कवि किशन शर्माको “अपिल”

– रामबहादुर बुढा
कवि किशन शर्माको “अपिल” शीर्षकमा कविता संग्रह (खण्ड एक) प्रकाशित भएकोछ । २०८० फागुनमा प्रकाशित यस कविता संग्रहमा ३१ वटा कविता संकलित छन् ।

किशन शर्मा सित मेरो नजिकबाट चिनजान भएको नेकपा (एकताकेन्द्र–मसाल) को समयमा हो । २०५९ साउनमा नेकपा (मसाल) र नेकपा ( एकताकेन्द्र) बीच पार्टी एकता भइ नेकपा( एकताकेन्द्र – मसाल) बनेको थियो । २०५९ मा गठन भएको पार्टी २०६३ मा तीन वटा पार्टीमा बिभाजित भएको थियो । २०६० सालको हिउँदमा नेकपा (एकताकेन्द्र मसाल) चार नम्बर क्षेत्रीय ब्युरो (धवलागिरी– लुम्बिनी –राप्ती) ले जनता माथि राज्य र माओवादी दुवै पक्षबाट हुने गरेका ज्यादतीको विरोध गर्न भनी त्यस क्षेत्रमा अभियान चलाएको थियो । मलाई पार्टीले नवलपरासी जिम्मा लगाएको थियो । पूर्व एकताकेन्द्र पक्ष माओबादी प्रति नरम र पूर्व मसाल पक्ष कठोर रहेको त्यो अबस्थामा पनि अभियान चलेकोथियो । आफ्ना असहमति पार्टीमा राखे पनि फिल्डमा इमान्दारीपूर्वक खट्न सक्ने नेता भनेर पूर्व मसाल पक्षका साथीहरूले पनि किशन शर्माको तारिफ गरेको कुरा मेरो मानसपटलबाट हटेको छैन । साइकलमा झण्डा राखेर हामी गाउँ गाउँमा जुलुस गर्दै हिँडेका थियौ।चोक चोकमा कोण सभा गरेकाथियौ। नवलपरासीको एउटा गाउँमा सि आइडी पछि लागेर हैरान पारेको घटना र अर्को सेनाको एउटा टोलीले हामीलाई आतङ्कित बनाएको अर्को घटना मानसपटलबाट हराएकोछैन । हामी सित एउटा कलाकार टिम थियोे। सशक्त साँस्कृतिक प्रस्तुति दिने काम भएकाथिए । म त्यो अभियानमा डण्डाबाट जोडिएँ ।।त्यस अभियानमा मैले केही दिन किशन शर्मा सित सहयात्रा गर्ने अवसर पाएको थिएँ ।
२०६३ मा पार्टी बिभाजित भयो ।हामी एउटै पार्टीमा रहन सकेनौँ। पछि मैले थाहा पाएँ कि किशन शर्माजीले “ नेपालको राष्ट्रियता, चुनौती र रक्षाको सवाल” शीर्षकमा राष्ट्रिय स्वाधीनता सम्बन्धी पठनयोग्य पुस्तक तयार पार्नु भयो । लेखन कार्यबाट देश र समाजलाई योगदान पुर्याउनु भएको कुराले मलाई खुसी लाग्यो । यस पटक उहाँले यो साहित्यिक कृति “अपिल” प्रकाशनमा ल्याउनु भएकोछ । यो कृतिले उहँको साहित्यिक व्यक्तित्वलाई छर्लङ्ग्याएकोछ ।

“अपिल” मा जागरणमूलक, प्ररिवर्तनकामी ,देशभक्ति प्रकृतिप्रेमी र स्मृतिमूलक कविताहरू राखिएका छन् । पहिलो र अन्तिम कविता स्मृतिमूलक कविता हुन् । पहिलो कविताको शीर्षक छ, “श्रद्धा सुमन स्वनाम तिमीलाई” । नेपाली कम्युनिस्ट आन्दोलनका एक उदाहरणीय व्यक्तित्व स्वनाम साथीलाई श्रद्धाञ्जली अर्पण गर्दै यो कविता लेखिएकोछ । स्वनाम साथीको मृत्यु २०७७ साल पौष १० गते भएको थियो । पिता नयन्द्र प्रशाद र आमा सुनकुमारी शेरचनको कोखमा म्याग्दी जिल्लामा २००७ सालमा स्वनाम साथीको जन्म भएको थियो । बाल्यकालको नाम शशि शेरचन थियो । पछि स्वनाम साथी बने । उनकै अगुवाईमा सर्वहारा कम्युनिस्ट लिग गठन भयो । उता अर्को श्रमिक संगठन पनि गठन भएको थियो । २०३८ मा दुई समूह मिलेर सर्वहारा श्रमिक संगठन नामको पार्टी बन्यो ।२०४७ मा एकताकेन्द्र बन्दा यो समूह पनि आबद्ध भयो । २०५९ मा स्वनाम एकताकेन्द्र–मसालका प्रवक्ता बने । पछिल्लो समयमा उनी मार्क्सीय गुरुकुलका संस्थापक बने । प्रकृति र प्रयावरणको संरक्षण ,राष्ट्रिय स्वाधीनताको रक्षाको आन्दोलनमा पनि स्वनाम लागेका थिए । स्वनाम साथीको जीवनको उकालीओरालीलाई कवितामा ब्यक्त गरेका छन् किशन शर्माले । कवि शर्माले लेख्छन् –
जनवाद समाजवादको लक्ष लिई हिँडयौ
साम्यवादको आजै यहीँ अभ्यास गरौं भन्थ्यौ
तर आज छोडी गयौ मेरा प्यारा स्वनाम
बाँकी काम हामी गर्छौ तिमीलाई लाल सलाम ।
“श्रद्धा सुमन पितालाई” शीर्षकको कवितामा कवि शर्माले आफ्ना पिता भैरव प्रशादलाई सम्झना गरेकाछन् । २०३८ सालमा बितेका उनका बुबाको सम्झना गर्दा उनले आफ्ना पुर्खा गैरे शर्माहरू गढवालबाट जुम्ला ,जुम्लाबाट दैलेखको दुल्लु ,दुल्लुबाट स्याङ्जा ,स्याङ्जाबाट चितवन बसाइँसराइ गरेको कथा पनि जोडेका छन् ।
“सेती नदी” यस संग्रहको प्रकृति प्रेमको कविता हो ।
कवि शर्मा लेख्दछन –
हिमालबाट झरेर तिमी पोखरा आइपुग्यौ।
पोखराबाट लुक्दै फेरि ठोक्किदै दौडिन्छ्यौ
सयौं खोला सुसाउँदै आउँछन तिम्रै त्यो काखमा
सङ्गीतहरू थरिथरिका गाउँदै फाँट र बेँसीमा ।
कवि शर्मा आफै देशभक्तिपूर्ण आन्दोलनमा लागेका ब्यक्ति हुन्। “ हाम्रो प्यारो सुस्ता“ उनको महत्वपूर्ण कविता हो । कबितामा भनिएकोछ –
हाम्रो प्यारो मातृभूमि हाम्रो प्यारो सुस्ता
हामी सबै एक जुट भइ गर्नु पर्दछ रक्षा
राष्ट्रभक्त,देशभक्त सबै भइ एक जुट
देशको रक्षा गरौं सबै भइ एक जुट,यही छ अपिल ।
समाजवादको फूल, आह्वान नारीलाई, जाग तरुण, परिवर्तनको नयाँ बाटो, आसाम मेघालयका नेपाली बहिनीलाई चिठी, हाम्रो पौरख हाम्रो श्रम,परिवर्तन चाहिएकोछ,मुक्ति यात्राको अभियान, हाम्रो समाज,पत्थर हैन कमल बन्न सिक, निर्माण गर्दैछौं चिहान गहिरो, झुप्रोको ब्यथा, नेपाल आमाकी छोरी, नेपाली दिदीबहिनीहरू, बुनेर कहाँ बुनिन्छ र ?, फूलमा पनि काँडा हुन्छ, धोका, ऊ हेर साथी पूर्वमा रातो, जनकम्युन, अपिल, सहिद, बाल साथी हो,ब्युँझौ तन्नेरी नेपालका, आह्वान, प्रजातन्त्र दिवस, जिन्दावाद–अक्टोबर क्रान्ति जस्ता शीर्षकमा समाज उपयोगी, परिवर्तन प्रति प्रेरणा जगाउने ,जागरणमूलक कविताहरू यश संग्रहमा छन् ।

साहित्यकार डि.आर.पोख्रेलले यस कविता संग्रहमा मन्तव्य राख्नु भएकोछ । पोख्रेलको मन्तब्यले यस रचनाको महत्व बढाएकोछ । यस रचनालाई प्रकाशन गर्ने जिम्मा निर्मल लामा स्मृति प्रतिष्ठान र मार्क्सीय गुरुकुल नवलपुरले लिएकोछ । ६२ पृष्ठको यस रचनाको मूल्य साधारण २०० र संस्थगत ४०० राखिएकोछ । लेखक तथा साहित्यकार किशन शर्माको साहित्यिक र लेखकीय कर्ममा उत्तरोत्तर प्रगति हुँदै जावस, यही नै शुभकामना छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित