– प्रयास कौशिक धिताल
२० नोभेम्बर २०२६ को साँझ वेनचाङको आकाश बादलले ढाकेको थियो र सिमसिमे पानी परिरहेको थियो। दक्षिण चीन सागरको किनारमा अवस्थित वेनचाङको लोङलोउ सहरस्थित ‘रकेट प्रक्षेपण अवलोकन केन्द्र’ को खुला ग्र्यान्डस्ट्यान्डमा बसेका हामी १९ जना नेपाली युवा र चिनियाँ दुतावासका प्रतिनधि भने छुट्टै उत्साह थियो। बादल र झरीको पर्वाह नगरी अन्य दर्शकहरूसँगै हामी पनि आँखा आकाशतिर गाडेर बसिरहेका थियौँ। अवलोकन केन्द्रमा उपलब्ध प्याक गरिएको केएफसीको डिनर, भ्रमणकाे आयाेजकले दिएको सात थानको विशेष अन्तरिक्ष स्मृति उपहार, प्रक्षेपणअघिको करिब ३० मिनेटको अन्तरिक्ष विज्ञान कक्षा र प्रत्यक्ष विवरण सुन्दै गर्दा समय बितेको पत्तै भएन। ठिक साँझ ७:५९ बजे अन्तिम काउन्टडाउन सकिँदै गर्दा अँध्यारो बादल र झरीलाई चिर्दै लोङलोउ नजिकैको हाइनान व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रको लन्च प्याड–१ बाट आगोको विशाल मुस्लो निस्कियो। एकैछिनमा रातको आकाश उज्यालो भयो र ५०.५ मिटर अग्लो, ३७१ मेट्रिक टन तौल तथा करिब ४८० टन लिफ्टअफ शक्ति बोकेको ‘लङ मार्च ८ए’ रकेट गर्जँदै आकाशतिर उड्यो। त्यो झरिलो साँझमा बादल छिचोल्दै माथि उठेको रकेट हेर्दा विज्ञान र प्रविधिको अद्भुत अनुभव मात्र भएन, त्यही प्रकाशमा नेपाल र चीनबिचको शैक्षिक तथा वैज्ञानिक सहकार्यको सम्भावना पनि झल्किएको महसुस भयो।
हामी नेपालस्थित चिनियाँ राजदूतावासद्वारा आयोजित दोस्रो ‘युथ पायोनियर कार्यक्रम’ (CNYP) अन्तर्गत १७ देखि २३ नोभेम्बर २०२६ सम्मको सात दिने हाइनान अध्ययन भ्रमणमा थियौँ। सान्याको याझोउ बे साइन्स एन्ड टेक्नोलोजी सिटी र गहिरो समुद्री विज्ञान संग्रहालयदेखि वेनचाङ र हाइकोउसम्मको यात्राले हाम्रो टोलीलाई हाइनानको नवप्रवर्तन र संस्कृतिसँग नजिकबाट जोड्ने अवसर दियो। २० नोभेम्बरको बिहान मात्र हामी सान्या रेलवे स्टेसनबाट C7822 हाई–स्पिड बुलेट ट्रेन चढेर १ घण्टा ११ मिनेटमै (बिहान ९:४० देखि १०:५१ बजेसम्म) वेनचाङ आइपुगेका थियौँ। साँझको रकेट उडान त त्यो दिनको उत्कर्ष मात्र थियो; दिउँसो वेनचाङ एरोस्पेस सुपरकम्प्युटिङ सेन्टर र वेनचाङ एरोस्पेस साइन्स सेन्टर अवलोकन गर्दा नै अन्तरिक्ष प्रविधिको वास्तविक उपयोगबारे गहिरो जानकारी खुल्यो। निजी क्षेत्रको पहलमा स्थापित त्यो व्यावसायिक सुपरकम्प्युटिङ केन्द्रले १६१ वटा भू–उपग्रहको सञ्जालबाट प्राप्त हुने डेटा प्रशोधन गरी खेतीपाती, वनजङ्गल, सहर नियोजन र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा उपयोग गर्दो रहेछ। हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको नीतिअन्तर्गत मे २०२६ मा उक्त केन्द्रले सिङ्गापुरका लागि सहर नियोजनसम्बन्धी रिमोट सेन्सिङ डेटा निर्यात सेवा सुरु गरिसकेको छ भने थाइल्यान्ड, कम्बोडियालगायत अन्य साझेदार मुलुकहरूसँग पनि डेटा उपयोगका लागि सहकार्य विस्तार गरिरहेको रहेछ। भूमध्यरेखा नजिकको भौगोलिक अनुकूलता र स्वतन्त्र व्यापार बन्दरगाहको नीतिले गर्दा वेनचाङ इन्टरनेसनल एरोस्पेस सिटीमा ७०० भन्दा बढी अन्तरिक्षसम्बन्धी कम्पनीहरू एकै थलोमा जुटेको देख्दा स्पष्ट नीति र वैज्ञानिक पूर्वाधार सँगै हिँडे कति ठुलो फड्को मार्न सकिन्छ भन्ने प्रस्ट देखियो। त्यस साँझ हामीले देखेको ‘लङ मार्च ८ए’ रकेटले पनि चीनको ‘स्टारनेट’ (ग्वोवाङ) लो–अर्थ अर्बिट इन्टरनेट सञ्जालको ३०औँ समूहअन्तर्गतका नौवटा सञ्चार भू–उपग्रह कक्षमा पुर्याएको थियो।
ग्र्यान्डस्ट्यान्डबाट उडेको रकेट बादलमा हराउँदै गर्दा मेरो मन भने आफ्नै देशका अग्ला पहाड र हिमाली बस्तीहरूतिर पुग्यो। कठिन भौगोलिक बनावट र छरिएका गाउँहरू रहेको नेपालका दुर्गम भेगमा अप्टिकल फाइबरको तार पुर्याउन समय र लागत बढी लाग्ने यथार्थबिच, लो–अर्थ अर्बिट सञ्चार भू–उपग्रह प्रविधिले विकट विद्यालय र स्वास्थ्य चौकीहरूसम्म डिजिटल पहुँच पुर्याउने सम्भावनाको झल्को दिलायो। त्यस्तै, बर्खायाममा बाढी, पहिरो र जलवायुजन्य जोखिमले प्रभावित हुने हाम्रो देशका लागि वेनचाङमा देखिएको स्याटेलाइट डेटा र सुपरकम्प्युटिङ प्रविधि निकै उपयोगी बन्न सक्छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कृषि, वन र विपद् अनुगमनमा रिमोट सेन्सिङ डेटाको उपयोग गर्न गरिरहेका प्रयासहरूमा चीनका यस्ता अनुसन्धान केन्द्रहरूसँग अनुभव, तालिम र प्राविधिक ज्ञान आदानप्रदान गर्न सके नेपालको क्षमता विकासमा सकारात्मक टेवा पुग्नेछ। नेपालका युवाहरूमा अन्तरिक्ष विज्ञानप्रतिको रुचि र क्षमता सन् २०१९ मा नास्टको अगुवाइमा प्रक्षेपित ‘नेपालीस्याट–१’ देखि नै प्रमाणित हुँदै आएको छ। त्यसैको निरन्तरताका रूपमा जनवरी २०२६ मा नेपाली विद्यालयका विद्यार्थीहरूले नास्ट र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा निर्माण गरेको ‘मुनाल’ क्युबस्याट प्रक्षेपण हुनु अर्को महत्वपूर्ण पाइला थियो। प्रक्षेपण यानको तेस्रो चरणमा आएको प्राविधिक समस्याका कारण ‘मुनाल’ कक्षमा पुग्न नसके पनि नेपाली विद्यार्थीहरूले देखाएको इन्जिनियरिङ क्षमताले नयाँ पुस्ताको सामर्थ्य प्रस्ट्याइसकेको छ। विज्ञानमा निरन्तर धैर्य, अभ्यास र चीनलगायत अन्तर्राष्ट्रिय वैज्ञानिक साझेदारहरूसँगको शैक्षिक–प्राविधिक सहकार्यले नेपालको भावी पुस्ताको अन्तरिक्ष यात्रालाई अझ बलियो आधार दिने विश्वास मनमा जागेको छ।
वेनचाङपछि हाम्रो टोलीले हाइकोउमा हाइनान विज्ञान तथा प्रविधि संग्रहालय, चिलोउ ओल्ड स्ट्रिट, हायाङ साउथ चाइना सी प्रदर्शनी कक्ष, जियाङदोङ न्यु एरिया प्रदर्शनी केन्द्र र हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको उपलब्धि प्रदर्शनी अवलोकन गर्दै त्यहाँको विकास, इतिहास र संस्कृतिलाई अझ नजिकबाट बुझ्ने मौका पायो। २३ नोभेम्बरमा हाइनान नर्मल युनिभर्सिटी नेसनल युनिभर्सिटी साइन्स पार्कमा चिनियाँ तथा अन्तर्राष्ट्रिय युवाहरूसँग अनुभव साटासाट गर्दै कार्यक्रम समापन गरी हाइकोउ–ग्वाङझाउ हुँदै राति काठमाडौँ फर्कँदा मेरो झोलामा वेनचाङबाट पाएको सात थानको स्मृति उपहार त थियो नै, त्योभन्दा ठुलो सम्पत्ति चाहिँ नयाँ सिकाइ, आत्मविश्वास र दुई देशबिचको न्यानो मित्रता थियो। नेपाली युवाहरूलाई ज्ञान, अनुभव र आदानप्रदानको यो अवसर जुराइदिने नेपालस्थित चिनियाँ राजदूतावास तथा सान्यादेखि वेनचाङ र हाइकोउसम्म आतिथ्य सत्कार गर्ने सम्पूर्ण हाइनानका आयोजक र मित्रहरूप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु। हिमालको देश नेपाल र समुद्रको प्रान्त हाइनानबिच युवा, विज्ञान र सद्भावको यो सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा म विश्वस्त छु।
(प्रस्तुत लेख नेपालस्थित चिनियाँ राजदूतावासको दोस्रो ‘युथ पायोनियर कार्यक्रम’ (CNYP) अन्तर्गत १७–२३ नोभेम्बर २०२६ को हाइनान अध्ययन भ्रमणमा सहभागी प्रयास कौशिक धितालको प्रत्यक्ष अनुभवमा आधारित छ। यसमा वेनचाङको ‘लङ मार्च ८ए’ रकेट प्रक्षेपण र अन्तरिक्ष–प्रविधि अवलोकनलाई नेपाल–चीन युवा तथा वैज्ञानिक सहकार्यको सन्दर्भमा प्रस्तुत गरिएको छ।)

Comments

