जीवनदर्शन: कवि जोन मिल्टन (१६०८–१६७४)

सत्रौँ शताब्दीलाई बेलायतीहरूले काव्यसम्पदाको शताब्दीका रुपमा लिन्छन् । जुन अङ्ग्रेजी साहित्य र कलाको अमर काल थियो । त्यो शताब्दीको काव्यसम्पदाको सिर्जनामा महाकवि जोन मिल्टनको महत्त्वपूर्ण भूमिका रहेको थियो । उनी सत्रौँ शताब्दीको पश्चिमा काव्यधाराकै मालिक मानिन्छन् । यिनको जन्म सन् १६०८ नोभेम्बर ९ मा लण्डनमा भएको थियो । उनका पिता कठोर प्यूरिटन भए तापनि साहित्य र कलाका पारखी थिए । एउटा सम्पन्न परिवारमा जन्म भएको कारण जोन मिल्टनलाई शिक्षा–दीक्षाका लागि उचित वातावरण थियो । उनको शिक्षा सेन्टपाल स्कुल, केम्ब्रिज विश्वविद्यालय र क्राइष्ट कलेजमा भयो । सन् १६२९ मा स्नातक र १६३२ मा स्नातकोत्तर पास गरेका मिल्टनले हाइस्कुलमा पढ्दा नै कविता लेख्न शुरु गरेका थिए । जोन मिल्टन मानव हृदय, प्रेम र प्रकृतिको मनोरमताका विषयमा कविता लेख्ने कवि हुन् ।

युरोपको क्षितिजमा उनी क्रान्तिकारी कविका रुपमा पनि परिचित छन् । २४ वर्षको उमेरमा केम्ब्रिज विश्वविद्यालयको पढाइ पूरा गरेपछि जोेन मिल्टन आफ्नो पुख्र्यौली गाउँ हर्टनमा बसेर ठूला–ठूला ग्रन्थहरूको अध्ययन गरे । शान्त ग्रामीण परिवेशमा बसेर उनी काव्यसाधनमा तल्लीन भए । त्यसबेला कवि मल्टिनले ग्रिक, ल्याटिन, हिब्रु स्पेनिस, फ्रेन्च, इटालियन तथा अङ्ग्रेजी साहित्य र संस्कृतिको गहिरो अध्ययन गरे । यो अध्ययनले उनलाई भविष्यमा महाकाव्य लेख्नमा धरै मद्दत पुर्‍यायो । हर्टनको शान्त गाउँमा बसेर उनले कोमस नाम गरेको गीति नाटक, लालेग्रो, इल पेन्सोरोसो र लाइसिडस नाम गरेका अत्यन्त सौन्दर्य सम्पन्न लघु काव्यहरू रचना गरे । त्यहाँ बसेर लेखेका यिनै रचनाहरूले मिल्टनलाई अंग्रेजी साहित्य जगतको एकजना उच्च व्यक्तित्वको रुपमा माथि उठायो । उनको एउटा काव्य धारा यसरी बगेको छ–

तिमीसँग वार्तालाप गर्दा
रहन्न समयको होसै
सबै ऋतुहरू तथा तिनीहरूको आवर्तन पनि बिर्सिन्छु म
यी सबैले दिलाउँछन् मलाई उत्तिकै प्रशन्नता
प्रात: समीर हुन्छ मधुर सबेरै पन्छीहरूको मोहनी
प्रकट हुने अरुणोदय पनि हुन्छ मोहक

एड्वार्ड किङ नाम गरेका एकजना केम्ब्रिज विश्वविद्यालयका प्रतिभाशाली व्यक्तिको समुन्द्रमा डुबेर मृत्यु हुन्छ । त्यो घटनाले कविलाई अत्यन्त मर्माहत बनाउँछ । त्यो व्यक्ति बाँचेको भए समाजलाई कति धेरै योगदान पर्‍याउँथ्योहोला ? भन्ने अनुत्तरित प्रश्नले उनलाई नराम्रो गरी खेदिरहन्छ । तिनै व्यक्तिको सम्झनामा कविले दुई सय पङ्तिको शोक काव्य रचेका थिए । जोन मिल्टन जागिरको क्रममा एकजना प्रशासकको पदमा रहेर पनि काम गरे । उनलाई कतिपय लेखकहरूले कवि तथा नोकरशाह भनेर पनि सम्बोधन गरेका थिए । तर उनी मूलरुपमा कोमल हृदयका कवि नै थिए । किङको असामयिक मृत्युको घटनालाई यो धर्तीमा गाउन आएका थिए तर मृत्युले थप्पड हानेका कारण किङले गाउन पाएनन् । त्यसैले जीवनको भरोसा छैन, गाउनुपर्ने गीत गाइहाल्नुपर्छ भन्ने उनको कविताको सानो अंश यस्तो छ–

अवश्य एवं कर्कसमा म आउँछु
तिम्रो रसदार जामुनहरू अशिष्टतापूर्वक
टिप्न बलजफती औँला चलाउँदा मैले
तिम्रा पातहरूलाई छिरेलिदिन्छु
तिनीहरूको पूर्ण मधुर बन्ने समय अगावै

हर्टनको गाउँमा रहेको अवस्थामा जोन मिल्टनले समाजको चित्र, प्रकृति र प्रेमका विषयमा कविता लेखेर समय बिताएका थिए । उनको काव्य साधना राजनीतिक दृष्टिकोणबाट परिलक्षित थिएन । धार्मिक परिवारमा जन्मेको भए तापनि मिल्टन यथास्थितिवादी थिएनन् । साहित्य, कला र युरोपियन संस्कृतिको अध्ययनका लागि मिल्टनले सम्पूर्ण युरोपको भ्रमण गरे । त्यस क्रममा उनले क्रान्ति र परिवर्तनको अनिवार्यता महसुस गरे । बेलायतमा सामन्तवादका विरुद्धमा सङ्घर्षको ज्वारभाटा उठ्यो, त्यसमा मिल्टनले भाग लिए । उनले कविता लेख्ने कलम राजनीतिक प्रचार र पर्चा लेखनमा लगाए । क्रान्ति सफल भएपछि उनी सरकारको उच्च ओहोदाको प्रशासनिक अधिकारीमा नियुक्त भए । त्यो अवस्थामा उनले साहित्यको क्षेत्रमा कुनै काम गर्न सकेनन् । साहित्यमा रुचि भएका मिल्टन आफ्ना सपनाहरू राजनीतिक पदले खोसेकोमा अत्यन्त दु:खित भए । उनको लेखनको धारा दुई दशक बन्द भयो ।

उनले पहिलो विवाह गरेकी नारी कामवासनामा मात्र रमाउने प्रकृतिकी थिइन् । उता मिल्टन भने गम्भीर चिन्तक र तपोनिष्ठ स्वभावका थिए । मिल्टनको जीवन परिश्रमी र साधारण थियो । उनका लागि विषय सुख गौण महत्त्वका विषय थिए । श्रीमती र उनको बीचमा जीवन जिउने कलामा मेल खाएन अनि उनी माइत गइन् । जोन मिल्टनले उनलाई परित्याग गर्ने घोषणा गरे । कानुनीरुपमा अलग हुने कुरा अगाडि बढाए । त्यसपछि मिल्टनकी पत्नी ब्यूँझिइन् र मिल्टनलाई एउटा महान् पतिको रुपमा सम्मान गर्न थालिन् र माफी मागिन् । दाम्पत्य जीवन सहजढËले चल्न थाल्यो । दश वर्षमै ती नारीको मृत्यु भयो । त्यसपछि मिल्टनले अर्को विवाह गरे । पन्ध्र महिनापछि तिनको पनि मृत्यु भयो । त्यसपछि अर्की पत्नी विवाह गरे जसले मिल्टनलाई जीवनभर साथ दिइन् ।

जतिबेला पनि गम्भीर अध्ययन, खोज र चिन्तनमा रहिरहने मिल्टनको जीवनको अन्तिम भाग अत्यन्त दु:खद र अभावग्रस्त रहृयो । ४४ वर्षको उमेरमा उनले दुवै आँखाका ज्योति गुमाए । बेलायतको राजनीतिमा स्टुअर्ट वंशको पुनरुत्थान भए  । त्यो प्रतिक्रान्तिले उनलाई नजरबन्दमा बस्नुपर्‍यो । उनको जागिर खोसियो । उनका कठिन दिनहरू शुरु भयो । उनका एकजना मित्रको जोडदार अदालती बहसको परिणाम अन्धा मिल्टन नजरबन्दबाट मुक्त भए । उनले पढ्ने, लेख्ने र प्रकाशन गर्ने काममा छोरीहरूबाट ठूलो सहयोगको आशा गरेका थिए । तर सहयोग पाएनन् । आँखा नदेख्ने महाकविले कविता भन्थे, उनकी पत्नीले कागजमा उतार्ने काम गर्थिन् । आँखाको ज्योति गुमाएपछिको उनको मार्मिक कविताको अंश यस्तो छ–

अब अन्धो निराश धोका खाएको
अपमानित तथा होश गुमाएको
विवश तुल्याइएको
के कामको रहेछु र म !
मेरो राष्ट्रको मैले कहाँ सेवा गर्ने ?
अनि मैले गर्नैपर्ने भनेर निर्धारित
दैवी विधानका कार्यहरू कसरी पूरा गर्ने ?
निकम्मा भएर घर अँगेनाको डिलमा
बस्नु सिवाय अब मेरो काम के छ र !?
कामै नगरी अर्काको कमाइ खाने भाले मौरी म
अभ्यागतहरूद्वारा निर्मिमेस दृष्टिले हेरिने म
एक दयनीय वस्तु हुँ म ! ।

यसरी उनले काव्यधारा बगाउँदै गए । आफ्नो दु:ख र कठोर जीवनमा सन्तोषको लागि ईश्वरको विधान हो, यस्तै भयो भनेर चित्त बुझाउँथे । यस्ता युगद्रष्टा अङ्ग्रेजी साहित्यकार जोन मिल्टन ६६ वर्षको उमेरमा सन् १६७४ को नोभेम्बर ८ का दिन लण्डनको बुनाहिल रोमा यो संसारबाट सदाका लागि विदा भए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित