला सल्लेउ को जस्तै गरि निस्कन्छ तर यो सेतो प्रकारको हुन्छ ।छाता बन्दा वनको भुइँ नै सेतो देखिन्छ । साह्रै राम्रो र मिठो हुन्छ । यो च्याउ पनि उनै बनहरुमा पाईन्थ्यो । तिल्लेउ म राहुडाँडा स्कुल जाँदा पनि भुुसुण्डी वन भनिन्थ्यो ।त्यो कसैको खर्यान थियो त्यहाँ सालका रुखहरुपनि निकै थिए । त्यहाँपनि निकै उम्रिन्थ्यो । मैले कैयौं चोटी स्कुलको झोलामा बोकेर च्याउ घरमा ल्याएको थिएँ ।
च्याउ उम्रिएको देखेमा कसैले नदेखुन भनेर सुकेका स्याउलाले ढाकेर छोडेर गई स्कुलबाट फर्किँदा झोलामा बोकेर ल्याउने गर्दथे । एक दिन भने स्कुल जान निकै हतार भएको थियो तिल्लेउ च्याउ वनै भरि निकै उम्रिएको रहेछ । मैले तिनी उम्रिएका च्याउलाई केही गर्न सकिन टिपेर झोलामा हालेर स्कुल जाने कुरा भएन । के गरौं के भयो मनमनले सोचें स्कुलबाट आउँदा सम्म कसैले नदेख्ला नि यो जंगलमा त्यति धेरै कोही पनि हिड्ने पनि होईन ।होस यत्तिकै छाडिदिन्छु आउँदा सम्म च्याउ कोपिला वाला पनि फक्रिन्छन् ।एक भोला बनाएर घर लैैजान्छु । भन्ने मन मनमा सोचेर म स्कुल गएँ स्कुल छुट्टी भएर आउँदा त च्याउ फेँदी खोलामा कसैले थुप्रो लगाएर खुशी भईरहेका थिए । ती मान्छे को थिए मैले अहिले बिर्से । जेहोस मैले च्याउ ल्याउन पाईन । म केही नबोली खुरु खुरु घर आँए ।
अर्को च्याउ बगाले च्याउ हो यो बारी पाखामा एकै लाइनमा उम्रिने गर्दथ्यो । उम्रिएपछि एकै चोटी बगाल भएर सबै उम्रिने ।त्यही भएर यसलाई बगाले च्याउ भनिएको होला ।यो पनि निकै मिठो हुने गर्दथ्यो आज भोलि यो च्याउ खासै उम्रिने गर्दैन रे च्याउ उम्रिने बेलामा जान नपाएनि आमा संग सोध्दा खासै उम्रिदैन भन्नु हुन् छ । अर्को च्याउ हो झरी च्याउ यो च्याउ खास गरी बारीमा केही केही पाखामा पनि उम्रने गर्दथ्यो ।झरी लाग्ने बित्तिकै बारीमा फरत्तै उम्रने गर्दथ्यो यो साना साना छाता भएका हुन्थे ।पुरै बारी नै ढाक्ने गरी हुने गर्दथे अहिले यो च्याउ उम्रन छोडिसकेको छ ।बारीहरु बाँझा भएका छन् ।
पुड्के च्याउ पहिले म सानो हुँदा निकै उम्रिन्थ्यो ।पुड्के च्याउ च्याउ भरिमा निकै नै मिठो हुन्थ्यो ।पुडुक्क पुडुक्क परेका सेता सेता मसिना दाना गरेका च्याउ बारी नै चरि हुने गर्दथे वर्षा लागेपछि अलि दिनको झरी लागेपछि यो च्याउ उम्रने गर्दथ्यो । चम्फेको हाम्रो घरमाथि जेठीआमाको बारीमा यो निकै हुने गर्दथ्यो । धेरै पहिला देखि नै यो च्याउ पनि उम्रिन छोडिसकेको छ ।अचेल देख्न पनि पाईँदैन ।
चम्र्याउ भन्ने च्याउ कुहिएको रुखमा वर्षा याममा उम्रने गर्दछ । यो चाम्रो चाम्रो गरेको हुन्छ । पकाउँदा पनि यो साह्रो नै मिठो हुने गर्दछ । पहिला पहिला जस्तो त हैन अहिले पनि यो च्याउ उम्रिएको देख्छु कहीँ कहीँ ।
गोबरे च्याउ पहेला ठूला ठूला डल्ला गरेका हुन्थे ।यो च्याउ खानमा खासै मिठो हुन्थेन । तर पनि एउटा नै डल्लो परेको ,फस्सपरेको ,हुने गर्दथ्यो ।यो बारीमा मात्रै हुने गर्दथ्यो ।मैले जान्दा हाम्रो पारी बारी भन्ने बारीमा हुने गर्दथ्यो । पछि पछि यो पनि हराउँदै गयो ।
अचेल यी सबै नाम गरेका च्याउ सम्झना मात्रै बनेर बसेका छन् । पाईन छाड्यो । मैले घर छोडे र पढाईको लागि भन्दै हिनेको अहिले बीस बाईस वर्ष भयो । समय निकालेर जाँदा पनि यो समयमा जाने अवसर पर्दैन आमालाई अचेल हुन्छ कि हुदैन भनेर सोध्छु केही मात्रै हुन्छ भन्नु हुन्छ । कहाँ गए होलान् ती वर्षा याममा उम्रिने च्याउका विउहरु ? किन उम्रिन छोडे होलान पुड्के ,गोबरे ,झरी च्याउहरु ? आखिर माटो त उहि नै छ । किन उम्रिदैन होला उतिसाह्रो बगाले ,तिल्लेउ ,सल्लेउ र चम्रयाउहरु । सानो उमेरको च्याउको यादहरु एक एक गरी आईरहन्छन् ।तर समय पर पुगिसक्यो । समयलाई रोक्न सक्ने भए मैले सानो बनेर च्याउ झोलाभरि बोकेर हिड्थेँहोला ।सालडाँडातिर डुल्थे हुँला ।

