पलाउन्न ढुङ्गो

टङ्कराज ढकाल (तितेपाती)

छन्द–विभाकर
गण ज र त त गु गु यति ८ मा

हिजो बिहान को आयो कता थ्यो हतारो
खुलेर खान आमाको बनेको पसारो
रहेछ चोर्न धन्दा नै खुराफात साह्रो
मिलेछ ताल टालोमा जसै खोज्छ चारो । १

गला सुकेछ पानीले भिजाउन्न घाँटी
कुरा चुहेछ वित्थामा लडेको छ खाँटी
धरा दिएछ सित्तैमा निभेको छ काँटी
उसै मरेछ लोभी जो शिकारी छ ठाँटी । २

पछाडि लाग्छ पैसाको भकारी छ भर्दै
कुरान ढोग्छ नाफामा हसुर्दै डकार्दै
हराभरा परायाको छ गोडा मसार्दै
पुगेन ढË के होला उचाल्दै पछार्दै । ३

छ तस्करी मलामी जो गुलामी हलुङ्गो
जताकतै हरामी छन् र गुण्डा छ थुङ्गो
अभावको सिरानीमा छ मुर्दा त नाङ्गो
प्रभावको कुराकानी अनायास छ बाङ्गो । ४

दलाल चाल यो कस्तो गफाडी छ बुङ्गो
हजार तालमा चल्ने पुगेको छ कङ्गो
बनेर चोरको साथी कताको अपुङ्गो
हराम दाशसत्ताको कुरौटे धतङ्गो । ५

कुवेरका सयौँ फन्दा बनेछन् जुलुङ्गो
लुटेर खानमा पल्के कतै छैन टुङ्गो
बखान यानका गर्ने रहेछन् भुतुङ्गो
किनारको चिता चढ्ने पलाउन्न ढुङ्गो । ६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित