विदेशिनेको मन

–मनु वि.क.
म विदेश लाग्न थालेको लामो समय भयो । विदेशमा दुईपल्ट विदेश आएपछि विवाह गरें । घर पहाडको टाकुरामा ,खान लाउनको समस्या वर्षाभरि पानी परेर मलिलो माटो जति बगिजाने । हिउँदमा बारी बाँझै र सुख्खा भईरहने । नत पानीको राम्रो व्यवस्था नत केही सुख्खा सुविधा वर्षभरि काम गरेपछि मात्र हामीले चार पाँच महिना खान पाइन्थ्यो । बाँकी सबै ऋणधन नै हो । गरिबको घरमा जब चाडबाड आउँछ चाडबाडले दुईटा कुरा लिएर आँउछ ।

एउटा क्षणिक खुशी अर्को ऋण । ऋण लागेपनि चाडबाड त मनाउनु नै पर्यो सबैका सामु ईज्ज्यत राख्नु नै पर्यो । गर्दा गर्दै ऋण लाग्दै गयो । एक घर दुई घर जता पनि सापटी माग्दा माग्दै सापटी माग्दा माग्दै ऋण माग्ने घर पनि सकियो । घरमा केटाकेटी जहान के गर्ने कसो गर्ने भन्नेमा भौंतारिरहेका हुन्छन् । अब मलाई घरबसेर केही फाईदा नै छैन भन्ने लाग्यो । म विदेश जानको लागि हिँडे । विदेश पठाईदिने काम गर्ने एक जना दाईलाई भनें ।म विदेश जान्छु ।उनले जवाफ फर्काए । मैले पहिला नै भनेको मानेनौं । अहिले भएपनि तिम्रो बुद्धि फिरेछ राम्रो भो । उनले जे भने पनि काम मिलाउने भने । नभन्दै उनैले विदेशमा लेवर कामकोलागि वातावरण मिलाईदिए । विदेश जाने दिन आयो । जसरी भएपनि विदेश हिड्नु थियो । तर एकलाख भन्दा माथि लाग्ने भो ।त्यो पनि ऋण नै खोज्नु पर्ने भयो । ऋण खोज्न हिड्दा हिँड्दै कहिँ पनि पाईँदैनकि जस्तो भयो । सबै कुरा विदेश पठाईदिने दाईलाई बेलिविस्तार लगाँए । तर पनि पनि चाहिएको पैसा हो भन्ने बाहेक अरु केही पनि भएन । उनले फेरी राम्ररी अर्ति दिए । राम्रोसंग खोज सबैलाई भन । म फेरी निराश भएँ । घरमा साहुहरु आउने समय हुन थालिसकेको । म विदेश जान्छु र पठाईदिन्छु भनेको तर विदेश जाने दिन जजिकिन लाग्दा सम्म विदेश जाने पैसा अझै भएको छैन ।फेरी गाउँमा खोज्न हिँडे । सबैसंग पैसा नभएको जस्तो छैन । दिन नचाहेर नदिएको बुझिएको छ । अब म निराश अनुहार लिएर हिड्नुको विकल्प भएन । म भित्र भएका तमाम पीडाहरु पनि लिएर हाँसेको थिए । तीनै दाईलाई भन्ने मनमनै सोचेँ । उनेलाई भन्नु पर्यो । वहाँ गएर पठाई दिने बाचा गर्नु पर्यो । भनेर उनैलाई कथा सुनाएँ ।

उनले छिटो उड्नु पर्छ भिसाको म्याद आईसक्यो भन्ने कुरा गरे । मैले मलाई ऋण सापटी दिनुहोला भनें (त्यति भन्न पनि गाउँकै भएकाले सजिलो भयो । )उनले व्याजको कुरा गरे । मैले हुन्छ व्याज तिरौंला भन्ने कुरा गरें ।अरुलाई पनि तिरीरहेकै छु। अब तपाइँलाई नतिर्ने भन्ने कुरा हुँदैन ।मेरो थप बाचा भयो ।उनले हुन्छ भन्ने कुरा गरे । मलाई अब उड्न पाउने कुरा ढुक्क भयो ।घरमा सबैलाई यो कुरा सुनाएँ । छोराछोरीले यो कुरा सुनेको सुन्यै गरे । तर बुढीभने रुनु न हाँस्नु भएर कुरा सुनिरहिन् । भिसाको मिति आउनुभन्दा ३ दिन अगाडि काठमाण्डौ जानुपर्ने भयो । म विदा भएर हिँडे । विदा हुँदा छोराछोरी च्याप्पै आँसु पुछ्दै थिए । म जसरी पनि जानुनै पर्ने थियो । गएँ । गाडीले अबेर राती मात्रै काठमाण्डौ पुर्यायो । होटेलमा बास बसे । काठमाण्डौ नयाँ लाग्दैन । पहिले पनि देखेकाले बास बसेकाले काठमाण्डौ त्यस्तै हो भन्ने छ ।

होटेलमा केही नखाई एउटा बेडमा बसें । त्यहाँ विदेश जानका लागि आएका म जस्ता धेरै युवाहरु सुतिरहेका थिए । होटेल वालाले बस्ने ठाउँ देखाईदिएर गए । म पनि थकाई लागेकोले सुतिहालें ।
भोलिपल्ट बिहान बिउँझिएँ ।अरु पनि म जस्तै बिउँझिए । सबै आआफ्नै सुरमा थिए । परिचय गर्ने पनि कसैलाई फुर्सद थिएन । कोही श्रम कागज बनाउने हतार कोही मडिकल गर्ने हतारमा दौडादौड थिए । म पनि त्यसमा नै मिसिएँ। श्रम गर्न र मेडिकल जाँच गर्न निकै लाईन थियो । खान न पिउन लाईनमा बसेका युवाहरु पहाडै बोक्लान जस्ता । लाईनमा फरक फरक अनुहार ,फरक फरक जिउडाल भएपनि उमेर भने एउटै थियो । २०देखि ४० वर्षसम्मका । यो उमेर सबै गर्न सक्ने उमेर लाईनमा लागिरहेको थियो । लाईन मै लाग्दा लाग्दै राति अबेर भयो ।दुवै काम सकियो । रिर्पोट पनि उत्तिखेरै थमाईदिए धन्न । फेरि होटेलमा आई बास बसियो । यतिबेला भने खाना नखाई भएन । खानको लागि सादा खानाको अर्डर गरें । पेटभरि खाना खाएँ र सुतें भोलिपल्ट साँझ ५ पाँच बजेको फ्लाईटमा विदेश आएँ । यहाँ आउँदा सबै नयाँ थियो । लेबर काम लगाउने कम्पनी रहेछ ।कम्पनीको मान्छे लिन आए । म उतै लागें । आउने दिन काम गर्ने कुरा भएन । तर भोलिपल्टदेखि त्यहि कम्पनीमा काममा लागें । त्यहाँ मजस्ता धेरै नेपाली कामदार रहेछन् । एक दिन दुई दिन गर्दै केही सित परिचय पनि हुँदै गयो । सबैले घरकै कुरा गर्दथे । कोही हिमाल कोही पहाड त होही तराईका मान्छेहरु थिए । जताका भएपनि आखिर नेपालका नेपाली हुन् भनेर माया लाग्दथ्यो । अब घरमा फोन गर्ने नम्बर पनि मिल्यो । घरमा फोन भयो । छोरा छोरी बुढी संग कुरा भयो । सानी छोरीले बाबा कहिले आउने भनेर सोधिन म भोलि आउँछु भनेर फोन राखेँ ।अब काममा लाग्नु थियो यता काम भारी छ । उता घरमा के होला ,कसो होला भनेर मन छट्पटाईरह्यो । साहुले गाली गर्दापनि मुटुभरि गाह्रो पारेर घर सम्झिरहेँ ।आफनै आँगन सम्झिरहेँ । आफ्नै बुढी ,छोराछोरी सम्झिरहें । जब बिहान हुन्छ , छोराछोरीले खाएकी खाएनन् होला भनेर सम्झिरहन्छु । जब दिन हुन्छ ,छोराछोरी स्कुल गएहोलाकि गएनन् होला भनेर सम्झिरहन्छु । जब साँझ हुन्छ छोराछोरी स्कुलबाट घरमा फर्केकि फर्केनन् भनेर मनले सम्झिरहन्छ । साँझमा मेरी श्रीमतीले के गरी होला भनेर मनभरी छटपटी हुन्छ । छटपटीलाई पोख्न पाए हुनेथियो भन्ने हुन्छ । तर मनको दुरी नजिक भएपनि सीमानाको दुरी टाढा भएका कारण सम्झिन मात्रै हुन्छ । दिनहरु बित्दै गए । अब बुढी छोराछोरी फोनको आशामा मात्रै बस्ने भए । आफु तातो घाममा पसिनाको धारा बगाईरहेको छु । चार महिनाको तलब सिधै गाउँको दाईको खातामा गयो । घर केही पठाउन पाईन । पाँचौं महिनाको तलब घर पठाएँ । केटाकेटी, बुढी खुशी भए । सुनाउँदै थिईन् श्रीमती घरबाट । पसलमा खाएको ऋण तिरें । छोराछोरीलाई किताब ,कापी ,झोला ,औषधी किनेको पैसा तिरेँ । केही पसलमा बाँकी छ ।अब बाँकीले एक महिना सम्म पुर्याउनु पर्छ । उनको दैनिकी यस्तै चलेको छ । विदेशिएको छु मन भरी उही बुढी छोराछोरी माथि छ , छोराको हाँसो कस्तो भयो होला? श्रीमती कसरी बसेकी होलिन् । छोरीको फुरफुर नाँच कस्तो भयो होेला ? मैले बसेर ताली मारिदिनु पाए कति नाँच्थिन होलिन् ।चाडबाड संगै बसेर मनाउन कति रमाईलो हुन्थ्यो होला? छोरा छोरी कति खुशी हुन्थे होला ? पानी खाएपनि संगसंगै कति मीठो हुने थियो होला ? तल्ला घरका काकाको स्वास्थ्य कस्तो भयो होला? उनलाई औषधीले छोयो कि छोएन होला? सबै कुरा श्रीमती संग सोध्न पनि पैसा नै लाग्दछ । छिटो छिटो फोन राख्नु पर्नेहुन्छ । यता दिनहरु यस्तै पर्खाइमा बितिरहेका छन् । दिन बित्न निकै गाह्रो छ । तर मन जति सबै उही घर गाँउमा नै छ । के गर्नु विदेशिनेको तन विदेशमा भएपनि मन आफ्नै देशमा हुन्छ । सोचे सबै विदेशिनेको मन मेरो जस्तो नै भईरहेको होला ।तर के गर्ने अर्काको काममा नलागी भएन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित