– बलराम तिमिल्सिना
पहिला माक्र्सवादलाई लेऊ
त्यसमा सानो प्वाल बनाऊ
भित्रबाट सर्वहारा अधिनायकत्व झिक
र , बुर्जुवा अधिनायकत्व सुटुक्क हाल ।
त्यस पछि लेनिनवाद लेऊ
त्यसमा पनि सानो प्वाल पार
राज्य र क्रान्तिको सिद्धान्त झिक
सशस्त्र संघर्ष पनि झिक
र, खुसुक्क शान्तिपूर्ण सङ्क्रमण हाल ।
अन्तमा माओवाद पनि लेऊ
त्यसमा पनि त्यसै गर
अर्थात सानो प्वाल पार
दीर्घकालीन जनयुद्ध निकाल
सर्वहारा साँस्कृतिक क्रान्ति पनि निकाल
अनि त्यसमा हाल
बिरालो कालो भए पनि सेतो भए पनि
बिरालोको काम मुसा मार्नु हो भन्ने सिद्धान्त ।
यति गरिसकेपछि
एक पटक पुँजीपतिलाई खुसुक्क भेट
र उसलाई अझै केही कुरामा आपत्ति छ कि भनेर सोध
उसले तिम्रो झण्डामाथि प्रश्न गर्न सक्छ
तर तिमीले तत्काल झण्डा नहटाऊ ।
किन कि
जनसाधारणहरूले
तिमीले मालेमाबाट झिकेका
र मिसाएका कुराको भेउ पाउने छैनन्
उनीहरूले केवल झण्डा हेर्ने छन
लाल सलाम भनेको
र कमरेड भनेको ख्याल गर्ने छन्
झुक्याउन राख्नै पर्ने कुरा राख
त्यसो गर्नुको कारण भन
र अनुमोदनको लागि बुर्जुवा मुख्यालयमा पठाऊ ।
प्वाल पारेको ठाउँलाई राम्रोसँग टाल
पुछपाछ र चम्किलो बनाऊ
किन कि
हरेक नक्कली सुन
सक्कलीभन्दा चम्किलो हुनु पर्छ ।
अब तिम्रो सिद्धान्त
विश्वको लागि खतरा नभएको भनेर
अनुमोदन भएर आइसकेको छ
झण्डा बोक र किसान मजदुर ठग्न हिड ।
तिमी त्यसलाई यही हो माक्र्सवाद भन
हामी भने त्यसलाई संशोधनवाद भनेर चिन्ने छौं ।
(कवि बलराम तिमिल्सिनाले प्रस्तुत कविता १३२ औं माओ दिवसका सन्दर्भमा वाचन गर्नुभएको थियो)

