टंकराज ढकाल (तितेपाती)
छन्द – शार्दुलविक्रीडीत
नाङ्गाछन् चुचुरा हिमालतिरका को लेख्छ नौलो कथा
मान्छे घोर घमण्डी अहमले के बुझ्छ यो सर्वथा
औडाहा छ बखान गन्थन झनै वास्ता छ कस्को मुना
नेपाली बसुधा विशाल गरिमा निर्बन्धता भिन्तुना–१
कर्णाली छ सुधी न चामल मकै भोकै छ कोदो ऋणी
कोशीको चतरा छ बाँध धुलिशात् दुख्दै छ सुस्ता पिंढी
टारीखेत छ रे विदारक घना दच्कन्छ नारायणी
जालैजाल घनत्व खै भुवनमा उल्झन् छ रे रुक्मिणी–२
ताप्लेजुङ् थर बैतडी मुगु कहाँ बारा र पर्सा धरा
राराको जलले सिंचेन धरती उब्जन्छ के बाजुरा
शुक्लाफाँट छ बन्यजन्तु पहरा बन्दैन यो तस्कर
चुल्हो नै घर लुट्छ ताण्डव गरी सोहोर्छ झैं पत्कर–३
ब्वाँसाको हुलमा तथास्तु धनको उग्रै भिखारी कला
अग्लो पाखर सभ्यता हिमगिरी भन्दैन क्वै दार्चुला
डोटी खप्तड हो तपस्थल जहाँ खै शान्तिको साधना
डोल्पा दिन्छ जडीबुटी घनघटा भोग्दैछ के यातना–४
को बोल्छन् र महानता मुलुकको आफ्नै छ चासो रिता
आँफै बाहुबली बनेर रणमा के दिन्छ सङ्घीयता रु
सिङ्गो आपतमा प्रदेश बबुरो भाँडेर मष्तिष्क नै
उल्फाको झगडा निकाय लघुता ढाँटेर उत्कृष्ट खै –५

