सूर्य मगरको राजनीतिक जीवनयात्रा

रामबहादुर बुढा

प्रारम्भः
सूर्य मगरको राजनीतिक जीवनको सुरुवात कुनै औपचारिक राजनीतिक प्रशिक्षणबाट भएको थिएन। जीवनको एउटा मोडमा पुस्तकसँगको साक्षात्कारले उनको सोच र चेतनामा परिवर्तन ल्यायो। समाज, वर्ग, शोषण र मुक्तिका विषयमा पढ्न थालेपछि उनको जीवनको बाटो नै बदलियो। अन्ततः उनी नेपाली कम्युनिस्ट आन्दोलनका एक सक्रिय कार्यकर्ता बने।
वि.सं. २०१५ मंसिर २ गते प्युठानको मर्कावाङमा जन्मिएका सूर्य मगर चार भाइमध्ये माहिला हुन्।प्युठानमा दुई ठाउँमा मर्कावाङ नामका ठाउँ छन् एउटा माडी खोला गाउँ तत्कालीन मर्का वाङ गाविस र अर्को अहिलेको झिम्रुक गाविस अन्तर्गतको एउटा सानो गाउँ मर्काबाङ ।
उनका बुबा लिलाबहादुर ब्रिटिस आर्मीमा कार्यरत थिए । परिवारको आर्थिक अवस्था कमजोर थिएन। मगर परिवार वि.सं. २०२१ मा प्युठानबाट चितवन बसाइँ सरेको थियो। त्यसपछि उनको बाल्यकाल र अध्ययनको अधिकांश समय चितवनमै बित्यो।
उनले वि.सं. २०२९ मा श्री प्रभात निम्न माध्यमिक विद्यालयमा अध्ययन गरे। पछि आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्दै कक्षा १० सम्म पुगे।
पुस्तकले बदलिएको जीवन
सूर्य मगरको जीवनमा राजनीतिक चेतनाको विकास हुनुमा पुस्तकहरूको महत्त्वपूर्ण भूमिका रह्यो। उनका जेठा दाइ विक्रम पुन राजनीतिक गतिविधिमा संलग्न थिए। उनी पुष्पलाल हुँदै रोहितको राजनीतिक धारमा काम गर्थे। दाइका पुस्तकहरू घरमा आउने भएकाले सूर्य मगरलाई पनि पढ्ने अवसर मिल्यो।
दाइको बोरामा राखिएका पुस्तकहरूमध्ये रूपलाल विश्वकर्माले लेखेको ’समाज विकासबारे’ नामक पुस्तकले उनलाई विशेष प्रभाव पा¥यो। उक्त पुस्तक पढेपछि आफूले समाजलाई हेर्ने दृष्टिकोणमा नयाँ परिवर्तन आएको उनी सम्झन्छन्। त्यसपछि गोविन्दप्रसाद लोहनीले लेखेको ’चिनियाँ क्रान्तिको इतिहास’ लगायतका पुस्तक पढ्न थाले। जुगेडी संघर्षसम्बन्धी सामग्रीले पनि उनलाई राजनीतिक आन्दोलनबारे थप जिज्ञासु बनायो।
शिक्षकः त्यसअघि उनले शिक्षक बन्ने प्रयाससमेत गरेका थिए। डोल्पाको दुनैमा शिक्षकका रूपमा एक महिना बसेर फर्किएका थिए। तर पुस्तक अध्ययनबाट विकसित हुँदै गएको राजनीतिक चेतनाले उनलाई शिक्षण पेसाभन्दा राजनीतिक आन्दोलनतर्फ आकर्षित ग¥यो।
पार्टीमा आवद्ध यस क्रममा भवानी गुरुङ नामका एक छिमेकीसँग उनको सम्पर्क भयो। उनी पार्टीमा आबद्ध रहेछन्। उनकै माध्यमबाट सूर्य मगर चितवनको पट्यानीमा बस्ने देवराज पौडेलसम्म पुगे। मगरले आफू पार्टीमा काम गर्न इच्छुक रहेको बताए। त्यसपछि उनले एउटा हस्तलिखित निवेदन भरे। वि.सं. २०३५ तिर उनलाई किसान संगठनमा आबद्ध गरियो।
रूपलाल विश्वकर्मासँगको सम्पर्क
किसान संगठनमा आबद्ध भएपछि सूर्य मगरको राजनीतिक सक्रियता बढ्दै गयो। उनलाई सेल कमिटी र इलाका कमिटीमा जिम्मेवारी दिइयो। उनको सक्रियता र काम गर्ने शैलीबाट रूपलाल विश्वकर्मा प्रभावित भए।
त्यस समयमा रूपलाल विश्वकर्मा नेपाली कम्युनिस्ट आन्दोलनमा छुट्टै पहिचान बनाइरहेका नेता थिए। उनको विचार र नेतृत्वले सूर्य मगरजस्ता युवाहरूलाई आकर्षित गरेको थियो।
रूपलाल विश्वकर्माले उनलाई घर छाडेर संगठनको काममा लाग्न सुझाव दिए। मगरले आमासँग सल्लाह गरे। बुबालाई राजनीतिक गतिविधिमा लागेको कुरा सुनाउँदा गाली वा कुटपिट हुन सक्ने डर थियो। त्यसैले परिवारलाई सबै कुरा स्पष्ट रूपमा बताउन सकेका थिएनन्।
अन्ततः उनी घर छाडेर राजनीतिक काममा निस्किए। रूपलाल विश्वकर्मासँगै तनहुँको भिरकोट र रिसिङलगायतका ठाउँमा पुगे। वि.सं. २०३६ को राजनीतिक परिवेशमा बहुदलको पक्षमा भाषण भइरहेको थियो। त्यही क्रममा शाहना प्रधानलगायतका नेताहरुको भाषण सुनेको अनुभव पनि उनीसँग छ।
पछि चितवन फर्किए। घर छाडेर हिँडेको मान्छे कसरी घर फर्किने भन्ने अन्योल थियो। तर घर पुग्दा बुबा खुसी भएको अनुभव उनले सुनाउँछन्। यसले परिवार र राजनीतिक जीवनबीचको सम्बन्धलाई नयाँ ढंगले बुझ्ने अवसर दिएको थियो।
भूमिगत राजनीतिक जीवन र संगठनात्मक जिम्मेवारी
सूर्य मगरको राजनीतिक जीवन त्यसपछि झन् जटिल बन्दै गयो। रूपलाल विश्वकर्मासँगको सम्पर्क र संगठनात्मक जिम्मेवारीका कारण उनी विभिन्न जिल्लामा आवतजावत गर्न थाले।
यस क्रममा फडिन्द्र आचार्यले लेखेको चिठी र रूपलाल विश्वकर्माको पत्र लिएर हिँड्नुपर्ने अवस्था पनि आयो। पार्टीका नेता तथा कार्यकर्ताबीच सम्पर्क कायम राख्ने, सूचना आदानप्रदान गर्ने र आवश्यक सामग्री एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने जिम्मेवारीमा उनी संलग्न भए।
चितवन, तनहुँ, नवलपरासी, पर्वत र धौलागिरी क्षेत्रसम्म उनको राजनीतिक गतिविधि फैलिएको थियो। उनी चार वर्षसम्म सूचना संकलन र संगठनात्मक सम्पर्कको जिम्मेवारीमा रहे। सेतीबेनीमा प्रेमबहादुर क्षेत्रीको घरमा सेल्टर लिएर बसेको समयलाई उनी आफ्नो भूमिगत राजनीतिक जीवनको एउटा महत्त्वपूर्ण अनुभवका रूपमा सम्झन्छन्।
त्यस समयमा रूपलाल विश्वकर्मा तनहुँको डुम्रेमा चन्द्रबहादुर थापाको घरमा बसेको सूचना प्राप्त भएपछि त्यसलाई सम्बन्धित ठाउँसम्म पु¥याउने जिम्मेवारीसमेत आफूले निर्वाह गरेको उनको भनाइ छ।
पूर्तिघाट बैंक कब्जा प्रकरण र राजनीतिक विवाद
वि.सं. २०४१ को पूर्तिघाट बैंक कब्जा प्रकरण सूर्य मगरले सुनाएका राजनीतिक संस्मरणमध्ये एउटा महत्वपूर्ण घटना हो।
उनका अनुसार त्यस घटनामा सातजनाको एउटा टोली संलग्न थियो। रत्ननगर टाँडी, चितवनका फडिन्द्र आचार्य इन्स्पेक्टर,डण्डा नवलपरासीका तारा पौडेल स.ई. , बन्दीपुर ,तनहूँका सुदर्शन प्रधान हवल्दार, केउरानी नवलपरासीका धनिराम चौधरी,डण्डा नवलपरासीका रोमबहादुर बस्नेत, माडी चितवनका पदम बहादुरक्षेत्री र लेबरनगर,चितवनका अमरबहादुर विश्वकर्मा प्रहरी सिपाहीको भेष गरी बैंकमा गएका थिए । प्रहरीको भेषमा बैंक पुगेको उक्त टोलीले आफूहरू माथिबाट खटिएका विशेष प्रहरी भएको परिचय दिएर बैंकको चाबी मागेको र बैंक कब्जामा लिएको थियो। त्यसपछि बैंकबाट नगद तथा सुन निकालिएको थियो।
मगरको भनाइमा उक्त टोली वास्तविक प्रहरी नभई रूपलाल विश्वकर्माको नेतृत्वमा रहेको सर्वहारा श्रमिक संगठनका नेता तथा कार्यकर्ताहरू थिए। उनीहरू संगठनको राजनीतिक तथा आर्थिक गतिविधिसँग जोडिएको अभियानमा संलग्न थिए।
घटनापछि टोलीका सदस्यहरू छुट्टाछुट्टै दिशामा लागे। सुन र नगद राखिएका झोलाहरू बोकेर उनीहरू पर्वतको व्याधि क्षेत्र पुगेका थिए। त्यहाँ पुगेपछि उनीहरूलाई प्रहरी नभई बैंक कब्जामा संलग्न समूहका सदस्य भएको थाहा पाएर स्थानीय स्तरमा अन्योल र तनावको अवस्था उत्पन्न भएको उनको संस्मरण छ।
यस प्रकरणमा विभिन्न व्यक्तिको संलग्नता, उनीहरूले निर्वाह गरेको भूमिका र घटनापछिको अवस्थाबारे मगरले आफ्ना अनुभव सुनाएका छन्। यो घटना तत्कालीन भूमिगत राजनीतिक गतिविधि र संगठन सञ्चालनका आर्थिक चुनौती बुझ्न महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भ हो।
पार्टीभित्रको असन्तुष्टि र कारबाही
संगठनमा सक्रिय हुँदै जाँदा सूर्य मगरले पार्टीभित्रका विभिन्न उतारचढाव पनि बेहोर्नुप¥यो। वि.सं. २०४३÷४४ तिर उनलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरिएको उनी बताउँछन्।
उनका अनुसार उनी पार्टीको अनुशासन र पद्धतिअनुसार संगठनमा रहेर काम गर्नुपर्ने मान्यता राख्थे। चितवनमा परिवारको १२ देखि १५ बिघासम्म जमिन थियो। बुबा ब्रिटिस आर्मीमा रहेकाले आर्थिक अवस्था पनि कमजोर थिएन। तर व्यक्तिगत आर्थिक अवस्थाभन्दा राजनीतिक विचार र संगठनात्मक पद्धतिलाई उनले महत्त्व दिएका थिए।
उनी मजदुर संगठनमा रहेर काम गर्न चाहन्थे। पार्टीको मातहतमा मजदुर संगठनको जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको मान्यता थियो। तर पार्टीभित्रको विवाद र मतभेदका कारण सम्बन्ध सहज रहन सकेन।
वि.सं. २०४६ को जनआन्दोलनका क्रममा धरपकड बढेपछि उनी घर फर्किएर बसे। त्यसपछि स्वास्थ्य समस्या देखिएपछि भारतमा समेत केही समय बिताए।


नेकपा एकता केन्द्र निर्माणको प्रक्रिया
सूर्य मगरको राजनीतिक जीवनमा अर्को महत्त्वपूर्ण मोड नेकपा एकता केन्द्र निर्माणको प्रक्रिया थियो।
पछिल्लो समयमा प्युठानको खवाङका झकबहादुर थापाको माध्यमबाट उनको पुनः संगठनात्मक सम्पर्क स्थापित भयो। उनी नवलपरासीको डण्डामा बस्न पुगे। त्यहाँ प्रेमबहादुर बस्नेतसँग सम्पर्क भयो। उनी शिक्षकसमेत थिए। मगरको बसोबास र राजनीतिक गतिविधिका लागि आवश्यक वातावरण मिलाउन उनले सहयोग गरे।
त्यस समयमा मोहनविक्रम सिंह र अन्य कम्युनिस्ट नेताहरूको राजनीतिक गतिविधि पनि विभिन्न क्षेत्रमा चलिरहेको थियो। तनहुँको छापबेसीमा छविलाल थापाको घरमा बसेको सर्वहारा श्रमिक संगठनको केन्द्रीय भेलाले पार्टी एकताको दिशामा अघि बढ्ने निर्णय गरेको उनी सम्झन्छन्। वि.सं. २०४७ मा भएको उक्त भेलाले नेकपा एकता केन्द्र निर्माणको प्रक्रियामा जाने निर्णय गरेको उनको भनाइ छ। त्यसपछि नवलपरासीको डण्डामा अर्को भेला भयो। चितवनमा नेकपा एकता केन्द्रको केन्द्रीय कमिटी गठन भयो। पहिलो बैठकबाट प्रचण्ड महामन्त्री बने।
यसरी विभिन्न कम्युनिस्ट समूह र संगठनलाई एकताबद्ध गर्ने प्रयासले नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ राजनीतिक अध्याय सुरु ग¥यो।
राष्ट्रिय एकता महाधिवेशन र वैचारिक बहस
नेकपा एकता केन्द्रको राष्ट्रिय एकता महाधिवेशन चितवनमा सम्पन्न भयो। त्यस महाधिवेशनमा पार्टीभित्र वैचारिक एकता, अन्तरविरोध र संगठनात्मक पद्धतिबारे गम्भीर बहस भएको सूर्य मगर बताउँछन्।
उनका अनुसार पार्टी एकता भनेको सबै कुरा जस्ताको तस्तै स्वीकार गर्नु होइन। माक्र्सवादको वैचारिक आधार कायम राख्दै अन्तरविरोधसहितको एकता निर्माण गर्नुपर्छ भन्ने उनको धारणा थियो।
तर नेतृत्व तहमा विचार र व्यवहारबीचको अन्तरविरोध समाधान हुन नसकेको उनको अनुभव छ। प्रचण्ड र निर्मल लामाबीचको राजनीतिक सम्बन्ध तथा नेतृत्वको कार्यशैलीले पार्टीभित्र असहजता सिर्जना गरेको उनी बताउँछन्।
पार्टीभित्र गुटगत प्रवृत्ति देखिन थालेपछि आफूले सोचेअनुसार काम गर्ने वातावरण कमजोर हुँदै गएको उनको बुझाइ छ। त्यसपछि उनी पार्टीको नियमित गतिविधिबाट अलग हुँदै गए।
लुम्बिनी क्षेत्रमा संगठनात्मक जिम्मेवारी
एकता प्रक्रियापछि केही समय उनी पार्टीको लुम्बिनी क्षेत्रसँग सम्बन्धित जिम्मेवारीमा रहे। डेढ वर्षजति विभिन्न संगठनात्मक गतिविधिमा संलग्न भएको उनको भनाइ छ ।
लुम्बिनी क्षेत्रमा काम गर्दा रुपन्देही र कपिलवस्तुमा तत्कालीन नेकपा (मशाल)को राम्रो संगठन रहेको उनले नजिकबाट देखे। त्यहाँको राजनीतिक संरचना, कार्यकर्ता र संगठनात्मक अवस्थाबारे बुझ्ने अवसर मिल्यो।
तर संगठनभित्रको विभाजन र नेतृत्वबीचको मतभेदका कारण काम गर्न कठिन हुँदै गएको उनी बताउँछन्। डीबी सिंहले रुपन्देहीको संगठनको ठूलो हिस्सा लिएर गएपछि त्यहाँ संगठनात्मक रूपमा टिक्न र काम गर्न कठिन भएको उनको अनुभव छ।
अन्ततः आफूले प्रचण्डको संगठनमा बसेर काम गर्न नसक्ने निष्कर्ष निकालेको उनी बताउँछन्। त्यसपछि समायोजन समितिमा रहेर पनि पार्टीभित्रको एकताको वातावरण निर्माण हुन नसकेको उनको बुझाइ छ।

व्यक्तिगत जीवनको व्यवस्थापन र नयाँ संघर्ष
लामो समय राजनीतिक गतिविधिमा बिताएका सूर्य मगरको व्यक्तिगत जीवन पनि सहज थिएन। विवाहपछि परिवारको जिम्मेवारी बढ्दै गयो। राजनीतिक जीवनसँगै पारिवारिक जीवनलाई व्यवस्थित गर्नुपर्ने चुनौती थपियो।
उनले आफ्नै श्रम र सीपबाट जीवन चलाउने निर्णय गरे। त्यसपछि हाउस वायरिङको काम सिक्न थाले। सुरुमा दैनिक ५० रुपैयाँमा काम गरेर सीप सिकेको उनी सम्झन्छन्।
उनकी श्रीमतीले पनि सहकारीमा काम गरिन्। सीमित आम्दानीमा परिवार चलाउनुपर्ने अवस्था थियो। पछि श्रीमतीले अर्को सहकारी स्थापना गरेर त्यसको व्यवस्थापनमा सक्रियता देखाइन्। यसरी दुवैले आआफ्नो श्रम र प्रयासबाट पारिवारिक जीवनलाई अगाडि बढाए।
राजनीतिक आन्दोलनमा लामो समय बिताएका मगरका लागि यो अर्को प्रकारको संघर्ष थियो। राजनीतिक विचार, संगठनात्मक जिम्मेवारी र पारिवारिक जीवनबीच सन्तुलन कायम गर्न उनले अनेक चुनौती सामना गर्नुप¥यो।

आन्दोलनका अनुभव र समयको समीक्षा
सूर्य मगरको जीवनयात्रा नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न चरणसँग जोडिएको छ। प्युठानबाट चितवन बसाइँ सरेको एउटा सामान्य परिवारको बालक पुस्तक अध्ययनबाट राजनीतिक चेतनाको यात्रामा प्रवेश गर्छ। रूपलाल विश्वकर्मासँगको सम्पर्कले उसलाई संगठनात्मक गतिविधिमा सक्रिय बनाउँछ। त्यसपछि भूमिगत जीवन, विभिन्न जिल्लामा संगठनात्मक जिम्मेवारी, पूर्तिघाट बैंक कब्जा प्रकरण, पार्टीभित्रको विवाद, कारबाही र नेकपा एकता केन्द्र निर्माणसम्मका घटनाले उनको राजनीतिक जीवनलाई आकार दिन्छन्।

उनको संस्मरणले एउटा व्यक्तिको जीवनकथा मात्र प्रस्तुत गर्दैन, नेपाली कम्युनिस्ट आन्दोलनभित्र रहेका वैचारिक मतभेद, संगठनात्मक संघर्ष, एकता प्रयास र विभाजनका अनुभवलाई समेत उजागर गर्छ।
राजनीतिमा प्रवेश गर्दा उनले देखेको समाज परिवर्तनको सपना र त्यसका लागि गरेको संघर्ष उनको जीवनका महत्त्वपूर्ण पक्ष हुन्। उनको जीवनकथा नेपाली कम्युनिस्ट आन्दोलनको एउटा विशिष्ट कालखण्ड बुझ्न उपयोगी ऐतिहासिक संस्मरणका रूपमा लिन सकिन्छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित