-मिखाइल शोलोखोभ
बारुदको गन्ध आउने खाली टोटाहरु, च्याङ्ग्राको हाड, रणक्षेत्रको नक्सा, लडाइँको विवरण, घोडाको पसिना गन्हाउने करेली सहितको लगाम र पाउरोटीको एउटा ठूलो टुक्रा । यी सबै कुराहरु टेबुलमाथि थिए । अनि घोडचढी सैन्यदलको कमाण्डर निकोलाई कोशेभोइ चाहिं ओसिलो भित्ताले गर्दा चिप्लो लेऊ लागेको एउटा भद्दा बेन्चमा बसिरहेको थियो–झ्यालको पेटीको डीलमा बेसरी पिठ्यूँ अड्याएर, जाडोले कठ्यांग्रिएका औंलाहरुको बीचमा उसले एउटा शिशाकलम च्यापिरोखेको थियो । केही पुराना पोष्टरहरु विछ्याइएको टेबुलमा आधा जति भरिएको एउटा फाराम पनि थियो । त्यस मोटो कागजको पानाले यत्ति मात्रै बताइरहेको थियो–“निकोलाई कोशेभोइ । घोडचढी सैन्यदलको कमाण्डर । खेतीवाल । तरुण कम्युनिस्ट ।”
“उमेर” भनेर छापिएको ठाउँनेरै चाहिं शिशाकलमद्वारा हलुका तवरले लेखिएको थियो–“१८ वर्ष” ।
निकोलाई फराकिलो छाती भएको हठ्टाकठ्टा थियो र आफ्नो वास्तविक उमेरभन्दा ज्यादै पाको देखिन्थ्यो । आँखाको कुनानेर चाउरिएको छाला र बुढोको जस्तै अलि कुप्रिएको पिठ्यूँले गर्दा ऊ अर्धवैंशे जस्तो भान पर्दथ्यो ।
सैन्यदलमा ठट्टा गर्दै भन्ने गर्दथे–“फुच्चे केटो । ओंठ निचोर्दा दूध चुहिएला जस्तो छ ।”तर तत्कालै उनीहरु थपिहाल्ने गर्दथे–“जे होस्, एक जनालाई पनि नगुमाएर गुण्डाहरुको दुई जमातलाई सखाप पार्न सक्ने र जुनसुकै अनुभवी कमाण्डरभन्दा कति पनि पछि नपरेर छ–सात महिनासम्म सैन्य दललाई लडाइँमा डो¥याउन सक्ने अर्को मान्छे कतै भेट्टाउन त गाह्रै छ बा !”
निकोलाई आफू अठार वर्षको मात्र भएकोमा संकोच मान्दथ्यो । जहिले पनि “उमेर” भन्ने घृणास्पद शब्द अंकित ठाउँनेर पुग्दा उसको शिशाकलम विस्तारै घिस्रेर रोकिन्थ्यो र निकोलाईको गाला रोषले रन्किएर रातो हुन्थ्यो । निकोलाईका बाबु काजाक जातिका थिए र बाबुको तर्फबाट त ऊ पनि काजाक नै थियो । आफू पाँच –छ वर्षको हुँदाखेरी बाबुले उसलाई आफ्नै रिसल्ला घोडामा चढाउने गरेको पनि सपना पो हो कि भनेझैं गरी उसलाई सम्झना भइरहने गर्दछ ।
“यालमा बेसरी समातेर बस् है, छोरा !”–बाबु कराएर भन्ने गर्दथे । आमा चाहिं भने भान्छाको ढोकैबाट मुस्कुराइदिन्थिन् र कालोनीलो अनुहार पार्दै विस्फारित आँखाले एक टकसित घोडाको चुच्चे ढाडमा तुर्लुङग झुण्डिरहेका निकोलाईका झीना खुट्टाहरुतिर र लगाम समातिराख्ने उसका बाबुतिर हेरिहेकी हुन्थिन् ।
यो धेरै पहिलेको कुरा हो । निकोलाइका बाबु जर्मनहरुविरुद्ध लडाइँको बेला लापत्ता भए । मानौं बाढीले बगाएर लगेको होस् उनलाई ! त्यसैबेलादेखि उनको अत्तोपत्तो नै भएन । निकोलाइकी आमा पनि खसिन् । आफ्नो बाबुबाट निकोलाईले घोडा चढ्ने सौख, अतुलनीय साहस र परेवाको फुल जत्रै ठूलो जन्म–चिन्ह मात्र उत्तराधिकारको रुपमा पायो । त्यो जन्म–चिन्ह पनि उसको बाबुकै जस्तो देब्रे गोडामा गोलीगाँठो केही मात्र माथि रहेको थियो । पन्ध्र वर्षको उमेरसम्म यताउति गएर ज्यालामा काम खोज्दै भौंतारियो ऊ । त्यसपछि आफ्नै गाउँको बाटो गरी अगाडि लम्किरहेको लासेनामा उसले आफ्नो नाउँ दर्ता गरायो । एउटा लामो ओभरकोट लगाएर भ्रान्गेल (तेस्रो दशकतिर रुसको दक्षिणमा प्रतिक्रान्तिकारी विद्रोहमा भाग लिन सेतो प्रहरीका जर्नेल) को विरुद्ध लड्न भनी रवाना भयो । गएको साल ग्रीष्मऋतुमा निकोलाई एक जना सैनिक कमिसारको साथमा दोन नदीमा डुबुल्की लगाउँदै थियो । सैनिक कमिसारले निकोलाइको कुप्रिएको र घामले डढेर कालै भएको पिठ्युँमा धाप मार्दै आफ्नो भित्री चोट लागेर जखमी भएको टाउको झट्कार्दै र भकभकाउँदै भन्यो–
“तिमी त…. भाग्य…. भाग्यमानी छौं ! हो, हो ! भाग्यमानी ! जन्म चिन्ह भएको मान्छे भा..ग्यमानी हुन्छ भन्छन् !”
निकोलाइले ङिच्च हाँसेर आफ्नो टल्किने दाँत देखायो, नदीमा डुबुल्की लगायो र पानीबाट बाहिर उफ्रिँदै कराएर भन्यो–
“बकबास हो यो सब, साथी ! सानै उमेरदेखि नै म टुहुरो बनेको छु र जीवनभरि पसिना काढेर काम गर्दा गर्दा कुप्रो समेत भैसकेको छु । यो पनि कुनै भाग्य हो र …. !”
अनि ऊ दोन नदीलाई अँगालोमा अठ्याइरहेको जस्तो लाग्ने बालुवाको पहेंलो बगरतर्फ पौडिंदै गयो ।
२
कटेरो, जसमा निकोलाइई डेरा गरेर बसेको थियो, दोन नदीको किनारैमा एउटा ढिस्कोमाथि खडा थियो । त्यसको झ्यालबाट नदी पारिको हरियाली र पानीको पालिसदार टलक देख्न सकिन्थ्यो । आँधीबेहरी चलेको रातमा त ढिस्कोको पिंधसम्म नै छाल उर्लेर छचल्किन्थ्यो, झ्याल र ढोकाका खापाहरु समेत खटखट गर्दै थर्किन्थे र निकोलाईलाई के भान पर्न जान्थ्यो भने मानौं भुइँका छिद्रहरुबाट पानी छिरेर माथि भरिंदै आइरहेको छ र कटेराको जगै समेत हल्लाइरहेको छ ।
निकोलाई कुनै अर्को कटेरो खोज्न चाहन्थ्यो, तर उसले डेरा सार्नै पाएन र शरदसम्म नै त्यसै कटेरोमा बस्नुपर्ने भयो । अब त शरद पनि लागिसकेको थियो । एक दिन बिहानको जाडोमा निकोलाई कटेरोबाट बाहिर निस्कियो, सुन्तली ठोकिएको बुटको टकटक आवाजले शान्ति भंग गर्दै ऊ मूलढोकाबाट निस्केर तल चेरीको बगैंचातर्पm ओर्लियो र सुकेर खैरो भैसकेको र शीत परेर भिजिरहेको घाँसमा पल्टियो । घरपिट्टनीले गोठमा दुहुनु गाईलाई चुप लागेर उभिनको निम्ति फकाईफुलाई गरिरहेको पनि ऊ सुन्दै थियो । बाछोचाहिं आमाका थुन चुस्ने आफ्नो हकको माग गर्दै बाँ–बाँ गरेर कराइरहेको थियो । अनि दुधको धारा चाहिं क्वारक्वार गर्दै गबुबाको भित्तामा ठक्कर खाइरहेको पनि सुनिंदै थियो । यत्तिकैमा आँगनको तगारो खत्य्राक्क खोलिएको आवाज आयो र कुकुर पनि भुक्यो ।
“कमाण्डर घरैमा हुनुहुन्छ के ?”–पल्टनको हवल्दारको स्वर सुनियो । कुहिनोले टेकेर भुईँबाट टाउको उठाउँदै निकोलाइले जवाफ फर्कायो–
“यही छु म ! के को खोजखबर हो यति बिहानै ? ”
“गाउँबाट सन्देशबाहक आइपुगेको छ । सालस्क जिल्लाबाट लुटेराहरुको जत्था आएको छ रे ! गु्रशिनो राजकीय कृषिशालामा समेत त्यसले कब्जा जमाइसकेको छ….. ।”
“बोला त्यसलाई यहाँ !”
सन्देशबाहकले घोडालाई तबेलातर्फ डो¥याउँदै लग्ने कोशिश ग¥यो । घोडा तातो पसिनाले निथ्रुक्कै भिजेको थियो । आँगनको बीचैमा त्यो अघिल्लो गोडा खुम्च्याएर बुङ्ग ढल्यो, अनि कोल्टे फर्कियो र सिक्रीले बाँधिराखेको र रीसले क्रुर हुँदै बम्केर भुकिरहेको कुकुरतर्फ काँच जस्तै टल्किने आँखाले ताकेर उसले अन्तिम सास पनि फे¥यो ।
त्यो घोडा किन मरेको थियो भने सन्देशवाहकले ल्याएको चिठ्ठीको खाममा क्रसको तीनवटा चिन्ह लगाइएको थियो र त्यो चिठी बोकेर सन्देशबाहक बीच बाटोमा कतैतिर पनि नअडिइकन सरासर घोडालाई बेतोडसित दौडाउँदै चालिस भेस्र्ता (३५ सय फिट बराबरको दुरी) पार गरेर त्यहाँ आइपुगेको थियो ।
ग्राम सोभियतका अध्यक्षले सैनिक टुकुडी पठाएर मद्दत गर्ने अनुरोध गरेर लेखेको त्यो चिठ्ठी खोलेर निकोलाईले पढ्यो । अनि बैठक कोठामा सेर तरवार भिर्दै उसले सोच्यो–‘फेरि लुटेराहरुको अर्को जत्था…. । म भने कतैतिर पढ्न जाने विचार गर्दैछु… । सैनिक कमिश्नर पनि मलाई आज मर्नु पार्दै भन्ने गर्छन्–‘कालो अक्षर भैंसी बराबर छ, घोडचढी सैन्यदलको कमाण्डर रे ! !….’ लेखपढ गर्न नजानेकोमा मेरो दोष नै पो के छ र ? बेलामौकामा पादरीको पाठशाला समेत पूरा गर्न सकिएन । साँच्चि त, सैनिक कमिश्नर पनि अनौठा मान्छे छन्…. । यहाँ फेरि लुटेराहरुको अर्को जत्था आइपुग्यो …. । फेरि रगत बग्ने भो….. । वाक्कै लागिसक्यो अब त सारा कुरा…. ।’
निकोलाई बन्दुकमा गोली भर्दै मूलढोकाबाट बाहिर निस्कियो, तर चल्तीको बाटोमा घोडाले पैयाँ छोड्दै दौडेजस्तै गरी उसको मगजमा विचारहरु तँछाडमछाड गर्दै थिए । ऊ सोच्दै थियो–‘शहरसम्म पुग्न पाइए त… म अवश्य नै पढ्नमा लागिहाल्थें….।’
मरेर पल्टिरहेको घोडाको बगलबाटै ऊ सरासर तबेलातर्फ लम्कियो । घोडाको फोहोरी नाकको पोराबाट निस्केर बगेको रगतको कालो धरो हेर्दै ऊ फनक्क फर्कियो ।
३
उबडखाबड कच्ची गोरेटो र पाङ्ग्राको डोब परेको ठाउँमा हावाले बढारेर धूलो साफ पारेको चक्रेटोको हाराहारीमा केही झाडीहरु झ्याँगिइरहेको थिए । जताततै बेथे र तीतेपाती झारहरु हलक्क बढेर उम्रिरहेका थिए । यसै चक्रेटोबाट नै कुनै बेला खलाहरुसम्म सुकेको घाँस गाडामा हालेर ओसारिने गरिन्थ्यो । पटमैदानमा रहेका तीखलाहरु पनि यान्तारमणिमा जमिरहेका टोटपांग्रे बुट्टा जस्तै प्रतित हुन्थे । अनि मूलबाटोमा चाहिं ठाउँठाउँमा अग्ला ढिस्कुराहरु थिए जुन ठाउँमा टेलिग्राफका खम्बाहरु ठड्याइएका थिए । खोंच र खोल्साहरु पार गर्दै टेलिग्राफका खम्बाहरु क्षितिजसम्मै सेतो शरदीय तुँवालोमा बिलाएर गएका देखिन्थे । यिनै खम्बाहरुको हाराहारीमा टलकदार सडकबाट नै आतामान (नाइके) ले आफ्नो जत्थालाई डो¥याउँदै लगिरहेको थियो । त्यस जत्थामा दोन र कुबान क्षेत्रका ५० जवान जति काजाकहरु” थिए जो सोभियत सत्तासित असन्तुष्ट थिए । भेंडाहरुको घेरामा परेको ब्वाँसो झैं तीन दिनसम्म उनीहरु स्तपी मैदानमा बाटो कुबाटो केही नभनेर जसरी भए नि भाग्दै थिए र निकोलाई कोशेभोइको सैन्यदलले चाहिं उनीहरुको पीछा गरिरहेको थियो ।
जत्थामा बाह्र ठक्कर तेह्र घुस्सा खाइसकेका मान्छेहरु नै थिए । धेरैजसोले त पुरानो फौजमा काम समेत गरेका थिए र अनुभव पनि पाएका थिए । तैपनि उनीहरुको आतामान ज्यादै चिन्तित थियो । ऊ रकावमा गोडाले टेकेरमाथि उठ््ने गथ्र्यो, आँखा केही चिम्स्याएर स्तपीमैदानतिर चियाउने गथ्र्यो र निकै टाढा दोन नदीको पारिपट्टी फैलिएको वनजंगलको हरियो किनारासम्म पुग्न अब कति कोस दुरी बाँकी होला भन्ने गिन्ती गर्ने गथ्र्यो ।
यसरी उनीहरु ब्वाँसोझै नै भागिरहेका थिए र निकोलाई कोशेभोइको सैन्यदल पनि उनीहरुलाई लखेट्दै अगाडि बढिरहेको थियो । ग्रीष्मका खुला दिनहरुमा निर्मल र पारदर्शी निलो आकाशमुनि दोन क्षेत्रको स्तपीमैदानमा गहुँका सुनौला बालाहरु बयली खेल्छन् र शुद्ध चाँदीको झन्कार निकाल्दै लहराउँछन् । बालीनाली काट्नुभन्दा पहिले यस्तै हुन्छ जुन बेला ठूलठूला गेडा लाग्ने गार्नोभ्का भनिने गहुँको झुस सत्रवर्षे केटोको जुँगा जस्तै निक्खर कालो हुन्छ र मकैका बोटहरुचाहिं मान्छेलाई उछिन्न खोज्दै माथितिर अग्लिँदै गइरहेका हुन्छन् ।
दाह्रीवाल काजाकहरु नदी किनाराको समथल सोतो र बालुवादार भिरालो पाखोको डिलमा चाहिं जौं रोप्ने गर्दछन् । त्यहाँ जौंको बाली त उतिसारो सप्रने होइन । एक रोपनी जग्गामा हद भए ३० पाथी जति जौं उब्जाउन सकिएला त्यहाँ । तैपनि जौंको खेतीचाहिं गरिन्छ, किनभने त्यसबाट रक्सी बनाइन्छ जुन कन्याकेटीको आँसुभन्दा पनि निर्मल हुन्छ । यो त एक किसिमले युगौं पुरानो चलन नै हो, किनभने बाजे बराजुहरु पनि रक्सी पिउने गर्थे । फेरि दोन काजाक फौजको निशानाछापमा पनि त रक्सीको पीपामा थ्याच्च बसिररहेको जँड्याहा काजाकको आकृति राखिएको त्यसै होइन होला । शरदताका गाउँहरु र बस्तीहरु नै साराका सारा मात लागेर उत्तेजित भएका हुन्छन् र नरकटको बारमाथि रातो फुर्कावाल टोपीहरु पनि ढलमल गर्दै चलमलाइरहेका देखिन्छन् ।
यसै कारणले त यस्तो कुनै दिन पनि हुँदैन जब स्वयं आतामान समेत रक्सीको मातले नमात्तेको होस् ! यसै उसले नै त सबका सब कोचवान र तोपचीहरु पनि आफ्ना कमानीदार तोपगाडीहरुमा मात ल ागेर ढल्मलाइरहेका हुन्छन् ।
सात वर्ष यतादखि आतामानले आफू जन्मेको गाउँ देख्न पाएको थिएन । शुरुमा ऊ जर्मनहरुद्वारा बन्दी तुल्याइयो, त्यसपछि भ्रान्गेलको सेवा, अनि सूर्यको प्रचण्ड रापमा भुटिएको कन्स्तान्तिनोपाल, (टर्कीको एउटा विशाल बन्दरगाह शहर) काँढादार तारले बारिएको बन्दी शिविर, अलकत्रा पोतिएको नुनिलो त्रिपाल हालिएको तुर्की जहाज, कुबान क्षेत्रको नकरकटको झाडी र आखिरमा –यो लुटेरा जत्था !
यस्तो थियो त्यस आतामानको जीवनपथ, यदि काँध पछाडिबाट पछिल्तिर फर्केर हेर्ने हो भने, उसको मुटु कठोर बनिसकेको थियो, ठीक त्यसरी नै जसरी स्तपीमैदानको धापिलो माटोमा परेको गाइवस्तुका फाटेका खुरहरुको छाप ग्रीष्मको प्रचण्ड गर्मीमा सुकेर ढुंगा जस्तै कडा बन्दछ । नबुझिने किसिमको आन्तरिक पीडाले भित्रभित्रै चिमोट्ने गर्छ, मस्सल समेत दुखेर आउँछ र उसलाई के लाग्छ भने न यो पीडा बिर्सेर बिर्सनै सकिन्छ, न त रक्सीमा नै त्यसलाई चुर्लुम्म डुबाईदिन सकिन्छ । तैपनि ऊ रक्सी पिउँछ र उसले रक्सी नघुट्क्याएको त दिनै हुँदैन, किनभने दोन क्षेत्रको स्तपी मैदानमा सूर्यतर्फ पल्टाइएको त्यसको कालो र खन्चुवा पेटबाट अन्नको बालीनाली फलेको मगमग र मीठो बास्ना आउँछ । र गहुँगोरो गाला भएका गाउँले आइमाईहरु यस्तो रक्सी पार्दछन् जुन मुहानको स्वच्छ पानी जत्तिकै पारदर्शक हुन्छ ।
(४)
मिर्मिरेमा पहिलो तुसारो प¥यो । कमलको ठूलो पातमाथि चाँदीका मसिना दानाहरु छरिएको जस्तो देखियो र बिहानै लुकिचले आफ्नो हावाघट्टको पंखामा समेत अभ्रक रंगको बरफको पातलो पत्र जमेको देखे ।
बिहानैदेखि लुकिच बिसन्चो अनुभव गरिरहेका थिए । कम्मरनेर चस्केको जस्तो उनलाई लाग्यो । गोडा पनि दुखेर निश्चेत भएको भुँइमा गाडिएका फलामका खम्बा पो हुन् कि भन्ने लागिरहेको थियो उनलाई । बल्लतल्ल गोडा घिसार्दै उनी घट्टमा यताउति गरिरहे । यसरी चलमल गर्दा उनलाई यति विध्न पीडा अनुभव हुन्थ्यो, मानौं हाडबाट मासु नै अलग्याइँदै गरिएको होस् ! अन्न हाल्ने भाँडो मुन्तिरबाट एउटा मुसाको बच्चा फुत्त बाहिर निस्केर आयो र आँसुले भिजेका जस्ता आँखाले माथितिर हेर्न थाल्यो । छतमुनिको एउटा दलिनमा बसेर परेवा घुरघुर गर्दै घुरिरहेको थियो । गिलो चिप्लो माटो टाँसेर बनाएको पो हो कि जस्ता नाकको पोरा फुलाउँदै बुढा लुकिचले पानीको चिप्लो काइको तिक्खर गन्ध र पिँधिएको अन्नको मगमग बास्ना सुँघे, जोर्नीबाट पानी तपतप चुहिरहेको उराठलाग्दो आवाज ध्यान दिएर सुने, अनि विचारमग्न भएर झुस्स परेको आफ्नो झ्यापुल्ले दाह्री पनि निमोठे ।
लुकिच आराम लिन भनेर बगैंचामा गई मौरीको घारमा अडेस लगाएर पल्टिए । उनी छालाको ज्याकेटमुनि घुस्रेर कोल्टे परिकन सुतेका थिए । उनको मुखचाहिं खुलै थियो । ओंठको कुनाबाट च्यापच्याप लाग्ने र तातो राल बगेर उनको दाह्री भिजिरहेको थियो । बुढाले सानो कटेरो वरिपरि अँध्यारो गाढा हुँदै गइरहेको थियो र दूध रङको कुहिरोभित्र उनको हावाघट्ट पनि बिलाएर गयो …. ।
जब उनी ब्युँझिए, उनले दुई जना घोडचढीहरु जंगलतिरबाट आफूतर्फ नै आइरहेको देखे । एउटा घोडचढीले मौरीको घार नाघ्दै हिंडिरहेका बुढा लुकिचलाई सम्बोधन गर्दै भन्यो–
“ए बुढा बा ! यता आऊ त !”
लुकिचले टक्क अडिएर सशंकित नजरले उसतिर हेरे । ती कठिन वर्षहरुमा उनले यस्ता सशस्त्र मानिसहरुलाई प्रशस्तै देखिसकेका थिए । जो एक शब्द समेत नसोधेर चारादाना र पीठो लिएर जान्थे । त्यसैले कुनै किसिमको भेदभाव नराखीकन उनी यस्ता मान्छेहरुलाई भित्री दिलदेखि नै घृणा गर्थे ।
“अलि पूmर्तिसँग हिंड न, ऊ लाछी बुढा !”
लुकिच मौरीका घारहरुको माझबाट पाइला सार्दै अगाडि बढे । उनी सुकेका ओंठ चलाएर बिस्तारै थुकले भिजाउँदै थिए । पाहुनाहरुबाट केही टाढै उभिएर उनी कर्के आँखाले निहार्दै थिए ।
“बुढाबा, हामी लाल सैनिक हौं । तपाईले हामीसँग डराउनु पर्दैन !”–आतामानले शान्तिपूर्वक घोषणा ग¥यो । “हामी एउटा जत्थाको पीछा गर्दै छौं र आफ्नैहरुबाट पछि छुट्न गएका छौं । हिजो कुनै सैन्यदल यतातिरबाट गएको तपाईले देख्नुभएको थियो कि ?”
“हो, केही मानिसहरु त गएका थिए !”
“कतातिर लागे नि तिनीहरु, बुढाबा ?”
“दैव नै जानोस् ! !”
“तपाईको घट्टमा त कोही बास बसेन ?”
“अहँ !”–लुकिचले छोटो जवाफ फर्काए र फनक्क फर्किए ।
“पख, बुढाबा !”– आतामान घोडाबाट ओर्लियो, खुट्टा लड्खडाउँदै बुढानेर पुग्यो र ह्वास्स रक्सी गन्हाउने सास फेर्दै भन्यो–“हामी, बुझ्यौं त, बुढाबा ! कम्युनिस्टहरुलाई सखाप पार्ने छौं ……। कुरा भनेको खरो बस… । हामी को हौं भन्ने तिम्रो सरोकारको कुरा होइन ! !” उसलाई ठेस लाग्यो र लगाम उसको हातबाट भुइँमा खस्यो । ऊ अगाडि भन्दै थियो –
“सत्तरीवटा घोडाको लागि चारादानाको बन्दोबस्त गर्नु मात्रै तिम्रो काम हो…… । चुपचाप गर यो काम ……। बुझ्यौं त, बुढा ? कहाँ छ नि अन्नपात ?”
“यहाँ त केही पनि छैन !”–लुकिचले जवाफ दिए र अर्कोतिर हेर्न थाले ।
“धनसारमा के राख्या’ छ नि ?”
“ के छ के छैन त्यहाँ…. । अनाज चाहिं छैन ।”
“ठीक छ ! हिंड, देखाऊ !”
आतामानले बुढाको कठालो समात्यो र जमीनमा भासिन आँटेको जस्तो देखिने थोत्रो धनसारतर्फ तानेर लग्यो । उसले धनसारको ढोका खोलेर भित्र चियाएर हे¥यो । त्यहाँ भकारीमा गहुँ र जौं टन्न भरिएका थिए ।
“यो अनाज होइन भने के हो नि हुँ, हरामी बुढा ?”
“यो त प्राण धान्ने अन्न हो…. । बाँकी रहेको अनाज यत्तिकै छ । वर्ष दिनभरि एक एक गेडा जोगाएर राखेको हुँ । तिमी भने घोडालाई ख्वाउने कुरा गछौं………..।”
“हाम्रा घोडाहरु भोकभोकै मरुन् भन्ने चाहन्छौं के ? लाल सैनिकहरुको पक्ष लिनछौं, हैन त ? गोली चाख्न मन लाग्यो कि क्या हो ?”
“बुढोमाथि दया गर, मेरा नौजवान ! मैले के विराम गरैं र ?”–लुकिचले आफ्नो पुरानो टोपी उतारे, घुँडा टेकेर निहुरिए, आतामानको रौं उम्रिएको हात समातेर तान्दै म्वाइँ खान थाले ।
“भन्, लाल सैनिकहरुलाई मन पराउँछस् कि ?”
माफ गर, बाबु ! भुलचुक माफ गर ! नमार यस बुढोलाई ! दया गरें ! !”–आतामानको गोडामा छाद हाल्दै बुढाले बिन्ति भाउ गरे ।
“लाल सैनिकहरुलाई मद्दत नगर्ने किरिया खाऊ त….. । भगवानको नाउँ लिएर होइन, माटो खाएर किरिया हाल…. ।”
बुढाले भूइँबाट एक चिमटी माटो लिएर आफ्नो थोते मुखमा हाले र आँसुको बलिन्द्र धारा झार्दै त्यसलाई भिजाउन थाले ।
“लौ, अब विश्वास भो ! उठ, बुढा !”
बुढाका गोडा निदाएकाले उठ्न खोजे पनि उनी उठ्न नसकेको देख्दा आतामान दंग पर्दै खितितिति हाँस्यो । अरु घोडचढीहरु पनि त्यहाँ आइपुगे । धनसारबाट गहुँ र जौं झिकियो । घोडाहरुको टाँगमुन्तिर र आँगनमा जताततै सुनौला अन्न छ्याल्लव्याल्ल भएर पोखिएको थियो ।
तुँवालो लागेकोले बिहान रुझेको र अँध्यारो थियो ।
लुकिचले प्रहरी चौकी मूलबाटो भएर होइन कि आफूलाई मात्र थाहा भएको गोरेटो र वनजंगल हुँदै पार गरे र मिर्मिरेको उँघाइबाट वनजंगल पनि जुर्मुरिएर व्यूँझन आँटिसकेको थियो ।
उनी जसोतसो लड्खडाउँदै हावा घट्टसम्म पुगेर गाइवस्तु चराउने साझा चहुर पनि पार गर्दै एउटा गल्छेडोतर्फ मात्र के लागेका थिए, उनले आप्mनो आँखा अगिल्तिर घोडचढीहरुको अस्पष्ट आकृति देखे ।
“को हो हँ ?” शान्त वातावरण भंग गर्दै कड्केको आवाज सुनियो ।
“म …. हुँ ! !” लुकिच गुनगुनाउँदै बोले । उनी अक्कबक्क परेर डरले थर्थर काम्न समेत थाले ।
“को म ? खै पास ? किन यहाँ भौंतारिंदै छस् ?
“म घट्टे हुँ… ! यही हावाघट्टमामा काम गर्छु । गाउँसम्म जानुपर्ने काम छ ।”
“के काम हो त्यस्तो ? लौ., हिंड कमाण्डर कहाँ ! अगाडि लम्क… ।” एक जना घोडचढीले लुकिचतर्फ घोडा दौडाउँदै कराएर अडर दियो ।
लुकिचले आफ्नो गर्दननेरै घोडाको तातो ओंठको स्पर्श अनुभव गरे र उनी खोच्याउँदै गाउँतर्फ लम्किए ।
उनीहरु एउटा झिङ्गटीको छाना हालिएको घर अगाडिको चोकमा पुगेर अडिए । घोडचढी कर्कश स्वर निकाल्दै काठीबाट तल ओर्लियो, घोडालाई उसले बारमा बाँधिदियो र तरवारको छनछन आवाज निकाल्दै घरको सिंढी चढेर ढोकातर्फ लाग्यो ।
“मेरो पछि पछि आऊ….।”
झ्यालबाट बत्तिको प्रकाश बाहिर निस्किरहेको थियो । दुवै जना घरभित्र पसे । चुरोट खाएको धुवाँले गर्दा लुकिचलाई हाचिउँ आयो । टोपी फुकालेर उनले कोठाको सामुन्ने एक कुनातर्फ हेर्दै हत्तपत्त छातीमा दाहिने हातले क्रसको चिन्ह बनाए ।
“यी बुढा गाउँतर्फ जान लागिरहेका थिए । हामीले समातेर ल्याएका छौं ।”
निकोलाइले टेबुलमा बिसाइरहेको आफ्नो टाउको विस्तारैमाथि उठायोे । उसको कपाल गुचमुच्च परेको थियो । जसमा भुवा र प्वाँख पनि टाँसिएका थिए । उनले निद्रालु तर तिख्खर आवाजमा सोध्यो–
“कहाँ जाँदै थियौं हँ ?”
लुकिच अगाडि लम्किए र रमाउँदै कराए ।
“ अहो ! तिमी पो, बाबु ! आफ्नै पो रहेछन् । मैले त ठानेको थिएँ– फेरि तिनै पाजीहरुको फन्दामा…. । म यत्तिसम्म डराएको थिएँ कि सोध्नेसम्म पनि आँट आएन… । म घट्टवाल हुँ । मित्रोखा वन हुँदै जाँदाखेरी तिमी मेरै घट्टमा त बास बसेका हौं नि ! ! अझ मैले तिमीलाई दूध पनि खान दिएको थिएँ, बाबु…। बिर्सेको त छैनौं होला हगि… ।”
“भन, के भन्न चाहान्छौं हामीलाई ?”“यही त भन्न चाहन्छु, प्यारा बाबु ! हिंजो साँझ त्यही जत्था आएर मेरै घट्टमा आराम लिन बसेको थियो । अन्नपात सारा उनैका घोडाहरुलाई खुवाइयो । उनीहरुले त मलाई समेत मारिदिन आँटिसक्या थिए… । उनीहरुको नाइके चाहिंले मलाई किरिया हाल्न लगायो र माटो समेत खुवाइछोड्यो ।”
“अहिले ती कहाँ छन् ?”
“उनीहरु अझै त्यही छन् । साथमा भोड्का ल्याएका थिए, घुट्क्याउँदै होलान् शैतानहरु मेरै कोठामा बसेर । तपाईहरुबाट केही मद्दत पाइन्छ कि भनेर म यहाँ आएको हुँ, श्रीमान ! तपाईहरु उनीहरुलाई तह लगाउन सक्नुहुन्छ कि ?”
“घोडामा काठी कस्नु भनेर सबैलई भन….।” निकोलाई बुढातर्फ हेरेर मुस्कुराउँदै बेन्चबाट उठ्यो र थकित हातहरु ओभरकोटको बाहुलाभित्र घुसा¥यो ।
उज्यालो भयो । कैयौं निद्रारहित रातहरुले गर्दा अनुहार पहेंलै भइसकेको थियो ।निकालाइको । ऊ मेशीनगन गाडीतर्फ घोडा दौडाउँदै लम्कियाँ ।
“धावा शुरु गर्नासाथ नै दाहिनेतिरको पाश्र्वभागमा दनक दिनु ! हामीले उनीहरुको मोर्चाबन्दी तोड्नु परेको छ ।”
अनि ऊ घोडचढी सैन्यदल तम्तयार खडा रहेको ठाउँमा घोडा नै सवार भएर फर्कियो ।
सिकुटे बाँझका केही रुखहरु उम्रिरहेको ठाउँको पछिल्तिर सडकमा घोडचढीहरुको एक झुण्ड देखियो । चार–चार जनाको पंक्ति बनेको थियो र माझमा तोपगाडीहरु थिए ।
“धावा गर !” निकिलाईले कराएर अडर दियो र आफ्नो पछिल्तिर घोडाका टापहरुको गडगडाहट बढ्दै गइरहेको चाल पाएर आफ्नो घोडालाई कोर्रा ठोकेर अगाडि दौडायो ।
वनको पुछारमा मेशिनगनबाट गोलीको पर्रा अन्धाधुन्धसित छुटेको गडगडाहट सुनियो । सडकमा देखा परेका घोड चढीहरुको पंक्ति सामरिक अभ्यास गर्दाखेरी जस्तै तुरुन्तातुरुन्तै चारैतिर फैलिएर धावा रोक्न तम्तयार भइहाल्यो ।
झाडीबाट एउटा ब्वाँसो थुम्कोतिर भागेर गयो । उसको आङका रौंहरु ठाडा भएका देखिन्थे । उनले आफ्नै टाउको अलिक अघिल्तिर झुकाएर केही बेरसम्म ध्यान दिएर सुन्यो । कतै नजिकै गोलीहरु पटापट फुटिरहेका थिए र कोलाहलको लामो लहर चलिरहेको सुनिन्थ्यो ।
“टुइँय !” एउटा गोली भोजपत्रको झाडीमा खस्यो । थुम्को पछिल्तिर कतैबाट जोतिएका खेतहरु पार गर्दै त्यसको प्रतिध्वनि आयो–
“टुइँय !”
त्यसपछि गोलीहरुको लामो पर्रा नै छुट्यो –
“टुइँय ! टुइँय ! टुइँय !”
ब्वाँसो चाहिं पहिलेकै ठाउँमा एकछिन चुपचाप उभिइरह्यो । अनि बुरुक्क उफ्रेर विस्तार विस्तार लम्किंदै घाँस नकाटिएको पहेंलो झाडीभित्र पसेर खोसेतर्फ लाग्यो ।
“खडा रहुँ !…. तोपगाडी नछोड !…. वनभित्र पस !…. वन भित्र घुस भनेको, ऊ आमा टोक्ने हो !”– रकाबमा टेकेर उफ्रँदै आतामान चिच्यायो ।
परन्तु चालकहरु र तोपचीहरु तोपगाडी वरिपरि हस्याङफस्याङ गर्दै मर्मभेदी प्रहार गर्दै थिए । तोपबाट भटाभट छोडिएका गोलीहरुले गर्दा लुटेराहरुको पंक्ति छिन्नभिन्न भैसकेको थियो र रोकेर रोक्नै नसकिने किसिमबाट लुटेराहरु तितरवितर हुँदै भागाभाग गर्दै थिए ।
आतामानले आफ्नो घोडा पछिल्तिर फर्कायो । एकजना एक्लो घोडचढी नांगो तरवार उजाएर मच्चाउँदै कोटको पाटा पखेटा जस्तै गरी फैलाएर आफैतर्फ हुरिंदै आइरहेको उसले देख्यो । छातीमा झुण्डिरहेको दुरवीन र भेंडाको छालाको ज्याकेट देख्ने बित्तिकै आफूतर्फ हुर्रिंदै आइरहेको त्यो घोडचढी साधारण लाल सैनिक होइन भन्ने कुरा ठम्याउन आतमानलाई कत्ति गाह्रो परेन । लगाम तानेर उसले आफ्नो घोडालाई रोक्यो । टाढैबाट उसले जुँगाका रेखी मात्र बसेको तरुनो अनुहार देखिहाल्यो । रीसले चुर भएको उसको अनुसार ज्यादै नै विक्षिप्त देखिन्थ्यो र हावाको झोक्काले गर्दा उसका आँखा पनि चिम्सा थिए । आतामानको घोडा पछिल्ला गोडाहरुले मात्र भुइँमा टेकेर हिनहिनाउँदै नाँच्न थाल्यो । आतामानले चाहिं कम्मरमा झुण्डिरहेको पिस्तोल झिक्यो र जोडले कराउँदै भन्यो–
“आइज चाँडै, ऊ कुकुरको छाउरो !… नचा, नचा तेरो ठाडो तरवार !….. पख्, छिटै नै तँ आफै पनि रन्थनिएर नाच्लास् !”
आफ्नो अगिल्तिर कालो उपर्ना मिलिक्क मिल्किनासाथै आतमानले त्यसमाथि गोली छोडिहाल्यो । घोडा अरु बीस गज जति पर हुत्तिएर पछारियो , तर निकोलाई आफ्नो उपर्ना फालेर अगाडि लम्कियो । ऊ पनि गोली चलाउँदै आतामानतिर दौडँदै थियो– नजिक, झन् झन् नजिक… ।
रुखहरुको पछिल्तिरबाट कोही जनावरको स्वरमा चित्कार गर्दै बुरुक्क उफ्रियो । सूर्य बादलभित्र बिलायो र स्तपीमैदानमा, सडकमा, वनजंगलमा त्यसको छाँया सर्दै गयो । बतासले र शरदले गर्दा वनजंगलका झाडी र रुखहरु नांगिइसकेका थिए ।
“खुब जोस देखाउँछ अल्लारे केटा ! मगज तातै छ छाउरोको ! होस गर, बाबु ! जोश मात्रै नदेखा ! यसै जोशले नै यहाँ तेरो काल निम्त्याउँदै छ आज !” आतामान गुनगुनायो र पट्ठोको पिस्तोलका सबै गोलीहरु नसिद्धिउन्जेलसम्म ढुकेर बस्यो । अनि घोडाको लगाम होलो पारेर बाजले जस्तै एकाएक झम्टिन पुग्यो ।
काठीबाट निहुरिएर उसले तरवार चलायो र एकै छिनमा आफ्नो तरवारको चोटमा परेको युवकको शरीर लुलाउँदै गएको उसले अनुभव ग¥यो र त्यो युवक विस्तारै भुइँमा गुडुल्कियो । आतामान पनि घोडाबाट तल ओर्लियो । मृत युवकको छातीबाट उसले दुरवीन झट्कारेर तान्यो र उसको गाडातर्फ नजर दियो । युवकका गोडा चाहिं अझैं पनि चलमलाई नै रहेका थिए । उसले चारैतिर हे¥यो र लासबाट सावरको छालाको बुट झिक्न भनेर भुँइमा थचक्क बस्यो । अनि आफ्नो गोडाले लासको घुँडामा टेको लिएर उसले एउटा बुट झटपट तानेर झिक्यो । तर भित्र लगाइराखेको मोजा फुस्केको थियो क्या रे, अर्को बुट चाहिं यति सजिलैसँग फुकाल्न सकिएन । रीसले गाली बक्तै उसले झट्का दिएर जोडले तान्दा मोजा सहितको बुट उसको हातमा प¥यो । गोलीगाँठोको ठीक माथि नै मृत युवकको गोडामा परेवाको फुल जत्रै ज न्म चिन्ह प्रष्ट देखियो । अनि आतामानले सुतिरहेको केटो नब्यूँझियोस् भने जस्तै गरिकन विस्तारै उसको चिसिइँदै गइरहेको अनुहार आफूतर्फ पल्टायो । उसको मुखबाट रगत ह्वालहुवाल्ती बगेर बाहिर निस्केकोले आतामानको हात रगताम्य भयो । ऊ एक छिनसम्म अकमक्क परेर घोरियो र त्यसपछि मात्र चोसोमोसो परेको मृत युवकको काँधमा एकदमै अप्ठ्यारोसँग अंगालो हाल्दै भक्कानु फोर्दै बोल्यो–
“ए छोरा…. ! मेरो प्यारो निकोलाई !… हे मेरो मुटु र कलेजेको टुक्रा… ।”
अनि आतामानको अनुहार कालोनीलो भयो र उसले चिच्याउँदै भन्यो–
“लौ न, छोरा ! एक वचन त बोल् ! किन बोल्दैनस्, हँ ? …. कसरी यस्तो हुन गयो ?..”
ज्योति निभिसकेको आँखामा नियालेर हेर्दै ऊ पनि ढल्यो । त्यसपछि उसले रगत भरिएका आँखाको पटल उघा¥यो, लुलो र निर्जिव शरीरलाई बेसरी हल्लायो…. । परन्तु निकोलाइले भने निलै भैसकेको आफ्नो जिब्रोको टुप्पो बेसरी दाँतले टोकिराखेको थियो, मानौं ऊ कुनै अत्यन्त महत्वपूर्ण र गहकिलो कुरा अकस्मात् मुखबाट बकिएला भनेर डराइरहेको होस् !
आतामानले मरिसकेको आफ्नो छोरोलाई छातीमा टाँस्यो र उसको चिसिइसकेको हातमा म्वाइँ खायो । अनि आफ्नो पिस्तोलको नाल दाँतले च्यापेर उसले सोझै आफ्नो मुखमा गोली दाग्यो ।
साँझपख वनको पल्लोपट्टी घोडचढीहरु ओहोरदोहोर गर्दै थिए । त्यतिखेरै मानिसको गुनगुन, घोडाको हीं हीं र रकावको टनटन आवाज हावाले उडाएर ल्यायो । आतामानको बुलबुल पालिएको टाउकोबाट एउटा गिद्ध पनि नचाहिं नचाहिंकन उडेर गयो । विस्तारै पखेटा फट्फटाउँदै त्यो गिद्धमाथि उड्यो र शरदको फिका खैरो रंगको असीम आकाशमा विलिन भयो । (कथा लेखन सन् १९२४)

