स्मृतिका पानामा बुबा श्रीनाथ अधिकारी

 

नारायण अधिकारी

बुबाको राजनीतिक जीवन अखिल, चौम, मशाल, एकताकेन्द्र, माओवादी, एमाओवादी, ड्यास माओवादी, क्रान्तिकारी माओवादीका संगठनहरुमा पूरै ४२ वर्ष व्यतित भएको थियो । ४२ वर्षमा राजनीतिक संगत मात्रै हजारौं मान्छेहरुसँग भए होलान् । मलाई २०४५ सालदेखि यताको बुबाको राजनीतिक जीवन प्रत्यक्ष रुपमा ज्ञान छ । त्यसभन्दा अगाडिको राजनीतिक जीवनबारे उहाँ र अन्य नेतृत्व पंक्तिबाटै सुनेको हुँ ।

२०२३ सालमा आमा १२ वर्ष र बुबा ११ वर्ष हुँदा उहाँहरुको विवाह भएको रहेछ । २०२३ देखि यताको बुबाको जीवन गाथा आमाले पनि बताउन सक्नुहुन्छ । बुबाको जन्म २०११ साल साउन ९ गते आइतबार भएको हो । तर नागरिकतामा भने २०१२ साल उल्लेख गरिएको छ । २००२ सालमा जन्मिनु भएका बुबाको दाजु जो बुबाको ठूलो बुबाका छोरा हुनुहुन्छ उहाँ बुबा भन्दा १० वर्ष जेठो समेत भएकोले बुबाको बाल्यकाल उहाँलाई पूरै मेसो छ ।

१९९६ मा जन्मनु भएका बुबाको भानिज दाई अहिले ८१ वर्षको हुनु भएको छ । उहाँबाटै प्रभावित भएर बुबा कम्युनिस्ट पार्टीप्रति झुकाव राख्न पुग्नुभयो । साहित्य साधनामा लाग्नु भएका डि.आर. पोख्रेलमार्फत् पार्टी संगठनमा जोडिनु भएको कुरा धेरैलाई उहाँ आफैले बताउनु भएको छ । राजनीतिमा आबद्ध हुँदादेखिको पहिलो पूरा एक दशक अर्थात् २०३७ देखि २०४७ सम्म क.वाचस्पति देवकोटासँग मुख्य सहकार्य देखिन्छ ।

२०४० को दशकबाट लामो सहकार्य भएका र अत्यन्तै नजिकबाट चिन्ने नेताहरुमा भवनाथ अधिकारी, रामबहादुर ढकाल, भक्ति प्रसाद लामिछाने, हरिराज अधिकारी, खोप बहादुर कंडेल, एक बहादुर ढकाल हुनुहुन्छ । सुरेश वाग्ले बासुले पनि अत्यन्तै नजिकबाट चिन्नुहुन्थ्यो उहाँ सहिद भइसक्नु भएको छ । २०४६ पछिको खुला राजनीति र २०४८ को निर्वाचनमा उम्मेदवार बनेपछि बुबालाई नजिकबाट चिन्ने जान्ने घेरा निकै व्यापक भयो । शीर्ष नेताहरुमा बाबुराम भट्टराई, मोहन वैद्य र देव गुरुङले जति नजिकबाट चिन्न सक्नुभयो सायदै प्रचण्ड, गौरव, बादल, नारायणकाजीले त्यति नजिकबाट चिन्न सक्नु भएन कि भन्ने लाग्छ ।

परिवारभित्र हामी छोराछोरीलाई भन्दा पनि बढी भावना व्यक्त गर्न कान्छी फुपु शान्त अधिकारीसँग सक्नुहुन्थ्यो । जनयुद्ध प्रारम्भदेखि नै अति जटिल भन्दा जटिल घडीमा समेत भूमिगत बुबा र परिवारकवो अन्य सदस्यहरुको सुरक्षित भेटघाटको अत्यन्तै कौशलतापूर्वक चाँजोपाँजो शान्ता दिदीले मिलाउनु हुन्थ्यो । बुबासँगै क ख पढ्ने एउटै उमेरका स्थानेश्वर अधिकारी जो बुबाको भतिज हुनुहुन्छ, उहाँबाट पनि बुबाको जीवनी विवरणको केही अंश लिन सकिन्छ । लुइँटेल पढ्दाताकाका बुबाका सहपाठी साथीहरु मोदनाथ मरहठ्ठा, पूर्णबहादुर गुरुङ लगायतका अभिभावकहरु अहिले पनि हामी परिवारसँग निरन्तर सम्पर्कमा नै हुनुहुन्छ । पुल्चोक इन्जिनियरिङ कलेज पढ्दाका सहपाठी इन्जिनियर गोपाल बस्नेतले पनि बुबासँगको कलेज जीवनका अनुभूतिहरु मलाई सुनाउनु भएको थियो । उहाँले पनि संस्मरण अनुभूति लेखिदिन सक्नुहुन्छ भन्ने विश्वास छ ।

हंसपुर–लप्सिबोट गोरखाका २०३६ देखि २०४६ सम्म पञ्च र कांग्रेसहरुले उग्रवादीको आरोपमा सिध्याउने षडयन्त्रमा परेका ४ नाथहरु (श्रीनाथ, भवनाथ, डालनाथ, होमनाथ) मा बुबा श्रीनाथ बाहेक अरु तीन जना जीवितै हुनुहुन्छ । जनयुद्धकालमा बेपत्तामा पारिनु भएका बुद्धिबल विक, चन्द्र खनाल, भरत अधिकारी र माधव अधिकारी पनि बुबाको राजनीतिक जीवनसँग अलग्याउनै नसकिने पात्रहरु हुनुहुन्छ । उहाँहरुको परिवारका सदस्यहरुबाट पनि बुबालाई केही भन्नुपर्ने भावनाका व्यथा कथा पक्कै होलान् । पंचायतकालमा गाउँमा बुबालाई प्रारम्भमा वापमन्थी आन्दोलनमा साथ दिनुहुने बुबाका सहयोद्दाहरुः लप्सीबोट लामिडाँडाका क्रमशः नन्दलाल अधिकारी, बाबुराम अधिकारी, छवि अधिकारी, गोरी हजुरआमा, नेत्रबहादुर वि.क. र लप्सीबोटका रुद्र अधिकारी, लुमनाथ अधिकारी, मुक्ति वि.क., डालनाथ अधिकारी, दिनानाथ अधिकारी, हरिचन्द्र अधिकारी (दिवंगत), होमनाथ अधिकारी (शिक्षक), फडिन्द्र अधिकारी, एकदेव अर्याल, शशिधर धिताल, डा. बाबुराम अधिकारी, हरिराम अधिकारी, चन्द्र अधिकारी, बुद्धिबल वि.क.(राज्यद्वारा बेपत्ता), बामदेव अधिकारी (दिवंगत), धनबहादुर नेपाली (नम्की), त्यसैगरी हंशपुरका झुमनाथ अधिकारी, तुलसी अधिकारी, खेमराज दवाडी, भरत अधिकारी( राज्यद्वारा बेपत्ता), पद्यनाथ खनाल, चन्द्र खनाल (राज्यद्वारा वेपत्ता), काफलडाँडाका कुश्माखर अधिकारी, मायानाथ अधिकारी (शिक्षक), माधव अधिकारी (राज्यद्वारा वेपत्ता), माधव अधिकारी (शिक्षक), कमान बहादुर भुजेल, (हिमलाल दवाडी (दिवंगत), रामप्रसाद अधिकारी, विश्वनाथ अधिकारी, गंगा बहादुर भुजेल, धनबहादुर भुजेल, मुक्ति अधिकारी, एकदेव दुवाडी, भोजनाथ धिताल, उदय घिमिरे (दिवंगत), भिमसेन भुजेल (भच्चेक), बुद्धसिंका बुद्धिराज गुरु, पूर्णबहादुर गुरुङ, कृष्ण अधिकारी, सोमनाथ अधिकारी, हरिराम दवाडी, विष्णु भुजेल, पूर्ण दवाडी, गुण बहादुर अधिकारी मध्य जोजो जीवित हुनुहुन्छ । उहाँहरुबाट पनि बुबाबारे केही न केही मूल्यांकन पक्कै गरिरहनु भएको छ । स्मृति ग्रन्थमालामा सम्भव भएसम्म उहाँहरु मध्ये कसै न कसैको स्मरणको सत्यकथा समेट्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

२०३८ सालमा भएको राष्ट्रिय पंचायतको चुनावमा तत्कालीन नेकपा (चौम) को चुनाव बहिष्कार गर्ने नीति रहेछ । हाम्रो गाउँमा पूर्ण बहिष्कार भएछ । त्यो बहिष्कार आन्दोलनको नेतृत्व बुबाले गर्नु भएको रहेछ । २०३९ वैशाख १ गते बुबा गिरफ्तार हुनुभयो । ६ महिनाको जेल बसाइपछि दशैं भन्दा थोरै अगाडि छुट्नु भयो । बुबा गिरफ्तार हुँदा दिदी ८ वर्ष, म ५ वर्ष, उत्तम २ वर्ष, शकुन्तला जम्मा २० दिनकी थिई । उज्वल जन्मिएको थिएन । बुबा गिरप्mतार हुँदा आमा २० दिनको सुत्केरी हुनुहुन्थ्यो । त्यो वर्ष हामीलाई धेरै दुःख भयो । बुबाको माइलो मामा चन्द्र खनाल (जनयुद्ध कालमा राज्यद्वारा बेपत्ता) को सहयोगमा हामीले त्यो बर्खा छिचोलियो ।

सांस्कृतिक रुपान्तरण अभियान बुबाले घरबाटै थाल्नु भएको हो । कान्छो भाई उज्वल जन्मिएको बेलामा न्वारान गर्ने कर्म नयाँ भयो । पुरेत नबोलाई नाम राख्ने कार्यक्रम हामी आफैले गयौं । समाजमा ठूलै तरंग आयो । बुबा प्रायः जसो घर बाहिर हुनुहुन्थ्यो । घरमा हुँदा पुलिस पकड्न आइरहन्थ्यो । हजुरबुबा/हजुरआमा र कान्छो फुुपू शान्ताले सिकाइरहनु हुन्थ्यो । पुलिसलाई ढाँट्नु पर्छ भनेर । भच्चेक चौकीका पुलिसहरु बारम्बार आइरहन्थे । हामी उहीहरुसँग सत्य बोल्दैनथ्यौं ।उनीहरुले बुबाको बारेमा सोधे भने घरमा हुनुहुन्न थाहा छैन भन्थ्यौं । हामी हुर्कदै गयौं । पढाईमा कक्षा चढ्दै थियौं । खर्च बढ्दै गयो । बुबाले खेतबारी बेच्दै खर्च चलाउँदै जान बाध्य हुुनुभयो । २०४० बाट २०४५ सम्म आउँदा २५ रोपनी भन्दा बढी खेतीयोग्य जमिन सकियो । ४० मुरी धान भित्रिने हाम्रो घरमा २० मुरी भन्दा कम भित्रिने गरी खुम्चियो । साउन, भदौ, असोज ३ महिना खान नपुग्ने भयो ।

त्यसपछि हामीले अरुको अधियाँ गर्न बाध्य भयौं । पंचायत ढल्यो बहुदल आयो । तर हामी गरिबीले झन् तीव्रता पायो । बुबा भूमिगत राजनीतिबाट खुला राजनीतिमा त आउनु भयो तर झन् धेरै समय पार्टी काममा व्यस्त हुनुभयो । बहुदल आएपछि हामी केटाकेटीले झन् धेरै सास्ती पायौं । गाउँमा कांग्रेसको बोलबाला अत्यधिक बढ्यो । स्कूलमा हरेक दिन कांग्रेसहरुद्वारा अखिलका विद्यार्थीहरु चुटिन पिटिन थाले । प्रेम अधिकारी, कृष्ण बहादुर धिताल, विष्णु चन्द्र अधिकारी, टंक दुवाडी, कृष्ण अधिकारी, रामप्रसाद अधिकारी, देविप्रसाद अधिकारी, बुद्धिसिंका धनमाया गुरुङ, देवराज गुरुङ, त्रिलोचन धिताल (खरीबोट), केराबारीका राजेन्द्र रेग्मी, हरिशंकर रेग्मी, सिताराम रेग्मी, डोलनाथ दवाडी, प्रेमनारायण दवाडी, टुकबहादुर अधिकारी, दुर्गा प्रसाद भट्टराई (मुच्चोक), उमा भुजेल लगायतका विद्यार्थीहरु दिनहुँ स्कूलमा पिटिन्थे । विद्यालय अखिल विद्यार्थीका लागि यातना शिविर भएको थियो ।

नेविसंघले शिक्षकहरुकै निर्देशनमा अखिलका विद्यार्थीमाथि भौतिक हमला गर्थे । २०४८ सालको निर्वाचनमा सुरेश वाग्ले एउटा टिम लिएर हाम्रो गाउँ पुग्नु भयो । कांग्रेसीहरुको आततायी जत्थाले भौतिक आक्रमण ग¥यो । चुनावको दिनमा संयुक्त जनमोर्चाका मतदान केन्द्रका प्रतिनिधि होमनाथ अधिकारी र तुलसी अधिकारीलाई गम्भीर घाइते बनाए । होमनाथ अधिकारीको त मान्छेको रिस गोठको भैंसीमाथि समेत पोखे । गोठको भैंसीलाई कुटेर घाइते बनाए । संयुक्त जनमोर्चाका मतदाताहरुको प्रत्येक घरमा ढुंगामुढा प्रहार गरेर क्षति पु¥याए ।

बुबा पनि त्यो वर्ष क्षेत्र नं. १ बाट चुनाव उठ्नु भएको थियो । त्यतिबेला म जम्मा आठ कक्षामा पढ्थें । बुबा लगायत संयुक्त जनमोर्चाको उम्मेदवारहरु तीनै जना चुनावमा पराजित हुनुभयो । बुबाको चुनावमा भएको पराजयले हजुर आमालाई ठूलो चोट परेको अनुभूति मैले नजिकबाट महशुस गरें । चुनावपछि मेलापात, चाड पर्व, भारापर्म आदि सबैमा कम्युनिस्ट र कांग्रेसको स्पष्ट दुई कित्तामा समाज बाँडियो । कांग्रेसहरु उत्पीडक र कम्युनिस्ट उत्पीडित बन्न पुगे । गाउँमा घटेका यी तमाम घटनाले बुबाको मनोविज्ञानमा गहिरो प्रभाव पारेकै थियो । माथि उल्लेख गरिएका मित्रहरुमा बुबाको पीडाका भावना सधैभरी हुर्रिएर पुगिरहेको हुन्थ्यो । सम्भवत आजसम्म पनि उहाँहरुको केही संस्मरण छचल्की रहेको हुनुपर्छ । बुबालाई चुनावमा धेरै ऋण लाग्यो । चुनाव खर्च पार्टीले व्यहोर्नु सकेन । आर्थिक पक्षमा अत्यन्तै कमजोर भइयो ।

दिदीको त्यही साल विवाह भयो । २०५१ साउनमा अकस्मात हजुरआमा बिरामी पर्नुभयो र भदौ १६ गते ६१ वर्षकै उमेरमा असामायिक रुपमा उहाँको निधन भयो । हजुरआमाको कर्म बुबाले चलिआएको परम्परागत तरिकाले नै गर्नुभयो । यता पार्टीले दीर्घकालीन जनयुद्धको घनिभूत तयारी गर्दै थियो । जनयुद्ध सुरु हुनु एक वर्ष अगाडिबाटै बुबा भूमिगत भइसक्नु भएको थियो । जब जनयुद्ध सुरु भयो गोरखाका १७ जना नेता÷ कार्यकर्ता एकै पटक भूमिगत गए । डा. बाबुराम भट्टराई, सुरेश वाग्ले (सहिद), श्रीनाथ अधिकारी, खोपबहादुर कंडेल, शंकर घिमिरे (दिवंगत), भिमसेन पोख्रेल (सहिद), प्रेम ढकाल (सहिद), कौशिला गुरुङ (सहिद), उमा भुजेल, पूर्ण कुमारी कंडेल, महेन्द्र श्रेष्ठ, लगायतले जनयुद्ध थालनी गर्नुभयो । जनयुद्ध थालनी गर्दा ताका रोमाञचकारी दिनहरुको अनुभव गर्ने व्यक्तिहरु केही भौतिक रुपमा जीवित नभए पनि कोही त जीवितै हुनुहुन्छ । जीवित मध्येका कोही न कसैले बुबासँग सहकार्य गरेका दिनहरुको रोमाञ्चकारी संस्मरण कथा लेखिदिन सक्नु हुनेछ भन्ने विश्वास छ । त्यतिबेला म क्याम्पस भर्ना त भएको थिएँ खर्च अभावले निरन्तरता दिन सकिन ।

जनयुद्ध दीर्घकालीन थियो । केही समयपछि बुबाको कार्यक्षेत्र धादिङ भयो । बुबाको कार्यक्षेत्र धादिङ हुँदा को को कमरेडहरुसँग सहकार्य भयो मलाई त्यति थाहा भएन । पुष्पविक्रम मल्लसँग घनिष्ठ सम्बन्ध रहेछ पछि थाहा पाए । धादिङका राजु नेपाल त्यतिबेला काठमाडौं पढ्नु हुन्थ्यो, उहाँको कोठा बुबाको मुख्य सेल्टर थियो । आमा विरामी हुँदा राजु नेपालकै मुख्य आडेस लिएर उपचार गरिन्थ्यो । गाउँका दाइहरु हरिराम दवाडी र विष्णु भुजेल किर्तिपुरमा एउटै कोठामा डेरा गरेर पढ्नु हुन्थ्यो । बुबालाई धेरै कुराको तारतम्य मिलाइदिने उहाँहरु पनि हो । दाईहरु हरिराम दवाडी र विष्णु भुजेलको बुबासँगको सह सम्बन्धका कथाहरु पनि अनगिन्ती छन् । २०५४ साउनमा विष्णु दवाडी रक्त क्यान्सरबाट बित्नु भयो । उहाँ पनि गोरखा लप्सीबोट कै हुनुहुन्थ्यो र बुबासँगै धादिङ कार्यक्षेत्र थियो । उपचारको क्रममा काठमाडौंमा रहँदा धेरै दुःख गरियो तर कसैगरी सञ्चो गराउन सकिएन ।

म त्यतिबेला मोहनमाला इङग्लिश स्कूल झोर, काठमाडौंमा पढाउँथे । घर नगएको एक वर्ष भएको थियो । तर गाउँमा भएको घटनामा मलाई पनि मुछेर झुट्टा मुद्दा हालिएछ । मुद्दा लगाइएका ४७ जनामा म पनि एक रहेछु । अहिले पनि रहस्य छ त्यो मुद्दामा मलाई किन मुछियो होला ? मलाई अदालतले पुर्जी काट्यो । यतिबेलासम्म बुबाको कार्यक्षेत्र धादिङबाट चितवन हुँदै रुपन्देही पारिइसकेको रहेछ । कान्छी फुपु शान्ताले दिएको सम्पर्क लिएर आमा र मैले बुबालाई बुटवलमा भेट्यौं । त्यो २०५५ भदौको कुरा थियो । त्यही हामीले परिवारलाई पार्टीकरण गर्ने निर्णय ग¥यौं । २०५५ असोजमा मैले स्कूल पढाउन छोडिदिएँ । जनयुद्ध आधार इलाका निर्माण गर्ने चरणमा पुगिसकेको थियो म गाउँबाटै अभियानमा जोडिएँ । आमा बुबासँगै रुपन्देहीमा रहनुभयो । त्यो वर्ष उत्तम र सकुन्तलाले एसएलसी दिए । उज्जवल धेरै नै सानै थियो । दिदी सुशीला, उत्तम, सकुन्तला र उज्वलले पनि आफैले भोगेका, व्यहोरेका कथा व्यथाहरु कति छन् कति । बुबाका बारेमा एउटा एउटा चित्र उनीहरुले पनि उतार्न सक्छन् ।

म अभियानमा जोडिइसकेपछि कृष्ण धिताल विजय दाईले पार्टीमा राम्रै सन्देश छ भन्नुभयो । नेताहरुले आफ्ना छोराछोरीलाई जनयुद्धमा ल्याउन सुरु गरेको सन्देश गएको बताउनुभयो । २०५५ मंसिर २६ गते थुमी बाँसपुर हत्याकाण्ड घट्यो । पुलिसले ८ जना साथीहरुको हत्या ग¥यो । फेरि २०५५ कै पौष १३ गते केराबारी हत्याकाण्ड घट्यो । ७ जना साथीहरुको सहादत भयो । केराबारीमा घटना हुँदा म त्यही थिएँ, संयायेगले बाँचियो । २०५६ साउनतिर राजकाजी गुरुङ (करण)सँग भेट भयो । उहाँले घर कास्की भन्नुहुन्थ्यो तर पर्वत रहेछ ।

२०५६ भाद्र २३ मा सुरेश वाग्लेको सहादत भयो । त्यसताका बुबा रुपन्देही हुनुहुन्थ्यो । सुरेश वाग्लेको सहादतले बुबालाई अत्यन्तै गहिरो चोट परेको थियो । राजकाजी गुरुङ (करण) परिवार/आफन्त बुटवल बस्नु हुने हुँदा २०५६ को तिहार ताका उहाँ र म पोखरा हुँदै बुटवल गयौं । बुबा, आमा, शान्ता फुपु, पूर्ण कुमारी कंडेल दिदी, रेखा र रोशनले सँगै मनायौं बुटवलमा । बुबाआमाले भाडामा एउटा कोठा लिनु भएको रहेछ बुटवलमा । त्यो कोठामा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, रामप्रसाद बञ्जाडेहरु आउने जाने गरिरहँदा रहेछन् । फर्कंदा चेपेको किनारमा रहेको मुगेबजारमा दंगा प्रहरीसँग भेट भयो त्यहाँ पनि संयोगले बाँचियो । बुटवल बस्दा बुबाको स्टाप बिरु नाम गरेका एकजना कमरेड थिए । अहिले उनी कहाँ के गर्दै होलान् ? रुपन्देहीमा रहँदा बुबा सुरुमा जिल्ला सेक्रेटरी र पछि जिल्ला इन्चार्ज हुनुहुन्थ्यो । उहाँले २ वर्ष त्यहाँ काम गर्नुभयो । २ वर्ष काम गर्दा त्यहाँ पनि थुप्रै सँग संगत भयो होला । उनीहरुले पनि केही न केही संस्मरण अनुभूति लेखिदिन सक्नुहुन्थ्यो कि ?

२०५७ देखि बुबाको कार्यक्षेत्र फेरि चितवन हुन थाल्यो । चितवनमा बुबाको बसाई लामै भयो । कहिले चितवन–नवलपरासी कहिले चितवन तनहुँ गरी २/२ जिल्लाको इञ्चार्ज पनि हुनुभयो । राज्यपक्षले माओवादी नेताहरुको टाउकाको मूल्य घोषणा गर्दा उहाँ पनि रेडकर्नर नोटिस्मा पर्नु भएको थियो । चितवन कार्यक्षेत्र हुँदा उहाँ धेरै मान्छेहरुको संगतमा पुग्नु भएको रहेछ । त्यो कुरा उहाँ बुबा बिरामी भएर क्यान्सर हस्पिटलमा लिएर बस्दा थाहा भयो । चितवनपछि फेरि बुबाको कार्यक्षेत्र गोरखा–लमजुङ भयो । यही बेला व्यूरो सदस्यबाट केन्द्रीय सदस्यमा समेत जिम्मेवारी थपियो । उहाँ केन्द्रीय समितिमा रहँदा तत्कालीन नेकपा(माओवादी) को केन्द्रीय समिति ९५ जनाको थियो । सायद सबैले बुबालाई चिन्थे होलान् कि ? खुला राजनीतिमा आएपछि उहाँको कार्यक्षेत्र धादिङ र गोरखा थियो । २०६३ असोज २०६४ को असोजसम्म गोरखाको इञ्चार्ज हुनुहुन्थ्यो । २०६४ असोज/कार्तिकबाट स्कुलिङ विभागको जिम्मामा काठमाडौंमा रहनु थाल्नु भयो । २०६४ को चुनावमा गोरखा र काठमाडौंमा खट्नु भयो । चुनावपछि केही समय भक्तपुर जिल्लाको इन्चार्जको जिम्मा लिनुभयो । यसरी यो अवधिमा पनि धेरै व्यक्तिहरुसँग बुबाको संगत हुन पुग्यो ।

\
२०६५ मंसिरबाट पार्टीमा भीषण दुईलाइन संघर्ष शुरु भयो । अन्तरसंघर्ष चर्किएकै बेला फेरि उहाँको कार्यक्षेत्र तमुवान राज्य समितिमा सह इन्चार्जको भूमिका रहनेगरी भयो । तत्कालीन एकीकृत नेकपा (माओवादी) को २०६९ असारमा विभाजन भयो । विभाजनपछि मोहन वैद्य (किरण) ले नेतृत्व गर्नु भएको नेकपा माओवादीमा सम्बन्धित रहँदै तमुवान राज्य समितिको इन्चार्जको जिम्मेवारी बहन गर्न थाल्नुभयो । नेकपा–माओवादी गठन हुँदा उक्त पार्टीको केन्द्रीय समिति ४५ जनाको थियो । केन्द्रीय समितिका सबै नै बुबासँग चिरपरिचित थिए । २०७० को चुनावमा पार्टीले बहिष्कार गर्ने नीति लियो । बहिष्कार आन्दोलनमा तमुवान राज्यसमितिको नेतृत्व उहाँ आफैले गर्नुभएको थियो । चुनावपछि पार्टीभित्रको एउटा समूहले अर्कै पार्टी खोल्यो । तर हाम्रो पार्टी नेकपा–माओवादी नै रह्यो । यतिबेलासम्ममा बुबा पोलिटव्यूरोको जिम्मेवारीमा पुगिसक्नु भएको थियो । २०७२ कार्तिक २२ नेकपा–माओवादी र अर्को एउटा समूहको एकतापछि पार्टी नाम नेकपा (क्रान्तिकारी माओवादी) भयो ।

बुबा सो पार्टीको पनि पोलिटव्यूरो सदस्य र तमुवान राज्य समितिको सेक्रेटरी हुनुभयो । २०७४ असोजमा भएको राष्ट्रिय सम्मेलनबाट पनि बुबाको जिम्मेवारी यथावत नै रहिरह्यो । २०७४ पूर्वी नवलपरासी, बागलुङ र म्याग्दी पनि जोडिएपछि यो ४ नं. प्रदेश समिति भनिन थालियो । बुबाले ४ नं. प्रदेश समितिको अन्तिम बैठकको अध्यक्षता २०७५ मंसिर २२, २३ मा गर्नुभएको थियो । राजनीतिक कार्यक्रमको िहसावले २०७५ पौष ११ गतेको माओदिवसमा प्रमुख अतिथिको रुपमा प्रशिक्षण मन्तव्य दिनुभयो । यसपछि कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुनै सक्नु भएन ।

२०७५ को दशैंमा हामी २५ वर्षपछि गाउँ गोरखा हंसपुरमा जमघट भयौं । दशैं मनाएपछि हामी पोखरा फक्यौं भने बुबा–आमा गाउँमा नै हुनुहुन्थ्यो । २०७५ कार्तिक १७ गते पार्टीको पोलिटव्यूरो मिटिङका लागि बुबा गाउँ गोरखाबाट सिधै काठमाडौं जानुभयो । पोलिटव्यूरोको मिटिङ सकिएपछि कार्तिक २८ मा चितवनमा जगत बाको ‘ जगत श्रेष्ठ अभिनन्दन’ कार्यक्रममा सहभागी हुनुभएछ । लगत्तै मंसिर ५ गते हरिराज अधिकारी (कुमार) दाईको छोरी प्रगतिको विवाहमा सहभागी हुनुभएछ । त्यहाँबाट मंसिर ८ गते बुटवल आउनुभयो । त्यतिबेला म पनि बुटवल पुगेको थिएँ । २०७५ मंसिर ११ बाट केन्द्रीय समितिको बैठक शुरु भयो । मंसिर ८ गते मैले भेट्दा बिरामी हुनुहुन्थ्यो । खोकी लागेको थियो, स्वर भासिएको थियो । रुघाले समेत दुःख दिइरहेको थियो । ११ गते रुपन्देही जिल्ला सेक्रेटरी क. विनोद मरासिनीले थर्मस किनेर ल्याइदिनुभयो । तातोपानी थर्मसमा राखेर पिउँदा पनि रुघाखोकी सञ्चो भएन । मंसिर १४ गते बेलुका लुम्बिनी हस्पिटलमा चेकजाँच गरियो । हस्पिटलले सामान्य निमोनिया हो भनेर केही औषधि लेखिदियो । १७ गते बैठक सकियो । १८ गते बुबा नारायणघाटमा (जगतबा) लाई भेटेर बेलुका भाई उत्तमको घरमा बस्न जानुभयो म पोखरा आएँ । मंसिर २० गते बुबा पोखरा आउनुभयो । क. सी.पी. गजुरेल (गौरव) हेडक्वाटरबाट बैठक बसाल्न आउनुभएको थियो ।

४ नं. प्रदेश पार्टीको २२ र २३ को दुई दिने बैठक बुबाकै अध्यक्षतामा बस्यो । बुबाको स्वास्थ्य झन्झन् बिग्रँदै थियो । मंसिर २४ गते गण्डकी क्षेत्रीय हस्पिटल पोखरामा चेकजाँच गराउँदा यस्तो त पेटको रोग ग्यास्ट्रिकले हुन्छ भनेर पौष १३ गतेसम्मलाई औषधि दियो । गण्डकी क्षेत्रीय हस्पिटल पोखराको औषधिले सञ्चोमा सुधार ल्याउन सकेन । पौष १३ गते पुनः सोही हस्पिटल पुगियो । डाक्टरले पौष १८ गतेसम्मलाई पुनः औषधि थप ग¥यो । पौष १८ गते छातीको एक्सरे र सिटिस्क्यान गर्न भनियो । सिटिस्क्यानको रिपोर्ट १९ गते आयो । सिटिस्क्यान हेरेपछि डा. ढाका श्रेष्ठले क्यान्सरको आशंका गरी बिपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुरलाई रेफर लेखिदिनु भयो । सबैभन्दा पहिले मैले यो कुराको जानकारी पार्टी महासचिव क. मोहन वैद्य (किरण) लाई गराएँ । उहाँले तुरुन्तै भरतपुर झर्न निर्देश गर्नुभयो । १९ गते सुशीला, उज्वल, शान्ति, आकाश गौतम र मैले सल्लाह ग¥यौं र भोलि नै विपि मेमोरियल क्यान्सर हस्पिटल भरतपुर जाने निधो ग¥यौं ।

संयोगले १९ गते बेलुका भक्ति लामिछाने काका बुबासँगै रात बस्ने गरी पोखरा आइपुग्नु भएको थियो । २० गते बुबाले पत्रकार राजु क्षेत्रीसँग गाडीको सहयोग माग्नु भयो । उहाँले पनि सहज स्वीकार गरी एउटा सुविधायुक्त जिप तत्कालै पठाई दिनुभयो । उहाँको त्यो सहयोग नै बुबाको उपचारमा सहयोग आउने प्रक्रियाको पहिलो थालनी बन्न पुग्यो । बुबा र म २० गतेको १० बजे गाडी चढ्यौं । डेराबाट निस्कने बित्तिक्कै बुबाले मलाई अमृत (अमृत चपाई) लाई फोन गर्न भन्नुभयो । मैले अमृतलाई जानकारी गराएँ । मुग्लिनको पुल भन्दा थोरै अगाडि पिसाब फेर्न ओर्लदाँ छाया सानीमा (छाया रेग्मी) भेट हुनुभयो । उहाँ स्कूलको शैक्षिक भ्रमणमा निस्कनु भएको रहेछ । आफन्त भेट्दा सान्त्वना त भयो तर के कामका लागि चितवन झर्दैछौं भन्न सकिएन । हाम्रो अनुहारमा आएको मलिनताले उहाँले केही अनुमान गर्नुभयो होला । मुग्लिन कटेपछि शकुन्तलालाई फोन गनें फोन लागेन । एसएमएस गरें । रामनगर पुगेपछि रिप्लाई आयो । ऊ त शैक्षिक भ्रमणमा पूर्व विराटनगर पुगेकी रहिछ । मुग्लिन पुगेपछि क. अम्बिका मुडभरी (अन्जना) को फोन आयो । उहाँले हाम्रो जानकारी लिनुभयो । उहाँलाई अमृतले जानकारी दिनुभएछ । १ः०० बजे २४ कोठी ओर्लंदा अम्बिकाको नेतृत्वमा चितवन पार्टीको एउटा टिम जुटिसकेको रहेछ । उहाँहरुले नै डा. भक्तमान श्रेष्ठ र डा. विनय ठाकुरसँग बुबालाई अलग अलग भेटाउनु भयो र चेकजाँच शुरु गराइहाल्नु भयो । २१ गते शनिबार भएकोले २२ गतेबाट सम्पूर्ण चेकजाँदा र उपचार विपि मेमोरियल क्यान्सर हस्पिटलमा गर्ने निधो भयो । २० गतेदेखि अम्बिकाकै घरमा बस्न थालियो ।


शान्ता फूपु र उत्तमलाई मैले त्यहाँबाट फोनमा जानकारी गराएँ । भोलिपल्ट अशोक लम्साल (अनुकूल) आउनु भयो । बुबालाई नआत्तिन भनेर धेरै सम्झाउनुभयो । २२ गते डा.विनय ठाकुरलाई भेटेर बायोस्पीको प्रक्रिया अगाडि बढाइयो । डा. खगेन्द्र देवकोटा र कृष्णसागर पौडेलसँग पनि निरन्तर परामर्शमा रहियो । बायस्पीको रिपोर्ट भरपर्दो आएन । त्यसपछि एफएनएसी गरियो । एफएनएसी रिपोर्ट हेरेपछि डा. विनयले अप्रेसन हुँदैन केमोथेरापी गर्नुपर्छ भने । केमोथेरापीको उपचार डा. खगेन्द्र देवकोटाको टिमबाट हुनेगरी सेटिङ भयो ।

माघ २ गते डा. विनयले उपचारको विधि फाइनल गरिदिएपछि सोही दिन कति पनि ढिलो नगरी डा. खगेन्द्र देवकोटाले फाइल बनाउनुभयो । रोगको नाम Left Lenga Carcinoma III B  (देब्रे फोक्सोको क्यान्सर) रहेछ । माघ ४ गते पहिलो केमो दिने डिसिजन भयो । त्यसको सम्पूर्ण तारतम्य सबै डाक्टर साप(डा. खगेन्द्र देवकोटा) ले नै मिलाउनु भयो । पहिलो केमो दिएको दिन परिवारका प्रायः सबै, चितवन पार्टीका साथीहरुको एउटा टिम र पोखराबाट राजु क्षेत्री, कोमल बराल, झलकपाणि तिवारी र विश्व प्रकाश लामिछाने पनि पुग्नुभएको थियो ।त्यही पोखराबाट जाने टीम मध्येका एकजना झलकपाणि तिवारीले सामाजिक संजालमा बुबाको फोटो राखी स्वास्थ्य लाभको कामना राख्नु भएपछि बुबाको विरामीबारे सबैतिर सार्वजनिक भएछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित