सहिद यम बहादुर कार्कीको सम्झना (सहिद दिवसको सन्दर्भमा)

-रामबहादुर बुढा
यम बहादुर कार्की १७ वर्षको सानै उमेरमा शहिद हुनु भएको थियो । राष्ट्रघाती टनकपुर सन्धिको विरोधमा २०४८ साल देखि नै नेपालमा वाम राजनीतिक दलहरुले संयुक्त आन्दोलन गर्दै आएका थिए । २०५० साल जेठ ३ गते नेकपा एमालेका महासचिव मदन भण्डारीको दासढुङगामा यात्रारत गाडीबाट रहस्यमय मृत्युपछि भण्डारीको निष्पक्ष छानविन , राष्ट्रघाती टनकपुर सन्धिको खारेजी लगायतका मागहरु राख्दै सात राजनीतिक दलहरुको संयुक्त आन्दोलन चलिरहेको थियो । त्यही सन्दर्भमा २०५० श्रावण ४र ५ गते नेपाल बन्दको आयोजना गरिएको थियो । त्यस बन्दको कार्यक्रमको सिलसिलामा तत्कालीन नवलपरासी जिल्लाको डण्डा बजारमा व्यापक जनसमुहको उपस्थितिमा श्रावण ४ गते महेन्द्र राजमार्ग ठप्प बन्द हुने गरी बन्द कार्यक्रम भइरहेको थियो । दिउँसो ४ बजेतिर पूर्व चितवनबाट पश्चिम नवलपरासी सदरमुकामबाट आएका प्रहरीहरुले आन्दोलनकारीहरुमाथि व्यापक दमन गरेका थिए । प्रहरीले गोली चलाउँदा यम बहादुर कार्की र पूर्णबहादुर परियारको मृत्यु भएको थियो।
बुवा मानबहादुर कार्की र आमा धनकुमारी कार्कीको कोखमा जन्मिएका यमबहादुर कार्कीको जन्म मिति (नेकपा (मसाल) को मुखपत्र “मसाल” अंक २८ (२०५० श्रावण) अनुसार २०३३ साल पौष २८ गते शनिबार गुल्मी जिल्लाको तत्कालीन घमीर ठाँटी गाउँ पञ्चायत वडा न. ९ पालढंगामा भएको थियो । २०४१ सालमा बसाइँ सरेर वहाको परिवार तत्कालीन नवलपरासी जिल्ला अग्यौली गाउँ पञ्चायत वडा न. ९ (हाल कावासोती नगरपालिका वडा न. १६, डण्डा बजार भन्दा उत्तरतर्फ करिब सात सय मिटर पिपरेनी )भन्ने ठाउँमा बसाइँ सरेर आउनु भएको थियो यम बहादुर कार्की पनि आफ्ना आमाबुवा सहित आठ वर्षको उमेरमै गुल्मीबाट तराइँ झर्नु भएको थियो। बसाइँसराइबारे यमबहादुर कार्कीका बुवा मानबहादुर कार्की भन्नु हुन्छ ,“म आफन्तहरुलाई भेट्न पहाडबाट यहाँ आइरहन्थेँ, आफन्तहरुले बसाँसराइ गर्न जोड गरे र पहाड छाडेर यहाँ आइयो ।”
यमबहादुर कार्कीका दुइ दिदीहरु दालकुमारी कार्की पौडेल र भुमकुकारी कार्की थापाक्षेत्री हुनुहुन्छ । उहाँका दाजुभाइमा चारभाइमध्ये जेठो लिलाबहादुर कार्की ,साहिलो खिमबहादुर कार्की ,कान्छो चोपबहादुर कार्की जीवित नै हुनुहुन्छ । उहाँले जनता माध्यमिक विद्यालय त्रिभुवनटारमा २०४१सालदेखि आफ्नो अध्ययन शुरु गर्नु भएको थियो । वहाँले कक्षा ५ सम्मको अध्ययन पछि पढाई स्थगित गर्नु भएको थियो । छोरा यम बहादुर कार्कीलाई सम्झँदै आमा धनकुमारी कार्की भन्नुहुन्छ –“मेरो छोरा साह्रै मायालु स्वभावको थियो । बानी व्यहोरा पनि सोझै थियो। शारीरिक रुपले पनि बलियो थियो । गह्रुङ्गा भारीहरु पनि बोकेर हिँड्थ्यो । घरको काममा सघाउँथ्यो। आन्दोलन भैरहेको थियो । मसाल पार्टीको कार्यक्रममा हिँड्थ्यो ।
साउन ४ गते खीर खाने औंसीको दिन थियो । खीर पनि नखाईकनै म पछि आएर खान्छु है आमा भन्दै साथीहरु सित आन्दोलनमा गयो । वर्षाको बेला हिलो मैलो भएका कपडाहरु धोएर सुकाएको थियो । धोएका कपडाहरु सुकेछ । सबै कपडाहरु पट्याएर छोडेको थियो । खीर खान आउँछु भनेर गएको छोरा कहिल्यै नफर्किने गरी गयो। आजभोलि पनि मलाई खीर खान मन लाग्दैन । कतै खीर पाकीहाल्यो भने झल्याँस्स उसैको याद आउँछ र खीर खान मन लाग्दैन ठ्याक्कै त्यतबेलाकै झल्को आउँछ ।
मैले अघिल्लो दिन मकै मिलमा छोडेर गएको थिएँ मलाई उसले भनेको थियो बाटोभरि पुलिश छन् ,आन्दोलन छ, पिसेको मकै लिन भोलि जानुहोला, आज नजानु होला भनेर मलाई भन्दै थियो तर ऊ आन्दोलनमा गयो र पुलिशको गोलीले मारियो ।गोली लागेपछि उसलाई उपचार गर्न भनेर नवलपरासी बजारतिर लगेछन् । गाडीमा जाँदा जाँदै भन्थ्यो रे “मलाई गोली लागेको कुरा आमालाई नसुनाउनु है आमा रुन्छिन ।”
यम बहादुर कार्की २०४६ सालमा अ.ने.रा.स्व.वि.यु. (छैठौं) को स्कूल इकाई समिति र अखिल नेपाल युवक संघको अगौली गाउँसमितिमा रहेर काम गर्नु हुन्थ्यो । उहाँका बारेमा अखिल नेपाल युवक संघमा एउटै समितिमा काम गरेका अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला सदस्य डम्बर भण्डारीले यम बहादुर कार्कबारे सुनाउनु भयो “उनी र हामी अखि नेपाल युवक संघमा सँग सँगै काम गरेका थियौं । छिमेकी भएकाले बजार जाँदा संगठनमा काम गर्दा मेलापात जाँदा स्कुल जाँदा र आन्दोलनमा जाँदा पनि सँग सँगै हिँड्थ्यौं । उनी साह्रै मिलनसार स्वभावका थिए । उनी बलिया पनि थिए । खेल खेल्न पनि साह्रै रुचि राख्थे । खास गरी फुटबल खेल खेल्न उनी मन पराउँथे । त्यस दिन साउन ४ गते खाना खाएर हामी सँग सँगै जुलुसमा गएका थियौं । डण्डा बजार पुरै बन्द भएको थियो । पूर्व पश्चिमका गाडीहरु ठप्प थिए । प्रहरीहरुले केही खान पाएनन् । पानी समेत पनि खान पाएनन् । करिब २ बजेतिर प्रहरीले गोली चलायो । गोली चलेपछि दौडिँदै एउटा घरभित्र पस्न खोज्दा पछाडिबाट उसको ढाडको तल्लोभागमा गोली लाग्यो । कैयौं घाइते भए । करिब साठी जना आन्दोलनकारीहरुलाई घाइते बनाएर कुट्दै पिट्दै प्रहरीले नवलपरासी सदरमुकाम तर्फ लग्यो । बर्दघाटदेखि गोपीगञ्ज हुँदै नवलपरासी अस्पताल पु¥याउने भनी हिँडालिएका यमबहादुर कार्कीको गोपीगञ्ज पुग्दा मृत्यु भयो । गाउँको बाटो अफ्ठ्यारोबाटो नवलपरासी नलगी सरासर एम्बुलेन्समा चितवन वा बुटवल पु¥याउन सकेको भए उनको ज्यान बच्न पनि सक्थ्यो । अत्यधिक रक्तश्राव र बेलैमा अस्पताल नपु¥याँदा उनको मृत्यु भयो । ”
२०४९–५० सालतिर नेपालमा राष्ट्रघाती टनकपुर सन्धिका विरुद्धमा निकै ठूलो आन्दोलन चलेको थियो । डण्डा बजार वामपन्थीहरुको राम्रो प्रभाव रहेको क्षेत्र थियो ।डण्डा बजार भन्दामाथि नेकपा (मसाल)को संगठन राम्रो थियोभने डण्डा बजार भन्दा तल संयुक्त जनमोर्चा नेपालको संगठन राम्रो थियो। नेकपा एमालेको पनि संसद जित्न सक्ने सांगठनिक आधार थियो। त्यो अवस्थामा संयुक्त वाम आन्दोलनमा डण्डा बजारमा ठूलो जमघट हुनु स्वभाविक थियो ।
गोली लागि घाइते भएका यमबहादुर कार्की सहितका आन्दोलनकारीहरुलाई गिरफ्तार गरेर प्रहरीहरुले परासी बजारतर्फ लगेपछि डण्डा बजारको पश्चिमपट्टि पत्थरखोलाको जंगल छेउमा प्रहरीको गोली लागेको एउटा शव पल्टिएको खबर आयो । हल्ला खल्ला भएपछि शव ढलेको स्थल पुग्दा नवलपरासी पिठौली निवासी नेकपा एमालेका कार्यकर्ता पूर्णबहादुर परियार भन्ने स्पष्ट भयो। प्रहरीले गोली चलाउँदा जंगलतिर दौडिँदै जाँदा परियारलाई गोली लागेको थाहा भयो। यमबहादुर कार्कीको शव फर्काएर नलिँदासम्म पूर्णबहादुर परियारको शवलाई डण्डा बजार मै राखियो । तेस्रो दिन साउन ६ गते परासीबाट फूल माला सहित यमबहादुरको शवलाई गाडीमा डण्डा बजार ल्याइएको थियो । हज्जारौं जनसमुहको शवयात्रासहित नारायणी नदीको शिख्रौली घाटमा कार्की र परियार दुवै जनाको शवलाई दाहसंस्कार गरिएको थियो ।
डम्बर भण्डारी, खिमबहादुर गिरी लगायत यमबहादुर कार्कीका दौंतरी हुनुहुन्थ्यो । उहाँहरु सबैलाई यमबहादुर कार्कीको सम्झना ताजै छ । श्रावण ४ गतेको आन्दोलनमा टंकध्वज भण्डारी, कृष्ण पौडेल, बाबुकाजी लगायत झण्डै एक दर्जन गम्भीर घाइते भएका थिए । टंकध्वज भण्डारीको टाउकामा ९ वटा टाँका लाउनु परेको थियो । घाइतेहरुलाई प्रहरीले नवलपरासी सदरमुकाम हिरासत पु¥याउँदा राती १२ बजेको थियो । त्यो रात भोकै सुत्नु परेको थियो ।
प्रत्येक वर्ष साउन ४ गते डण्डा बजारमा शहिदहरु यमबहादुर कार्की र पूर्णबहादुर परियारको स्मृति दिवश मनाउने गरिन्छ । अहिले डण्डा बजार चोकमा जस्तरबाट दुवै जना शहिदहरुको शालिक निर्माण गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शालिकको अनावरण गर्नु भएको थियो। सरकारले क्रिया खर्च भनेर एक परिवारलाई २५ हजार दिने बाहेक केही गरेको छैन । अहिलेसम्म राज्यको तर्फबाट शहिद घोषणा गरिएको छैन । सहिदहरुको बलिदानले देशको राष्ट्रिय स्वाधीन्ताको रक्षा भएको छ । देशमा सहिदकै बलिदानले गणतन्त्र आएको छ तर खुशी र शान्ति, समाज स्वाधीन देश निर्माण गर्ने सहिदका सपना पूरा भएका छैनन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित