नारायण योगी **
एक युवक आफ्नो पिताको मृत्यु पश्चात निकै भावविह्ल बनेर मसानघाटमा पिताको समाधिस्थलमा विलाप गरेर रोइरहेको थियो । त्यसै क्षण एक घटना त्यहाँको वर पिपलको चौतारीमा आइपुग्छन् । उक्त चौतारीको नजिकै रहेको मसानघाटमा उक्त युवकलाई रोइरहेको देखेर बटुवाले भन्दछन्–“बाबु तिमी किन यसरी रोइरहेको”– युवकले अपरिचित बटुवातर्फ सुन्निएका आँखाले एक नजर हेर्दछ र भन्दछ –मेरो त संसारै सर्वस्व भयो । म अब कसरी यसको सामना गर्न सक्दछु भनेर फेरी डाँको छोडेर रुन थाल्यो ।
बटुवाले उसको हात समाउँदै भने बाबु मसँग एक छिन यता आउ त, उ विस्तारै, सुक्क सुक्क गर्दै उठ्यो बटुवाले केही मिटर पर लस्कर रहेका समाधितर्फ देखाउँदै भने–“हेर बाबु, उ ती पर लस्करै रहेका माटाका ढिस्का जस्ता देखिने समाधिस्थल देख्यौँ, युवक न बोली नबोली टाउको हल्लाउँछ, त्यहाँ पनि तिम्रो पिता ज꞉तै कसैको पितालाई समाधि बनाइएको छ । अलिपर, त्यहाँ पनि कसैको आमालाई समाधि बनाइएको छ । कसैको श्रीमती, छोराछोरी, आदिलाई जो अकालमै वा कसैको कालगतिले मृत्यु भयो । सबैको देह यही माटो भित्र समाधी बनाइएको छ । ”
केही पर एक हुल मलामीहरू मसानघाटबाट शान्त भावमा वि꞉तारै गाउँतर्फ फर्कदै थिए, उनीहरूतर्फ हातले देखाउँदै अपरिचित बटुवाले थपे, “बाबु हेर त, उ त्यता हेर त तिनीहरू पनि त यहाँ कसैलाई समाधी दिएर जाँदैछन् ।”
तर त्यहाँ त कोही पनि रोइरहेको छैन । कोही पनि समाधि नेर बसेर विलाप गरिरहेको छैन त । हो उनीहरूको अनुहार मलिनो छ, उनीहरूको मन व्यथित छ । तर उनीहरू कोइ पनि भक्कानो छोडेर रोइरहेको छैन । त्यसैले उठ बाबु, उठ यो त सम्पूर्ण चराचर जगतमा र मानिसको जीवनमा घटिरहने नियमित प्रक्रिया हो । जीवन र मृत्यु त जोडिएरै आउँछन् बाबु, यसरी दु꞉खको सागरमा डुबेर त जीवन अगाडि बढ्न सक्दैन । हिम्मत तयार साहस जुटाउ र आफूलाई सम्हाल उठ बाबु उठ ” युवाले लामो समय फेर्छ र आफ्नो आँखाको आँशु पुछ्दछ र अनुहारमा केही सकारात्मक भाव ल्याउँदै, विस्तारै उठेर पाइला चाल्दै आफ्नो घर तर्फ लाग्छ र मनमनै ती अपरिचित बटुवालाई धन्यवाद पनि दिन्छ ।

