बहिष्कार एउटा बल हो

उदय बहादुर चलाउने “दिपक”, सचिवालय सदस्य, नेकपा (बहुमत) केन्द्रीय समिति

१) गत भाद्र २३ र २४ गतेको जेनजी विद्रोहलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
–जेनजी विद्रोहलाई विविध आयामबाट हेर्नु र विश्लेषण गर्नुपर्ने हुन्छ । पहिलो कुरा त यो दलाल पुँजीवादी सत्ताले नेपाली जनतामाथि थोपरेको अत्याचार विरुद्धको प्रतिरोध हो । भ्रष्टाचार, वेरोजगारी, माफियागिरी वेलगाम भएपछि त्यसविरुद्धको आक्रोस विष्फोट भएको हो । दोस्रो कुरा, जनताको यही जनअसन्तुष्टिलाई लिएर विभिन्न प्रतिगामी र देशद्रोही शक्तिहरुले साना र कमजोर देशहरुमा कसरी खेल्ने गर्दछन् ? भन्ने वास्तविकताको यो उजागर हो । तेस्रो कुरा, आजको भूराजनीतिक अन्तरविरोधले विश्व राजनीति कति धेरै संवेदनशील तहमा पुगेको छ भन्ने तथ्यलाई पनि जेनजी विद्रोहले आम जनताले बुझ्ने भाषामा अनुवाद गरिदिएको छ । हरेक साना र कमजोर देशको सार्वभौमिकता आजको विश्वमा निकै संकटमा छ भन्ने यसले प्रमाणित गरेको छ ।
२) सुशीला कार्की नेतृत्वको सरकारलाई तपाईहरुले साम्राज्यवादीहरुको कठपुतली सरकार भन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको अवस्थामा देशलाई सम्हाल्न कोही न कोही त अगाडि सर्नु नै पर्ने थिएन र ?
–हो, यसो भन्नुमा हामीले केही तथ्यहरुको मद्दत लिएका छौं । जब जेनजी विद्रोह भयो यसलाई अत्यन्त नाटकीय र विद्रोहको भावना विपरीत अपहरण गरियो र त्यसप्रक्रियामै सुशीला नेतृत्वको सरकार बन्यो । त्यसको विधि हेर्नुभयो भने त्यहाँ डिस्कर्ट भन्ने प्लेटफर्मको प्रयोग गरिएको छ । अनि कसैले उहाँलाई प्रधानमन्त्री बनाओ है भनेर सामाजिक सञ्जालमा अपिल गरेको छ । न संविधानको धारा प्रयोग भएको छ न त विद्रोहको प्राधिकार प्रयोग गरेको छ । अनि कुनै अँध्यारो कुनामा या सामाजिक सञ्जालका स्वघोषित प्लेटफर्मबाट कुनै देशको प्रधानमन्त्री कसरी नियुक्त हुनसक्छ ? तपाई हामी सबैलाई थाहा छ कि नेपाली समाजका हरेक विद्रोहहरुमा एउटा निश्चित एजेण्डाका साथ, एउटा निश्चित संगठनात्मक नेतृत्वका साथ विद्रोह र संघर्षहरु भएका छन् । जनआन्दोलन र जनयुद्ध भएका छन् । त्यसले आफ्नो कोर्ष पूरा गरेर सरकार र संविधान बदल्ने प्रक्रियाहरु भएका छन् । तर, यहाँ त्यो केही पनि भएन । न विद्रोहको लेजिटिमेटिमा सरकार उभिन सक्यो न पुरानो संविधानकै लेजिटिमेसी कायम रह्यो ? अनि यसलाई कठपुतली नभनेर के भन्ने ? न जेनजीहरुले यसलाई अपनत्व लिन सकेकाछन् न कुनै राजनीतिक शक्तिहरुले समर्थन गरेका छन् अनि यो कठपुतली भएन त ? कही कतैबाट थोपरिएको जस्तो, लादिएको जस्तो ?
३) फागुन २१ को निर्वाचन बहिस्कार गर्नुपर्छ भन्ने राजनीतिक दलहरुले यो निर्वाचनलाई स्थगित गर्न माग गरेका छन् । सरकारले जसरी पनि चुनाव गराउनुपर्छ भनिरहेको छ । राजावादी र संसदवादी राजनीतिक दलहरु पनि चुनावी प्रचारप्रसारमा गईसकेका छन् । यस स्थितिमा बहिस्कार आन्दोलनलाई कसरी अगाडि बढाउदै हुनुहुन्छ ?
–वास्तवमा भन्नुहुन्छ भने यसपटकको चुनाव विचित्रको चुनाव हँुदैछ । चुनाव न राजनीतिक शक्तिहरुले चाहेका छन् न त जनताले चाहेका छन् । तर, सबैले चुनाव भन्नु पर्ने बाध्यता छ । अलिअलि नाटक गर्नुप¥या छ, सबैलाई ? मैले अघि नै भने कि जेनजी विद्रोहको अवस्थासम्म आईपुग्दा पुराना पार्टीहरु र मूलतः संसदीय व्यवस्था जसलाई हामीले लोकतान्त्रिक गणतन्त्र भनिरहेका छौं, त्यसका तमाम सीमाहरु प्रकट भईसकेका थिए । यो व्यवस्थाको जनविरोधी र राष्ट्रघाती चरित्रले नेपाली जनतालाई पलपल डसिरहेको थियो । जनता त्यो पीडाबाट मुक्ति चाहन्थे तर, व्यवस्था त्यसका लागि अनुकूल थिएन या भनौं त्यसको नेतृत्व गर्ने पार्टीहरु र उनका नेताहरु जनविरोधी र देशघाती नै सावित भए । यो व्यवस्थाको संकट या सीमा थियो, हो । जहाँसम्म समाधानको प्रश्न छ त्यसको उचित विकल्पका बारे बोल्ने शक्तिहरु कमजोर भए । जनअसन्तुष्टिको नकारात्मक उर्जालाई केही शक्तिहरुले प्रयोग गर्न पनि खोजे । जस्तो कि रास्वपा त्यसको प्रयोग हो । राजतन्त्रको पुनस्र्थापना अर्को प्रयोग हो । ती दुवै प्रयोग असफल भए । रास्वपाले संसदीय व्यवस्थाको सीमा बदल्न सक्ने कुरै थिएन । राजतन्त्र हिजो मात्रै छोडिएको र पश्चगामी विकल्प थियो । हो, यही अवस्थामा जेनजी विद्रोह भयो । यो कस्तो भयो भने पानीको पाईपमा कतै कडा अवरोध भयो भने त्यसले जहाँ कमजोर भाग भेट्छ त्यहीबाट तोडेर बाहिर निस्कन्छ अनि आफ्नो घर र बारी नजिक भएकाहरुले भाँडा वर्तन लिएर पानी थाप्छन् । अलि चलाखहरुले पानी बटुलेर आफ्नो बारीतिर कुल्याउने प्रयत्न गर्छन भएको ठीक त्यस्तै हो । सबैले आआफ्ना भाँडा थापेर, बारी देखाएर गरिने निर्वाचनले कुनै पनि निकास दिदैन । त्यसकारण यो एक असाधारण परिस्थितिमा जबर्जस्त थोपरिएको विकल्पले देशको स्वाधीनता रक्षा एवम् जनताको अधिकार स्थापित गर्नु विल्कुल असम्भव छ । अझ भन्ने हो भने अर्को दुर्घटनाको संग्रह हुन जान्छ यो ।
यही परिस्थितिको विश्लेषण गरेर हाम्रो पार्टी र विगत लामो समयदेखि जनता र राष्ट्रको पक्षमा बोल्दै आईरहेका क्रान्तिकारी पार्टीहरुको संयुक्त मोर्चाले चुनाव खारेजी, बहिस्कार या अस्वीकारको एउटा साझा मञ्च बनाएका छौं । हामीले साझा भाषामा भनेका छौं कि यो निर्वाचन स्थगित गरिनुपर्छ । यो बेला एउटा त्यस्तो बृहद राष्ट्रिय सहमतिको कोशिश गर्नु पर्दछ, जसले आधारभूतरुपमा अग्रगमन, स्थायित्व, आत्मनिर्भरताको सुनिश्चित गरोस् । सामाजिक विखण्डनको स्थानमा सदभाव र एकताले लेओस् । यस्ता क्षणहरु कुनै राष्ट्र वा समाजका लागि विरलै मात्र प्राप्त हुन्छन्, हामी अहिले त्यो ठाउँमा छौं । देशको अस्तित्व र जनताको अधिकारप्रति साँचो इमानदारीताको यो परीक्षा पनि हो ।
जहाँसम्म यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय हो ? हामीले मुलतः जनतालाई सचेत र आन्दोलित गर्ने स्तरबाट कार्यक्रमहरु गरिरहेका छौं । तपाईलाई स्मरण गराऔं पहिलो कार्यक्रम नै हामीले संघर्षको घोषणा सभा भनेर गरेका थियौं र त्यो निरन्तरतामा छ । प्रचारात्मक र प्रदर्शनमूलक कार्यक्रमहरु भईरहेकाछन् । दबावका कार्यक्रमहरु अन्तर्गत उपत्यका बन्दको संयुक्त आव्हान भयो । आज मात्रै हाम्रो पार्टीको एकल पहलमा नेपाल वन्दको आह्वान गरिएको छ । यो आन्दोलन निर्माणको एउटा वार्मअप हो । आन्दोलनको विधि प्रधान हो । तर, विविध तब्कामा हामीले वार्ता र संवादहरु पनि गरिरहेकाछौं । हामीले संवादलाई छोडेका छैनौं । हुनसक्छ संवादले राष्ट्रिय सहमति या देशव्यापी बृहत संयुक्त आन्दोलन पनि निर्माण गर्न सक्छ ।
४) निर्वाचन बहिस्कार गर्नु भन्दा निर्वाचन उपयोग गरेर साम्राज्यवादका एजेण्टहरुलाई परास्त गर्ने गरी चुनावी मोर्चा बनाएर लडेको भए हुन्थ्यो भन्ने मत पनि सुनिन्छ । उनीहरुको भनाईप्रति तपाईको प्रतिक्रिया के छ ?
–यो तर्कलाई सम्मान नै गर्नुपर्छ । तर, बहिस्कार सम्बन्धी केही सैद्धान्तिक र केही व्यवहारिक विषयबाट हामीले यसको जवाफ दिनुपर्छ । बहिस्कारको सैद्धान्तिक पक्ष के हो भने यो व्यवस्था आफैमा साम्राज्यवाद पालित पोषित व्यवस्था हो, यही व्यवस्था भित्र छिरेर उसैलाई पराजित गर्ने भन्ने असम्भव हुन्छ । चुनाव व्यवस्थाको विकल्पमा होईन कि व्यवस्थालाई नवीकरण गर्न हँुदैछ । दोस्रो, व्यवहारिक या कार्यनीतिक दृष्टिले हेर्दा व्यवस्थाको भण्डाफोर गर्न या त्यसलाई न्युनतम जनताप्रति ढल्काउन कोशिश गर्ने भन्ने हो । त्यो स्थिति अहिले झन् कमजोर र खराब छ । किनकि, यो व्यवस्था नै यति नाङ्गो भैसक्यो कि अब हामी त्यहाँ गएर के भण्डाफोर गरौंला ? तपाईले देख्नु भएको होला संसदमै कैयौं सांसदहरुले नाङ्गै भएर भाषण गरेका थिए । आफैलाई कालो मोसो दलेका थिए । विचित्रको कुरा त के छ भने एकले अर्कोलाई दलाल, भ्रष्टाचारी र विदेशीका एजेण्ट भनेर गरेको आरोपप्रत्यारोप निकै नै घिनलाग्दो तहमा छ । त्यसमै हामी सहभागी हुनुको अर्थ अब रहेन । यो व्यवस्थाका सीमालाई अर्थात् जनविरोधी सारतत्वलाई मूलतः जनताको बलबाट, आन्दोलनको बलबाट, नैतिकताको बलबाट मात्रै पराजित गर्नुपर्छ भनेर हामीले बहिस्कारको विधि रोजेको हो । तपाईलाई म जोड गरेर भन्न चाहन्छु कि बहिस्कार एउटा बल हो, नैतिकता हो ।
५) निर्वाचन बहिस्कार गर्ने वामपन्थी राजनीतिक दलहरुको बीचमा संयुक्त संघर्ष समिति बनेको छ । दुई चरणको कार्यक्रम सम्पन्न भइसकेको छ । केन्द्रीय संघर्ष समितिको आगामी कार्यक्रम के के छन् ?
–निकै लामो समय पछि आन्दोलनकै उद्देश्यमा संयुक्त संघर्ष समिति बन्नु राम्रो कुरा हो । यो सबै पार्टीहरुको साझा प्रयत्नको परिणाम हो । त्यसलाई एउटा आधारभूत लक्ष्यमा पु¥याउन सकियो भने यो एक ऐतिहासिक कार्यभार नै हुनेवाला छ । दोस्रो चरणको कार्यक्रम यही ३ गते सम्म तोकिएको थियो । हाम्रो पार्टीको आव्हानमा गरिएको ५ गतेको कार्यक्रमले संयुक्त वैठक भएको छैन छिटै बसेर तेस्रो चरणको कार्यक्रम घोषणा हुन्छ ।
६) दीपक जी, जनयुद्ध कालमा युद्ध मैदानमै नेतृत्व गरेको व्यक्ति हुनुहुन्छ । जनयुद्धबाट नेपालको क्रान्तिकारी आन्दोलनले सिक्नु पर्ने शिक्षा के के छन् ?
–मेरो उमेर समुहले जनयुद्धमा सहभागिताको त्यो अवसर पायो । म आफै माघ २८ गतेको दिनबाटै पूर्णकालीन भएको हुँ । जनयुद्धको ऐतिहासिकताप्रति म अहिले पनि अपार गौरव गर्छु । तर, जनयुद्धको अन्तिम परिणाम असफलतामा पुगेपछि यसमाथि थुप्रै प्रश्नहरु छन् । कैयौं सैद्धान्तिक र कैयौं ब्यवहारिक प्रश्नहरु छन् । केही मानिसहरुले जनयुद्धको सिद्धान्त नै असफल भएकोले यसको परिणाम असफल भएको भन्ने आरोप लगाएका छन् । त्यो बकवास मात्र हो । जनयुद्धको सिद्धान्त वास्तवमा उत्पीडित वर्ग र समुदायको एक मात्र मुक्ति मार्ग हो । वरु, त्यसको प्रयोगमा विश्वव्यापी र यहाँ पनि केही गम्भीर त्रुटि भए । त्यसको निर्मम समीक्षा गर्नु आवश्यक छ । नेपाली जनयुद्धको असफलता मुलतः नेतृत्वको इमानदारिता र साहसको असफलता हो । यसलाई सैद्धान्तिकीकरण गरेर भन्ने हो भने यो जनयुद्धको सिद्धान्तमा थप समृद्धिको अपुगता हो ।
नेपालको क्रान्तिकारी आन्दोलनले दश वर्षे माओवादी जनयुद्धबाट सिक्नु पर्ने धेरै कुराहरु छन् । तर, मलाई निकै गहिरोसँग महशुस भएको कुरा चाहिँ के छ भने नेपालका हरेक आन्दोलनहरु कुनै न कुनै स्वरुपको विदेशी प्रभावबाट मुक्त हुन नसक्दा नै नेपालको सार्वभौमिकता झन पछि झन् कमजोर बन्न पुगेको छ र आन्दोलनहरु सम्झौता र धोकामा परिणत भएका छन् । अबको आन्दोलन यो अवरोधलाई पञ्छाउने गरी हुनु जरुरी छ । अर्को अर्थमा भन्ने हो भने नेपाल र विश्वभरी नै हेर्दा पनि हरेक क्रान्तिकारी आन्दोलनको अर्को पाटो भनेकै देशभक्ति आन्दोलन अर्थात् राष्ट्रिय मुक्ति र स्वाधिनताको आन्दोलन हो र बनाईनुपर्छ । एउटा क्रान्तिकारी तब मात्रै सच्चा क्रान्तिकारी हुन सक्छ जब ऊ एउटा सच्चा देशभक्त हुन सक्छ, एउटा देशभक्त तब मात्रै सच्चा देशभक्त हुन सक्छ जब ऊ एक सच्चा क्रान्तिकारी हुन सक्छ । यो मेरो अनुभवको सार हो ।
७) जनयुद्ध कालको बिर्सनै नसकिने कुनै घटनाको बारेमा भन्नुपर्दा ?
–त्यस्ता अनगिन्ति घटनाहरुछन् जसलाई आज फर्केर हेर्दा अनौठो लाग्छ । कुनै घटनाहरुले अहिले पनि मन फुरुङ्ग भएर आउछ, कुनै घटना सम्झँदा अहिले पनि मन भारी हुन्छ । म एउटा कुराले अहिले पनि द्रवित हुन्छु कि जब हामीले कुनै आक्रमणबाट विपक्षी सेना–प्रहरीका साथीहरुलाई गिरफ्तार गरेर कब्जामा लिन्थ्यौं हामीमा साँच्चै वर्गीय भावनाले यति छिटो टच गथ्र्यो कि ऊ आफ्नै दाजुभाइ हो भन्ने लाग्थ्यो । अलिकति पनि दुश्मनी रहँदैन्थ्यो । हुन त विपक्षी मिडिया र केही सुनियोजित पुस्तकहरुमा माओवादीले सेना प्रहरीलाई देख्ने वित्तिकै या घरमा आयो कि मारीहाल्थ्यो, चन्दा ठटाउँथ्यो भन्ने मैले पढेको छु, सुनेको छु । त्यो ९९ प्रतिशत झुट हो ।
एउटा घटना चाहिं तपाईलाई सुनाउँछु । हामी त घरमा अक्कल झुक्कल पुग्ने । घर पुग्दा त्यसै पनि गजबकै आनन्द हुन्थ्यो । प्रायः एक्लै जाने हँुदैन्थ्यो । ग्रुप मै हुन्थ्यौं । हाम्रो घरमा भैंसी प्राय दुहुनो हुन्थ्यो । मेरो आमाले खाना खाँदा मलाई जहिले पनि दही या दुध धेरै दिनुहुन्थ्यो । तर, म जहिले पनि मलाई दिएको भाँडो अर्को साथीलाई सारिदिन्थे । त्यो बेला आमा र मेरो आँखा जुध्थ्यो । भाषा बुझिन्थ्यो । कैयौं पटकसम्म त्यो क्रम दोहिरिईरह्यो । जब आमाले मेरो भाषा बुझ्नु भयो, तबदेखि मेरो र साथीहरुको भाँडोमा धेरै या थोरैको मात्रा रहेन । त्यसपछि बराबरीको कम्युनिष्ट आचरण शुरु भयो । मलाई आमाको त्यो व्यवहारले त्यो बेला केही लज्जा महशुस हुन्थ्यो तर, अहिले विश्लेषण गर्दा एउटा आमाको मन आफ्नो बच्चाको लागि कति समर्पित हुँदोरहेछ भन्ने मातृत्वको गहिरो आभाष हुन्छ ।
८) मालेमावादलाई आत्मसात गरेर सँगसँगै संघर्षको मैदानमा हिँडेका साथीहरु अहिले माओवादलाई नै पथप्रदर्शक सिद्धान्तबाट हटाएर केवल संसदीय राजनीतिमा रमाईरहेको देखिन्छ । यो सबै स्थितिलाई हेर्दा कस्तो महशुस हुन्छ ?
–लज्जा वोध हुन्छ । दुःख लाग्छ । हामी साँच्चै भौतिकरुपमा पराजित भएर बचेको कुनै एउटा सानो समुह आएर संसदीय व्यवस्थालाई केही समयसम्मको उपयोग गर्ने नीति लिनु सहि नेै हुन्थ्यो । तर, जनयुद्धको नयाँ मोडल परिभाषित गरेर आएको शान्ति प्रक्रिया, संविधानसभा सबै पुँजीवादी व्यवस्थाका औजार बनाउँदा पनि क्रान्तिको डिंग हाँक्दा कहिले त साह्रै हाँसो उठ्छ ।
शहिद परिवार, वेपत्ता परिवार, घाईते साथीहरु र आफुसँगै पूर्णकालीन भएका साथीहरुको जीवनचर्या निकै कष्टकर भएको खबर सुन्दा, हेर्दा निकै पीडावोध हुन्छ ।
९) यहाँले “जनयुद्ध र जनमुक्ति सेना” शीर्षकमा पुस्तक लेख्नुभएको छ । एउट लेखकको तर्फबाट आफ्नै पुस्तकको बारेमा भन्नु पर्दा पुस्तकका विशेषताहरु के के हुन् ? पुस्तकको सन्देश के हो ?
–“जनयुद्ध र जनमुक्ति सेना’ पुस्तकका चार वटा खण्डहरु छन् । पहिलो खण्डमा जनयुद्धको सैद्धान्तिक पक्षलाई राखिएको छ । त्यसमा जनयुद्धको सार्वभौम पक्ष र नेपाली विशिष्टताको बारे उल्लेख गरेको छु । दोस्रो खण्ड जनमुक्ति सेनाको इतिहास रहेको छ । शुरुदेखि अन्तिमसम्म कसरी त्यसको संरचनागत विकास भयो भन्ने सकेसम्मको सबै इतिहास राखिएको छ । तेस्रो खण्डमा युद्धको विश्लेषण रहेको छ । यसमा राज्य र हाम्रो पक्षको संख्या, प्रविधि, लडाईका तरिका, त्यसको परिणाम इत्यादि विषयमा तुलनात्मक प्रस्तुति छ । चौथो खण्ड समीक्षाको रहेको छ । जनयुद्धको पराजय श्रृंखला, त्यसका केही महत्वपूर्ण घटनाहरु र मूलतः पराजयको कारण बारे लेखेको छु । मैले पुस्तकलाई सकेजति निश्पक्ष बनाउने कोशिस गरेको छु । तर, भाषा शैलीमा वर्गीय पक्षधरताको महशुस पाठकहरुलाई पक्कै हुनेछ ।
१०)अन्त्यमा, हाँक साप्ताहिक मार्फत थप भन्नुपर्ने केही छ कि ?
–महत्वपूर्ण अवसर दिनु भएकोमा हाँक मिडियालाई धन्यवाद । हाँक जनताको आवाज, श्रमिक उत्पीडितहरुको आवाज बनिरहोस् शुभकामना भन्न चाहन्छु !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित