–प्रतिभा जि सी
कृकेट खेलाडी प्रतिश जि.सी. की आमा
० प्रतिभाजी, तपाईं अहिले अमेरिकामा बसिरहनु भएको छ । क्रिकेट खेलाडी तपाईको छोरा प्रतिश जि.सी.विश्वकप खेल्न अमेरिका आउँदा आमा छोराको भेट भयो होला । भेट हुँदा कस्तो महसुस गर्नु भयो ?
– ८ वर्ष पछि मैले मेरो बाबुलाई भेटे । हामी अमेरिकाको डानसमा भेटौँला भनेको थिएँ । उसलाई सर्पराइज दिन एअरपोर्ट आउँछु भनेको थिएन । ५ घण्टाको यात्रा पार गर्दै म डानसबाट योस्टनको एअरपोर्ट पुँगे । उनीहरू वेस्ट इन्डिजबाट राती तीन बजे योस्टन आएका थिए । मलाई चिन्छ कि चिन्दैन भन्ने उत्सुकता थियो । योस्टन एअरपोर्टमा बाबुले मलाई चिन्यो । लामो समय पछि भेट हुँदा आँसु थाम्न सकिन । ऊ पनि रोयो । सपना हो कि विपना हो जस्तो लागिरहेको थियो । त्यो क्षण साँच्चै विशेष थियो ।
० तपाईको छोरा प्रतिश जि.सी.ले मिडियालाई अन्तर्वार्ता दिदा मलाई मेरी मम्मीले क्रिकेट खेल्दाका प्रारम्भिक दिनमा धेरै मद्दत र प्रोत्साहन गर्नु भएको थियो भनेको सुनेको थिएँ । राष्ट्रिय खेलाडी हुँदै विश्व कप खेलेको देख्दा कस्तो अनुभूति हुन्छ ?
– मिहेनतको फल हो भन्ने लाग्छ । मैले उसको चाहनालाई ध्यान दिएर काठमाडौमा क्रिकेट ट्रेनिङ सेन्टरहरूमा राखि दिएको थिएँ । उसको खुसी नै मेरो खुसी हो । आमा भएर हो कि के हो अझै उसले धेरै गर्न बाँकी छ जस्तो लाग्छ । उसको जुन सपना छ त्यो सपनालाई उसले पछ्याउँदै छ । म त्यसमा खुसी छु । उसको सपना पूरा होस् । मेरो बाबु (छोरा) लाई मेरो यही शुभकामना छ ।
० तपाईं त अमेरिकामा भएको क्रिकेट विश्व कपमा स्टेडियममा नै गएर खेल हेर्नु भयो होला । कस्तो माहौल थियो त्यहाँ ?
– यसपालिको विश्वकप वेस्ट ईन्डिज र अमेरिकामा आयोजना गरिएको थियो । अमेरिकाको टेक्सासमा दुई र फोलोरिडामा एक नेपालको खेल राखिएको थियो । टेक्सास हाम्रो लागि नजिकै थियो । टेक्सासको ग्रेनपेरी स्टाडियममा जुन ४ का दिन नेपाल र नेदरल्यान्डका बीचमा म्याच थियो । टेक्सासमा नेपालीहरू धेरै हुनुहुन्छ । अन्य स्टेटबाट पनि प्लेन, ट्रेनको टिकट काटेर आउनु भएको थियो । अमेरिका बाहिरबाट पनि नेपालीहरू पुग्नु भएको थियो । धेरैजसोले नेपाली खेलाडीले लाउने जर्सी, अनि नेपाली टोपी, नेपाली ड्रेस, बाजा गाजा सहित आउनु भएको थियो । हजारौं नेपालीको बीचमा थियौं हामी । यस्तो महसुस हुन्थ्यो कि मानौँ हामी नेपालमै छौँ । खुसीको सीमा थिएन । गर्वले छाती चौडा भएको महसुस भएको थियो । त्यहाँ हाम्रो बीचमा कुनै राजनीतिक विचारको सीमा थिएन । हामीलाई जाति वा क्षेत्रको पनि मतलव थिएन । त्यहाँ हामी केवल नेपाली थियौँ । क्रिकेटले हामी नेपालीलाई जोडेको थियो । फोलोरिडाको लाउडरहिल भन्ने स्टाडियममा नेपाल र श्रीलंकाको खेल राखिएको थियो तर बिहानदेखि लगातार वर्षात् भएकाले खेल हुन सकेन । साढे तीन घण्टा प्लेन यात्रा गरी त्यहाँ पुगेका थियौ । वर्षातले खेल हुन सकेन । एकछिन वर्षात रोकिएको बेला खेलाडीहरूसित चेअर अप ग¥यौं ।
० नेपाली क्रिकेट खेलाडीहरूको वलिङ राम्रो छ तर ब्याटिङ राम्रो नभएकाले खेल हार्नु प¥यो भन्ने सुनिन्छ । तपाईं खेलको प्रत्यक्ष दर्शक भएकाले के ठान्नु भयो ?
– हुन त म खेल विश्लेषक होइन तर नेपाली खेलाडीहरूले ब्याटिङ्ममा सुधार गर्नु पर्ने नै मलाई पनि लाग्यो ।
० क्रिकेट खेल प्रेमीको नाताले भन्नु पर्दा नेपालको क्रिकेट खेललाई सुदृढ गर्दा के गर्नु पर्छ होला ?
– पहिलो कुरा क्रिकेट खेलका लागि भौतिक पूर्वाधार हुनु प¥यो । कमसेकम ४÷५ वटा सुविधा सम्पन्न क्रिकेट मैदान हुनु प¥यो । खेल मैदानमा दर्शकलाई बस्ने कुर्ची हुनु प¥यो । फलड लाईटको व्यवस्था हुनु प¥यो । दोस्रो कुरा, खेलाडीहरूको सेवा सुविधा राम्रो हुनु प¥यो । जसले गर्दा खेलाडीहरू कमाईका लागि अन्यत्र ध्यान दिन नपरोस् । पहिलेको भन्दा केही सुविधा छ । अन्य राष्ट्रको तुलनामा निकै थोरै सुविधा छ ।
० हाँक साप्ताहिकलाई क्रिकेट खेलबारे प्रतिक्रिया दिनु भएकोमा यहाँलाई धन्यवाद ।
– मेरो छोरोले देशको झण्डा बोकेर हिंडेको देख्दा अत्यन्त खुसी लाग्छ । मेरो छोरो यही बाटोमा हिंडिरहोस । नेपालको क्रिकेटको उन्नति प्रगति हुँदै जावोस् । शुभकामना छ । हाँक पत्रिकालाई पनि धन्यवाद ।

