कल्पना पौडेल ‘जिज्ञासु’ ••
पुसको ठिही । बिहान सडकछेउको घाँसमा चिनी छरे झैँ तुषारो हुन्छ । दिन केही घुर्मैलो हुन्छ । अपरान्ह पछि चलेको सिरेटोले मुटु छेड्छ ।
मैले पछाडिबाट ऋषिलाई काँधमा थपथपाएर स्कुटर छिटो हाँक्न भनेँ । म भने ऋषिकै ढाडमा टाँसिएर चिसो छल्ने असफल प्रयासमा लागेँ । ऋषिको भुल्ने स्वभावले बालापनलाई पनि माथ गर्छ । आज पनि पञ्जा ल्याउन भुलेछन् । अब यात्रामा चीसो हावाको टोकाइले ऋषिका हात नीला हुन्छन् । उसै त प्राय: गरी ऋषिका हात चिसा हुन्छन्, बिरालाको नाक जस्तो । आज त झन् आकाश नै रोएर आँसु खसाल्ला जस्तो धुम्म छ नेपालगञ्ज ।
हामी एउटा साहित्यिक कार्यक्रममा गएर फर्किदै थियौँ । निर्धारित समयभन्दा कार्यक्रम निकै तन्किएको हुनाले हामी फर्कन ढिलो भयो र यो चीसो मौसमको स्वाद चाख्न पायौँ ।
“अहो ! पानी पो पर्छ कि क्या हो ? पानी पर्यो भने त फसाद नै पर्छ । ” ऋषि एकोहोरो फतफत गरिरहे, म सुनेर मात्र बसेँ केही बोलिन ।
“ला ! छिट्टायो त !” ऋषिले यति भन्दा नभन्दै पानी सरर परिहाल्यो । हामीले हिँउदे झरीमा रुझ्ने आँट गरेनौँ र बाटो छेवैको रेष्टुरेन्टमा छिर्यौँ । वर्षायामको बेला भए यस्तो रुझानको मिठास बेग्दै हुन्थ्यो । तर यो पचासको मध्य समयमा रुझानको मिठास नाप्ने हिम्मत कस्को हुनु !
“ए ! भाइ ! यता तातोपानी ल्याउनु । ” बसाइ केही लम्बिने देखेर मैले वेटरलाई तातोपानीका लागि बोलाएँ ।
“म: म: पनि भन न । ”
मैले ऋषिको वाक्य नसकिदै त्यसै वेटरलाई म: म: पनि भनिहालें । अर्डर लिएर वेटर भित्र पस्यो । रेष्टुरेन्ट सुनसान नै थियो । बेलुका रक्सीमा झुम्नेहरू आउने बेला भएकै थिएन, दिउँसो खाजा खानेहरूको समय यो होइन । साँझको पूर्वसन्ध्यामा यस्ता खाजाघर अलिक सुनसान नै हुन्छन् । म मेनुमा के के छन् र मूल्य कति कति छन् भनेर घोरिएँ । ऋषि फोनमा व्यस्त बने । अलि पर दुईजना महिला–पुरुष अलिक असहज लाग्ने गरी जिस्किएर बोल्दैथिए । मलाई अफ्ठ्यारो लाग्यो । महिला भन्दा पुरुष निकै कम उमेरको देखिन्थ्यो । झण्डै आमा–छोरा जस्ता तर जिस्काइको मात्रा हद पार गर्ला झैँ ।
“सर,नमस्कार”
महिलाले ऋषिलाई नामै सम्बोधन गरेर नमस्कार गरिन् र हामी भएतिरै लम्किइन् । त्यो पुरुष काउन्टरमा बसेर के के काम गर्न थाल्यो ।
अहो ! रमा के छ हालखबर ? कस्तो छ तिमीलाई ?” ऋषिले निकै आत्मीय पाराले सोधे ।
“ठिकै छ सर !” रमाले छोटो बोलीमा जबाफ दिई । अनि, हामीतिर बढेका पाइला थामी ।
“अँ साँच्चै, तिमीले त बिहे गर्यौ रे ! बधाई छ है नव जोडीलाई ”, ऋषिले जिस्कने पाराले भने ।
असजिलो खालको मन्द हाँसो हाँसेर त्यो महिला काउन्टरतिर लागी । जाँदाजाँदै धन्यवाद सर ! भन्न छुटाइनन् ।
मैले जिज्ञासु नजरले हेरको देखेर ऋषिले नजिकै आएर भने, “रमाले बिहे गरिछिन् । ”
“यो उमेरमा बिहे ?” मैले आँखीभौँ खुम्च्याउँदै झण्डै सासले मात्रै बोलेर सोधेँ ।
“बिहेलाई उमेरले के फरक पार्छ र ?” ऋषिले सामान्य जबाफ दिए ।
मलाई ऋषिको जबाफले चित्त बुझेन । प्रश्नमाथि प्रश्नका चाङ लागे । यो उमेरमा भर्खरै बिहे ? किन ? कसरी ? कोसँग ?
मेरो जिज्ञासु भाव देखेर ऋषिले भने, “एकल महिला हुन् । अहिले मन मिल्ने जोडी पाइन् होला र बिहे गरिन् । ऊ तिनै हुन्, यिनका नयाँ पति । ”
मैले ऋषिको इसारापट्टि ध्यान दिएँ, म झनै अचम्मित भएँ । किनभन,े अघि त्यहाँ ती महिलासँग जिस्किने पुरुष त त्यही कम उमेरको केटो रहेछ । प्रत्येक बोलीमा ‘सानू’ भनेर बोलेको सुनेकी थिएँ मैले । कुराको जरो यतातिर पो रहेछ !
“यिनका छोराछोरी छैनन् ?” मैले ऋषिलाई सोधे ।
“छन्, छोरा–बुहारी छोरी–ज्वाईँ, नातिनातिना” ऋषिले छोटो उत्तर दिए ।
“अनि त्यो केटाको नि ?” मैले प्रश्न थपेँ ।
“केटो अविवाहित नै हो ; उसको पहिलो बिहे यो । ” मेरा प्रश्नहरूका ऋषिले सहज उत्तर दिँदै गए । तर मेरो मनमा अझ असहजता थपिदै गयो । हाम्रो जस्तो पुरुषप्रधान समाजमा यो कसरी सम्भव भयो होला र ! कि यो प्रेमिल मेल हुनुपर्छ कि पर्दापछाडि खेल हुनुपर्छ ।
मैले ती महिलातिर हेरेर मुस्कुराएँ, उनले पनि मीठो मुस्कान फालिन् । पक्कै उनकै कुरा गर्यौँ हामीले भन्ने लख काटिन् होला ।
तातोपानीको गिलास हातमा बोकेर हात तताउँदै म उनी भएतिरै लम्किएँ । ऋषि मोवाइलमा जोतिन थाले ।
“दिदी, नयाँ बिहे गर्नुभएछ ; बधाई !” उनी हाँसिरहिन् मात्रै जबाफ फर्काइनन् । तर मलाई उनीसँग बोलेर मनका जिज्ञासा मेटाउनु थियो
“परिवारमा को को हुनुहुन्छ ? यो कसरी भयो ? मलाई त खसखस लागेर सोध्न आएँ । ” मैले भनेँ ।
“अहिले हामी दुईजना छौँ । उहाँ मेरो पति रमेश र म । ” यति भन्दा उनी र उनको पति भनिएको केटाले मुखामुख गरे । उनले कुरा सुचारु गरिन् ।
“आठ वर्ष पहिले मेरो पहिलो पतिको देहान्त भयो । त्यसपछि एक्लै सङ्घर्ष गरेर छोराछोरी पालनपोषण गरेँ । छोराछोरीको विहेदान सकियो । उनीहरूको आफ्नै संसार बन्यो । नातिनातिना जन्मिए । मेरो संसार फरक हुँदै गयो । सबै आ–आफ्ना दुनियाँमा रमाउँदै गए । मलाई चाहिँ एक्लोपनले अँगाल्दै गयो । विगत केलाएर आफ्नै मनलाई डस्नुभन्दा बिहे गरेर नयाँ साथी बनाउने निधो गरेँ । यसै सिलसिलामा आफन्तको माध्यमबाट रमेशसँग भेट भयो । हाम्रो कुराकानी मिल्यो, मैले रमेशलाई बिहे गरेर यस घरमा ल्याएँ । ”
मैले एकछिन दुवैलाई पालैपालो हेरेँ र भने, वाह ! ठिक गर्नुभयो । ”
मेरो मनले न्याय पाएकै थिएन ; झनै अचम्ममा परेँ ।
यो पुरुषप्रधान समाजमा बिहे गरेर श्रीमतीको घर जानु ? त्यो पनि गाउँ समाज, झन् यति अनमेल विवाह । यो समाजले कसरी पचायो होला ? कति धेरै चुनौती परे होलान् ? प्रश्नको उत्तर खोज्दैगर्दा रमेशप्रति आदरभाव जागेर आयो मेरो मनमा । उनको महान् हृदयलाई सलाम गरेँ मनमनै । कामना गरेँ उनको मन यस्तै रहिरहोस् सधैँ । नबदलियोस मौसम जसरी ।
हाम्रो कुराकानीसँगै आत्मीयता पनि बाक्लिदै थियो । प्राय: अरूका कुरामा चासो दिन नरूचाउने मलाई यो परिवेशले राम्रोसँग तान्यो । मैले रमेशलाई पनि बोलाएर सोधें, “हजुरको परिवारले यो विवाहलाई स्वीकार गर्छ त ?”
रमेशले हातको फाइल काउन्टरमा राखे र मतिर आउँदै बोले, “हेर्नुस् तपाई जस्तै उदेक मानेर यहाँ आउने धेरै छन् । अरू मानिस त हाँसोको पात्र जसरी हामीलाई हेर्छन् र जान्छन् । हाम्रो व्यापार हो अरूको के मतलब ! हामी चुप लागिदिन्छौँ । तपाईँले मात्रै जान्न चाहनुभयो कारण र कथा । ” रमेश गम्भीर मुद्रामा देखिए ।
“मेरो परिवारले सर–सल्लाह गरेर नै म रमासँग विहे गरेर यहाँ आएको हुँ । ” रमेशले छोटो बोले ।
रुकुमको एउटा विकट गाउँको समाजमा यो पक्कै सहज थिएन । यस्तो निर्णय गर्ने बाबुआमा पक्कै महान् हुनुपर्छ । उहाँहरूप्रति अथाह सम्मान जागेर आयो ममा । यति फराकिलो सोच नभए हाम्रो जस्तो रुढीवादी समाजमा यो सम्भावना नै थिएन । सत्तरी वर्षका बूढाले सात वर्षकी कन्या बिहे गरेको मिथक सुन्दै आएको समाजलाई उमेर पाकेकी महिलाले भर्भराउँदो केटो बिहे गरेको पक्कै पचाउन सक्दैन । यिनीहरूको परिवारको महानता र यिनीहरूको आँट हिम्मतलाई मान्नै पर्छ । यो त सामाजिक क्रान्ति मात्रै नभएर साँस्कृतिक क्रान्ति पनि हो । जसले जरा गाडेर बसेको संस्कारलाई कुरीकुरी गरेको छ । परिवर्तनको शत्घोष गरेको छ । आफूभन्दा बढी उमेरका छोराछोरी, बुहारीहरूलाई खुसी राखेर रमाको जिन्दगीको रथ हाँक्न रमेशले देखाएको साहस अतुलनीय छ । सदियौँदेखि महिला थिचोमिचोमा थिए । रुढीवादी संस्कारले थिचेको थियो । कहीँकतैबाट परिवर्तनको सुरुवात भएकोमा निकै खुसी लाग्यो । अनि बुबा आमाले मान्नु भयो सजिलै मैले फेरि सोधेँ
भनेँ त परिवारमा सरसल्ला गरेर नै आएको हुँ । रमेशले दृढ स्वरमा मलाई हेरेर भने ।
“सरी, सरी, मैले यो असहज समाज र मान्छेको आफ्नै मनलाई कसरी बुझाउनु भयो भनेर सोधेकी । तपाई त रिसाउनु भयो कि क्या हो म परिस्थिति विग्रिएला भनेर सम्हाल्न तिर लागे ।
त्यसो हो होइन, सबै राम्रै छ । समाज सहज त हामीले बनाउने हो कि मन त सहज झन् आफ्नै भैहाल्यो । सकरात्मक सोच र इमानदार मन हुनुपर्छ मिल्दै जान्छ । ”रमेशको जबाफ आयो । जबाफमा जीवन र दर्शन महसूस गरेँ ।
माने पछि शारीरिक रुपले मानसिक रूपले सन्तुष्ट हुनुहुन्छ मैले उनीहरूलाई हाउभाउले जिस्काउँदै सोधे ।
एक छिनको सन्नाटा पछि रमा बोलिन, “हेर्नुस,तपाईङ्को कुरा बुझें मैले । मानसिक प्यास मेटियो तपाईको भने शारीरिक प्यास जहिले पनि छायाँमा पर्छ । शरीरको लागि मन विचलित गर्नेहरू कहिल्यै सन्तुष्ट हुन्नन् तर, मनका लागि शरीरको उपभोग गर्नेहरू कहिल्यै असन्तुष्ट हुँदैनन् । मनलाई बिर्सदै उपभोक्ता बनेर हिंड्नेहरू मृगतृष्णामै सीमित बन्छ र भौतारिन्छन् बुझ्नुभयो
माया यस्तो चिज हो जस्मा इमान्दारिता छउन्जेल अर्को संसारको परिकल्पना नै हुँदैन । माया छ. भने दु:ख पर्दा पनि सुखको खोजी हुदैन माया छैन भने सुखमा पनि सन्तुष्टि हुदैन । “ रमेशले पनि आफ्ना कुरा राखे ।
समाज परिवर्तनको लागि ठूला र अर्जेय क्रान्ति गर्नै पर्दैन, केवल साना–साना कुरा आफैबाट परिवर्तन गर्न सुरु गर्नुपर्छ । जस्तो कि हामी । सामाजिक विभेद, छुवाछुत उच्च–नीच, वर्ण विभाजन सबै सबै ।
सकात्मकताको विन्दुबाट सुरु गरेर इमान्दार भएर आफू लागौँ अरु बिस्तारै डोहोरिन्छन् हैन त ? “ आफ्नो विचार सबै मैलाई प्रतिप्रश्न गरिन् । रामले । म नजानिदो तरिकाले बुझे झैं गरेर उभिएँ ।
मैले मन थाम्न सकिन । रमालाई अँगालोमा कसेँ । रमेशलाई शुभकामना दिएँ । कार्यक्रमबाट फर्कदा ल्याएको माला र खादा झोलाबाट झिकेर दुवैलाई लगाइदिएँ । गहभरि आँसु भरेर रमा बोलिन्, “मेरो यो निर्णयलाई मेरा छोराछोरीले स्वागत गरेपनि आफन्त र गाउँ समाजले निकै अपमानजनक बक्रदृष्टि लगाएका थिए । तपाईँको यो हौसलाले मत फूल जस्तै हलुËो भएँ । ”
हाम्रो कुरा सुनिरहेका ऋषि “फूलको आँखामा फुलै संसार” भन्दै हामीतिर आए र मोवाइलमा हाम्रो तस्वीर कैद गरे । त्यतिञ्जेल हाम्रो अर्डरको म:म: आइसकेको थियो । बाहिर पानी पनि थामिइसकेको थियो । हामीले सटासट म:म: निल्यौँ र घरतिर लाग्यौँ ।
एकदाना मकै माटोमा उम्रिन पनी त समय लाग्छ । सगरमाथाको महान यात्रा पहिलो पाइला बाट सुरु हुन्छ । प्रत्यक पाइलाको आहाटमा सुतेको संसार जगाउने शक्ति हुन्छ । विशाल नदीको मुहान सानै हुन्छ । आगोको झिल्को सानो हुन्छ सुन्दर गुलाबको फूलको कोपिला सानै हुन्छ । यस्तै सानो घटनाले संसार बदल्ने शक्ति राखेको हुन्छ । त्यो प्रेमिल जोडीको उच्च प्रेमले अकुरण भएर छाउदै गरेको अनुमान गरे ।

