गच्छे अनुसारको सम्झौता

– जितामित्र सुनार

लाछीहरू
लोभीहरू
सिनो कुरेर बस्छन्
स्यालहरूले पनि कुर्छन्
गिद्धहरूले पनि कुर्छन् र
ब्वाँसाहरूले पनि कुर्छन्
कहिले काहीं ता गज्जब पनि हुन्छ
आफुलाई अब्बल ठान्ने
सिंहहरूले पनि सिनो कुरेका हुन्छन् ।
भोक मेटाउन
सिनो मिलेरै लुज्छन्
भोक मेटिएपछि
खोइ किन हो?
आपसमा
टोका टोक गर्छन्
लड्छन्
भिड्छन्
र सिनो सक्छन्
अनि
आ–आफ्नो
गुण अनुसारको
दम्भ देखाउदै
मारा मार गर्छन् ।
केही समयपछि
फेरि
लाछीहरू
लोभीहरू
सिनोको लागि लडेकाहरू
फेरि संगै सिनो कुरेका हुन्छन्
चोचो मोचो मिलाएका हुन्छन्
¥याल चुहाउँदै गफिएका हुन्छन्
अनि भन्छन् ,
संझौतामा गच्छे अनुसार
बाडी खाउला
संझौतामा गच्छे अनुसार
चल्दै जाउला
तर लाछीहरू
लोभीहरू
फेरि लड्छन्
फेरि भिड्छन्
र फेरि
सिनोको लागि
संझौता गर्छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित