डुंगाको कथा, आमाको बेदना

-नारायण योगी
गोलो अनुहार । गहुँ गोरो रंग, चौडा ललाट, नाक थोरै लाम्चो, उज्याला सेता दाँत, गम्भीर हाउ भाउ । अनुहारमा डण्डीफोर चायाँका केही दागहरू । हाँस्दा दाहिने गालामा खोपिल्टा पर्ने । अफ्रिकी महिलाको जस्ता घुमेका कपाल, अग्लो कद काठी भए पनि बलिष्ट पाखुराका मसल्सहरू, उनले लाएको कुर्थाको पहिरनका कारण प्रष्टसँग बाहिरै देखिथ्यो । गठिलो शारीरिक बनावटका कारण उचाइ भए पनि त्यति अग्लि लाग्दैनथिईन उनी । फरासिलो मिजासकी उनी सानैदेखि तरनवा जिम्दार कहाँ भैंसी चराउने, घाँस काटने, कहिलेकाहीँ मालकिनको साना बच्चालाई पनि स्याहर्नु पर्दथ्यो । जुन जुन काम उनले गरिन त्यो त्यो काम उनको आमा डोङलिले र उनका पूर्वजहरूले वर्षाैंदेखि गर्दै आए । फरक यति भयो कि एक दुई वर्षमा वा अलि धेरै समयमा काम गर्ने ठाउँ र मालिक बदलिन्थे । कहिले उनको आफ्नै जात, थर मानिस हुने गर्दथे । कहिले अरू जात, थरका हुन्थे । तर काम गर्ने र गराउने परिपाटी वार्षिक रूपमा दिने तन्खा, मस्यौरा अर्थात् वार्षिक तलब दिने कुरामा खासै भिन्नता हुँदैन थियो, उस्तै हुने गर्दथ्यो ।
उनको घरमा बाबु , आमा, उनी, उनको एउटा दाइ गरी चार जनाको परिवार थियो । तरनवा जिमदारको घरमा उसको बाबु कमैया, आमा कम्लहरी, दाइ भैसरवा, आफु चाहिँ घसंकटनिया बनाइएकी थिइन । कहिलेकाहीँ आमाको काममा पनि हात बटाउनु पर्दथ्यो । जिमदार तर्नवा बाबु आफ्नो पिता अलि नरम दिलका थिए । तर चेतन प्रसाद मानवको एक आकृति मात्र । एक दिनको घटना हो । चमेलीको दाईले नजानेर गाउँकै एकजना साथीको लह लहैलहैमा लागेर जिमदारको फुलवारीमा फलेको एउटा अनारको दाना टिपेर बारिमा नै लुकेर खाँदै गरेको बेलामा जिमदार चेतन प्रसादले देखेछन् । साथी त बारबाट हाम फालेर भागिहाल्यो । तर उनको दाइ त भाग्ने कुरा भएन । अक्क नबक्क भएर खाँदै गरेको आधी अनार हातमा लिएर डरले कालो निलो भएर एकोहोरो जिमदारलाई हेरिरहेको थियोे । जिमदार रिसले आगो बनेर हातमा एउटा लट्ठी लिएर कुटपिट गर्न सुरु गरिहाले ।
ऊ जोड जोडले चिच्याएर हारगुहार गर्न थालेपछि जिमदारको छोरो आएर आफ्नो बाबुलाई रोके । उसको दाइको खुट्टा निलडामले भरिएका थिए । उसलाई आ्फनो कुमको साहरा दिंदै सकि नसकि चमेलीले खोच्याउँंदै आफ्नो घर तर्फ लिएर गई । जिमदारको रिस मरेको थिएन । यसलाई त यसको बाबुलाई झै चार हात खुट्टा बाँधेर घाममा पल्टाउने हो बल्ल चेत खुल्ने थियोे भन्दै राक्षस, दरिद्र नालायक यस्तै नानाथरी दुरबचन बोल्दै आफ्नो महलतर्फ लागे । चमेलीले यो घटना कहिल्यै बिर्सन सकिन ।अहिले पनि सम्झँदा उसको मन सिरिङ्ग हुन्छ । राति सुत्ने बेला चमेलीको घाइते छोेराको निलडाम परेका ठाउँमा तेल बेसार तताएर लेपन गर्दै हिक्क गर्दै रूदै थिई । तरनवा चमेलीको बाबुले तरनवा जिमदारको घरमा कमैया बनेर काम गर्न लागेको पाँच बर्ष बितिसकेको थियोे । यो छैठौं वर्ष चल्दै थियोे । ऊ जुन वर्ष यहाँ माघीमा थमौति गर्न आयो । त्यो बेला यहाँ अरू तीन जना कमैयाको परिवार थियोे । दुईवटा परिवारका मानिसहरू आफुले पाएको गाउँ ब्लकको जग्गामा घर बनाएर बसेका थिए । त्यहाँ एउटा परिवार चाहिँ त्यहीँ उसको परिवारले पाएको छेंउटिको जग्गामा एउटा खरको बुकुरो बनाएर बसेको थियो ।
चमेलीको बाबू भिखनालाई पनि जमिनदारले आफ्नो महलको नजिकैको जमिनमा बुकुरो बनाउन लगाएका थिए । भिखनाले पनि दुई कोठाको खरको छानाको खरले बारेको भित्ताको घर बनायो । एउटा कोठा बहरी बनायो । भित्रको एउटा कोठालाई बारेर दुईवटा स– साना कोन्टि बनाएको थियोे । जसमा एउटामा छोरो, छोरी र जहान बस्दथे । अर्कोमा भिखनाका दुई जना बस्दथे । त्यही कोठाको सानो भागलाई भान्सा र बीचमा दुईवटा डेहरी, कुठली राखेर पूर्वतर्फ देहुरार देवता राख्ने पुजा कोठा थियोे । त्यो घर करिब बिस हात लम्बाई र दश हात चौडाईको खरको छानो, खरकै भित्ता, गोबरले लिपपोत गरेको सानो थियोे । भिखना र उसको परिवारले खेतीपातीको काम बाहेक उसकोे आमाले बच्चा हेर्ने , लुगा धुने, भन्साको काम गरि दिने कहिलेकाहीँ जमिनदार कुनै श्रीमतीको शरीरमा चिल्लो समेत घसि दिनु पर्दथ्यो । चमेली जमिनदारको घरमा घाँस काटने काम बाहेक, आफ्नो आमाको काममा समेत हात बटाउंँथी । तरनवा जमिनदार कहाँ उनका आफन्त, ईष्ट मित्रहरू प्राय आईरहन्थे । यसै पनि देउखुरी दाङकोे भूगोल मात्र उपनिवेश थिएन । यहाँकोे सस्तो श्रम पनि औपनिवेशिक शोषणकोे शिकार थियोे । तरनवा जमिनदार कहाँ उनको मामाकोे छोरा आईरहन्थे । चमेली हुर्कन थालेकी थिई । उनले त्यहाँ आउँदा अक्सर चमेलीलाई आँखा लगाईरहन्थे । त्यो बेला चमेलीको बुबाले वार्षिक एकजोर लुगा जडाउरी र ३० मन तनखा, ४० मन मस्यौरा पाउथे । एक पटक वर्षातको बेला चमेलीको मामालाई निकै ठूलो ज्वरो आयो, अस्पताल लगेर जचाउँदा इन्टिफलाईटिसको रोग रहेछ । उपचार खर्च कम भएकोले चमेलीका बुबाले जमिनदार चेतप्रसाद कहाँबाट पाँच सय ऋण लिएकोे हो त्यो अझै घटेको थिएन । चमेलीको मामालाई उपचार गर्न भारतको बलरामपुर लगे तर उनलाई सन्चो भएन । घरमा ल्याएको केही दिन मै उनी बिते । चमेलीलाई बाबुको ऋणका कारण जमिनदारको दिदी कहाँ दाङ कमलहरी बनेर जानु प¥यो । गएको वर्ष दिन पुगेको थिएन उनी जमिनदारको भान्जोको हवसको सिकार बनिन् र गर्भवती बनेर कन्या मै आमा बन्नु प¥यो । केही समय पछि चमेली माइतीघर आईन । छोरीको त्यो घटना पछि उनको बाबु अर्को जमिनदार कहाँ काममा बसे । त्यो गाउँमा कमैया कमलहरीलाई प्रौढ शिक्षाको सुविधा रहेछ । एक दिन उनी पनि पढ्न गइन ।
देउखुरीको एउटा एक सय चालिस घर धुरीको कमैया वस्तीतर्फ जान लागेको एम्बुलेन्सको तिखो आवाज चमेलीको कानमा ठोकिन्छ । मोबाईल बालेर घडीको समय हेर्दछिन् । मध्य रातिको एक बजिरहेको थियोे । हाई काढदै उठिछिन् । आज पनि यो वस्तीमा कसलाई के भयो भनेर मन मनै बडबडाउँछिन् । चिन्ताको रेखा उनको अनुहारमा अनयासै कोरिन्छन् । २०५६ माघ महिनामा गेटा कैलालीका २०१५ सालका मन्त्री तथा जमिनदार शिवराज पन्त कहाँ बसेका कमैयाहरूले सुरु गरेको कमैया मुक्ति आन्दोलनले २०५७ साल साउन २ गते कमैया मुक्त भैसकेपछि देउखुरीमा आफ्नो जग्गामा जमिनदारले बस्ने ठाउँ पनि नदिए पछि नै कमैया तथा सुकुम्बासीको यो बस्ती २०५९ सालमा बसेको हो । उनले हातका औला भाचेर हिसाब गर्दछिन् । एक दुई तीन, ओह त्याईस वर्ष पुगिसकेको रहेछ । लामो स्वास लिन्छिन्। । एम्बुलेन्स साईरन बजाउँदै बस्तीको एउटा कच्ची बाटोतर्फ हान्निनछ । मानिसहरूको गलमल गलमलको चर्काे स्वर उनको कानमा पर्दछ ।
उता मस्त निन्द्रामा आफ्नो लयमा विरमान पुन घुरिरहेकाछन् । आमा दुखनि पुरानो टिबि रोगले हो वा चिसोले लगातार खोकी रहेकिछन् । आमाको यो व्यथा देखेर भाउन्न छुटछ उनलाई । संझाके जिन लहाईस कहलक मनबे नै करठ, फेन खोखेंलागल यी डाईफेनका करूं मैटे कुछु कहे नै बनठ । साँझपख न नुहाउनु चिसोले समात्छ भनेर जतिसुकै भने पनि नलाग्ने भो नि ? ख्वाङ, ख्वाङ सुरु भैगो के भनम के नभनम् यसो केही भने पिर मान्ने डर । दुखनी उनको आफ्नै खास आमा । उमेरले सतरी काटेर एकहत्तरमा छिन । तर हेर्दा नब्बेको ढिक ढाक होलिन झै लाग्छ । शरीर बगिहां जस्तो नुङगेकोछ । अनुहार चाउरिएर झुरिएका रेखाले आँखी भौं ढाकेका छन् । पातलो शरीर, मानौ हाड छालाको कङकाल उभिएको छ । उनले खोकिरहेकिछन् । ग्याँस चुलो बालेर आफुले चिया खान थालिन र आमालाई पनि एक गिलास तातो पानी दिईन । फोनको घन्टी बज्यो किर्रर, किर्रर हेलो भनिन् । उताबाट निकै आत्तिएको स्वरमा खुशिरामकी जहान बोलिन् । एम्बुलेन्स टे हिलामे ओज गैल भैने लेउ हललि करो मोर पतुहियाक बेथा लागगे लमही लैजैना हो बेर हुईटे कर्रा परि । पतुहिया एम्बुलेन्स के भित्तर बा । मेरो बुहारीलाई सुत्केरीको बेथा लागेर एम्बुलेन्स बोलाएको एम्बुलेन्समा राखेर लैजान लागेको तर कच्ची हिलोको बाटोमा एम्बुलेन्स फसेको छ । बुहारी पनि त्यसैमा छिन् लौ कसो गर्ने होला धेरै अप्ठ्यारो भयो । ओह––––– लौ बित्यास प¥यो । ल ल फुफाजु न आत्तिनु होस मैले हाम्रो छिमेकीको अटो लिएर आउँछु । बरू कुन गल्ली हो ? उताबाट जवाफ आउँछ –– छुटकि गल्ली । ए ल ठिक छ म आई हाल्छु । उनले घुरिरहेका बिरमानलाई घचघचाएर उठाउछिन् । ए रन्जनाका बा उठनुस छिटो उठनुस एम्बुलेन्स फस्यो बुद्धिमानीको बुढालाई उठाएर उनको टेम्पो लिएर जाउं हिड्नु होस छिटो । बीरमान निन्द्रामै आँखा मिच्दै उठेर टेम्पो भएको घरमा जान्छन् र टेम्पो वाला भाइलाई उठाएर हतार हतारमा टेम्पो चालू गर्दछन् । टेम्पोको आवाज सुने पछि चमेली पनि निस्केर जान्छिन् । भेला भएका सबैले एम्बुलेन्स ढकेलेर निकाल्न खोजे तर एम्बुलेन्स हिलोमा झन् धसिँदै गयो । एम्बुलेन्सको ड्राइभर पसिनाले निथ्रक्कै भिजेको थियोे । हत्तेरी कि कस्तो ठाउँ रहेछ । एउटा एम्बुलेन्स पनि हिड्न नसक्ने । कति वर्ष भयो यो बस्ती बसेको हाईवेदेखि सय मिटरको दुरिमा रहेको यो बस्तीको कुरा जान्न चाह्यो लेन्स ड्राइभरले । माघुरामले झटपट भने – कति होला, २३ वर्ष भइसक्यो । तेइस वर्ष आश्चर्य व्यक्त गर्दै भन्यो उसले । यतिका वर्षमा यो टोलमा न त लाईट छ नत ग्राभेल, नत नालि नत खानेपानी । उफ ! एक लामो निस्वास लियो उसले । एकजनाले प्याच्च भने यही त हो गाउँ गाउँमा सिंह दरबार । सबै गलल हाँसे ।
खुशी रामको बुहारीलाई व्यथाले च्याप्दै लगेको थियोे । बीरमान र चमेलीले लिएर आएको अटोमा सुत्केरीलाई लिएर गए । लमही अस्पतालमा सुत्केरी पुगे पछि राम्रोसँग नै सुत्केरी भयो रे । तर यदि आधा घण्टा ढिलो गरेको भए खतरा थियोे भनेर डाक्टरले भनेको कुरा खुशीरामले चमेलीलाई सुनाउँदै थिए । बस्ती कोयो समस्यालाई लिएर एक दिन चमेली, बीरमान पुन, १४० घरका कमैया, सुकुम्बासीहरूले –हामीलाई पिउने पानी खोई ? खेतबारीमा सिंचाई, हातमा काम खोई ? किसानको उत्पादनको उचित मुल्य खोई, निशुल्क, शिक्षा, स्वास्थ खोई, हाम्रो बस्तीमा विकास खोई ? हाम्रो मानव अधिकार खोई ? लेखेका प्लेकार्ड व्यानर झण्डा बोकेर लमही नगरपालिकामा जाने तयारीको अर्कै हल्ला उड्यो र बाटामा पुलिसका गाडी जोडजोडले दौडिने र सायरनको चर्को आवाज चारैतिर गुञ्जिरहेको थियोे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित