फैलियो आज आमा

–टङ्कराज ढकाल तितेपाती
छन्द–चञ्चरीकावली
गण य म र र गु यति ६ मा

उज्यालो नै खाए कालरात्री छ मामा
अँध्यारोले छायो भातमारा गरामा
खुलेकाछन् भट्टी ज्यानमारा धरामा
दिलाएछन् सास्ती सर्वहारा छ जामा । १

बनाएछन् घोडा कर्म कालो दिशामा
छ स्वार्थी जो चाला बादशाही मुसामा
गलाएछन् माथा खान पैसा बिलोमा
भदालोको खाना चोर्न लागे कलोमा । २

गलारेट्दै हाने दाश सारा मिलेका
उधारोमा बेचे दिव्य धर्ती यताका
पसारो छन् मुर्दा चालबाजी गरेका
कतारोमा कोच्दै दानपेटी भरेका । ३

न पानी खानी छन् बेच्न थाले सबै ती
धुपौरे पारामा सुम्पदैछन् कतै ती
हरामी चोरीका भ्रष्टचारी डकैती
भनेका छन् आफ्नो आततायी बपौती । ४

गुलामीको चुत्थो राष्ट्रघाती दुखेसो
मलामी छन् बित्था देशद्रोही छ मेसो
पतेरा जस्तैछन् घाँस खाने छ चासो
लुटेरा उस्तै झन् नामधारी गथासो । ५

दलालीको धन्दा देश लुट्ने दशामा
हरामीका फन्दा भेष भाषा गलामा
कपालीको धामा के भयो आँगनीमा
वितृष्णाको जालो फैलियो आज आमा । ६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित