चन्द्रलोकतिर उडान

लुसुन

यो सत्य हो कि यदि पशु बुद्धिमान् छ भने मानिसको मनका कुरा सजिलोसँग बुझ्छ । जब द्वार देखियो, घोडाले चाल ढिलो गर्‍यो र सवारजस्तै आफ्नो शिर झुकाएर त्यसलाई हरेक कदमसँगै यसरी उठाउन–झार्न लाग्यो, मानौँ मुसलले चामल कुटिरहेको हो ।

हवेली साँझको पातलो हुस्सुले ढाकिएको थियो । छिमेकका चिम्नीबाट कालो बाक्लो धुवाँ निस्किरहेको थियो । साँझको भोजनको समय भएको थियो । घोडाका टाप सुनेर सइस (नोकरहरू) बाहिर आएका थिए र दुवै हात शरीरमा टाँसेर द्वारको सामुन्ने उभिएका थिए । जब ई१ मलको थुप्रो नजिकबाट विस्तारै ओर्लियो, सईसहरूले अगाडि बढेर लगाम र चाबुक समाते । सँघार पार गर्दा जब उसले कम्मरमा बाँधिएको ठोक्रोमा राखिएका बिलकुल नयाँ बाणहरू र थैलामा परेका तीनवटा मृत कागहरू तथा एउटा क्षतविक्षत भँगेरोमाथि आँखा लगायो, उसको मन मर्‍यो । तर अनुहारमा अलिकति पनि शिथिलता आएन र लामा पाइला चाल्दै ऊभित्र गयो । ठोक्रोमा राखिएका बाणहरू बज्न थाले ।

भित्रको आँगनमा पुग्नासाथ उसका आँखा छाङ–ओ२माथि परे, जो गोलो झ्यालबाट बाहिर चियाइरहेकी थिई । उसलाई थाहा थियो कि छाङ–ओका तेजिला आँखा कौवाहरूमाथि परिसकेका छन् । हडबडाहटमा ऊ एकक्षण रोकियो – तरभित्र त उसलाई जानु नै थियो । दासीहरूले उसको स्वागत गरे, धनुष–बाण र ठोक्रो उतारे र शिकारको झोला बोके । उसलाई लाग्यो दासीहरूका अनुहारमा कृत्रिम मुस्कान झल्किरहेको छ ।

हात–मुख धोएपछिभित्र कोठामा पुग्यो र बोलायो : “श्रीमतीजी…..”

छाङ–ओ गोलो झ्यालबाट सूर्यास्त हेरिरहेकी थिई । ऊ विस्तारै फर्की र अभिवादनको उत्तर नदिइकन उपेक्षापूर्ण दृष्टिले ईतिर हेर्न लागी ।

केही समयदेखि, कम्तीमा पनि एक वर्षभन्दा बढी समयदेखि ई यस्तो व्यवहारबाट अभ्यस्त भइसकेको थियो । सदाझैं ऊ सामुन्नेतिर काठको खाटमाथि बिछ्याइएको चितुवाको पुरानो छालामा गएर बस्यो । टाउको कन्याउँदै ऊ बुदबुदायो ।

“आज भाग्यले मेरो साथ दिएन । कौवाबाहेक अरू केही छैन….”

“छिः छिः !”

छाङ–ओका कमानीदार आँखीभौँ तन्किए र फूर्तिले कोठाबाट बाहिर जाँदै उसले भनी : “फेरि उही कौवाको चटनी र सेवई ¤ फेरि उही कौवाको चटनी र

सेवई ¤ म जान्न चाहन्छु कि को छ यस्तो, जो वर्षौँसम्म कौवाको चटनी र सेवई खानसक्छ ? म साह्रै अभागिनी हुँ जो तिमीसँग बिहे गर्न पुगें ¤ बाह्रै महिना कौवाको चटनी र सेवई खानुपर्दछ ।”

“श्रीमतीजी !” ई उठ्यो र उसकोपछि लाग्यो । “आजको दिन त्यति खराब भएन,” ऊ अति कोमल स्वरमा बोल्यो । आज मैले एउटा भँगेरो पनि ल्याएको छु । त्यसलाई तिम्रो लागि खास ढङ्गले पकाइन्छ । …न्वी–शिन, ओ न्वी–शिन ¤” ईले दासीलाई बोलायो । “मालिकनीलाई देखाउनको लागि एकछिन त्यो भँगेरो लिएर आइज त !”

चराहरूलाई भान्सा–घरमा पुर्‍याइएको थियो । न्वी–शिन दौडेर भँगेरोलाई लिएर आई र दुवै हातले उचालेर त्यसलाई छाङ–ओको सामु पेश गरी ।

“यो पनि कुनै चीज हो !” अति तिरस्कारपूर्वक हेर्दै उसले भँगेरालाई विस्तारै छोई । “कस्तो हालत बनाइदियौ यसको !” उसले रिसाँउदै भनी । तिमीले यसको केस्रा–केस्रा अलग गरिदिएका छौ । मासु नै कहाँ बचेको छ र ?”

“मलाई थाहा छ,” ईले पराजयको स्वरमा स्वीकार गर्‍यो ” । मेरो धनुष साह्रै शक्तिशाली छ, मेरा बाणका टुप्पा धेरै चौडा छन् ।”

“के साना वाण प्रयोग गर्न सक्दैनथ्यौ ?”

“मेरो साथमा साना बाणहरू छैनन् । जब मैले विशाल बँदेल र विशाल अजिङ्गर मारेको थिएँ…”

“अनि के यो विशाल बँदेल या विशाल अजिङ्गर हो ?” ऊ न्वी शिनतिर फर्की र आदेश दिईः “यसको सुरुवा (सुप) बनाइदेऊ !” त्यसपछि आफ्नो कोठामा गई ।

ई एक्लै पर्‍यो । उसलाई केही सुझिरहेको थिएन । पिठ्यूँ भित्तामा अडेस लगाएर बस्यो र भान्सा–घरमा दाउराको इन्धनको चट–चट गरेको आवाज सुनिरह्यो । उसलाई सम्झना आयो, त्यो विशाल बँदेल टाढाबाट एउटा माटोको ढिस्कोजस्तो देखिएको थियो । यदि बँदेललाई उसले त्यसबेला नमारेको भए र अहिलेसम्म रहन दिएको भए कम्तीमा पनि आधा वर्षसम्म त मासुको समस्या समाधान हुनसक्थ्यो र दैनिक भोजनको समस्या पर्ने थिएन र त्यो विशाल अजिङ्गरको त के कुरा गर्नु । कति राम्रो सुरुवा बन्थ्यो त्यसको !

न्वी–इले बत्ती बाली । सिन्दुरे धनुष–बाण, काला धनुष–बाण, कलदार धनुष, तरवार, छुरी – यी सबै बत्तीको धमिलो प्रकाशमा सामुन्नेको भित्तामा चम्किन थाले । एक दृष्टि यिनीहरूमा दिएर ईले शिर झुकायो र गहिरो सुस्केरा हाल्यो । न्वी–शिनले साँझको भोजन लिएर आई, त्यसलाई टेबुलमाथि राखिदिईः बायाँतिर पाँच ठूला–ठूला कचौरामा सेवई, दायाँतिर दुई ठूला–ठूला कचौरमा सेवई र एक कचौरामा सुरुवा र बीचमा कौवाको चटनी राखिदिई ।

खाएको बेला ईले स्वीकार गर्नुपर्‍यो कि खाना बिलकुल स्वादिष्ट छैन । उसले छड्के आँखाले छाङ–ओतिर हेर्‍यो । छाङ–ओले कौवाको चटनीतिर आँखा नलगाईकनै आफ्नो सेवईलाई सुरुवामा हालिदिएकी थिई र आधा कचौरा सकेर कचौरा टेबुलमा राखिदिएकी थिई । ईले देख्यो कि उसको अनुहार पहिलेभन्दा बढी पहेंलो र पातलो लाग्न थालेको छ– यदि विरामी परी भने के होला ?

रातको दोस्रो प्रहरसम्म छाङ–ओको उदासीनता केही कम भयो । ऊ बिलकुल मौन आफ्नो बिस्तरामा बसेर पानी पिइरहेकी थिई । ई काठको खाटमाथि बिछ्याइएको चितुवाको पुरानो छालालाई, जसका भुत्ला उखेलिंदै गइरहेका थिए, सुमसुमाइरहेको थियो ।

“कति भव्य चीज छ ।” उसले दबेको स्वरमा भन्यो । “यो छिर्बिरे चितुवाको शिकार मैले बिहेभन्दा पहिले गरेको थिएँ । यो अत्यन्त सुन्दर थियो – सुनको चम्किलो पिण्डजस्तो ।”

एका–एक उसको मस्तिष्कमा अतीत जीवनको स्मृति जागेर आयो । त्यसबेला भालुको शिकार गर्दा सिर्फ त्यसका पंजा खाइन्थ्यो । ऊँटको शिकार गर्दा सिर्फ त्यसको कुप्रो भाग खाइन्थ्यो, बाँकी सबै मासु दासीहरू र सईसहरूलाई बाँडिदिइन्थ्यो । जब ठूला–ठूला जनावर सकिए, त्यसपछि जङ्गली सुँगुर, खरायो र कालिज खान सुरु गरियो । ई यति सिपालु शिकारी थियो कि चाहेजति पशु–पंक्षीहरू मार्न सक्दथ्यो ।

उसले एक सुस्केरा हाल्यो ।

“कुरा यो हो कि मेरो निशाना आवश्यकताभन्दा बढी राम्रो छ”, ऊ बोल्यो ।

“यही कारण हो कि यहाँ सम्पूर्ण पशुपंक्षीहरूको सफाया भएको छ । कसलाई थाहा थियो कि हाम्रो खानाको लागि कौवाबाहेक अरू केही बाँकी रहनेछैन ?”

छाङ–ओको अनुहारमा मुस्कान खेल्न लाग्यो ।

“आज अरू दिनको तुलनामा मेरो भाग्य बढी राम्रो भयो ।” ईको हौसला बढिरहेको थियो । “कम्तीमा पनि एउटा भँगेरो त भेटियो । यसको खोजीमा मैले तीस लीको दूरी थप पार गर्नुपर्‍यो ।”

“के त्यसभन्दा पनि अझै अगाडि जान सक्दैनथ्यौ ?”

“हो श्रीमतीजी, यही त म पनि सोचिरहेको छु । भोलि बिहान अझै छिटो उठ्नेछु । यदि तिम्रो निंद पहिले खुल्यो भने उठाइदिनू । पचास ली अझै अगाडि गएर हेर्न चाहन्छु कि कुनै हरिण या खरायो भेटिन्छन् या भेटिंदैनन् ।…… हुन त यी जनावरहरू भेटिन अलि मुश्किल छ । सम्झना छ, जब मैले विशाल बँदेल र विशाल अजिगंरको शिकार गरेको थिएँ, त्यसबेला यहाँ सबै किसिमका पशुपंक्षीहरू मौजूद थिए ? काला–काला भालु तिम्री आमाको ढोकाको सामुन्नेबाट आउने–जाने गरिरहन्थे र उनले मसँग कैयौँ पटक तिनीहरूलाई मार्ने आग्रह गरेकी थिइन । …..”

“साँच्ची ?” थाहा हुन्थ्यो यो कुरा छाङ–ओलाई सम्झना थिएन ।

“कसले जान्दथ्यो कि यी पशुपंक्षीहरू यसरी बेपत्ता हुनेछन् ? अलि सोच त । अब हाम्रो गुजारा कसरी होला कुन्नि । मेरो त केही छैन । म साधु बाबाले दिएको अमृत रसायन (संजीवनी) पिउनासाथ उडेर चन्द्रलोक पुग्नेछु । तर मलाई तिम्रो फिक्री छ । …… यही कारण हो कि म शिकारको खोजीमा भोलि अझै टाढासम्म जाने सोचरिहेको छु । …..”

“हँ !”

छाङ–ओले सबै पानी पिइसकी । त्यसपछि बिस्तारै पल्टी र आँखा चिम्ली ।

उसको अनुहार फिका भयो र सौन्दर्य–साधना बत्तीको धमिलो प्रकाशमा स्पष्ट देखिन लागे । धेरैजसो पाउडर मेटिइसकेको थियो । आँखाको मुनितिर गोलाकार काला दाग परेका थिए । एउटा आँखीभौँ अर्कोको तुलनामा बढी कालो लागिरहेको थियो । तर ओठहरू अग्निका ज्वालाजस्ता राता थिए । हुन त ऊ मुस्कुराइरहेकी थिइन, तर पनि गालामा दुई हल्का गट्टा स्पष्ट देखिएका थिए ।

“होइन, कदापि होइन ! केवल सेवई र कौवाको चटनीको सहारामा म आफ्नी पत्नीको पालना कसरी गर्न सक्छु ?”

ई लाजले भुतुक्क भयो । उसको अनुहार कानसम्म रातो भयो ।

रात बितिसकेको थियो । उज्यालो भइसकेको थियो ।

ई झस्किएर उठ्यो । आँखा खोल्दा उसको दृष्टि पश्चिमी पर्खाललाई प्रकाशित गरिरहेका सूर्यका तेर्सा किरणहरूमा पर्‍यो । उसलाई थाहा भयो कि धेरै अबेर भइसकेको छ । उसले छाङ–ओलाई हेर्‍यो । ऊ गहिरो निद्रामा मस्त थिई । कुनै आवाज ननिकालीकन उसले चुपचाप कपडा लगायो, चितुवाको छाला बिछ्याइएको खाटबाट तल ओर्लियो र पंजाको भरमा हिंडेर ठूलो कोठामा पुग्यो । हात–मुख धुँदै उसले न्वी–कङलाई आदेश दियो कि उसले वाङ शङलाई घोडा तयार गर्न भनोस् ।

फुर्सद नभएकोले उसले धेरै दिनदेखि बिहानको खाजा खान पाइरहेको थिएन । न्वी–ईले पाँचवटा खमीरयुक्त रोटी, पाँचवटा हरियो प्याजका गट्टा र एक पोका रातो खुर्सानीको चटनी उसको झोलामा राखिदिई र धनुष–वाणसँगै झोलालाई कम्मरमा बलियोसँग बाँधिदिई । पटुका कसेपछि ऊ लामा पाइला चाल्दै कोठाबाट बाहिर निस्कियो । बाटोमा न्वी–कङ भेटिई । ऊसँग भन्यो :

“आज म शिकारको खोजीमा अलि टाढा जाँदै छु, फर्किन सायद केही ढिलो हुन्छ होला । तिम्री मालिकनीले जब बिहानको खाजा खाइसक्छिन् र यदि उनको स्वभाव राम्रो रह्यो भने मेरोतर्फबाट माफी मागेर उनलाई भन्नू कि साँझको भोजनसम्म मेरो प्रतीक्षा गर्नू । मेरोतर्फबाट माफी माग्न नबिर्सिनू !”

ऊ तेजसँग बाहिर निस्कियो र फूर्तिसाथ काठीमा सवार भयो । सईसहरूको बीचबाट गुज्रिंदै उसको घोडा क्रमशः दौडिन थाल्यो । छिट्टै नै उसले गाउँको सीमानालाई नाघ्यो । सामुन्ने काओल्याङ१को खेत फैलिएको थियो, जसको बीचबाट ऊ दिनहुँ निस्किन्थ्यो । यस ठाउँको बारेमा उसलाई पहिले नै थाहा थियो कि यहाँ केही छैन । त्यसकारण ध्यान नदिईकनै अगाडि बढ्दै गयो । दुई पटक चाबुक (छडी) घुमाएपछि घोडाले हावाको वेग धारण गर्न लाग्यो र नरोकिईकन साठी लीको दूरी पार गर्‍यो । अगाडि घना जङ्गल थियो । किनभने घोडा लगातार हाँपिरहेको थियो र पसिनाले लतपत भएको थियो, त्यसकारण उसको गति केही मन्द हुनु स्वाभाविक थियो । दस ली थप अगाडि गएपछि ऊ एक घना जङ्गलमा पुग्यो । तर त्यहाँ पनि ईले डाँस, कमिला, झिङ्गा, पुतली र सलइको अतिरिक्त अरू केही देखेन, पशुपंक्षीको त कहीं नाम–निशान नै थिएन । नयाँ इलाकाको पहिलो झलकले उसलाई आशा लागेको थियो कि यहाँ कम्तीमा पनि एक–दुईवटा हाब्रे र खरायो त अवश्य भेटिनेछन् । तर यो उसको कच्चा सोचाइ थियो । निराश भएर ऊ अगाडि बढ्यो । काओल्याङका हराभरा खेत फेरि देखिए । टाढा एक–दुई माटोका घरहरू पनि बनेका थिए । हावा बढी आनन्दप्रद थियो र घाम प्यारो लागिरहेको थियो । त्यहाँ न कुनै कौवा देखियो, न भँगेरो नै ।

“कस्तो समस्या आयो”, आफ्नो मनको बोझलाई हल्का गर्ने कोसिस गर्दै चिच्यायो ।

करिब दश–बाह्र कदम अगाडि गएको थियो होला कि ऊ खुशीले झुम्न थाल्यो । टाढा एउटा माटोको घरबाहिरसम्म जमीनमा एउटा पक्षी कदम–कदम हिंड्दै दाना टिपिरहेको थियो । त्यो एउटा ठूलो परेवाजस्तो लाग्दथ्यो । उसले धनुष–वाण निकाल्यो र निशाना साधेर जोरसँग वाण छोड्यो । बाण खसेको ताराजस्तै हावालाई चिर्दै आफ्नो लक्ष्यतिर अगाडि बढ्यो ।

ई आजसम्म कहिल्यै निशाना चुकेको थिएन । त्यसकारण कुनै सन्देहबिना शिकारको पछाडि दौडियो । तर जब नजिक पुग्यो, एउटी बूढी उसको घोडातिर दौडेर आई । ईको वाणले छेडेको ठूलो परेवा हातमा लिएर ऊ चिच्याइरहेकी थिई :

“तँ को होस् ? दिनहुँ अण्डा दिने मेरी असल काली कुखुरीलाई तँइले किन मारिदिइस् ? के तेरो अरू कुनै काम छैन ?”

ईको मुटु रोकियो । तर उसले तुरुन्तै उत्तर दियोः “के भन्नुभो ? यो कुखुरी हो ?” उसले हडबडाएर भन्यो, “मैले त यसलाई जङ्गली परेवा ठानेको थिएँ ।”

“के तँ अन्धा होस् ? उमेर त तेरो चालीसभन्दा अलि बढी नै लागिरहेको छ ?”

“हो आमा, यो सालदेखि पैंतालीस लागेको छु ।”

“भनाइ छ ः बूढो मूर्खभन्दा ठूलो मूर्ख अरू कोही हुँदैन ¤ कुखुरीलाई कसरी तँइले जङ्गली परेवा ठानिस् ? आखिर तँ को होस् ?”

“मेरो नाम ई हो ।”भन्दा–भन्दै उसका आँखा कुखुरीमाथि परे । बाणले त्यसको मुटुलाई वार–पार छेडिसकेको थियो, त्यसको प्राण लिइसकेको थियो । त्यसकारण घोडाबाट ओर्लिंदा ऊ आफ्नो नाम बताउनमा केही हिचकिचायो ।

“ई ? …. यो कस्तो नाम हो ? पहिले कहिल्यै नसुनिएको ¤” बूढीले गौर गरेर उसको अनुहारलाई हेरी ।

“मेरो नाम जान्ने मानिसहरूको कमी छैन । गुणवान राजा यायोको पालामा मैले जङ्गली सुँगुरहरू (बँदेलहरू) र अजिङ्गरहरूको शिकार गरेको थिएँ । …”

“यो सरासर झुटा हो ! तिनीहरूलाई त सामन्त फङ मङ१ र केही अरू मानिसहरूले मारेका थिए । हुनसक्छ, तँइले उनीहरूको मद्दत गरिस् होला । तर तँ यति ठूलो फूर्ति कसरी हाँक्न सक्छस् कि यो सब तँइले एक्लै गरेको थिइस् ? साह्रै लाजको कुरा छ ।”

“होइन आमा, फङ मङ त मसँग भेट्न विगत केही वर्षदेखि आइरहेको छ । हामीले सँगै कहिल्यै काम गरेनौँ । उसको यसमा कुनै योगदान छैन ।”

“तँ झुटो बोलिरहेको छस् । जसलाई हेर्‍यो, यसै भन्छ । महिनामा चार–पाँच पटक त सुनिहालिन्छ ।”

“ठीक छ आमा, ठीक छ ¤ तपाइँ जे भन्नुहुन्छ, उही ठीक छ । अब कामको कुरा गर्नुस् । यो कुखुरीको बारेमा के विचार छ ?”

“तँइले हर्जाना तिर्नुपर्छ । यो मेरी असल कुखुरी थिई । दिनहुँ एउटा अण्डा दिन्थी । यसको बदला मलाई दुईवटा कोदाली र तीनवटा कतुवा दिनुपर्छ ।”

“तर मतिर त हेर्नुस्, आमा ! म न त खेतीपाती गर्छु न कताइको काम । तपाइँको लागि कोदाली र कतुवा कहाँबाट ल्याऊँ ? मसँग पैसा पनि छैन । सिर्फ सेतो आँटाका पाँचवटा खमीरयुक्त रोटी छन् । तपाइँको कुखुरीको बदला यी पाँचवटा खमीरयुक्त रोटीको साथमा हरियो प्याजका पाँचवटा गट्टा र एक पोका रातो खुर्सानीको चटनी पनि दिनसक्छु । भन्नुस्, मंजुर छ ?…” एक हातले झोलाबाट खमीरयुक्त रोटीहरू निकालेर उसले अर्को हातले कुखुरी उठायो ।

बूढीलाई लाग्यो कि कुखुरीको बदला सेतो आँटाका खमीरयुक्त रोटी लिने कुरा नराम्रो होइन । तर उसले पाँचको ठाउँमा पन्ध्र रोटीको माग राखी । केही समयसम्म खिचातानी गरेपछि दश खमीरयुक्त रोटीमा सम्झौता भयो । ईले वाचा गर्‍यो कि भोलिपल्ट मध्यान्ह हुनुभन्दा अगाडि नै बाँकी पाँच रोटी ल्याइपुर्‍याउनेछु । जमानतको रूपमा आफ्ना बाण उसको पासमा छोड्न तयार भयो । त्यसपछि उसले अति विश्वासपूर्वक मृत कुखुरीलाई आफ्नो झोलामा हाल्यो, उक्लिएर काठीमा सवार भयो र घरतिर फर्कियो । ऊ भोको थियो, तर पनि खुशी थियो । उसले कुखुरीको रस चाखेको एक वर्षभन्दा पनि बढी समय भएको थियो ।

जङ्गलबाट बाहिर निस्किंदा–निस्किंदै तेस्रो प्रहर भयो । ऊ घर पुग्नको लागि बेचैन हुनथाल्यो, घोडालाई कसेर चाबुक लगायो । तर घोडा थाकेर चूर भइसकेको थियो । त्यसकारण साँझ हुनुभन्दा पहिले काओल्याङका खेतसम्म पुग्न सकेन । एक्कासि केही टाढा उसले एउटा धमिलो किसिमको आकृति देख्यो र तत्काल एक बाण हावालाई चिर्दै ऊतिर बढ्यो ।

दुलकी चालमा कुदिरहेको घोडाको लगाम नखिचीकनै ईले धनुष उठायो र वाण छोडिदियो । दुवै वाणहरू आकाशमा गएर एक–अर्कोसँग टक्राए । जोरको आवाज निस्कियो । झिल्काहरू उठे । दुवै वाणहरू एक–अर्कोसँग गाँसिएर “ख्” को आकार बनाए र जमीनमा खसे । प्रथम दुई वाणहरू आपसमा टकराउनासाथ दुवैतर्फबाट एक–एक वाण अरू छोडिए । तिनीहरू पनि आपसमा टकराउन पुगे । यसरी नौ पटक वाणहरू छोडिए र नौ पटक नै तिनीहरू आपसमा टकराए । ईको पासमा अब कुनै वाण बचेको थिएन । उसले आफ्नो सामु फङ मङ उभिएको देख्यो, जो उसको गरदनमा धनुषले निशाना साधिरहेको थियो ।

“ए, तँ पो होस् !” ईले मनमनै सोच्यो । “मैले त ठानेको थिएँ कि तँ आजभोलि सागरको किनारमा माछा मार्दै होलास् । मलाई के थाहा कि यहाँ कालो धन्दामा लागेको छस् । अब बुझें कि त्यो बूढी किन त्यस्ता कुराहरू गरिरहेकी थिई । ….” पलभरिमा फङ मङको धनुष पूर्ण चन्द्रमाजस्तै खिचियो र सनसनाउँदो वाण ईको गरदनतिर बढ्न लाग्यो । तर निशाना चुक्यो र वाण गरदनको बदला मुखमा गएर लाग्यो । ईले पल्टाबाजी खायो, वाणलाई मुखमा च्याप्यो र जमीनमा लड्नपुग्यो । उसको घोडा निश्चल उभिरह्यो ।

ई मर्‍यो भन्ने सोचेर, फङ मङ पंजाले हिंड्दै बिस्तार–बिस्तार उसको नजिक आइपुग्यो । बिजयको उन्मादमा मुस्कुराउँदै उसले ईको लाशमाथि आँखा लगायो ।

फङ मङ अहिलेसम्म उसलाई गौरसँग हेरिरहेकै थियो कि ईले आँखा खोल्यो र उठेर बस्यो ।

“सय–सय पटक मेरो पासमा आएर शिक्षा लिएपछि पनि तँइले केही सिक्न सकिनस् ।” उसले वाण मुखबाट बाहिर निकाल्यो र हाँस्न थाल्यो । “के तँ जान्दैनस् कि म ‘वाणलाई चबाउने’ कलामा कति कुशल छु ? ठूलो अफसोसको कुरा छ । तेरो दाउ खाली गयो । हुन पनि आफ्नै गुरुले बताएका दाउपेचहरूले तँ उसैलाई कसरी पछार्न सक्छस् र ? केही आफ्नै दाउपेच पनि त देखा ।”

“म त ‘उसैको खल्तीबाट उसैको रिन तिर्ने’ कथन चरितार्थ गरिरहेको थिएँ । …” विजेता धनुर्धारी बुदबुदायो ।

ई उठेर उभियो र जोरसँग हाँस्न लाग्यो । “तँ सधैँ कुनै न कुनै कथनको सहारा लिन्छस् । यसबाट चाहे बूढी प्रभावित किन नहोस्, तर म कदापि हुन्नँ, हुन सक्दिनँ । म सधैँ शिकार खेल्छु । तँजस्तो डकैती गर्दिनँ ।….”

झोलामा रहेको कुखुरी दुरुस्त देखेर उसलाई सन्तोष भयो । ऊ फेरि घोडामा सवार भयो र घरतिर हिंड्यो ।

“तेरो मृत्यु आवोस्, तेरो नाश होस् !….” पछाडिबाट गाली सुनियो ।

“म ठान्दिनथें कि यसले यति नीचता देखाउनेछ ।… उमेर सानै छ, तर अहिलेदेखि गालीगलौज सिकिसकेको छ । सायद त्यसैकारण त्यो बूढी यसको चक्करमा आई ।”

ईले उदास भएर शिर हल्लायो र अगाडि बड्यो ।

काओल्याङका खेत पार गरुन्जेल रात परिसकेको थियो । गहिरो नीलो आकाशमा ताराहरू चम्किन लागेका थिए । पश्चिम दिशामा शुक्र तारा अपूर्व चमक–दमकसहित शोभायमान थियो । ईको घोडा सेता आलीहरू भएको खेतको बीचबाट गुज्रिरहेको थियो । त्यो साह्रै थाकेको थियो, उसको गति धेरै ढिलो भएको थियो । भाग्यवश क्षितिजमा चन्द्रमाले आफ्नो सुन्दर प्रकाश छरिदियो ।

“के समस्या हो ¤” भोकको मारमा परेको ईको पेटमा मुसा कुदिरहेका थिए । उसको धैर्यको बाँध टुटिसकेको थियो । “पेट पाल्नको लागि म जति बढी परिश्रम गर्छु, त्यति नै बढी समस्याहरूको सामना गर्नुपर्छ । यसरी मेरो कति समय बरबाद हुन्छ !” उसले गति बढाउनको लागि घोडालाई चाबुक लगायो । तर घोडाले सिर्फ पुच्छर हल्लायो र पहिलेजस्तै बिस्तार–बिस्तार हिंडिरह्यो ।

“यति ढिलो भइसकेको छ । छाङ–ओ अवश्य रिसाउने छिन्”, उसले सोच्यो । “ऊ रिसले रातो–पहेंलो पनि हुनसक्छे । धन्य छ, म उसलाई खुशी पार्नको लागि एउटा कुखुरी लिएर गइरहेको छु । उसलाई भनिदिन्छुः ‘श्रीमतीजी, दुईसय लीको चक्कर लगाएर आएको छु । तब कहीं यो कुखुरी भेटियो ।’ होइन, यो ठीक छैन, यो धेरै बढाइ–चढाइ गरेको कुराजस्तो लाग्छ ।”

छिट्टै नै अगाडि उज्यालो देखिन लाग्यो । ऊ खुशी भयो । चिन्ता हट्यो । घोडा नहाँकीकन तेजसँग दौडिन लाग्यो । हिउँजस्तै सेतो गोलाकार चन्द्रमाले उसको मार्गलाई उज्यालो बनाइरहेको थियो । चिसो–चिसो हावाको स्पर्शले अनुहारमा एक नयाँ ताजगी भरिरहेको थियो– उसलाई कुनै ठूलो शिकारबाट फर्किएभन्दा पनि बढी आनन्द अनुभव हुन लाग्यो !

मलको थुप्रोनेर पुगेर घोडा आफैं रोकियो । ईले एक दृष्टिमा बुझ्यो कि केही गडबड छ । पूरै घरमा हङ्गामा मच्चिएको थियो । सिर्फ चाओ फू उसको स्वागत गर्न बाहिर आई ।

“के भयो ? वाङ शङ कहाँ छ ?” उसले सोध्यो ।

“यायो परिवारमा मालिकनीलाई हेर्न गएका छन् ।”

“के रे ? मालिकनी यायो परिवारको घरमा गएकी छिन् ?” ई स्तब्ध भयो ।

“हो, मालिक ।” चाओले लगाम र चाबुक सम्हाली ।

ई घोडाबाट ओर्लियो र सँघार पार गरेरभित्र पस्यो । एकक्षण सोचेर उसले फेरि सोध्यो :

“कहीं मालिकनी पर्खिंदा–पर्खिंदा थाकेकी त थिइनन् ? कुनै रेष्टुराँमा त गइनन् ?”

“होइन, मालिक । मैले तीन रेष्टुराँहरूमा हेरिसकेकी छु । त्यहाँ हुनुहुन्न ।”

ई विचारमा डुब्यो ।भित्र जाँदा तीनै दासीहरू ठूलो कोठाको सामु अतालिएर उभिएका देख्यो । ऊ हैरान भएर करायो :

“यो के हो ? तिमीहरू तीनैजना यहीं छौ ? तिमीहरूकी मालिकनी एक्लै त यायो परिवारको घरमा जाँदिन ।”

उनीहरू चुपचाप ऊतिर हेरिरहे । उनीहरूले ईका धनुष, ठोक्रो र कुखुरी भएको झोला उतारे । ई एकक्षणको लागि सशङ्कित भयो । कहीं रिसमा आएर छाङ ओले आत्महत्या त गरिन ? उसले न्वी–कङलाई पठाएर चाओ फूलाई बोलाउन लगायो, ताकि उसलाई पछाडिका तलाउ र रुखहरू हेर्न पठाउन सकियोस् । तर जब आफ्नो कोठामा पुग्यो, थाहा भयो कि उसको अनुमान गलत थियो । सम्पूर्ण कोठा अस्तव्यस्त भएको थियो । बाकस खुलेका थिए । पलङ्गको पछाडि दृष्टि दिनासाथ थाहा भयो कि गहनादानी गायब छ । उसमाथि घैलाको पानी खनिएजस्तो भयो । सुन–चाँदी, हीरा–मोतीको उसलाई खास परवाह थिएन । तर साधु बाबाले दिएको अमृत रसायन (संजीवनी) पनि त त्यसैमा थियो ।

ईले कोठामा दुईपटक यताबाट उता चक्कर लगाइसकेपछि ढोकामा वाङ शङ देखियो ।

“हजुर, मालिकनी यायो परिवारको घरमा हुनुहुन्न । आज त्यहाँ माच्याङको खेल भइरहेको छैन ।”

ईले उसतिर हेर्‍यो, तर केही बोलेन । वाङ शङ गयो ।

“हजुर, के तपाइँले मलाई संझिनुभएको हो ?” चाओ फूलेभित्र आएर सोधी ।

ईले शिर हल्लाएर नकार्‍यो र इशाराद्वारा उसलाई बाहिर पठायो ।

ऊ लगातार कोठामा चक्कर लगाइरह्यो । केही समयपछि ठूलो कोठामा गएर बस्यो । सामुन्नेको भित्तामा आँखा पुग्नासाथ सिन्दुरे धनुषवाण, काला धनुष वाण, कलदार धनुष, तरवार, छुरी– सबै हतियार देखिए । केही बेर सोचेपछि उसले काठको मूर्तिजस्तै उभिएका दासीहरूलाई सोध्यो :

“तिमीहरूकी मालिकनी कुन बेलादेखि बेपत्ता छिन् ?”

“जब म बत्ती लिएरभित्र आएँ, यहाँ हुनुहुन्नथ्यो”, न्वी–ईले भनी, “तर वहाँलाई बाहिर जानुभएको कसैले देखेन ।”

“के तिमीहरूले उनलाई त्यो बाकसबाट कुनै औषधि निकालेको देखेका थियौ ?”

“देखेनौँ, मालिक । हो, आज तेस्रो प्रहरमा वहाँले मसँग पानी चाहिं माग्नुभएको थियो ।”

ई व्याकुल भएर उठेर उभियो । उसलाई सन्देह भयो कि छाङ–ओ उसलाई यस दुनियाँमा एक्लै छोडेर चन्द्रलोक गइसकेकी छे !

“के तिमीहरूले कुनै चीज आकाशतिर उडेको देख्यौ ?” उसले सोध्यो ।

“हो, हो ¤” न्वी–शिनले केही सम्झेजस्तो गरी ।” जब म बत्ती बालेर बाहिर आइरहेकी थिएँ, त्यसबेला एउटा कालो–कालो छायाँ यहाँबाट माथितिर उडिरहेको देखें । म सोच्न पनि सक्दिनथें कि मालिकनी हुनुहोला ।…” उसको अनुहार पहेंलो भयो ।

“अवश्य उही होली !” ईले जोरसँग घुँडामा हात बजार्‍यो र उफ्रियो । कोठाबाट बाहिर निस्किएर न्वी–शिनसँग सोध्योः “छायाँ कतातिर गएको थियो ?”

न्वी–शिनले औँलाको इशाराले दिशा बताई । तर त्यतातिरको आकाशमा त हिउँसमान सेतो गोलाकार चन्द्रमा तैरिरहेको थियो, त्यसभित्र धमिला मण्डपहरू एवं वृक्षहरूको अलावा कहीं केही देखिइरहेको थिएन ।

जब ई सानो थियो, त्यसबेला हजुरआमाले चन्द्रमाको अनुपम प्राकृतिक सौन्दर्यको बारेमा उसलाई धेरै कुराहरू बताएकी थिई । तिनीहरूको धमिलो–धमिलो सम्झना ईको मास्तिष्कमा अझै पनि रहिरहेको थियो । नीलो सागरमा तैरिरहेको चन्द्रमाको सौन्दर्य देख्नासाथ उसका हात–खुट्टा बोझिलो लाग्न थाले ।

उसको अनुहार क्रोधले तमतमाउन थाल्यो । ऊ चन्द्रमालाई खसाइदिनको लागि बेचैन भयो । आँखा डरलाग्दा हुन थाले । गर्जन गर्दै दासीहरूलाई आदेश दियो :

“जाऊ, मेरो धनुष उठाएर लेऊ ¤ त्यो धनुष, जसद्वारा मैले अनेकौँ सूर्यहरूलाई खसालेको थिएँ ! साथमा तीन वाणहरू पनि !”

न्वी–ई र न्वी–कङले ठूलो कोठाको बीचको भित्ताबाट एउटा विशाल धनुष निकाले, त्यसको धूलो झारे र तीन लामा वाणहरूको साथमा त्यसलाई ईको हातमा राखिदिए ।

एक हातमा धनुष उठाएर उसले अर्को हातले तीनै वाणहरूलाई ताँदोमा चढायो र चन्द्रमातिर निशाना साधेर सम्पूर्ण शक्तिले डोरी खिच्यो । ऊ चट्टानजस्तै बलियोसँग उभिएको थियो । आँखाहरूबाट झिल्काहरू बर्सिरहेका थिए । शिर र दाढीका केश आगोका लप्काहरूसमान हावामा उडिरहेका थिए । एकक्षणको लागि ऊ फेरि उही धनुर्विद्यामा पारङ्गत वीर लाग्न थाल्यो, जसले आजभन्दा धेरै पहिले अनेकौँ सूर्यहरूलाई खसालेको थियो ।

एक–एक गरेर तीन पटक ‘सुँइय’ आवाज आयो । तीनै वाणहरू छुटिसकेका थिए । वेग यति तीव्र थियो कि तिनीहरूलाई देख्न या तिनीहरूको आवाज सुन्न असम्भव थियो । हुन त तीनै वाणहरूले चन्द्रमाको एकै स्थानमा प्रहार गर्नुपर्दथ्यो, किनभने तीनैवटा ठीक एकपछि अर्को छोडिएका थिए र तिनीहरूमा रौँ बराबर पनि अन्तर थिएन । तर वाणले निशानामा निश्चित मार गरुन् भन्ने उद्देश्यले उसले तीन वाणहरूको दिशामा अलि–अलि फरक गरिदिएको थियो, ताकि तीनै वाणहरूले चन्द्रमाका तीन अलग–अलग स्थानहरूमा लागेर तीन घाउहरू बनाइदेऊन् ।

अचानक दासीहरू चिच्याए । उनीहरूले देखे कि चन्द्रमा लडखडाइरहेको छ, उनीहरूलाई लाग्यो त्यो अवश्य तल खस्नेछ– तर चन्द्रमा बिलकुल दुरुस्त शान्तसँग आकाशमा टिकिरह्यो र पहिलेभन्दा पनि बढी शीतल र उज्ज्वल प्रकाश छरिरह्यो ।

ईले आफ्नो शिर उठाएर आकाशतिर हेर्‍यो र चन्द्रमालाई हाँक दियो । केही बेर प्रतीक्षा गरिरह्यो । तर चन्द्रमामाथि कुनै असर परेन । ईले तीन कदम अगाडि बढायो, तब चन्द्रमा तीन कदम पछाडि हट्यो । ई तीन कदम पछाडि हट्यो, तब चन्द्रमा तीन कदम अगाडि बढ्यो ।

दुवै चुपचाप एक–अर्कोलाई हेरिरहे । हताश भएर ईले आफ्नो धनुषलाई ठूलो कोठाको भित्ताको सहारामा ठड्यायो र आफूभित्र गयो । दासीहरू उसको पछि–पछिभित्र पसे ।

ऊ बस्यो । मुखबाट एक सुस्केरा निस्कियो, “तिमीहरूकी मालिकनी एक्लै सदा–सदाको लागि गएकी छिन् । उनी सुखचैनले रहनेछिन् । मलाई यहाँ छोडेर उनी एक्लै किन गइन् ? के मलाई धेरै बूढा ठान्थिन् ? तर भर्खरै पछिल्लो महिनामा त उनले भनेकी थिइन्ः ‘तिमी बूढा छैनौ । आफूलाई बुढा ठान्नु मानसिक कमजोरीको चिह्न हो’ ….”

“कारण यो होइन”, न्वी–ईले भनी । “मानिसहरू तपाइँलाई अब पनि वीर योद्धा ठान्छन्, सरकार ।”

“कहिलेकाही तपाइँ साँच्ची नै एक कलाकार समान देखिनुहुन्छ”, न्वी–शिनले भनी ।

“यो सब फजुल कुरा हो ! वास्तविकता यो हो कि सेवई र कौवाको चटनी उनले खानयोग्य थिएनन् । यसको लागि म उनलाई दोषी ठान्दिनँ ।…….”

“चितुवाको छाला एकतिरबाट बिलकुल खुइलिएको छ । भित्तातिरको खुट्टाको भाग काटेर यसलाई ठीक गरिदिन्छु । त्यसपछि यो राम्रो देखिन लाग्नेछ ।” यसो भन्दै न्वी–शिनभित्र जान लागी ।

“पर्खी ।” ईले केही सोचेर भन्यो, “यसको अहिले के हतार छ ? म भोको छु । पहिले मेरो लागि तुरुन्त कुखुरीको मासु, खुर्सानीको चटनी र एक धार्नी आँटाको रोटी बनाएर ले । त्यसपछि म सुत्छु । भोलि साधु बाबाको पासमा गएर एउटा अर्को अमृतरसायन मागेर ल्याउँछु, ताकि छाङ–ओको पछि–पछि म पनि चन्द्रलोकमा पुगौँ । न्वी–कङ, तँ वाङ शङलाई भनिदे कि घोडाको सामु चार बाल्टी दाना हालिदिनू ।”

डिसेम्बर, १९२६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित