चैनको निद छैन

टङ्कराज ढकाल तितेपाती ••

छन्द–जुगल गण म य र स गु यति ७ मा

रात्रीमा उठेछौ खै शान्तिको रस छैन
जागा छौ दिवामा भ्रान्तिपूर्ण बखान
खान्छौ के र खाना जो थियो उखान
उस्तै देख्छु के हो यो चैनको निद छैन । १

टाढा छौ कताहो ध्यानमा दिल छैन
भाग्दैछौ कता खै कर्ममा मन छैन
नाघ्दैछौ तगारो के मर्ममा बल छैन
नाच्दैछौ खटारो भै चैनको निद छैन । २

हाँस्दैछौ हतारोमा भेदको हल हुन्न
भर्दैछौ कतारोमा वैभवी मल तुन्न
गाँस्दैछौ हलो मामा धान आलस छैन
छाँट्दैछौ बडो अर्ती चैनको निद छैन । ३

बोल्दैछौ फटाहा झैं खेदको पल छैन
घुर्दैछौ सुताहा भै स्वादमा भर छैन
चाख्दैछौ अझै धेरै खाममा धन छैन
भ्रष्टाचार नाफाले चैनको निद छैन । ४

लोकाचार आमाको पार्दछौ किन छुन्न
ढोका चार हालेछौ हातमा दश हुन्न
सत्ता पुग्न धाएछौ चोरको बश छैन
धामा गर्न लागेछौ चैनको निद छैन । ५

लामो तार गाँसेछौ तारमा बिंड छैन
हाताहात मागेछौ मागको सुर छैन
पारावार दौडेछौ खै नदी तल छैन
काटाकाट गर्दैछौ चैनको निद छैन । ६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित