काठमाडौं । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनीमा आधारित रहेर नयाँ चलचित्र बन्ने भएको छ । भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुति र दलित महिला केन्द्र नेपालको निर्माण एवं मेगा आर्ट एण्ड इन्टरटेनमेन्टको निर्माण व्यवस्थापनमा चलचित्र ‘सर्वजीत’ निर्माण हुने भएको हो ।
सञ्चारकर्मी दिनेश डिसीको निर्देशनमा निर्माण हुने उक्त चलचित्रको जेठ २१ गतेका दिन प्रधानमन्त्री निर्वास वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा मुहुर्त सम्पन्न भएको छ ।
वागलुङको मुलपानी ढिकीचौरमा जन्मिएका दलित आन्दोलनका अगुवा हुन् भगत सर्वजीत विश्वकर्मा । नेपालमा राजनितीक दलहरु स्थापना हुनु अगाडी नै संगठन स्थापना गरि दलित मुक्ति आन्दोलनको सुरुवात गर्ने पहिलो व्यक्ति मानिन्छन् । निर्देशक डिसीले भगत सर्वजितले विसं १९९७ मा विश्व सर्वजित संघ स्थापना गरेर जातिय छुवाछुत विरुद्ध आन्दोलन सुरु गरेको जानकारी दिँदै भने ‘तत्कालीन प्रधानमन्त्री मोहन शमसेरको मुटु च्वास्सा घोच्ने गरि भगत सर्वजितले आन्दोलन सुरु गरेका थिए ।’
कार्यक्रममा अतिथि पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नो चुनावी क्षेत्रमा दुई प्रतिशत मात्रै जनजाती रहेको बताउँदै दलितको भोटकै कारण आफू दुई पटक निर्वाचित भएको खुलासा गरे । उनले पाँच महिनाको आफ्नो तलब फिल्म‘सर्वजीत’ निर्माणका लागि दिने वचनबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरे । १७ औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ–संस्थाद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत अन्त्यको व्यवहारिक रुपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री देउवाले सरकारले छुवाछूतविरुद्ध ऐन÷कानून निर्माण गरी सभ्य समाज निर्माण गर्दै आएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा लागेका दलित समुदायलाई नथाक्न आग्रह गरे । जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यान जानेसम्मका घटना हुनु दुःखद भएको बताउँदै देउवाले त्यस्तो परिस्थितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै पूर्वमन्त्रीद्वय मीन विश्वकर्मा र दलजीत श्रीपाइली, संविधानसभाका सदस्य परशुराम रम्तेल, सांसद राजेश विश्वकर्मा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुलगायतले दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र सांस्कृतिक समस्यालाई एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दलित महिला केन्द्रले यस वर्षको ‘ईभा कसेल सामाजिक न्याय पुरस्कार’ संविधान सभाका सदस्य शम्भु हजारा पासवानलाई प्रदान गरेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष लक्ष्मी परियारले गरेकी थिइन भने संचालन महासचिव गौरा नेपालीले गरेकी थिइन ।

