डुंगाको कथा आमाको वेदना–३

गतांकबाट क्रमशः
ढडिया उल्टो थापेर माछा बल्झाउने कला एक आविस्कार जस्तैः हो
राप्ती नदीमा माछा मार्ने विभिन्न प्रकारका तरिकाहरूको बारेमा मैले यो भन्दा पहिलेकै अंकमा प्रकाश पारिसकेको छु । आज मैले दुवाली थुनेर माछा मार्ने एउटा नयाँ आविस्कारको बारेमा जानकारी गराउने छु। मैले शीर्षक नै आविस्कार छनौट गरेको बारेमा पाठकहरूमा जिज्ञासा, प्रश्न, भ्रम, अविश्वास र आश्चर्य लाग्नु मलाई स्वाभाविक नै लागिरहेको छ। स्वाभाविक यस मानेमा कि पानीमा माछा बल्झाउने वा माछा समाउने जानकारीमा रहेका जे जति तरिकाहरू छन्, ती सबै के छन् भने पानी जता बग्दछ त्यही दिशातर्फ माछा बल्झाउने साधनहरू जस्तै, भुक, ढडिया, झोङ र ठूलो पानीमा पहाई, खोङघिया थापेर खोरिया लगाएर माछा बल्झाउने गरिन्छ । यो खासगरीकन राप्ती नदीसँग जोडिएको कुरा हो। हिमाल पहाडतिर के कस्ता तरिकाले माछा बल्झाउने गरिन्छ । मलाई त्यति धेरै जानकारी छैन। जहाँसम्म जालले माछा यहाँ पनि मार्छन, त्यहाँ पनि मारेको देखेको छु। उल्टो पारेर ढडिया थापेर माछा बल्झाएको अन्यत्र कतै मैले देखेको र कहीं कुनै पुस्तक वा अन्य सामाग्रीमा मैले पढ्न पाएको छैन। त्यसकारणले नै मैले यसलाई आविस्कार भनेर जोड दिन खोजेको हुँ। यो कुराको सुरूवात जसले गरेको भए पनि यो एकदमै नयाँ र कल्पनाशील व्यक्तिको दिमागको उपज हो । अरू सबै बाँधी भन्दा ठीक विपरीत भए पनि परिणाम त एउटै छ । जता पानी बग्छ त्यता ढडिया थापेर पनि माछा बल्झिन्छ । उल्टो ढडिया थापेर पनि माछा बल्झिन्छ । यसरी उल्टो ढडिया सबैभन्दा पहिलोपटक जसले थाप्ने काम ग¥यो । उसले यो नयाँ आविस्कार नै गरेको हो । किनकि माछा कति बेला उल्टो ढडियामा बल्झिन्छ भन्ने कुरा दुवाली थुनेर सके पछि जब माछाहरू जता बाँध छ त्यतातिर माछा जाने र तलतिर नजाने कुरा बुझेर नै माथि ढडिया थाप्ने काम भयो । यो तरिका कहिले, कसले ग¥यो यो अनुसन्धानको विषय हुन पनि सक्छ नहुन पनि सक्छ र यो अनुसन्धानले पत्ता लाग्छ नै भन्न सकिने स्थिति छैन। जेहोस् जसले यो काम ग¥यो उसले माछाको मनोविज्ञान गहिरिएर अध्ययन गरेको हुन सक्छ । अन्यथा माछा मार्न तल ढडिया थापेर सकेपछि जे जति माछा ढडियामा पर्छन् त्यो लिएर घर फर्केर आउने गरिन्छ । तर यही उल्टो ढडिया अरू बेला अर्थात् वर्षात्मा थापेर बल्झिदैनन् । केवल हिउँदमा नै माछाहरू उल्टो थापेको ढडियामा बल्झिन्छन् । हामीले राप्तीमा हिउँदमा जहिले पनि दुवाली थुन्ने गर्दथ्यौं, त्यतिपटक नै उल्टो ढडिया थाप्ने गर्दथ्यौ माछा पनि राम्रोसँग नै पर्दथे।
हामी घाटवालेहरूले वर्षातको बेलामा माछाहरू बल्छिमा र कहिलेकाहीँ दुवाली थुनेर, जाल हानेर माछा मार्ने अनि चुक्कि अर्थात् पिकनिक मनाउने गर्दथ्यौं। त्यतिबेला माछा पनि निकै पाईन्थे। किनकि अहिले जस्तो करेन्टद्वारा, महाजालद्वारा, बीसद्वारा, बमद्वारा माछा मार्ने प्रचलन थिएन । मैले माथि उल्लेख गरिएका पद्धतिहरूद्वारा राप्ती नदीमा माछा मार्न थाले देखिनै नदीमा देखिने माछा विस्तारै लोप भएर गए र नदीमा माछा देखिन छाडे । टाउको पानीमाथि गराएर पौडिने उदांर माछा लोप नै भयो । त्यस्तै रैन माछा पनि समाप्त भए । ठूला ठूला ठेड, महासेर टेंगर, परहनी माछा पनि लोप नै भए समान छ । ती माछा पनि देखिन छाडेका छन् । आज बलिराम बाजे र हाम्रो पालो थियो डुङ्गा चलाउने । हिउँदमा भीडभाड अलि कम हुने र डुङ्गा चलाउन धेरै जनशक्ति र समय पनि नलाग्ने हुँदा हामीलाई माछा मार्न सजिलो थियो । आजको घाटवालेहरूको सल्लाह अनुसार बलिराम चौधरीले ढडिया लिन गए । हामीहरू तीन जना म, राम लखन, जगत प्रसाद दुवाली बनाउन गयौं । दुवाली थुन्ने कुरा कस्तो हुन्छ भने प्रायः नदीबाट फाटेको त्यो भंगालो जति लामो भयो त्यति धेरै माछा पर्ने सम्भावना रहन्छ । हामीले अक्सर त्यस्ता भंगालाहरू हेरेर दुवाली थुन्ने गर्दथ्यौं।कहिलेकाहीँ भंगालोको मुहान बलियो र पानीको मात्रा धेरै भएर दुवाली बान्दाबान्दै छाडेर फर्कनु पर्दथ्यो ।
आजको भंगालो पनि ठूलो नै छ। बलिराम बाजे ढडिया लिएर आउनु भयो । उहाँले भगांलो ठूलो देखेर भन्नु भयो । अरे नाति बाहिं– टे बलगरबा झे किल्ला व झालाक सामा बिन कैले नै हुई–नातिजी यो भंगालो त ठूलो र बलियो पनि छ त यसको लागि त किला र स्याउलाको बन्दोबस्त त गर्नेै पर्ला भन्दै हामी दुई जनालाई लिएर अघि लागेर हिंडिहाले । हामीहरू पनि उहाँको साथमा हिँड्यौं। केहीवेर पश्चात् हामीले किला र स्याउला लिएर आयौं । किला दुवाली बाँध्ने मुहानमा ठोक्यौं। ताकि दुवाली थुन्ने बेलामा कुनै असुविधाजनक अवस्था नरहोस । दुवाली दिनभरि बनाएर छाडिदने र बेलुकीपख बाँध्ने गरिन्छ किनकि दुवाली थुन्नु पहिले दुवाली बनाउँदा दुवालीमा रहेका अलि ठूला माछाहरू भागेर जाने सम्भावना रहन्छ । तसर्थ दुवाली बनाउँदा धेरै हल्ला र पानीमा खलबल नगरिकन दुवाली थुन्नु पर्दछ। अर्कोतिर दुवाली बनाउने र बाँध्नेको बिचमा तीन चार घण्टाको अन्तर राख्नु राम्रो हुन्छ । कहिलेकाहीँ त हामीले दुवाली बनाई सकेपछि गाईवस्तुको गोबर, वा जाँडको छोक्रा ल्याएर छरिदिने गर्दथ्यौं। यसो गर्दा माछाहरू आहाराको बासना पाएर आउने र चर्न थाल्दछन्। हामीले त्यही मौका छोपेर निकै छिटो मुहान थुन्ने र माछालाई दुवालीभित्र पार्नु पर्दथ्यौ । आज पनि त्यही गर्ने सल्लाह भएको छ। बेलुकीको खाजा खाएर हामीहरू पाँच जना घाटवालेहरू दुवाली थुन्न आयौं । स्याउलासंगै एउटा पुरानो गुन्द्री पनि ल्याएका थियौँ । बालुवा बोक्ने पराँत पनि तीन वटा थियोे । किनकि ढुंगा, गगरेटोले मात्रै दुवाली थुन्न सकिन्न । साना साना प्वालहरू थुन्नका लागि बालुवा हालेर बुज्नु पर्दछ । तब मात्र पानी सबै सुके पश्चात् मात्र माछा खहरिने गर्दछन् । अन्यथा ठूलो पानीमा माछा यताउता गरिरहन्छन् । ढडियामा बल्झिदैनन् ।
त्यसकारण हामीले फुर्तिका साथ बालुवा राखेर मुहान सुकायौं। माछा सरर ढडियामा परे । भंगालो ठूलो थियोे त्यसैले ढडिया दुईवटा थापेका थियौँ । माछा पनि निकै मिठा गडेरा, तिलोरी र्कंरा, बमली आदि थिए। सिद्रा माछाले त संसार नै ढाकेका छन्, ती यहाँ पनि थिए। माछाले एउटा ढडिया भरिएको थियोे । अर्को आधी आधी थियोे । सबैको अनुहारमा खुशीको चमक थियो। बलिराम बाजेले भने आज टे चुक्कि मजा बनी। अर्थात् आज चुक्कि पिकनिक जम्ने भयो । हामी सबैले एक स्वरमा भन्यौं । पक्का जमि। साँझ पर्न आँटिसकेको थियो । थुनेको दुवालोको बाधं भत्काउन भनेर रामलखन जाँदै थिए । मैले बलिराम बाजेतिर फर्केर सोंधे बाजे यमहे रातके सिर्का लगाई अईबि टे नैबनी ? बाजेलाई पनि के खोज्दछेस कानी आँखा भने झंै भयो । हामी दुई जना उल्टो ढडिया –सिर्का लगाउन आउने सल्लाह भयो । डुङगामा रहेका घाटवालेहरूले डुङगा बाँधेर राख्ने स्थानमा ल्याईपुर्याए । हाम्रो ढडिया गह्रौं देखेर सबैले लख त काटिसकेका थिए । उनीहरू पनि प्रसन्न थिए । डुङगा बाँधेर हामी सबै लिखराम घर गयौं । लिखरामको जहानलाई मैले भौजि भन्दथे । उनको भरखरै विवाह भएको थियोे । बलिराम बाजेले भने आजलावा भनसरियाक निधल मिठ तिना खाके चुक्कि बनाईक परल–आज नयाँ नौली दुलहीले बनाएको माछाको मिठो परिकार खाएर चुक्कि पिकनिक मनाउने भैयौ सबै गललहासें । लिखरामको अनुहार रातो भयो ।
माछा घरमा रहेका अरू महिलाहरूले पानीले धोएर सफा गरेर भित्र नयाँ भान्सेलाई दिए । उनले माटोले बनेको कडाईमा माछा खनाईन र बेसार कोधुलो राखिन, लसुनका पात चुडेर हालिन, माटोले बनेको चौठिबाट करिब तीन चम्चा बराबर तेल राखिन र काठको मसला पिन्ने भाँडो खल –डोकनीमा केहीबेर अगाडि पिनेर राखेको ढिकानुन खुर्सानी, लसुनको मसला त्यो तरकारी पकाउने भाँडामा राखेर हातले मजाले मोलिन र करि एकलोटा सफा कुवांबाट भर्खरै ल्याएको पानी राखिन र मालुकाको पातले बनाएको सानो सुपो जस्तो ढकनीले ढाकेर आगोको दाउरा मिलाउने काम गरिन। भान्साको त्यो तीन मुखे चुल्होमा एकतिर माछा अर्कोतिर कांसको वटुलिमा भात, र अर्कोतिर सन्ना फांडो पाकिरहेको थियो । माछाको तरकारी केहीबेर पछि उनले कडाई ढाकेको पात पन्छाएर माछाको भाँडा समाउने लुगा छेउटांले समाएर दुई पटक उल्टाईपल्टाई गरेर करिब पन्ध्र मिनेटमा तरकारी तयार भयो। बलिरामबाजेले बटा लगाउनु भयो । हामी आठ जना, ढडियाको एक भाग र भान्सेको एक भाग गरी दश भागका दुना तयार भए र बलिराम बाजेले माछाको भाग लगाई सकेपछि एक भागभित्र छाडेर नौ भाग सुपामा राखेर घरको बैठक कोठा बहरीमा लिएर गए पश्चात् सबैले आ–आफ्नो भाग लियौँ । ठिक त्यही बेला घर भित्रबाट एउटा ठूलो कोसिमा जाँड बनाएर ल्याउने काम भयो । हम्रिटे जाईटरहिटे । घरेटे केनैजाई यी जांड ओरवाके जाई ।लिखरामले सबैलाई जाँड पिएर जाने कुरा गरे। सबै बसेर अघि भाग लगाएर पाएको दुनाभरिको माछासँग खाएर सकेर गए । म र बलिराम बाजेले एकभारी पराल, एउटा दरी, एउटा काम्लो, टरच लाईट, सलाई, एउटा बासको लाठी लिएर आएका थियौं । मैले पनि एउटा तन्ना, दरी लाईट, लाठी तयार गरेर निस्के । ढडिया लिखरामको घर माथि योे मैले आफ्नो घरमा ल्याएर राखेको थिएँ । त्यो पनि भिरें । आश्विनको महिना थियोे अलि अलि चिसो बढन थालेको थियो । पहिले सुत्ने ठाउँ मिलाएर कपडा, पराल राख्यौं । त्यसपछि पहिले थापेर राखेको भान्छामा माछा भए नभएको हेर्याै। थोरै माछा परेका रहेछन् । बलिराम बाजे लाईट लिएर बाँध हेर्न जानू भयो कतै प्वाल त परेको छैन ? उनले लाईट लगाएर हेरेर निकै हौसिदै भने अरे नाति मच्छिटे सब मोहडापर आईल बटां हो। आई हली हाली करी सिर्का लगाईक परल । आउनुहोस् नातिजी माछा यहाँ मुहानमा थुप्रिएका छन् । छिटो छिटो सिर्कालगाउं। उहाँको कुराले म पनि हौसिएंदै भने लिली बाजे अपनी एक पांजर लगाई मै एकपांजर लगैम । –ल लबाजे तपाईंले एकातर्फको कुनामा लगाउनुहोस् मैले अर्कोतर्फ लगाउँछु भने । सिर्कालगाउने भनेको पानी कमभएर छट्पटिएर बसेका माछाहरूमाथि ढडिया थापेर जवढडियाबाट मूलको पानी फुटेझै भुल्काछुटेर पानी बग्न थाल्छ हायल कायल परेका माछा जिउ बचाउन दौडिएर फटकिदै, उफ्रिँदै त्यो ढडियामा बल्झिन पुग्छन् ।
माछा ढडियामा लस्कर लागेर पसिरहेका थिए । बलिराम बाजेले पनि ढडिया थापेर पानी खोलिसकेका थिए । पानी बिना छट्पटिएका माछा मृत्युको मुखमा पुग्न रेस गरिरहेको दृश्य टर्चलाईटको प्रकाशमा सहजै देखिन्थ्यो । आज बलिराम बाजे निकै प्रसन्न थिए । किनकि उनको भागमा यस पाली पनि एउटा बटा बढी प्राप्त हुनेछ । हुन पनि मानव विकासको क्रममा सुरु सुरुमा नगण्य मात्रामा विजय हासिल ग¥यो र पछि पछि औजार र आफ्नो बौद्धिक क्षमताको विकासले धेरै खुशी प्राप्त गर्दै यहाँसम्म आई पुग्ेको छ । हामीहरू राती त्यहीँ नै बस्ने योजनाका साथ गएका थियौं । राती नबसेमा स्याल आएर ढडिया पनि च्यातेर प्mयाँकी दिने र माछा पनि खाईदिने भएकोले रात बिताउने कुरा भएको हो । अरू बेला हामीहरू चार पाँच जना बस्थ्यौ। त्यो हुँदा भुत प्रेत, डाईन बोक्सी, बोक्सिनी आदिको व्यापक चर्चा हुन्थ्यो ।बलिराम बाजेले गोबरडिहाको सरस्वती माविमा कक्षा दसमा पढदा पढदै छाडेका थिए । म दसमा पढदै थिएँ । हामीलाई सानैदेखि नै यस्ता अन्धविस्वासका अनरगल अवैज्ञानिक कुरा सिकाईएको हुन्थ्यो कि अलि कति रात प¥यो कि डर लाग्ने, अँध्यारोमा पनि मुटुको गति जोड जोडले चल्ने । यस्तो स्थितिमा हामी दुई जनाले हिम्मत गरेर बस्यौं । राप्ती नदी एक तमासले सुसाईरहेको थियोे । पूर्वबाट हावा सरर सरर चलिरहेको थियोे । दिन भरि डुंगामा पानीमा खेलेको र दुवाली बान्दा पनि परिश्रम धेरै नै परेकोले भुसुक्कै हामी दुवै जना भुसुक्कै निदाएछांै। राति जोड जोडले स्याल कराएर पो निन्द्रा एकै पटक खुल्यो बाजे पनि उठनु भयो । नातिजि गिदार बोले लगलां मैले भने हां बाजे अब रात भर रखैना कर्रा बा । अब स्याल कराउन थाले रातभरि जागा बस्न सकिन्न कि मैले भने । उनले पनि सही थपे । यस्तै कुरा चलिरहेको थियो । एक्कासी पश्चिम तर्फबाट आठ दस वटा राँका बले। फेरि पल भरमै सामसुम निभ्यो । बाजेले भने नाति अब बोक्सिन फेन नाचे लगलां। मैले भने केनि का हो खै केहो बाजे ? केहीबेरमा त्यसतै उज्यालो अलि धेरै टाढा देखियो । फेरि केहीबेरमा निभ्यो। त्यसपछि त्यस्तो बलेको मैले दोसे पटक देखेको छैन । केहीबेर पछि हामीले यताउता हेर्याै । स्याल पनि कराउन छोडे बाजेले आकासतर्फ सप्तऋषि ताराको स्थान हेरेर भने यहजुन तीन बजठुई नाती खटिया तरे आरहल ,यतिबेला तीन बज्न थालेको होला नाती सप्तऋषि तारा सर्दै तल आईसकेका छन् ।
एकपटक ढडिया हेरौ भने। हेर्न गयौं, माछा बल्झि रहृका थिए। ढडियाको पुच्छरतिर छामेर हेर्याै । माछाले पुच्छरले भ्याट भ्याट हानेको प्रष्टै थाहा भयो । त्यसपछि हामी निदायौं । बिहान दुवै ढडिया आधी आधी थिए । माछा नदीमै बाट्यौं। बाजेलाई ढडियाको भाग पनि लगायौं।म पनि घर आएँ । रातीको घटनाको बारेमा पछि विज्ञान विषयका शिक्षक मिश्रासरलाई सोधें उहाँले मरेको गाईवस्तुको हड्डीमा पाईने तत्व क्याल्सियम र फसफोरस अक्सिजनमा मिसिएर उज्यालो भएको हो भन्नु भयो बोक्सिनी नाँच्ने कुरा अन्धविस्वास र अज्ञानता हो । त्यसदिनदेखि मलाई भुत प्रेत,बोक्सी, धामीझाँक्रीको विश्वसनीयता हट्यो।
क्रमशः

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित