अब मलाई गाउँ जानुछ !

 

 

 

डा. नवराज लम्साल ••

धेरै वर्ष भयो सहर पसेको
र सहर आफैँले पनि
धेरै कुरा सिकाएको छ मलाई ।

आँशुमा आशा खोज्न सिकाएको छ,
घृणामा माया खोज्न सिकाएको छ
मृत्युको डिलमै पुगेर बाँच्न सिकाएको छ
र जिन्दगी आफैँले सिकाएको छ–
बाँच्नु पहिलो सर्त हो जिन्दगीका लागि ।

जानु छ,
मैले सिकेका सबै सीप
र सिर्जना लिएर गाउँ जानुछ ।

सहरले मलाई
हारहरूको चिहान उघारेर
गुलाब रोप्न सिकाएको छ ।

अक्षर सिकाएको छ, चेतना सिकाएको छ
बदला होइन, क्षमा सिकाएको छ
हृदय सिकाएको छ
र हरेक दु:ख सहेर हरियो हाँस्न सिकाएको छ ।

सहरले दिएको
ज्ञानको आकार र अन्तरको अनुभूति लिएर
अब मलाई गाउँ जानुछ
र भुक्तान गर्नुछ
साहुका ऋणजस्ता लाग्ने गाउँका सबैसबै कथाहरू !

स्कुलमा सबैलाई पुग्ने बेन्ची थिएन
बेन्चीबाट मलाई दिनहुँ फुत्तफुत्त फाल्ने साथीलाई भेट्नुछ

एउटा कर्ची किन्दिनुछ र भन्नु छ–
तिरस्कार बुझेपछि
प्रेमको मूल्य बुझ्न सजिलो हुनेरहेछ, साथी ।

गरिबको हुर्मत दिने
ब्याजी साहुलाई गुलाबको एउटा बिरुवा दिएर भन्नुछ–
दाजै
यो गुलाब हुर्काऊ
र निर्दोषीलाई दोषी करार गरेर कसैलाई कुट्नु परे
यसैले कुट !

एउटा निर्दोष
तिम्रो आँगनमा दोषी भएको नदेखेको भए त
म कसरी बुझ्थेँ र सत् र असत्को मूल अर्थ ?

मेरो खेतको
सिमाना च्यापी च्यापी मरेकाहरूको सम्झनामा
एउटा सालिक बनाइदिनुछ उसकै घरछेउ
र तिनका सन्तानलाई भन्नुछ–
जीवनभर लुटेको माटो यहीँ छोडेर
तिम्रो बा खाली हात गएको नदेखेको भए
कसरी थाहा हुन्थ्यो र
गरिबको आँगनमा किला ठोकेर साहु हुनेको पापकर्म !

राति सुटुक्क खोरखोरमा छिरेर
खसीबाख्रालाई विष खुवाइदिनेहरूलाई
एउटा एउटा खोर बनाइदिनुछ,
एउटा एउटा पाठी दिनुछ बाख्राको
र भन्नु छ–
खसी मरेपछि आमा रुनुभएको देखेरै हो मैले
आँसुको मूल्य बुझेको
बाख्राका यी पाठाहरू राम्ररी हुर्काउनू
र नडराउनू म तिम्रो खोरको बाख्रा मार्न
कहिल्यै आउने छैन ।
खरबारीमा आगो लगाइदिनेहरूलाई
पोखरी खन्न सिकाउनु छ र भन्नु छ
मेरो पुछार गरामा तिम्ले खेती गरे हुन्छ
माटो कसैको हुन्न, बाटो कसैको हुन्न
मरेपछि आफ्नै भनिएको माटो कुल्चिएर हिँड्न पनि पाइन्न ।

सम्पत्ति भन्नु त
एक पेट खानु र एक हर लाउनुको सीमासम्म न हो ।

हिलो छ्यापेकी निर्मायाले हिलो हैन दिल फ्याँकेकी रैछे
माफ गर निर्माया
हिलोको सुगन्धमा प्रेम चुमेर यतै हराएको भए त
शरीरभोग बुझ्ने रहेछु, प्रेम र जीवन नबुझ्ने रहेछु
लाऊ राख
मेरो दिल मिसिएको यो जाली रुमाल ।

अन्तरी वनमा जानुछ
र पूर्णिमालाई भन्नुछ–
अब हिजोजस्तो लोभी नभन्नू
पुरै बट्टा देउराली चुरोट ल्याएदिएको छु
उस्तैउस्तै त रहेछ :
चुरोटको धुवाँ र स्मृतिको आगोमा जीवनको धुवाँ ।

यसरी जाँदा
रामुलाई लगिदिनुछ, एउटा मादल र भन्नु छ–
साथी हिजो मादल फुटेर तिमी रुँदा रुन सकिनँ
मादलबिना देउसी रोयो
असारे रोयो
सोरठी, घाटु, म्हेन्दो माया र नयाँ वर्षको शुभकामना रोयो
मेरो बा मलाई नाचगानमा जान दिनुहुन्थेन
मादल फुटेपछि तिम्रा बाले छेक्नुभएथ्यो तिम्रो बाटो ।

यसरी बेलाबेला दैलैमा पाइला नछेकिएको भए त
बाटामा हिँड्नुको मजा कसरी थाहा हुन्थ्यो र ?

गाउँ पुगेँ,
तर गाउँका कोही बाँकी रहेनछन् गाउँमा
गाउँ रित्तिएछ, गाउँ एक्लिएछ
ढलेछ पीपल वृक्ष र सुकेछ धारापानी
कोइलीले पनि गाउन छोडेछ र नाच्न छोडेछ जुरेली
भत्किएको दमैचौतारामा उभिएर सोच्दैछु आज–

केही त भएकै हो,
म गाउँ आउन ढिलो भएको हो कि
गाउँ सहर जान छिटो भएको हो ?

मधुपर्क, २०८० जेठ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित