– मनु वि .क.
म एक अछुत बनाइएको मान्छे
कति वर्ष अछुत भएँ
कति वर्ष बहिस्कृत भएँ के थाहा ?
मेरी आमा अछुत छन्, मेरो बाबा अछुत
मेरो हजुरबा अछुत मेरो हजुरआमा अछुत
मेरो पूर्खा अछुत,
मेरो दाइभाइशाखा सन्तान अछुत
म जस्तै मेरो टोल, छिमेक अछुत
म जस्तै मेरो घर आँगन अछुत
म बस्ने गाउँ तल्ला जातिको गाउँ भन्छन्
म बस्ने टोल तल्ला जातिको टोल भन्छन ।
अछुत बनाएपनि राम्रा छन् अछुतका हातहरु
जुन हातले सिर्जना भरिरहेका छन् धर्तीमा
सिर्जना मात्रै हैन आफ्नै पसिनामा बाँचेका छन् अछुतहरु
अछुतका आँखा अति राम्रा छन्
जसले संसारमा ज्योति छरिरहेका छन् ।
अछुतका शरिर अति राम्रो छ
जसले धर्तीलाई बचाईरहेका छन्
अछुतको माथ अति राम्रो छ
जसले संसार बचाएको छ ।
अछुत भनिएको बस्ती ,
अछुत बनाईएको गाउँ अति राम्रो छ
म अछुत बनेका सबै आमा,दिदी ,बहिनी, भाईदाई,
बुबा नाताहरु अति मन पार्छु
अति माया लाग्छ किनकि अछुत बनाईएकाहरुले
आफ्नै पसिना खाएका छन् ।
अछुत बनाईएकाहरुले आफै संसार सजाएका छन्
म आफ्नै पसिना खाने ,
आफै संसार सजाउने मान्छे नै मन पार्छु
मैले अछुत बनाईएको गाउँ नै मन पार्छु
तर मैले आज पनि खोजिरहेको छु अछुत हुनुको कारण
अछुत बनाउनुको कारण
जहाँ वर्षौदेखि मान्छे बन्न नपाएर
पशु भन्दा तल जीवन जिउन बाध्य पारिएका छन् ।
त्यही अछुत गाउँमा उभिएर
त्यही सुन्दर ठाउँमा उभिएर पूर्वतिर हेरिरहेकी छु
तीनै सुन्दर आँखाहरुले
रात पछिको विहान चियाईरहेकी छु
जहाँबाट लालीले किरण फिँजाउँछन्
लालीले अन्धकार हटाउँछन्
म उनै लालीलाई सोधिरहेकी छु
ए लाली ! समाजको नजरमा म छुत कहिले बन्छु ?
मेरो टोल ,मेरो गाउँ छुत कहिले बन्छ ?

